पाकिस्तासंग युद्ध लडेका एक गोर्खाली सेनाको अनुभव: ‘रासन सकियो, हिउँ र जङ्गली साग खाएर लड्यौँ’



हाम्रो इकोनोमि

 

 

कश्मीर मामिलालाई लिएर सात दशक अघिदेखि विवाद गर्दै आएका भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ।

यही फागुन पहिलो साता भारत प्रशासित कश्मीरमा भएको एउटा आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि उनीहरूबीचको सम्बन्ध बिग्रिएको हो।

सोही तनावलाई लिएर कतिपयले भारत र पाकिस्तानबीच अर्को युद्ध हुनसक्ने अड्कल पनि काटिरहेका छन्।

युद्धको अड्कलबीच कतिपयले भने करिब दुई दशक अघि भारत र पाकिस्तानबीच उच्च हिमाली क्षेत्र कार्गिलमा भएको युद्धको समेत सम्झना गरिरहेका छन्।

यसै सन्दर्भमा उक्त लडाइँका बखत कार्गिलको अवस्था कस्तो थियो भन्ने बारे बीबीसी नेपाली सम्वाददाता विष्णु पोखरेलले सन् १९९९ मा कार्गिल युद्धमा प्रत्यक्ष सहभागी नेपाली नागरिक भारतीय गोर्खा सेनाका एकजना भूतपूर्व सुवेदार गम्भीरजङ्ग राईसँग कुराकानी गरेका छन्।

कार्गिल युद्धमा बच्न सफल राईको युद्ध संस्मरण उनकै शब्दमा:

भारतीय सेनामा प्रवेश

मेरो पुर्ख्यौली घर खोटाङ जिल्लाको निर्मलीडाँडा भन्ने स्थानमा हो। हाल भने म सुनसरीको इटहरीमा बसोबास गर्छु।

म सन् १९७६ मा भारतको दार्जिलिङ पुगी ‘फ्रस्ट इलेभेन गोर्खा राइफल्स’मा भर्ना भएको थिए।

भारतीय सैन्य सेवामा मैले २७ वर्ष काम गरेँ र सुबेदार पदमा पुगेपछि सन् २००२ मा अवकास पाएँ।

सैनिक जीवनका २० वर्षजति म ‘फिल्ड’मा नै खटिएर काम गरे।

त्यसक्रमममा म कश्मीर, नागाल्यान्ड र आसामका कतिपय सशस्त्र विद्रोहलाई कम गर्न गरिएका कारबाहीहरूमा पनि सहभागी हुन पुगेँ।

सात वर्षजति चाहिँ मैले दिल्ली र मुम्बई जस्ता सहरमा कार्यालयमा नै बसेर काम गर्ने अवसर पाएको थिएँ।

प्राय: सबै क्षेत्रमा खटिँदा हाम्रो जिम्मेवारी सशस्त्र समूहमाथि नियन्त्रण गर्नु नै रहेको थियो।

सियाचिनको सङ्कट

म कार्गिलमा खटिनुभन्दा अगाडि सियाचिन हिमनदीको सैन्य शिविरमा काम गरेँ।

यो सन् १९९७ को कुरा हो। २७ हजार फिट माथिको सियाचिन सैन्य शिविरलाई विश्वकै कठिन भूभागमा रहेको मध्येको एउटा सैन्य शिविर भनिन्छ।

हाम्रो टोली त्यहाँ ४५ दिन बसेको थियो।

अक्सिजन एकदमै कम हुने उक्त क्षेत्रको शिविरमा बस्नु भनेको निक्कै कष्टकर कुरा भोग्नु हो।

हामीलाई सियाचिन जानुभन्दा अगाडि एक महिनाको तालिम दिइएको थियो।

त्यो तालिम हिमाल चढ्न दिइने तालिमजस्तै हो।

हिमनदीमा जानुभन्दा अगाडि सबै सैनिकको तौल लिएर पठाइएको थियो।

४५ दिन बसेर फर्कँदा सबैजसोको तौल आधाजति कम भएको थियो।

६० केजीका मान्छे ३० केजीको भएर फर्केका थिए। त्यसो हुनुको कारण भने त्यहाँको मौसम हो।

हामी हिँड्न मन पराउने मान्छे तर त्यहाँ त हिँड्न पनि सकिँदैन।

अक्सिजनको कमीका कारण एक दिनमा एकजना मान्छेले तीन सय मिटरभन्दा बढी हिँड्न सक्दैन।

खाना पनि रुच्दैन। मलाई त केही पनि रुचेन। तर बालककालदेखि नै खाने गरिएको खानेकुरा भने खान मन लाग्नेरहेछ।

त्यहाँ खाने भनेकै पानी र जुस हो।

त्यहाँ हिँड्नुपर्दा पनि धेरै गाह्रो हुनेरहेछ। हिमाल चढ्दा जस्तै ‘क्लिप’को भरमा डोरीमा बाँधिएर हिँड्नुपर्थ्यो।

त्यहाँको बसाइ अत्यन्तै डरमर्दो। हिउँको खाडीमा पर्ने खतरा उस्तै।

सियाचिनमा बस्दा ७-८ जना एउटा डोरीमा बाँधिएर हिँड्नुपर्थ्यो। हिम पहिरो गएका गएका बेला ‘भाग्य’ले मात्र बाँचिनेरहेछ त्यहाँ।

तर हिम पहिरो जान लागेको चाहिँ केही अघि थाहा हुनेरहेछ। त्यस्तो बेला बच्नका लागि सावधानी अपनाउनु पर्छ।

सियाचिनमा लाग्नसक्ने रोगको सूची नै ७२ वटा थियो। त्यो भन्दा बढी कष्ट त के नै होला र?

कहिलेकाहीँ त्यहाँ लगेर जहाज र हेलिकप्टरले सामान खसाइदिन्थ्यो। आफैँ हिँड्न नसक्ने अवस्थामा केही पर खसाएको सामान ल्याउने हिम्मत नै नहुने।

कतिपय साथीहरू त सामान ल्याउनुको साटो भोकै शिविरमा बसेको पनि सम्झना छ मलाई।

कार्गिलको कष्टहामी सियाचिनमा ४५ दिन बसेर कार्गिल फर्केको केही समयपछि नै भारत र पाकिस्तानको लडाइँ शुरू भयो।

कार्गिल र लेह क्षेत्रको लगभग एक हजार किलोमिटर लामो क्षेत्रलाई त्यसबेला भारतीय सेनाका विभिन्न कम्पनीले सुरक्षा गर्नुपर्ने जिम्मा थियो।

त्यसका लागि सधैँ नियन्त्रण रेखामा नै बस्नुपर्ने अवस्था थिएन।

महिनामा एक-दुई पटक गस्ती गरेर त्यसको हेरचाह गर्ने चलन थियो।

तर एकाएक पाकिस्तानले नियन्त्रण रेखा मिचेर भारततर्फ पक्की सैन्य शिविरहरू बनाएको भन्ने कुराहरू आए।

त्यसपछि दुई देशबीच विवाद बढ्यो र कार्गिल युद्ध शुरु भयो। कार्गिल युद्धमा दुईवटा क्षेत्र प्रयोग भएका थिए-बटालिक र टाइगर हिल।

युद्धको सुरूमै हामी गोर्खालीहरूले अग्रपङ्तिमा रहेर लड्नु परेन। अग्रपङ्तिमा अन्य सातवटा बटालियन थिए। तर ती बटालियनले डेढ महिनासम्म पनि न कडा आक्रमण गर्न सके न प्रतिरक्षा नै।

त्यसपछि गोर्खालीहरूको नम्बर लाग्यो। हामी ‘फर्स्ट इलेभेन गोर्खा राइफल्स’मा कार्यरत थियौँ। हामीले बटालिक इलाका सम्हाल्नु पर्नेभयो।

हाम्रो नम्बर लागेपछि बटालिक इलाकाको एउटा चुचुराको फेदमा आधार शिविर खडा गर्‍यौँ।

हामीलाई चुचुरोमा पुगेर ‘अक्युपाई एन्ड रिलिफ’ गर्ने आदेश थियो। त्यसका लागि हामीले समूह बनाउनु पर्ने भयो।

मैले ‘क्याप स्पेसल टास्क फोर्स कमाण्डर’को जिम्मा पाएँ। जब हामी अगाडि बढ्यौँ माथिबाट फर्किरहेका सैनिकहरू धेरै खुशी भए।

तर हामी जाँदा धेरै नै घाइते देखियो। सयौँ जनालाई उतै छाडेर आएको थाहा पाइयो। बम लागेर साथीहरू आएको देख्दा मन अमिलो भयो।

मनमा लाग्यो, ‘नेपालमा जन्मियो, भारतलाई कर्मथलो बनाइयो अब ज्यान चाहिँ कार्गिलमै जाने रहेछ।’ हामी बटालिकमा खटिएको एक महिनासम्म खासै आक्रमण भएन। त्यसपछि बल्ल आक्रमण शुरू भयो।

जुन दिन आक्रमण शुरू भयो मैले अरू सबैकुरा बिर्सिएँ। तर आफ्नै गाउँठाउँका देवीदेउता मात्र भाकेर बसेँ। देउता मात्र पुकारेँ। परिवार पनि सम्झिनँ।

देउतालाई नै सम्झेर आक्रमण शुरू गर्‍यौँ। आक्रमण पहिलो कम्पनीले गर्‍यो र हामी ‘रिजर्भ’मा बस्यौँ।

हाम्रो ‘कमाण्डिङ अफिसर’ कप्तान ललित राई थिए। भइदियो के भने, आक्रमण शुरू हुने बित्तिकै ललित राई सहित १४ जना एम्बुसमा परिहाले।

तर उनले आफ्नै टाउकोमा राखेर हतियार चलाइहाले। त्यहाँ बम पड्कियो।

त्यसले गर्दा आफ्नैतर्फ पनि हताहत भइहाल्यो। तर हामी सफल हुने सङ्केत देखियो।

१४ जनामा तीनजनाको मृत्यु भयो। त्यो दिनको कुरा सोच्दा त मुटुले ठाउँ छाड्छ। अहिले पनि मुटु काम्छ।

त्यसपछि भने लगातार लडाइँ हुँदा र साथीहरू घाइते भएर लड्दाचाहिँ बदलाको भावना आएर डर हरायो।

मैले २८ जनाको नेतृत्व गरेको थिएँ। हामी ९ दिन लगातार लड्यौँ। त्यसबीच २७ वटा आक्रमण गरेछौँ हामीले।

सायद हामी नेपालीहरू पहाडबारे अभ्यस्त भएकाले होला त्यो बाँदर पनि जान नसक्ने अक्करे भीरमा पनि हामीले त्यत्रो आक्रमण गर्न सकेछौँ।

हामीले ९ दिनमा १२ किलोमिटर नियन्त्रण रेखा ‘क्लियर’ गर्‍यौँ।

गोर्खा
हिउँ खाएर लड्यौँ

हामीले ७२ घण्टाको रासन बोकेर गएका थियौँ।

तीन दिनमा रासन सकियो। तर हामीले नुन र चिनी बचाएर राख्यौँ।

हामीलाई रासन लिएर आउनुपर्ने टोली र हाम्रो बीचमा बम हानेर बाटो ध्वस्त बनाइदिए।

हामी आमनेसामने लडाइँमा थियौँ। अब हामी रासनविहीन भयौँ।

नुन र चिनी अलिअलि थियो। त्यहाँ जङ्गली साग पाइन्थ्यो। हामीले मैनबत्तीमा त्यसलाई सेकाएर खायौँ। हिउँमा चिनी लगाएर खाँदै ९ दिनसम्म बिताइयो।

त्यहाँ धेरै कुराको कमी थियो। ५४ जना हाम्रातर्फ घाइते भए। तर रासन पानी बोक्ने तीन सयजना घाइते भए। त्यो ‘ब्याड लक’ थियो।

त्यो ढुड्गाको छर्रा
हामी लडाइँमा गएको पहिले दिन नै हाम्रो शिविर लक्षित बम खस्यो। ढुङ्गाहरू उफ्रेर माथि गए।

हामीलाई चोइटाले लाग्यो। ढाडमा र गोडामा ‘खून’ बग्यो। त्यो देखेपछि हामीलाई बमको छर्राले लागेको भान भयो। मैले मुटु छामेर बसेँ र सोचेँ- ‘अब जीवन यत्ति नै रहेछ। छर्राको विष लागेपछि मरिन्छ होला।’

तर एकछिनपछि भने घाउ चहर्‍यायो मात्र। त्यसपछि चाहिँ ढुङ्गाको मात्र छर्रा लागेछ भन्ने भएर ढुक्क भयौँ।

म अहिले पनि त्यो कुरा बारम्बार सम्झिन्छु। साथीभाई भेट्दा अहिले पनि म त्यो कथा सुनाउँछु।

भारत पाकिस्तान मिलून्

अहिले फेरि भारत र पाकिस्तान युद्ध गर्ने जस्तो अवस्थामा पुगेको देखेर मलाई नरमाइलो लागेको छ।

उनीहरूबीच युद्ध हुनु राम्रो होइन। अब त आणविक हतियार प्रयोग हुने खतरा बढी छ।

त्यसले हामीलाई पनि असर पर्न सक्छ। युद्धलाई रोक्नु राम्रो हो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...