नेता कृष्ण सिटौला भन्छन सभापतिले नै गुट चलाएपछि पार्टी समाप्त हुन्छ
काँग्रेसमा केको विवाद हो, जब कि नेताहरूले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्नुपर्ने अवस्था आयो ?
बैठक बहिस्कार त होइन, स्थगितसम्म भएको हो ।
बैठक बोलाएको समयमा बैठक हलमा नेताहरू नगएपछि त्यसलाई बहिस्कार नभनेर के भन्ने त ?
यसलाई तपाईंले आफ्नो सुविधाअनुसार बुझ्न सक्नुहुन्छ । तर बहुमत र अल्पमतबाट गरिने प्रक्रियालाई रोकेको अवश्य हो । विधान पास गर्ने बेलामा पनि यो प्रयास गरे पनि सकिएको थिएन, तर आइतबार सफल भइयो ।
जसरी पार्टीको विधानको विषयलाई लिएर बहुमतको आधारमा सभापतिले निर्णय गराउनुभयो, जुन कुरा गलत थियो । आजको समग्र देशको राजनीतिक परिस्थितिलाई मूल्याङ्कन गर्दा नेपाली काँग्रेस पार्टीभित्र बृहत् एकता खोजी गर्नुपर्छ । परस्परमा विश्वास र समझदारी निर्माण गर्न सक्नुपर्छ । त्यसमा पनि विधानजस्तो विषयमा त यो अनिवार्य नै हुन्छ, जुन विषयलाई महासमितिको बैठकले नै टुङ्ग्याइसकेको छ । दुईवटा विषयमा महासमिति बैठकले केन्द्रको ध्यानाकर्षण गरको हो ।
केन्द्रका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन सदस्य बन्ने व्यवस्था खारेज गरेर तलबाटै निर्वाचित भएर आउने व्यवस्था गर भन्ने र समानुपातिक समावेशी सुविधा पटक–पटक एउटै व्यक्तिमा नदोहोरियोस् भन्ने अर्को विषय हो । यी दुई विषय पार्टी विधानमा राख्नुपर्छ भनिएको हो । यही कारण ५ दिनको महासमिति बैठक नौ दिनसम्म चल्न पुग्यो । अन्ततः नौ दिनका दिन सभापतिले नै यो प्रस्ताव गर्नुभयो, यी माग पूरा गरिन्छ, विधान पारित गर्दिनुस् भनेपछि महासमिति बैठकमा उपस्थित सदस्यहरूले ताली पड्काएर उत्साहित हुँदै विधान पारित गर्नुभयो ।
त्यसपछि समापन समाहरोहमा भएको त्यो परिदृश्य पनि आम पब्लिकबीचको नै हो । त्यो खुला सत्र र प्रेसको सामुन्ने बोलेको कुरा पनि हो । त्यो समाचार त्यसको भोलिपल्ट सबै सञ्चारमाध्यममा अब पार्टीको विधान यस्तो बन्नेछ भन्ने पनि आइसकेको छ । तर अहिले आएर केन्द्रीय समितिले परिमार्जन गर्ने बेलामा केन्द्रका केही साथीहरूले मान्नुभएन भनेर सभापतिले आफूपक्षीय बहुमत देखाएर निर्णय गर्नु सरासर गलत हो ।
विधान संशोधन गर्ने अधिकार महासमितिलाई मात्रै हुन्छ, केन्द्रीय समितिलाई छैन । केन्द्रीय समितिले त विचारहरूलाई व्यवस्थित मात्र गर्ने हो । त्यति लामो महासमिति बैठक बसेर समिति सदस्यहरूले उठाएका विचारहरूको अपमान पनि गरियो । साथै भएको एकतामा पनि चोट पर्यो भनेर हामीले नोट अफ डिसेन्ट लेख्यौँ । मैले यी दुईवटा विषयमा महासमिति र केन्द्रका साथीहरूको भावनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ सोचौँ, बहुमतको आधारमा निर्णय नगर्नुस् सभापतिजी भनेको थिएँ तर उहाँले मान्नुभएन ।
यसरी निर्णय गरेलगत्तै विधान प्रिन्ट भएर हातमा आइसकेको छैन । साथीहरूले पाइसकेका छैनन् । यहीबेला अनुशासन समिति र निर्वाचन समिति गठन गर्न बैठक बोलाउनुभयो । यस विषयमा पनि सहमति हुने लक्षण थिएन । मैले त पदाधिकारी बैठकमा बूढानीलकण्ठमै पनि सहमति हुनसक्छ भने मात्रै बैठक राख्नुस् नत्र नराख्नुस भनेको थिएँ । अरू बढी क्षति हुन नदिनुस् । यदि त्यसो गरे काँग्रेसमा झन् ठूलो क्षति हुन्छ भन्दाभन्दै उहाँले मङ्गलबार बैठक बोलाउनुभयो । बैठक सञ्चालन पनि गर्न खोज्नुभयो । तर हामी त्यो बैठकमा गएनौँ ।
बैठक स्थगित गरेपछि सभापति देउवासँग केही कुरा गर्नुभयो कि ?
भयो । मैले पार्टीभित्र राम्रो वातावरण बनाउनुस्, यदि वातावरण भएन भने पार्टी दुर्घटनामा पर्नसक्छ भनेर सुझाव दिएँ ।
तर अब तपाईंहरूको सुझाव सभापतिले कार्यान्वयन गर्नुहोला त ?
कार्यान्वयन गर्नुहुन्छ वा हुन्न त्यो उहाँको कुरा हो । सभापति भएपछि स्वतः उहाँको बहुमत पुग्छ । तर हामी बुहमत–अल्पमतबाट गरिने निर्णयलाई अब निरन्तर रोक्छौँ ।
कुन–कुन विषयमा सहमतिका आधारमा निर्णय गर्ने र कुनकुन विषयमा बहुमत र अल्पमतबाट निर्णय गर्ने, त्यो छुट्याएको छ काँग्रेसले ?
आजका दिनमा पार्टी सञ्चालनका विषयमा समग्र विषयमा सहमति जुटाएर हिँड्नसके पार्टी पनि सफल हुन्छ । साथै सफलतको मुख्य श्रेय सभापतिले नै पाउनुहुन्छ । अब सभापतिले गुट चलाउने होइन, पार्टी चलाउने हो । पार्टीका तमाम नेता कार्यकताहरूले सभापतिलाई इन्स्टिच्युसन हेडका रूपमा देख्न पाउनुपर्छ । जब कि कुनै एउटा टिमको लिडरको रूपमा होइन । सारा कार्यकर्तालाई नेतृत्व गर्ने नेताका रूपमा देख्न पाउनुपर्छ । त्यो रूपमा उहाँले आफूलाई उभ्याउन सक्नुभयो भने पार्टी पनि सफल हुन्छ र उहाँ पनि सफल सभापति बन्नुहुन्छ ।
तर तपाईंले यसो भन्दै गर्दा सहमतिका नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले भागबण्डा खोजेर पार्टीलाई नै अनिर्णयको बन्दी बनाउन खोजे भनेर संस्थापनपक्षले भनेको छ नि ?
भागबण्डा कुन अर्थमा भन्नुहुन्छ ? उहाँहरूको त्यो पुरानो धङधङी हो । यसो भन्नेहरू पुरानो नसाबाट मुक्त हुन नसकेका हुन् । अहिले पार्टीको आन्तरिक परिस्थिति मूल्याङ्कन गर्दा भागबण्डाको कुरा कसैले गरेको नै छैन । जतिबेला महाधिवेशन भएर सभापतिमा देउवा निर्वाचित हुनुभयो, उहाँको कार्यकाल र मुख्य परिणाम हेर्ने भनेको निर्वाचन नै हो, त्यो हेरिसकियो ।
पहिलो पटक नेपाली काँग्रेस पार्टी निर्वाचनताका सैद्धान्तिक विचलनमा गयो । चुनाव हारजित ठूलो कुरा हुन्न । तर, चुनावमा सैद्धान्तिक विचलन आउनु हाम्रो पार्टी सिस्टममा धेरै ठूलो कुरा मानिन्छ ।
निर्वाचनमा काँग्रेस कसरी सैद्धान्तिक विचलन आयो ?
देख्नुभएन ? चुनावमा कहीँ हलोमा भोट हालेको छ, कहीँ गाई, मधेसीलाई त कहीँ नयाँ शक्तिलाई भने मसाललाई ! फेरि पार्टी एलाइन्स कहीँ छैन । व्यक्तिका आधारमा अरू पार्टीका नेतालाई सघाउने नाममा अरूलाई भोट हाल्ने काम भयो । गएको निर्वाचनमा भएको सैद्धान्तिक विचलनले त्यो बाटो नहिँड है भनेर हामीलाई परिणाम दिइसक्यो ।
एउटा पार्टी, जसमा सद्धान्तिक विचलन आइसकेपछि त त्यो पार्टी आउट अफ ट्र्याकमा गयो भनेर बुझ्दा गलत हुन्न ?
चुनावका बेला त्यसो गर्दा रणनीतिक र कार्यनीतिक दुवै हिसाबले कमजोर भएको प्रष्टै छ । अब त्यो विषय धेरै कोट्याउन म चाहान्न । त्यसको निर्वाचनको परिणामको रियलाइजेसन गर्दै पार्टीमा बृहद एकता गर्न सक्नुपर्दैन ? पार्टीको विधानजस्तो विषयमा महासमितिले भनेको नमान्नु र बहुमतको आधारमा निर्णय गर्नु त्योभन्दा ठूलो ज्यादति के हुनसक्छ ? त्यही टे«न्डमा अनुशासन समिति बन्ने, निर्वाचन समिति बन्ने हुन थाल्यो भने पार्टीमा अरू बढी क्षति हुने भयो ।
अहिलेसम्म नयाँ संरचनाको विधान बनेको छैन, पार्टीका संरचना उस्तै लथालिङ्ग र भताभुङ्ग छन । भ्रातृ सङ्गठनहरूको अवस्था त्यस्तै छ । यसमा सबै दोष सभापतिलाई मात्रै दिएर तपाईंहरू उम्कन मिल्छ ? यसको नैतिक जिम्मेवारी लिनुपर्दैन ?
सभापतिले महाधिवेशन सकिएपछि तुरुन्त विभाग र समितिहरू गठन गर्नुपथ्र्यो, त्यो उहाँले गर्नुभएन । अब अहिले महासमितिले विधानमा नयाँ संरचनाको परिकल्पना गरेपछि त त्यो संरचनामा जान सबैलाई साथ लिएर जानुपर्दैन ? विधान आफै कार्यान्वयन हुने त होइन । त्यसका लागि नियामावली बनाउनुपर्छ । परस्परमै अविश्वास छ । जे पारित भयो, त्यो छापिन्छ भन्ने नै विश्वास छैन । यसले आज काँग्रेसको केन्द्रीय वृत्तमा परस्परमा अविश्वास भएकै हो भन्ने देखाउँछ । स्वयम् सभापतिले गुट चलाएपछि के हालत हुन्छ पार्टीभित्र ? यसमा धेरै व्याख्या गर्न चाहान्न तर थप त्यस्तो दुर्घटना नहोस् भन्ने मेरो भनाइ हो ।
एक महिनादेखि जारी केन्द्रीय समिति बैठक बस्दा यो बीचमा असहमतिहरूलाई सहमतिमा रूपान्तरण गर्न सभापति र तपाईंहरूबीच आन्तरिक छलफल भएन ?
खासै छलफल नै भएनन् । छलफल भएका भए त सहमति भइजान्थ्यो नि । सोमबार उहाँहरू रसुवा गएर फर्कनुभयो, साँझमा बोलाउनुभयो पदाधिकारीसहित म पनि थिएँ । मैले त्यही आफ्नो कुरा सर्वसम्मत हुने भए बैठक बोलाउनुस् नत्र नबोलाउनुस् भनेर हिँडँे । हतारिएर निर्णय गरेर पछुताउनुभन्दा संयमित भएर, सबै साथीहरूलाई समेटेर अगाडि जानुस् सभापतिजी भनेर मैले त पटक पटक भन्दै आएको छु ।
तपाईंहरूले चुनावयता त्यस्ता सुझाव धेरै पटक सभापतिलाई दिनुभयो तर सभापतिले ती सुझाव एक कानले सुन्ने र अर्कोले उडाउने गरेको पाइन्छ । यस्तै भइरहने हो भने काँग्रेसको गति कस्तो होला ?
हाम्रो सभापति त शेरबहादुर देउवा नै हो नि ! सुझाव दिने काम हाम्रो हो । पार्टीलाई नेतृत्व गर्ने त उहाँले नै हो । उहाँले चाहँदा पार्टीभित्र बृहद एकता हुन्छ र उहाँले चाहँदा भएको एकता टुट्न पनि सक्छ । यो अवस्था भएकाले एकता टुट्न नदिन सुझाव दिइरहनुपर्छ भन्ने मेरो भनाइ हो ।
पार्टी एकता र सङ्गठन बलियो बनाउनपर्छ भन्ने चिन्ता सभापतिलाई नभएर हो त ?
पवरमा पुग्ने मान्छेलाई त्यस वरिपरि बस्ने मान्छेले प्रायः सन्काइरहन्छन् । भक्तिभाव र फुक्र्याएर कुरा गर्न चाहन्छन् । त्यो पावरले कुर्सीमा बस्ने मान्छेलाई अन्धो पनि बनाइदिन्छ । यो प्रसङ्ग सरकार चलाउने र पार्टी दुवैमा लागू हुन्छ । सरकारमा पनि पावरमा पुग्ने मानिसहरू कहिलेकहिले आफ्ना वरिपरिका मान्छेहरूको प्रशंसाबाट बडो अन्धो भएर विवेक गुमाइरहेका हुन्छन् । त्यसो हुँदा उनीहरूमा दम्भ र अहंकार बढ्दै गएको हुन्छ । पार्टी पनि एउटा सत्ता नै हो । पार्टीभित्र पनि सभापति वा अध्यक्षको कुर्सीमा पुग्ने मान्छले ठूलै गल्ती गर्नसक्छ । उसले गरेको गल्तीले पार्टीलाई ठूलो क्षति हुनसक्छ । तर गल्ती हुन नदिन जिम्मेवार व्यक्तिहरूले निरन्तर सुझाव दिइराख्नुपर्छ । एक पटक दिएको सुझाव सभापतिले मान्नुभएन भनेर सुझाव दिन छाड्नु हुँदैन । थाक्नुहुँदैन ।
तर सभापति मात्रै होइन, अरू नेताहरू पनि पार्टीको विधिविधान र आचारसंहिता विपरीत खुलेआम बोल्ने र एकले अर्काको चर्को विरोध गर्ने गरेको पाइन्छ । के काँग्रेसमा आवाश्यकभन्दा अलि बढी स्वतन्त्रता भएर त यस्तो अराजकताको अवस्था आएको होइन ?
लोकतन्त्रसँग जोडिएको प्रश्न हो यो । लोकतन्त्र शासकहरूका लागि कठिन र जनताका लागि सहज विषय हो । पार्टीभित्र पनि आन्तरिक लोकतन्त्र सभापतिका लागि अलि गाह्रो विषय हुन्छ भने कार्यकर्तालाई सहज । लोकतान्त्रिक माध्यमबाट देश बनाउन पनि प्रधानमन्त्रीले धेरै मिहिनेत गर्नुपर्छ । पार्टी बनाउन सभापति या अध्यक्षले मिहिनेत गर्नुपर्छ । सबैको सल्लाह र साथ लिएर हिँड्नुपर्छ अनि मात्रै सफल होइन्छ । कठिन काम गर्न कठिन मिहिनेत नै गर्नुपर्छ ।
आजका दिनमा काँग्रेस एउटा कठिन परिस्थितिमा छ । चुनौतीहरु छन् भने अवसरहरु पनि छन् । यही अवस्थामा काम काँग्रेसले काम पनि गर्नुपर्ने छ । त्यसका लागि पहिलो व्यक्ति भनेको सभापति नै हो । उहाँले नै कम्मर कस्नुपर्छ । चुनौतीहरूको समना गर्न सबै साथीहरूको साथ जुटाउनुपर्छ । त्यसकारण काँग्रेसको लोकतान्त्रिक अभ्यास पनि आन्तरिक ढङ्गले हुन्छ र परिचालन पनि लोकतान्त्रिक तरिकाबाटै हुन्छ । अनि लोकतान्त्रिक पद्धति भनेको बहुमतको तानाशाही त होइन ।
तपाईंको भनाइ सभापति तानाशाही बन्न खोज्दा यो अवस्था आयो ?
घटनाक्रम हेर्नुस् त्यही देखिन्छ । उदाहरणकै लागि प्रधानमन्त्री एउटा पार्टीको मात्रै त हुने होइन । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । नेकपाको नेताको हैसियतमा । तर, उहाँको जिम्मेवारी कम्युनिस्ट पार्टीप्रति मात्रै हुँदैन । देशप्रति, जनताप्रति आम विषयप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्छ । त्यस्तै पार्टी सभापतिले पनि आफ्नो टिमबाट जित्नुभयो । जितिसकेपछि त पार्टीका सबैको सभापति बन्नुभएकाले सबैको भावनाबमोजिम बृहत् एकता निर्माण गरेर हिँड्न सक्नुपर्दैन ? त्यसकारण यो लोकतान्त्रिक पद्धति शासकहरूका लागि गाह्रो, जनता र पार्टी कार्यकर्ताका लागि सहज विषय भनेको हो ।
हामीले खोजेको पार्टी पद्धतिभित्र र जनतालाई सहज व्यावस्था नै हो । नेताका लागि सहज व्यवस्था ल्याइएको होइन यो । त्यसकारण काँग्रेसभित्रको कुरा गर्दा हाम्रो सभापतिले पनि पार्टीको इस्युभित्र मात्रै रहेर भन्नुपर्दा सभापतिले पार्टी सङ्गठन निर्माण लोकतान्त्रिक ढङ्गले गर्नुपर्छ । अधिवेशनहरू गर्नुपर्छ । पार्टी भनेको काँग्रेसभित्रको संरचना हो, सबै भ्रातृ संस्थाहरूको अधिवेशन गर्नुपर्छ । मनोनित गर्ने र तदर्थवादको सिस्टमबाट पार्टीलाई बचाउनुपर्छ । जस्तो अहिले नेविसङ्घ तदर्थवादमा पुग्न लागेको छ, जसले गर्दा आफू आफै झगडा गरेका छन् । यो दुःख लाग्दो अवस्था हो । नेतृत्व सम्हाल्न चौडा छाती बनाउनुपर्छ । उदार चित्त पनि राख्नुपर्छ । फराकिलो सोच बनाउनुपर्छ । साहसिलो काम गर्दै गर्दा संयमित पनि हुनुपर्छ ।
काँग्रेसमा तपाईं कुनैबेला गिरिजाप्रसाद कोइराला नजिक भएर काम गर्नुभयो । उहाँको कार्यकालमा पनि विधि विधान एकातिर हुन्थे तर कोइरालाले जे भन्यो त्यही लागू हुन्थ्यो, त्यसबेला देउवाहरू विरोध गर्नुहुन्थ्यो । अहिले त्यो ठाउँमा देउवा हुनुहुन्छ । तपाईंहरू विरोधमा फरक त्यति त हो नि होइन ?
गिरिजाप्रसाद कोइराला जीवनको उत्तराद्र्धमा धेरै लिबरल बनेर काम गर्नुभयो कि पार्टीबाट हिँडेका देउवालाई पुनः ल्याउनुभयो । कम्युनिस्टको खिलाफमा बोल्ने उहाँले माओवादीजस्तो बन्दुक बोकेर हिँडेको पार्टीलाई देशको मूल धारमा ल्याउनुभयो र सहमतिको नेता बन्न सफल बन्नुभयो गिरिजाप्रसाद कोइराला । अन्तरपार्टीको कुरा होइन, मैले काँग्रेसभित्रको कुरा गरेको हो ।
फुटेको काँग्रेसलाई जोड्नुभयो त । देउवालाई पार्टीमा फर्काएपछि मर्यादामा आफूपछि दोस्रो स्थानमा राख्नुभयो । तर अर्को अधिवेशन नगर्दै उहाँको मृत्यु भयो । त्यसकारण गिरिजप्रसाद कोइरालाको जीवनको राम्रो विश्लेषण गर्नुभयो भने, उहाँ अत्यन्त धेरै लिवरल बनेको इतिहास छ । हिजो तथानाम भनेर छोडेर हिँडेकालाई जोड्दै उचित मान, मर्यादा र पद दिनुभयो । साँच्चै भन्ने हो भने गिरिजाले पार्टी फुटाएर गएकाहरूलाई पुनः फर्किदा बढी मान्यता दिनुभएको हो, जसले बृहत्तर पार्टी एकता हुन सकेको थियो । साथै उहाँमा पार्टीभित्र र देशको राजनीतिमा पनि व्यापक उदारवादको सोचाइ थियो । उहाँले राष्ट्रपतिको पद विवाद हुन लागेपछि इच्छा नै देखाउनुभएन । त्यसपछि नै सबै पार्टीले गिरिजाप्रसाद कोइरालालाई संयोजक मान्न अन्य दलहरू सहमत भए ।
उहाँले सहमतिको छाप छोडेर जानुभएको छ । त्यो भनेको सहमति गर । त्यसका लागि नेताहरू उदार बन । फराकिलो सोच । निजी स्वार्थबाट माथि उठ । राष्ट्रिय स्वार्थमा समाहित होऊ । परस्परमा विश्वास कायम गर । गिरिजाप्रसाद कोइरलाले फुटेको पार्टी जोड्दा के अरूलाई पेल भनेर सन्देश दिनुभयो कि जोडेर हिँड भन्ने सन्देश दिनुभयो या पेलेर हिँड भन्ने ? आज शेरबहादुरले त्यसैलाई फलो गर्न किन नमान्ने ? जुन उदार दृष्टिकोणबाट गिरिजाबाबुले मलाई स्वीकार गर्नुभयो सम्मानसाथ । त्यही सम्मानसाथ शेरबहादुरले आज पार्टीभित्रका फरक विचारलाई स्वीकार गर्नसक्नुपर्छ ।
अहिलेको अवस्था विलकुल फरक छ । त्यतिखेर माओवादी आन्दोलन थियो । अहिले त शान्तिपूर्ण स्थिति छ, यस्तो बेलामा पार्टी मिलाउन नसक्नुको कारण के हुनसक्छ ?
त्योभन्दा मुख्य कुरा आजको परिस्थिति काँग्रेसका लागि सबैभन्दा कठिन छ । तपाईंले हिजोको अवस्थाको विश्लेषण गर्नुभयो । त्योभन्दा कठिन परिस्थिति आज छ । काँग्रेसको नेतृत्वमा संविधान आयो । काँग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न भयो । सबै तह काँग्रेस पराजित भएर बसेको अवस्था छ । स्थानीय तहमा पनि हामीभन्दा कम्युनिस्ट पार्टी निकै ठूलो बनेको अवस्था छ । यो अवस्थामा काँग्रेस पार्टीभित्र बृहत् एकता खोज्नुपर्छ सभापतिले । भएको एकता टुट्न दिनु हुँदैन ।
अझै एकता जोड्दै जानुपर्छ । साथीहरूलाई जोड्दै जानु पर्छ । पार्टीलाई फराकिलो रूपमा विस्तार गर्दै जानुपर्छ । विचारले पनि विस्तार गर्नुपर्छ, सङ्गठनले विस्तार गर्नुपर्छ र नेतृत्वले विस्तार गर्नुपर्छ । अनि काँग्रेसकै नेतृत्वमा देश सङ्घीयतामा जाने, काँग्रेसकै नेतृत्वमा देशले संविधान पाउने, पार्टी एकतात्मक भएर बसिराख्ने । पार्टीभित्र समस्या छ नि ? त्यो समस्याबाट पार्टीलाई निकालेर सङ्घीय संरचना लिएर जान त दु्रतगतिमा काम गर्नुपर्छ ।
काँग्रेसलाई कठिन परिस्थितिबाट बाहिर निकाल्न के गर्नुपर्छ त ? तपाईंलाई त्यसको निकास के हुन सक्छजस्तो लाग्छ ?
त्यसका लागि एकहोरो दृष्टि राखेर सभापति हिँड्नु हुँदैन ।
अब तपाईंलाई ल्यायो रामचन्द्र पौडेल बटारिने, राचन्द्र पौडेललाई ल्यायो तपाईं बटारिने गर्दा मिलाउन समस्या भयो भन्ने संस्थापनको गुनासो छ नि ?
मैले भनेको छैन । विधानको इस्युमा रामचन्द्र र कृष्ण सिटौलाको विषय होइन ? महासमितिको बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिबाट बहुमतले निर्णय गरेर उल्ट्याउने अधिकार त कसैलाई छैन ।
तपाईंहरूले लिखित रूपमै फरक मत राख्नुभयो । विधान पारित पनि भयो । अब के गर्नु हुन्छ त ?
हो, हामीले लिखितमै फरक मत राखेका छौँ । विधान पारित भयो तर यो इस्यु महाधिवेशनसम्म बाँकी रहन्छ । हामी गलत भयो भनेर भन्छौँ ।
यो हेर्दा त पार्टीभित्रको विवाद लम्बिने भयो नि ?
पार्टीको सङ्गठन निर्माण गर्ने काम पनि जारी रहन्छ । पार्टीभित्रको वैचारिक इस्यु पनि जारी रहन्छ ।
विधानको विषय महाधिवेशनमा गएर टुङ्गिने भयो त ?
अहिले त उहाँहरूले विधानको विषय बहुमतले टुङ्ग्याउनुभयो । केके राख्नुभयो, केके ल्याउनुभयो ? अब देशभरका जिल्ला सभापतिहरूको र महासमितिका साथीहरूको त्यसमा विचार कसरी आयो ? उहाँले अब एउटा छलफलको नयाँ द्वार खोल्दिनुभयो, जुन आवश्यक थिएन । नयाँ द्वारले सङ्गो पार्टी र कसैलाई पनि फाइदा गर्दैन । नयाँ ढोका खोलेपछि छलफल हुन्छ नै । अझै पनि त्यसलाई सभापतिजीले व्यवस्थापन गर्न सक्नुहुन्छ । त्यो विचारबाट नयाँ निकास पनि निकाल्न सक्नुहुन्छ । सम्भावना बाँकी पनि छ । राजनीतिमा सम्भावना जहिले पनि रहन्छ ।
महाधिवेशन भएको लामो समयसम्म पार्टी लथालिङ्ग, भताभुङ्ग भयो भनेर तपाईंलगायत केही नेता कार्यकर्ताले भनिरहँदा अर्को महाधिवेशन आउने बेला भइसक्यो । अब तपाईंहरूलाई यही मुद्दाले अर्को महाधिवेशनमा जानलाई थप बल पुग्नेभयो भन्ने एक किसिमको विश्लेषण छ नि ?
महाधिवेशनको दृष्टिकोणले र प्रतिस्पर्धाको दृष्टिकोणले यो बहस भएको होइन ।
यो बहस खाली पार्टीको विधान, पद्धति, महासमिति बैठकको महत्त्वलाई लिएर भएको हो । हाम्रो पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशन र त्यसपछिको महासमिति अनि मात्र केन्द्रीय समिति हो । महासमितिले दिएको म्यान्डेट त केन्द्रीय समितिले अनिवार्य रूपमा मान्नुपर्छ । महासमितिको निर्णय, म्यान्डेट र त्यसको भावनालाई केन्द्रले सम्मान नगर्ने हो भने केन्द्रले गरेको निर्णय जिल्लाले कसरी मान्ने ? यसले तल्लो तहसम्म किचलो खडा हुनसक्छ । त्यो अवस्थामा नजावस भन्ने हाम्रो भनाइ हो । हाम्रा त्यसमा नाजायज के कुरा छन् र ?
अब नेताहरू १४औँ महाधिवेशनको तयारीका लागि तयार भइसकेका छन् । उम्मेद्वारी दिने कुरादेखि समिकरणसमेत बनाइसके भनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । नेपाली काँग्रेस पार्टीलाई तपाईंहरू अझै नजिकबाट हेर्नुहोस् ।
तपाईंको सोचाइमा म सहमत छैन– महाधिवेशनको प्रतिस्पर्धा भन्ने कुरामा । के चाहिँ हो भने जो साथीहरू बोलिराख्नु भएको छ । उहाँहरू हतारिएर बोल्नु भएको हो । महाधिवेशनको मिति घोषणा भइसकेको छैन । अहिलेका सभापतिको कार्यकाल अझै एक वर्ष बाँकी छ । सभापतिले चाहेको खण्डमा एक वर्ष थप गर्नु पाउने पार्टीको विधानमै व्यवस्था छ ।
विगतमा पनि विधानमा रहेको एक वर्ष थप गर्ने व्यवस्था प्रयोग गरेर महाधिवेशन गराएको इतिहास छ । विगतमा पार्टी हरेक महाधिवेशन ५ वर्षमा हुने गरेको छ । तर आजको परिस्थितिअनुसार तत्काल महाधिवेशन गर्न हो । पार्टीलाई सङ्घीय संरचनाअनुसार लग्नुपर्ने छ । या त बाँकी कार्यकालका लागि सङ्क्रमणकालीन प्रबन्धबाट सङ्घीय संरचनाअनुसार पार्टी संरचना निमार्ण गर्नुपर्यो । अहिलेको नयाँ विधानमा सङ्क्रमणकालीन प्रबन्धबारे पनि लेखिएको छ ।
सङ्क्रमणकालीन प्रबन्ध दुई तीन महिनाभित्र लागू गरिन्छ भने १ वर्ष थप्दा पनि हामीलाई आपत्ति हुँदैन । पार्टी सङ्गठनमा काम गर्नु त हो नि ? जहाँसम्म प्रतिस्पर्धाको कुरा के छ भने महाधिवेशनको मिति निर्धारण भइसकेपछि मात्र पार्टीभित्र कस्तो खालको प्रतिस्पर्धा हुन्छ भन्ने सिनारियो वा परिदृश्यहरू विकसित हुन्छ । अहिले नै अन्दाज गर्न सकिँदैन । अहिलेको अन्दाजले मिल्दैन । देशको समग्र राजनीतिमा पर्ने प्रभावबारे पार्टी नेताहरूले मूल्याङ्कन गर्नु हुन्छ ।
पार्टीको आन्तरिक रूपमा प्ररस्पर विचारको आधारमा, नीतिको आधारमा, इस्युको आधारमा नेतृत्व कोकोसँग मिलेर आएको हुन्छ । तलदेखि माथिसम्म । त्यसमा पनि निर्भर गर्छ । कुन सङ्ख्याले कसलाई के सन्देश दिएको हुन्छ । त्यसमा पनि निर्भर रहन्छ । यी यस्ता कुराहरूलाई लिएर मात्र महाधिवेशनको अन्दाज गर्न सकिन्छ । सभापति शेरबहादुर पुनः उठ्नु हुन्छ उठ्नु हुन्न केही ग्यारेन्टी छैन । म उठ्ने नउठ्ने पनि कही ग्यारेन्टी छैन । किनभने ‘दाइ महाधिवेशनमा के गर्नु हुन्छ ?’ भनेर मलाई धेरै प्रश्न आइसके । नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले । यो अशुभ हुन्छ । महाधिवेशनको मिति निर्धारण भएपछि मात्र थाहा हन्छ काँग्रेस पार्टी कुन सिनारियोमा अगाडि बढ्छ भनेर । अहिले कसरी अन्दाज गर्न सकिन्छ ? अन्दाजमा प्रश्न गर्नु पनि बेकार हो, उत्तर दिन पनि बेकार हो ।
त्यसो भने तपाईंले कोइराला परिवारका तीन जना एकै ठाउँमा भेला भएर हामी उम्मेदवारी दिन्छौँ भनिरहनुभएको छ नि ?
उहाँहरू अनेक ठाउँ भएको मलाई थाहा छैन । उहाँहरू सबै एकै ठाउँ त हुनुहुन्छ । उहाँहरू पहिले गिरिजाबाबु हुँदा गिरिजाबाबुकै लाइनमा काम गर्नुहुन्थ्यो । त्यपछि सुशील दाइकै लाइनमा काम गर्नुभयो । अन्त गएको मलाई थाहा छैन ।
अहिले देउवाको विरोधमै लाग्छु भनिरनुभएको छ नि ?
शेखरजीले अलिकति बोलेको सुनिन्छ । शशांकले त्यस्तो बोल्नुभएको छैन । नसुनेको कुरा भन्नु हुँदैन । शेरबादुरजीले गरेको कुनै निर्णयमा चित्त बुझेन भनेर बोल्दैमा त्यस्तो खिलापमै लागेको जस्तो मलाई लाग्दैन । पार्टीभित्रमा हुने प्रतिस्पर्धालाई नयाँ ढङ्गले सोच्नुपर्छ । यो त अर्को पार्टीसँग प्रतिस्पर्धा गरेजस्तो निर्वाचन होइन । एउटै सिद्धान्त, एउटै विधि र कार्यक्रममा पार्टीभित्र हुने प्रतिस्पर्धा निकै जटिल हुन्छ ।
काँग्रेसमा बेथिति भएन भने काँग्रेसको पहिचान नै गुम्छ भन्ने टिप्पणी हुन्छन् । काँग्रेसभित्रको समग्र राजनीतिक विचलनले मुलुकको राजनीतिलाई कस्तो प्रभाव पार्छ ?
काँग्रेस पार्टी बेथिति होइन, काँग्रेस पार्टी देशलाई थितिमा ल्याउने पार्टी हो ।
कम्युनिस्टहरूलाई लोकतन्त्रमा ल्याउने पार्टी हो । बन्दुक बोक्नेलाई शान्तिको बाटोमा ल्याउने पार्टी हो । काँग्रेस पार्टी सिङ्गो देशलाई थितिमा ल्याउने पार्टी हो । काँग्रेस पार्टीलाई बेथिति भन्दा सुहाउँदैन । पहिलो कुरा त तपाईंको यसबारे गलत विश्लेषण भयो । दोस्रो प्रश्न महात्त्वपूर्ण छ । काँग्रेस पार्टीभित्र निकै उत्तरचडाव आयो भने देशको राजनीतिमा ठूलो प्रभाव पार्छ । त्यो प्रभाव काँग्रेस पार्टीमा के कुरामा उथलपुथल हुन्छ । त्यही आधारमा विश्लेषण गर्न सकिन्छ ।
पार्टीमा सैद्धान्तिक विचलन आइसक्यो भन्नु भएको छ नि ?
त्यो त स्थानीय तहको निर्वाचनमा केही ठाउँमा देखिएको हो । सबै ठाउँमा होइन । निर्वाचनताका केही ठाउँमा आएको हो । जसको दुष्परिणाम हामीले भोगिसक्यौँ । निर्वाचनताका केही निर्वाचन क्षेत्रमा भएको सैद्धान्तिक विचनलबाट नेपाली काँग्रेसले जो दुष्परिणाम भोगिसकेको छ । त्यसबाट पार्टीमा चेत खुलेको हुनुपर्छ । काँग्रेस पार्टीमा सैद्धान्तिक विचलन नभई सिद्धान्तनिष्ठ भएर अगाडि बढ्नुपर्छ ।
अहिले सैद्धान्तिक विचलन छ कि छैन ?
पार्टीमा कुरा उठ्न सक्छन् तर हामीले त्यसो हुन दिनु हुँदैन । पार्टीमा जुन सैद्धानितक निष्ठा, आदर्श र मूल्यमान्यता बोकेर हामी हिँडिरहेका छौँ, यसमा निरन्तर अगाडि जनुपर्छ । त्यो परिमार्जन होला तर त्यसबाट विचलित हुनुहुँदैन ।
अब एउटा हाइपोथेटिक कुरा गरौँ, त्यो अवस्था आयो भने मुलुकको राजनीतिमा कस्तो प्रभाव पर्छ ?
देश कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ । काँग्रेस कमजोर हुन्छ । नेपाली काँग्रेस प्रतिपक्षमा छ । प्रतिपक्ष भएन भने संसदीय पद्धति कमजोर हुन्छ । संसदीय पद्धति कमजोर हुँदा राज्य पनि बलियो हुन सक्दैन । सरकार पनि बलियो हुँदैन । सरकारले तानाशाही रूपमा काम गर्यो भने बलियो हुने होइन ।
जनतामा राम्रो प्रभाव पार्ने खालको काम गर्नुपर्यो । अनि सरकार बलियो हुन्छ । सरकारले बलियोसँगले काम गर्यो वा कमजोर ढङ्गले काम गर्यो भन्ने मूल्याङ्कन हुनुपर्यो । सरकारले जनतामा राम्रो प्रभाव पर्न सकेको छ भने सरकार बलियो रहेछ भन्ने मूल्याङ्कन हुन्छ । जनतामा राम्रो प्रभाव पार्न सकेन भने सरकार कमजोर हरेछ भन्ने मूल्याङ्कन हुन्छ । बलियो प्रतिपक्ष भनेको बलियो संसद हो, बलियो संसद भनेको बलियो सरकार पनि हो । आज खड्किएको विषय भनेको बलियो प्रतिपक्षको हो । दरो सरकार पनि भएन । सङ्ख्याले सरकार बिलायो, कामले कमजोर सरकार छ । सङ्ख्याले प्रतिपक्ष कमजोर भए पनि बलियो प्रतिपक्षको भूमिका खेल्न सक्थ्यो तर सकेन । बलियो प्रतिपक्ष संसदमा हुँदा सरकारको चेत खुलिरहन्छ । सरकारको आँखा खुलिरहन्छ ।
सरकारको आँखामा पटट्ी लाग्दैन । सरकारले कहिले गलत गर्दैन, गर्नु सक्दैन । तर प्रतिपक्ष कमजोर भयो भने सरकारले धेरै गलत गर्न सक्छ । त्यसकारण सबैभन्दा सोच्नु पर्ने विषय यो भएको छ । जसले मिलेर यत्रो लामो सङ्घर्ष गरेर परिवर्तन ल्याएका छौँ । तर आज संविधानको कार्यान्वयनपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आएको छ । यो एक ढेड वर्षको मूल्याङ्कन गर्ने हो भने उल्लेख्य काम भएको पाइँदैन । यसको दोष म आफ्नै पार्टीलाई पनि दिन चाहन्छु । किन यो कुरा पार्टीभित्र र संसदभित्र दरोसँग उठ्दैन ? सरकारले जनताको हितमा काम गर्ने हो । प्रतिपक्षको काम जनताको आवाज बोल्ने हो ।
जनताले काँग्रेसलाई दरो प्रतिपक्षको रूपमा पठाएको छ । तेस्रो त बनाउको छैन । दोस्रो पार्टीमा जनताले काँग्रेसलाई नै राखेको छ । वैकल्पिक सरकार काँग्रेस नै हो । तर त्यो रूपमा काँग्रेस उभिन सकेन । जसले गर्दा सरकार पनि लुलो भयो । सरकारले उल्लेख्य रूपमा उदाहरणसहित काम गर्नै सकेन । कुरा मात्रै गरेर त हुँदैन । जनताको जीवनमा प्रभाव पर्ने, सामाजिक जीवनमा प्रभाव पार्ने, राष्ट्रिय जीवनमा सकारात्मक प्रभाव पार्ने उल्लेख्य घटना हुनुपर्ने हो, त्यस्तो हुन सकेन ।
हामी परिवर्तनकारी सबैले गम्भीर भएर उठाउनु पर्ने विषय यिनै हुन् । अराजक घटना हुन थालेका छन् । बम पड्कन थालेका छन् । गणतन्त्ररहितको राज्य चाहिन्छ भन्ने मूभमेन्ट देखिन थालेको छ । मधेस नेपालै होइन भन्ने सीके राउत जस्ता बढिराखेका छन् । कहीँ न कहीँबाट अराजक गतिविधहरू बढ्दै जाने र परिवर्तनकारी शक्तिहरू कमजोर हुँदै जाने देखिन्छ, जसकारण यो परिवर्तनले जनताको प्रगति हुन सकेन । परिवर्तनले काम गर्न नसकेकाले भोलि हामीमाथि गम्भीर आरोप लाग्न सक्छ ।
त्यसो भए राजनीतिक दलका नेताहरूको क्षमता अभाव देखियो वा अनिच्छा ?
अभाव देखिएकै हो । इच्छा त होला नि ! राम्रो गरौँ भन्ने । इच्छै छैन विगारौ भन्ने सोच होला म भन्दिन । तर क्षमता देखिएन ।
त्यसको विकल्प पनि हुन सक्छ ?
त्यसको विकल्प उहाँहरूभित्रै सुधार । दलका नेताहरूको सुधार । सरकारमा बसेकाहरूले एक वर्षमा जनतालाई प्रत्यक्ष रूपमा अनुभूति हुनेगरी काम गरेको देखिँदैन । विगतका कामहरूको निरन्तरता मात्रै हो । खास उल्लेख्य काम केही पनि छैन ।
नयाँ संविधान बमोजिम यत्रो सङ्ख्याका साथ शक्ति आर्जन गर्दै सत्तामा आएको सरकारले विगतलाई नै निरन्तरता दिएर हुन्छ ? महत्त्वपूर्ण र ठूलो काम सरकारले गरेका मैले पाइनँ । तर पनि हेरौँ भरखर एक वर्ष भयो ।
काङ्ग्रेसको कुरा गर्दा बृह्त एकता र पारस्पारिक विश्वासका लागि जुट्नुपर्छ । पार्टीभित्र पूर्ण लोकतन्त्र हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । नेताले अलि मिहिनेत गर्नुपर्छ । सबै साथीहरूको भावनालाई बुझेर सबैको भावनाको कदर गर्नुपर्छ । अल्पमत भएको पनि अधिकार हुन्छ । लोकतन्त्रले अल्पमतको सुरक्षा दिँदैन भने लोकतन्त्रको अर्थ रहँदैन ।
आगामी दिनमा काँग्रेसमा बृहत् एकता हुनेमा आशा गर्न सकिन्छ त ?
सक्नुपर्छ, मेरो यसमा विशेष पहल रहन्छ ।
त्यसका लागि काँग्रेसमा नेताहरूले त्याग गर्नुपर्ने देखिन्छ नि ?
आगामी निर्वाचनमा वा महाधिवेशनमा प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । प्रतिस्पर्धा गरौँला । प्रतिस्पर्धाको कार्यकाल तीन चार महिनाको होला । प्रतिस्पर्धा सुरु भएसम्म पार्टीभित्र बृहत् एकताको सुरुवात गर्नुपर्छ । सबैले मिलेर हिँड्ने, सबैको मानसम्मान, इज्जत, प्रतिष्ठा हुने पद्धतिको बाटोमा हामी हिँड्नुपर्छ ।
रातोपाटीबाट