सहिदलाई साक्षी राखेर हाकाहाकी घूस, खै के परिवर्तन भयो ?
ललितपुरको गोदावरीस्थित किटनी हाइस्कुलबाट प्रथम श्रेणीमा एसएसली पास भएपछि म धादिङको सदरमुकाम पुगें, नागरिकता बनाउन। जतिबेला म १६ वर्षको थिएँ। यो २०३८ सालको कुरा हो।
तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रनाथ बस्न्यातले दस्तखत गरेर राजारानीको श्यामश्वेत तस्बिर र राष्ट्रिय गान लेखिएको नीलो कभरको नेपाली कागजको एकपाने नागरिकता दिए।
अहिलेको जस्तो यातायात सुविधा थिएन। मलेखुबाट जाँदा कच्ची बाटोमा ट्याकटरको पछाडि बसेर गइयो भने आउँदा हिँडेरै आइयो। फर्केर आउँदा बुङचुङ खोलामाथि मासु पोलेको गन्ध आयो। गएर हेर्दा स्थानीय दनुवार समुदायका मानिसहरूले मकै खाएर दुःख दिने दुम्सी मारेर पोलिरहेका रहेछन्।
यसको मासु दम रोगका लागि औषधि हुन्छ भन्ने सुनेको थिएँ। आमालाई सम्झें। अनि २० रूपैयाँका दरले तीन धार्नी मासु किनेर घर फर्केको चार दशक बित्न लागिसकेछ।
धेरैपछि आज फेरि त्यहीं ठाउँ जान लाग्दा बिहानैदेखि एक किसिमको रमाइलो महसुस भइरहेको थियो।
मेरा सहयात्रीहररू सुवास र शारदा गाडी लिएर बिहानै घर आइपुगेपछि हामी काठमाडौंको कलंकीबाट पुरूषोत्तमलाई लिएर धादिङबेंसी प्रस्थान गर्यौं। नैकाप, थानकोट, नागढुंगा हुँदै नहिँडेको वर्षौं बितिसकेको थियो।
धार्केसँगको सामिप्यता
धार्केमा रोकियौं हामी चिया पिउन भनेर। धार्के र मेरो अतीतबीच गहिरो सम्बन्ध छ। ६ वर्षको उमेरमा यही ठाउँबाट आमाले काडमाडौं जान बस चढाउन लाग्दा डराएको सम्झना अझै ताजै छ।
औंलामा गन्न सकिने घर मात्र थिए उतिबेला। अहिले सानोतिनो सहर नै बनिसकेछ।
मुग्लिन–नारायणगढ सडक खुलेको थिएन। फाट्टफुट्ट पोखरा जाने बसहरू र निजी सवारीसाधन चल्थे। रामकृष्ण श्रेष्ठ साहुको कपडा पसलमा पिताजीसँग दसैंको नयाँ लुगा किन्न तीन घन्टाको बाटो हिँड्दै आएको पनि अझै बिर्सेको छैन।
रामकृष्ण श्रेष्ठ चाहिँ बितिसकेछन्। नयाँ घर बनाएका रहेछन्, छोरा र नातिले। भलाकुसारी गरें एकैछिन्। ‘लौ, भरे फर्कंदा यहीं खाना खानुपर्छ जसरी भए पनि,’ उनीहरूले अनुरोध गरे। कस्तो आतिथ्य सत्कार र र आत्मीय संस्कार अझै जीवितै छ मेरो देशमा१
महेश खोलामा पुल बनेको थिएन उतिबेला। आउँदा–जाँदा ठूलो स्वरले ‘ए … दाइ …’ भनेर कराएपछि घटेरा अर्थात् पानी घट्टमा अन्न ज्याला लिएर गहुँ, मकै, कोदो पिधिँदिने मजदुर लुगाभरि लागेको पीठो टकटक्याउँदै सानो छाप्रोबाट बाहिर निस्कन्थे। र, च्याप्प पाखुरामा समातेर ‘उ … पारि हेर है, नत्र रिंगटा लाग्छ’ लाग्छ भनेर खोलाको जंघारबाट तारिदिन्थे। खोला तर्ने आँट नहुने सबैलाई यसैगरी तारिदिन्थे सित्तैमा। कस्तो जमाना थियो त्यो१
जीवनको आधा समय हङकङमा बिताएको मैले जहाँ यसरी मद्दत गर्ने त परै जाओस्, ‘नो मनि नो टक’ अर्थात् बिनापैसा कोही कुरा पनि गर्न चाहँदैन।
चिया मात्र पिउँछु भन्दाभन्दै तात्तातो जेरी, स्वारी, हलुवासँगै पिरो केराउको लेदो तरकारी सारिदिए मतिर शारदा र पुरूषोत्तमले।
‘चिल्लो, गुलियो खाने र बिहानै?’
‘आ, भिनाजु, मुख अब हङकङ गएर बार्नुस्,’ उनीहरूले भने।
मैले मजाक गर्दै भनें, ‘कुनै जमानामा खान मन लाग्थ्यो जतिबेला पैसा हुन्थेन। अहिले पैसा प्रशस्त छ तर नखानु भन्छन डाक्टर। अभागी पुस्ता यो शताब्दीको।’
धादिदिङबेंसीमा मन कुडिँदा
धार्केबाट करिब दुई घन्टामै पुगियो धादिङ सदरमुकाम। मलेखु माथिबाट धादिङबेंसी जाने बाटो निकै राम्रो रहेछ। पेसाले इन्जिनीयर सहयात्री सुवास आचार्य पनि कार्यरत ‘इटिको नेपाल’ भन्ने स्विस कम्पनीले बनाएको रहेछ यो बाटो। मैले ३५ वर्षअघि र अहिलेको अवस्थामा धेरै फरक पाएँ। सीधै जिल्ला प्रशासन कार्यालयअगाडि गएर रोकियौं हामी।
आफूले खोजेको विभाग बुझ्न जाँदा एक कर्मचारीले भने, ‘हाकिम सा’ब आउनुभएको छैन बस्दै गर्नुस्।’
एकछिनपछि हाकिम सा’ब आइपुगे। मजस्तै उनको प्रतीक्षामा रहेकाहरूले नमस्कार गरे तर कसैलाई नहेरी कुर्सीमा बसे हाकिम।
उनका सहयोगीले एक एक गरेर फाइल देखाए। मेरो पालो आएपछि सोधनी भयो, ‘सम्बन्धित व्यक्ति खै त?’
‘ऊ आएको छैन, म उसको बाबु,’ मैले भनें।
‘लिएर आउनुभएको भए राम्रो हुन्थ्यो,’ उनी अलिबेर अन्कनाए।
मैले भनें, ‘अधिकांश पोखरा र धरानका केसहरूमा अभिभावक नै आएर लैजान्छन् त।’
‘ल बाहिर ७ नम्बर काउन्टरमा गएर बुझाउनुस्।’
त्यसपछि मैले ७ नम्बर काउन्टरमा गएर फाइल बुझाएँ। टाउको कन्याउँदै अर्का हाकिमले भने, ‘यस्तो ठूलो काम रहेछ, दरो भोज खानुपर्छ।’
मैले भनें, ‘मेरो छोराको नागरिकता परित्याग रहर या खुसी हैन, बाध्यता हो।’
‘बस्दै गर्नुस्, टाइम लाग्छ,’ उनले भने।
यस्ता अड्डा अदालतका भुक्तभोगी सुवास र पुरूषोत्तमले भने, ‘यल्ले पैसा नखाई काम गर्दैन, हामीले थाहा पाइसक्यौं।’
मैले आश्चर्य प्रकट गरें, ‘हैन अझै पनि यस्तो हाकाहाकी घूस। म नहुने, नमिल्ने काम गराउन त आएको हैन।’
फेरि आधा घन्टापछि गएर सोधें, ‘कति समय लाग्छ होला?’
‘हेर्नुस्, भीडभाड छ, तपाईंको कागजात ठन्डा दिमागले टाइप गर्नपर्छ, समय लाग्छ।’
पुरूषोत्तमले प्वाक्क भनिदिए, ‘लौ ठूलो भोज चाहिँ हैन खाजा खानुहोला छिटो गरिदिनुस्।’
ठीक काउन्टरको अगाडि हामी पर्खेर बसेको सानो घरको नाम सहिद प्रतीक्षालय रहेछ।
माथि सिलिङमुनि लहरै माओवादी द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका र मारिएका कलिला युवाका दर्जनौं फोटो लहरै रहेछ। नियालेर हेरें। म जन्मेको गाउँ केवलपुर अनि जीवनपुर, थाँक्रे, किरानाचोक र जिल्लाका अन्य विभिन्न ठाउँका रहेछन्।
किन मरे, मारिए, केका लागि? कसका लागि? के परिवर्तन आयो त? हाकाहाकी घूस मागिन्छ। जिल्ला प्रशासनको वरिपरि यस्तै कामले आएका टोलाई राखेका सयौं नेपालीबाट दिनमा कति असुलउपर गर्दा हुन् यी कर्मचारी। मन कुँडियो।
सुवासले थपे, ‘अब तपाईंलाई हरेक कामका लागि यहीं धाउनुपर्छ, पछि पनि। बरू अहिले आएको बेलामा नागरिकताको लागत निकालेर लैजाऔं, ललितपुरबाट लिन सजिलो हुन्छ, यसैउसै यल्लाई पैसा खुवाउनु परेपछि।’
त्यसै गरियो।
करिब ४५ मिनेटपछि इशाराले भित्र आउन भने ती कर्मचारीले।
‘खै कति छ?’
‘यी यति।’
‘ल हेर्नुस्, दिनभरि लाग्ने काम कति चाँडो भयो। लागत पनि तयार भइसक्यो, यहाँ सही छाप गर्नुस्।’
त्यसपछि कागजपत्र बोकेर हिँडियो। नरमाइलो लाग्यो।
घले होटलकी आमाको मन छुने आतिथ्य सत्कार
धादिङबेंसी जाने सडक पृथ्वी राजमार्ग आएर जोडिने बजारमा आएर रोकियौं, खाना खाने विचारले। अक्सर यात्रुहरूको संख्याका आधारमा खाना तयार गर्ने रेस्टुरेन्टहरूमा अलि ढिला भएकाले खाना लगभग कहीं के, कहीं के अपुग रहेछ।
अन्त्यमा, घले होटलकी साहुनीले सबै पुग्छ पाँच जनालाई भनेपछि त्यहीं बसियो। साहुनी खाना पस्कँदै थिइन्।
‘मलाई चाहिँ यो तारेको माछा, दाल, हरियो फर्सीको तरकारी र गोलभेंडाको चटनी नहाल्नु होला।’
‘अनि केसँग खानुहुन्छ त? यो पनि नखाने त्यो पनि नखाने?’
मैले भनें, ‘युरिक एसिड अलि बढेको छ। यै घिरौलाको तरकारी भए हुन्छ।’
‘खै, त्यो पनि थोरै छ। कसरी खानुहुन्छ, दही या दूध?’
‘पर्दैन पुर्याएर खाउँला।’
सबै आ–आफ्नो सुरमा खाना खान थाल्यौँ।
एकछिनपछि दुईवटा कचौरामा फर्सीका मुन्टा र गाभाको तरकारी छिमेकी होटलबाट ल्याएर मेरो थालको छेउमा राखिदिइन् र भनिन्, ‘ल खानुस्, त्यस्तो बुगुल्टो त कसरी खानु?’
यतिबेला मैले आफ्नी स्व. आमालाई सम्झिएँ र, होटल साहुनीको मुखमा हेरें। मन छोयो यी आमाको आत्मीयताले।
खाना खाएर भलाकुसारी गरें एकछिन। त्रिशूली पारि तामाङ घले गाउँकी रहिछन् आमा।
‘व्यवसायले खान लाउन ठिक्क हुन्छ। ड्राइभर खलासीलाई ज्वाइँ मानेझैं मान्नुपर्छ। बसले यहाँ ल्याएर रोके पनि खाना खान अन्तै जान्छन् यात्रुहरू कहिले। प्रतिस्पर्धा धेरै छ, जीवन जीउने मेलो मात्र हो बाबु,’ आमाले विवशता सुनाइन्।
न्यानो आत्मीय सत्कारका लागि आमालाई धन्यवाद दिँदै हामी आफ्नो बाटो लाग्यौं।
नागढुंगादेखि कलंकीसम्म आउन करिब दुई घन्टा लाग्यो, त्यो पनि दहचोकमुनि हुँदै छोटो बाटो आएकाले।
भोलिपल्ट फेरि गृह मन्त्रालय पुगें। भर्खरै मर्मत सम्भार गरिएको अफिसमा कोही तारका गुजुल्टा मिलाउँदै थिए त कोही पुछपाछ गर्दै।
सबैलाई सामूहिक अभिभावदन गरें। चिनिहाले।
‘हैन, तुरुन्तै गराएर ल्याउनु भयो त।’
‘कसरी तुरुन्तै भयो, त्यो त मलाई मात्र थाहा छ।’
मुखामुख गरे सबैले, कुरा बुझिहाले।
पुनः गृहको चिठ्ठी लिएर परराष्ट्र मन्त्रालय पुगें। बालकृष्ण भण्डारी रहेनछन्।
अर्की महिला कर्मचारीलाई व्याख्या गर्दै बुझाएँ। उनले भनिन्, ‘ढुक्क हुनुस्। तपाईं नपुग्दै इमेलबाटै चिठ्ठी हङकङ पुगिसकेको हुनेछ।’
ललितपुर जिल्ला प्रशासनमा रन्थनिँदा
अब आएको बेलामा नागरिकता पनि ललितपुरबाटै सारौं भनेर बिहानै महालक्ष्मी नगरपालिकाको कार्यालय पुगें। र, बसाइँ सराईका लागि जग्गाको लालपुर्जासहित वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय मानभवन पुगें।
एसएलसीको सर्टिफिकेटमा ‘पौडेल’ लाई अंग्रेजीमा पीओयूडीईएल हुनुपर्नेमा पीएयूडीवाईएल लेखिएको थियो। पछि कानुन किताबखानाले सोहीअनुरुप उल्था गरिदिएको थियो। यसलाई सर्टिफिकेट, हङकङ आइडी, पासपोर्ट सबैमा एकरूपता गरिदिन अनुरोध गरें।
‘यो धेरै गाह्रो छ, हाकिम साहबलाई सोध्नुपर्छ,’ कर्मचारीले भने।
कागजात पल्टाउँदै हाकिम सा’बले भनिहाले, ‘यो तपाईंको त मिल्दैन।’
कागजात साइडमा लगाउँदै उपरखुट्टी लाएर उनी कोल्टे फर्किए।
धादिङ सदरमुकाममा जस्तै उनीहरू पनि ‘दह्रो भोज’ खाने तरखरमा छन् भन्ने मैले बुझिहालें।
त्यसपछि बाहिर निस्किएर मनले खाएका उनीहरू भन्दा ठूला एक हाकिमलाई फोन गरें।
‘सर, नमस्कार।’
‘नमस्कार, कता हुनुहुन्छ?’
‘छन त ललितपुर जिल्ला प्रशासनमा छु, धादिङबाट ललितपुरमा नागरिकता सारौं भनेको। खै यहाँ त नागरिकताविहीन पार्ने पो भए त, गणतान्त्रिक नेपालमा नेपालीको छोरोलाई।’
‘ए हो र, उसोभए त्यहाँ सीडीओ को रहेछ हेरौं त?’
त्यसपछि मैले नाम हेरें र जानकारी गराएँ, तर ‘बाहिर’ लेखेको छ प्लेटमा। अनि सहायक सिडिओको नाम बताएँ।
‘ए ठीकै छ, तपाईं बस्दै गर्नुस् म फोन गर्छु पहिला।’
एकैछिनमा फोन आयो, ‘ल उनी बाटामा आउँदैछन् रे बस्दै गर्नुस्, भनिदिएको छु।’
‘हुन्छ, धन्यवाद।’
उनी आइपुगे।
ल बस्नुस् भन्दै भित्ताको विद्युतीय घण्टी थिचे। लामै समय कोही देखापरेनन्।
उतिबेला समयमा काम पूरा नगर्ने ठेकेदारहरूलाई कारबाही गर्ने भनेर गृहमन्त्रीले ठूलै हल्लीखल्ली मच्चाएका थिए। त्यही विषयमा कुरा गर्न फाइल लिएर अरू पनि उनको वरिपरि बसेका थिए।
पुनः म्यानुअल घन्टी बजाएपछि एकजना कार्यालय सहयोगी देखापरे। उनले नाम लिएर नागरिकता टाइप गर्ने र सही गर्ने शाखा अधिकृतलाई बोलाउन लगाए। अधिकृत आएनन्। टाइपिस्ट आए।
त्यसपछि उनले भने, ‘हेर्नुस्, उहाँको समस्या रहेछ। हामीले टाइप गर्दा मिलाउन सकिन्छ?’
ती कर्मचारीले भने, ‘सकिन्छ सर।’
‘पहिला झापामा पनि पौड्याल र पौडेलमा यस्तै समस्या थियो। हामीले मिलाइदिएका थियौं। लेख्ने मान्छेहरूले अलिकति विचार गरे हुने हो,’ उतापट्टि सोफामा बसेका कर्मचारीले थपे।
‘ल उहाँसँग जानुस्,’ हाकिमले मलाई भने।
म टाइपिस्टको पछि लागें।
जाँदाजाँदै बाटैमा टाइपिस्टले भने, ‘अंग्रेजीमा चाहिँ मिलाइदिउँला, नेपालीमा चाहिँ मिल्दैन।’
मैले थाहा पाएँ, आज उनीहरूको योजनाले फेल खायो।
‘ल ठीकै छ।’
टाइप गरेको नागरिकता लिएर उनी पुनः उनै हाकिमको टेबलमा आइपुगे।
‘कसको सोर्सफोर्स लगाउनु भयो, पछि जग्गाको कारोबारमा मालमा दुःख पर्छ’ भन्दै फतफताए। अनि अंगे्रजीमा पनि सच्याउन मिल्दैन भन्दै फेरि काटिदिए।
मैले भनें, ‘हेर्नुहोस्, तपाईंहरूकै परराष्ट्रले दिएको पासपोर्टमा छ त। कानुन किताबखानामा उल्था तपाईंहरूजस्तै कर्मचारीले गर्नुभएको हो।’
म पुनः टाइपिस्टको अफिसमा गएँ र भनें, ‘ल, तपाईंको हाकिम साहबले मान्नुभएन, जस्ताको तस्तै गरिदिनुस् रे।’
उनले त्यसै गरे।
‘तपाईंहरू सोर्सफोर्स लाउनु हुन्छ। कल्ले कल्लाई गन्छ र? पहिल्यै राम्रोसँग कुरा मिलाको भए भइहाल्थ्यो।’
उनको घुमाउरो भनाइ मैले बुझें।
अनि जस्ताको तस्तै नागरिकता लिएर मानभवनबाट म आफ्नो बाटो लागें। गणतान्त्रिक नेपालको प्रशासनतन्त्रको एउटा अनौठो अप्रिय अनुभव बोकेर फर्किंएँ।नेपालखबरबाट


