बेरोजगारलाई भत्ता बाँड्ने पैसा सरकारसँग छ मन्त्रीज्यु ?



हाम्रो इकोनोमि

 

मन्त्रीज्यू, यहाँहरुले बेरोजगारलाई भत्ता दिने कुरा गरिराख्नुभएको छ । एकातिर देशको ढुकुटी रित्तो भएकाले वृद्धभत्ता बढाउन सकिएन भनेर प्रधानमन्त्रीले भन्दै आउनुभएको छ । भेनेजुएलाकै उदाहरण हेर्ने हो भने राज्यले जनताको सबै दायित्व बोक्न खोज्दा जब राष्ट्रिय अर्थतन्त्र कोल्याप्स भयो, त्यसपछि राज्य संकटमा फसेको देखिन्छ ।

 

हामीसँग यतिबेला बजेटको अभाव छ । ठूला आयोजनाहरु सञ्चालन गर्ने पुँजी छैन । यही कारणले सरकारले वृद्धभत्ता बढाउन सकेको छैन । यस्तो बेलामा बेरोजगारलाई भत्ता बाँड्ने कार्यक्रम ल्याउँदा देशको ढिकुटीले धान्न सक्छ ? देशले धान्न सकेन भने हामी भेनेजुएलाजस्तै पो हुन्छौं कि ?

 

तपाईले धेरै महत्वपूर्ण कुरा उठाउनुभएको छ । यसतर्फ सरकारको ध्यान पनि गम्भीरताका साथ गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य तात्पर्य बेरोजगारलाई निर्वाह भत्ता वितरण होइन । म फेरि पनि जोड दिएर भन्न चाहन्छु कि यस कार्यक्रमको उद्देश्य भनेको जनशक्तिलाई सीपयुक्त, तालिमयुक्त, दक्ष र क्षमतायुक्त बनाउने हो । श्रम बजारसँग जनशक्तिलाई जोड्ने र कामप्रति सम्मान जगाउने ।

 

काम नगर्ने व्यक्तिहरु रातारात धनी बन्ने र श्रम गर्ने व्यक्तिहरुको जीवनमा खासै रुपान्तरण नआउने जुन प्रकारको समस्या छ, काम गरेर नै हरेक व्यक्तिको जीवन बदलिन सक्छ भन्ने उदाहरण हामीले दिन चाहिरहेका छौं ।

म फेरि पनि जोड दिएर भन्न चाहन्छु कि प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उद्देश्य भनेको काम गर्ने उमेर समूहको जनशक्तिलाई काम गर्ने अवसर प्रदान गर्ने हो । काम गर्ने भावना जागृत गर्ने हो । मुख्य ध्येय यो हो ।

 

तर, कुनै पनि प्रकारले सेवा प्राप्त नगरेका, आर्थिक हिसाबले गरिवीको रेखामुनि रहेका परिवारहरु, जसले काम गर्ने चाहना राख्छन् र काम गर्नका लागि निवेदन दिँदा पनि सरकारले कामको व्यवस्थापन गर्न सकेन भने सामाजिक सुरक्षा प्रत्याभूत गर्ने भनिएको हो । यसका लागि न्यूनतम सय दिनमात्रै पनि काम दिन नसकेको अवस्थामा त्यसको ५० दिन बराबरको पारिश्रमिक निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।

 

तर, जति व्यक्तिहरुले आवेदन दिनेछन्, ती सबैलाई निर्वाह भत्ता प्राप्त गर्ने अवसर भने मिल्दैन । तोकिएको मापदण्डभित्रका व्यक्तिहरुले मात्रै रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो भत्ता पाउँछन् ।

 

यसले राज्यलाई खासै ठूलो आर्थिक दायित्व सिर्जना गर्दैन भन्न खोज्नुभएको हो ?

अँ, सिर्जना गर्दैन । कुनै व्यक्ति बेरोजगार छ, बेरोजगारको सूचीमा दर्ता भएको छ, सरकारले कुनै कामको जिम्मेवारी दियो, तर मलाई यो काम मन परेन, म यो काम गर्दिनँ भनेर अनिच्छा व्यक्त गर्‍यो भने बेरोजगारको सूचीबाट उसको नाम स्वतः हट्छ । त्यस्ता व्यक्तिहरुले पनि निर्वाह भत्ता प्राप्त गर्ने स्थिति रहँदैन ।

अर्कोतिर, निरपेक्ष गरीबीको रेखाभन्दा माथि रहेको परिवारभित्र कुनै प्रकारको सामाजिक सुरक्षाको सुविधा प्राप्त गरेका वा कुनै एक सदस्यले रोजगारी प्राप्त गरेका व्यक्तिहरुको सन्दर्भमा पनि यो लागू हुँदैन ।

 

सरकारले बेलाबेलामा यस्ता कार्यक्रमहरु ल्याइराख्छ । जस्तो– बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ‘युवा स्वरोजगार कार्यक्रम’ आयो । अहिले पनि त्यो संरचना छँदैछ । त्यसपछि अखिलका पूर्वअध्यक्ष माधव ढुंगेललाई कार्यकारी अध्यक्ष बनाएर ‘युवा परिषद’ बनाइयो, त्यसले पनि प्रभावकारी काम गर्न सकिराखेको देखिँदैन । अहिले ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पनि त्यस्तै हुँदैन भन्ने आधार के छ ? यसरी बेग्लै संरचना खडा गरिरहनुभन्दा पुरानैलाई मिलाएर एकीकृत कार्यक्रम गरे हुँदैनथ्यो ?

तपाईले उठाउनुभएको प्रश्नप्रति हामी अत्यन्त गम्भीर छौं । विगतका कतिपय यस्ता कार्यक्रमहरु सफल नभएका उदाहरणहरुबाट पाठ सिक्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा हामी सजगताका साथ अगाडि जानेछौं ।

 

हामीले ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक पर्ने रोजगार संयोजकहरुको छनोट गर्ने काम अगाडि बढाएका छौं । आवश्यक प्रविधि, आइटी प्रणाली निर्माण गर्ने र स्थानीय तहदेखि केन्द्रीय तहसम्म समन्वय गर्ने अनि रोजगारी बेसी सिर्जना गर्ने प्रतिष्ठानहरुलाई सरकारको तर्फबाट विशेष प्रोत्साहन दिने नीति निर्माण गर्नेछौं । यसरी सबै हिसाबले रोजगारीलाई वृद्धि गर्ने गरी सरकारका कामलाई केन्द्रित गरेर अगाडि बढेका छौं ।

 

यसको कार्यान्वयनमा कहिलेकाहीँ चुनौती आउन सक्छ । हामीले जे सोचेका छौं, त्यसलाई व्यवहारमा उतार्दा केही समस्याहरु आउन सक्छन् । तर, हामीले यसलाई नयाँ ढंगले अगाडि बढाएका छौं । यसमा अन्तरराष्ट्रिय अभ्यासहरुबाट पाठ सिक्ने र देशभित्रका विगतका अरु कार्यक्रमहरुबाट पाठ सिक्दै आउँदा दिनहरुमा यो कार्यक्रमप्रति जनताले प्रश्न उठाउन नपर्ने गरी काम अगाडि बढाइनेछ ।

 

स्थानीय तहसम्मै संयन्त्र बनाइसकेपछि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ विगतका अन्य कार्यक्रमहरुजस्तो हुँदैन भन्न खोज्नुभएको हो ?

स्थानीय तहले नै यसको स्वामित्व ग्रहण गर्ने भएकाले यसमा स्थानीय तहले नै सावधानी अपनाउँछन् भन्ने हाम्रो विश्वास हो । दोस्रो– हामीले ऐन, नियमावली र निर्देशिकामा जुन प्रकारको पारदर्शी विधि र मापदण्ड निर्माण गरेका छौं, त्यसले पनि हामीलाई बाटो बिराउन छुट दिँदैन । हामी सचेत भएरै काम गर्छौं ।

 

तेस्रोे कुरा, रोजगारी सिर्जना अहिले देशका लागि अनिवार्य र अपरिहार्य बनिरहेको छ । हालसम्म त स्वतःस्फूर्तरुपमा रोजगारीका अवसरहरु देखा परिरहेका छन । तर, अब हामीले नेपालको श्रम बजारको अवस्था के छ, त्यो जानकारी प्राप्त गर्नेछौं । नेपालको बेरोजगार जनशक्तिको अवस्थाको जानकारी श्रम बजारले प्राप्त गर्नेछ । र, अबको केही वर्षपछि नेपालको श्रम बजारको प्रवृत्ति कता जाँदैछ भन्ने विश्लेषण गरेर त्यस अनुकुल नेपालको जनशक्ति उत्पादन गर्ने सन्दर्भ लगायतका सबै पक्षहरुमा हामीले गम्भीताका साथ काम गर्नुपर्ने अवस्था छ ।

 

यी सबै पक्षहरुलाई हामीले गम्भीरताका साथ महसुस गरेका छौं । यो कार्यक्रममा कहीँकतैबाट समस्याहरु नआउन् भन्ने कुरामा हामीले सजगताका साथ काम गर्नेछौं ।

 

हामी सबै काम प्रणालीमार्फत नै गर्नेछौं । जहाँनेर प्रणाली हुँदैन, त्यहाँ समस्या आउन सक्छ, असफलता हुन सक्छ । हामीले सिस्टम स्थापित गर्न सक्यौं भने प्रणालीले नै धेरै कुराहरुलाई सफल पार्ने गरी योगदान गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।

 

सरकारले ७५३ वटै स्थानीय तहमा रोजगार केन्द्रहरु खोलेर संयोजकका लागि करारमा भर्ती प्रक्रियासमेत थालिसकेको छ । यसमा कतै सरकारले नेकपाका कार्यकर्ताहरुको भर्ती केन्द्र पो बनाउन खोजेको हो कि ?

हामीले रोजगार सेवा केन्द्रमा छानिने संयोजकहरु निश्चित मापदण्डबाट जुन ढंगले निश्पक्ष छनोटको परिणाम दिइसक्यौं । सर्टलिस्टमा आउने व्यक्तिहरुलाई निश्पक्ष छनोटमार्फत उदाहरण दिइसकेका छौं । एउटा वैज्ञानिक प्रणाली र विधिमार्फत् हामीले निश्पक्ष छनोट गरेका छौं । यसले पनि हाम्रो निश्पक्षताको पुष्टि गर्छ ।

 

यो सबैको साझा कार्यक्रम हो । यसमा पार्टी, नाता, क्षेत्र, जात वा कुनै पनि आधारमा पक्षपातपूर्ण व्यवहार हुँदैन । निश्पक्ष ढंगले छनोट प्रक्रियालाई हामी अगाडि बढाउँछौं । यो सबैको साझा र आफ्नो कार्यक्रम हो भनेर अपनत्व महसुस हुने गरी, व्यवहारमै सबैले गौरब गर्ने गरी हामीले विधि स्थापित गर्छौं । र, यसलाई त्यही ढंगले सफल बनाउँछौं ।

 

कसैले पनि हामीमाथि प्रश्न उठाउने ठाउँ हामी दिँदैनौं । अहिले हाम्रो देशलाई विधि चाहिएको छ । प्रणाली चाहिएको छ । हामीले योग्यतम व्यक्तिहरुलाई सम्मानजनक ढंगले काम गर्न पाउने परिवेश निर्माण गर्नुपर्ने छ । पार्टीमा नलाग्ने, सोर्स नहुनेहरुले पनि देश मेरो हो, सरकारद्वारा सञ्चालित कार्यक्रमहरु हाम्रा हुन्, हामीले योग्यता प्रदर्शन गर्‍यौं भने सम्मानजनक जीवन बाँच्न पाउँछौं भनेर सबैमा आशा जगाउने गरी हामीले भूमिका खेल्छौं । हामी त्यसकै लागि विधि स्थापित गर्ने कुरामा सजगताका साथ अगाडि बढेका छौं ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम गत जेठ १५ मा घोषित बजेटमै उल्लेख गरिएको कार्यक्रम हो । भर्खरै यो कार्यान्वयनमा आउन लागेको छ । खासमा यो कार्यक्रम हो चाहिँ के ? यसको खास उद्देश्य के हो ? मन्त्रीज्यूले जनतालाई स्पष्ट बताइदिनुपर्‍यो…

नेपालमा रोजगारीको अभावमा धेरै युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य बनिरहेका छन् । एकातिर यो अवस्था छ भने अर्कोतिर नेपालको श्रम बजारले काम गर्ने जनशक्ति खोजिरहेको छ । तर, श्रम बजारको आवश्यकता अनुकूल काम गर्ने व्यक्तिहरु पाइरहेको छैन । श्रम बजारको माग र आपूर्ति हुने जनशक्तिको वीचमा तादाम्य मिल्न सकिरहेको छैन ।

 

यस्तो अवस्थामा देशभित्र यही हिसाबले जाने हो भने एउटा अवस्थापछि गम्भीर संकट पैदा हुने स्थिति देखिन्छ । युवाविहीनताको अवस्था पैदा हुने खतरा छ । नेपालको विकासका लागि आवश्यक पर्ने श्रमशक्ति नहुँदा विदेशी श्रमिकहरुमाथि निर्भर रहनुपर्ने अवस्था छ । विदेशी श्रमिकहरुमा आश्रित हुँदा नेपालका आयोजनाहरु महंगा हुने, समयमा नसकिने र आयोजनाहरु सम्पन्न हुन समस्या पैदा हुने स्थिति पनि देखा परेको छ । यी सबै सन्दर्भमा हामीले रोजगारीको क्षेत्रलाई नयाँ ढंगले आकर्षण दिने गरी विकास गर्न जरुरी छ ।

 

अर्कोतिर, आधारभूत तह, जो न्यूनतम आय भन्दा पनि तल रहेको अवस्था छ । गरीबी र अभावको चपेटामा परिरहेको छ । यस्तो वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अर्को माध्यम भनेकै रोजगारीका अवसर प्रदान गर्ने कुरा पनि हो । यी सबै सन्दर्भहरुलाई मध्यनजर गर्दै सरकारका तर्फबाट काम गर्ने उमेरसमूहको जनशक्तिलाई काम गर्ने अवसर प्रदान गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने र काम गर्ने अवसरसँग जनशक्तिलाई जोड्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम बजेटले पहिलो प्राथमिकताका साथ घोषणा गरेको छ ।

 

सम्भवतः नेपालको इतिहासमा रोजगारीलाई यति धेरै महत्व दिएको यो पहिलो घटना हो । सरकारले रोजगारीलाई पहिलो प्राथमिकताका रुपमा अगाडि सारेको छ ।

अहिले सरकारको तर्फबाट संविधानको भावनाअनुरुप रोजगार ऐन, रोजगार नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका पारित भइसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यान्वयन गर्ने सन्दर्भमा कार्यक्रमको दस्तावेज पनि हामीले अन्तिम चरणमा पुर्‍यएका छौं ।

 

हामीले देशभित्र संघीय, प्रादेशिक र स्थानीय तहबाट सञ्चालित आयोजनाहरुमा श्रमको कम्पोनेन्टमा आधारित रहेर थप रोजगारी सिर्जना गर्ने, सरकारका तीनै तहवीच समन्वय गर्ने र सरकार, निजी क्षेत्र अनि सहकारीवीचको समन्वय, साझेदारी र सहभागिताका आधारमा रोजगारी सिर्जना गर्ने गरी यो कार्यक्रमलाई व्यवस्थित गर्न कोशिस गरिरहेका छौं ।

 

समग्रतामा, उत्पादनशील जनशक्तिलाई कामसँग जोड्ने, बेरोजगार व्यक्तिलाई सीप र तालिमद्वारा काम गर्न लायक र योग्य बनाउने, उनीहरुको उत्पादकत्व वृद्धि गर्ने र श्रमशक्तिको परिचालनमार्फत देशको सामाजिक आर्थिक रुपान्तरण गर्ने सन्दर्भमा यो कार्यक्रम ज्यादै महत्वपूर्ण छ ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणापश्चात चैतको १ गतेदेखि बेरोजगारहरुले आफूलाई बेरोजगारका रुपमा स्थानीय तहमा सुचीकृत गर्ने, सरकारको तर्फबाट स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमार्फत कामसँग बेरोजगार जनशक्तिलाई जोड्ने र अवसरहरुको व्यवस्थापन गर्ने र रोजगारी खोज्ने युवाहरुलाई रोजगारी दिन नसकेको अवस्थामा सबैलाई तोकिएको मापदण्डभित्र न्यूनतम रोजगारीको सय दिनको अवधिको आधा बराबरको निर्वाह भत्ता प्रदान गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम डिजाइन गरिएको छ ।

 

यसको मुख्य उद्देश्य निर्वाह भत्ता प्रदान गर्ने होइन, यसको मुख्य उद्देश्य जनशक्तिलाई कामसँग जोड्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने हो । श्रमप्रति सम्मानको भावना जगाउने हो । र, आफ्नो देशको विकास आफैंबाट सम्भव छ भन्ने कुरा व्यवहारतः पुष्टि गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम आरम्भ गरिँदैछ ।

यसको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जाने बाध्यकारी अवस्थालाई पाँच वर्षमा अन्त्य गर्ने र नेपालको जनशक्तिको भरपुर उपयोगमार्फत नेपालको विकास गर्ने हो । काम गर्न चाहने उमेरसमूहको जनशक्तिलाई कामको अवसर पैदा गर्ने यसको उद्देश्य हो ।

 

काम गर्ने व्यक्तिहरु आर्थिक हिसाबले समृद्ध र सम्मानित हुने अनि काम नगर्ने व्यक्तिहरु अपमानित हुने गरी समाजमा सकारात्मक संस्कार स्थापना गर्ने काममा पनि यसले महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ ।

 

अहिले जुन प्रकारको रोजगारीको अवस्था छ, आउँदो वर्ष थप केही लाखमा रोजगारी सिर्जना गर्ने योजनाका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम डिजाइन गरिएको छ । यद्यपि यो रोजगारी सिर्जना अत्यन्त अप्ठ्यारो र जटिल काम हो । र, पनि हामी सरकारका तर्फबाट गम्भीरताका साथ यसमा केन्द्रित भइराखेका छौं ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...