केटा मान्छे हुञ्जेल यौनकर्मी भोकै मर्दैनन्
यौन व्यवसाय र लागूऔषध प्रयोग राज्यको नजरमा अपराध ठहर्छ ।
एचआईभी संक्रमित यौनकर्मी र लागूऔषध प्रयोगकर्ता महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि (FAITH) फेतले संघर्ष गरिरहेको छ ।
रिना लामा उक्त संस्थाको कार्यक्रम व्यवस्थापक हुन् ।
० फेत भनेको के हो ?
– यसलाई अंग्रेजीमा ‘फन्डे«स एफेक्टेट एन्ड इन्फेक्टेट टुगेदर इन हेन्ड’ भनिन्छ । यो एचआईभी संक्रमित तथा प्रभावित दुवैका लागि भनेर स्थापना भएको संस्था हो । फेत भन्ने अंग्रेजी शब्दमा संघसंस्था दर्ता नहुने भएकाले सिडिओ कार्यालयले आस्था नाम दिएर दर्ता भएको छ ।
० यसले के गर्छ ?
– पहिलो एचआईभी संक्रमितका मात्र काम गरिन्थ्यो । अहिले यो संक्रमित र प्रभावित दुवैको संस्था हो ।
० संक्रमित र प्रभावितको तथ्यांक छ ?
– हामीले दसौं वर्ष एचआईभीमा काम ग¥यौं । लान्छना तथा भेदभाव, औषधि र उपचारमा पहुँचका क्षेत्रमा हामीले काम ग¥यौं । यो क्षेत्रमा राज्य आफैले लगानी गरिरहेको छ । अहिले यो क्षेत्रमा राम्रै काम भइरहेको छ । ३० हजारको हाराहारीमा एचआईभी संक्रमित हुनसक्छन् भनेको छ । यो तथ्यांक हरेक वर्ष घट्दोक्रममा छ ।
० एचआईभी संक्रमितलाई राज्यले हेरेपछि संघसंस्थाको आवश्यकता पर्दैन ?
– विश्वव्यापी रूपमा रणनीतिक कार्यक्रम परिवर्तन भइसकेको छ । यसलाई नाइन्टी–नाइन्टी–नाइन्टी भनिन्छ । पुरुष संक्रमितलाई खोजिन्छ औषधि खुवाइन्छ, अरु कार्यक्रम हुँदैन । तर महिला संक्रमित भइसकेपछि धेरै इस्यु आउँछ ।
० कस्ता इस्यु आउँछन् ?
– बीचमा एकपटक यस्तो समय थियो, एचआईभी संक्रमित हुनेवित्तिकै मान्छे मरिहाल्थ्यो । त्यस्तो बेलामा यौनमा सक्रिय हुन दिइँदैन थियो । तर मान्छेको यौन चाहनालाई रोक्न सकिँदो रहेनछ । एचआईभी लिएर सन्तान जन्माए, ती बच्चा २२–२३ वर्षका पुगिसके ।
० महिला एचआईभीका संक्रमितका के समस्या छन् ?
– यौनकर्मी र लागूऔषध प्रयोगकर्ता दिदीबहिनी बढी संक्रमित छन् । उनीहरूको जीवन यति मात्र होइन, अझ ठूलै छ । उनीहरूको अरु धेरै कुरा हेर्नुपर्छ । उनीहरूमा हुने हिंसा र प्रहरी ज्यादती यति धेरै छ, जुन कुरा एचआईभी कार्यक्रममा कहिले पनि आएन ।
० उनीहरूका लागि तपाईंको संस्थाले के गर्छ ?
– हाम्रो यो एउटा सानो गैरसरकारी संस्था हो । हामीले धेरै वर्ष एचआईभीमा काम ग¥यौं । उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सन् २०१४ तिर केही अनुसन्धान भए । उक्त अनुसन्धानले मन दुख्ने कहानी बाहिर ल्यायो । त्यो अध्ययन हेरेपछि थुक्क जिन्दगीजस्तो लाग्यो । सन् २०१५ देखि हामी ती संक्रमितको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्न थाल्यौं ।
० यौन तथा प्रजनन स्वास्थ्य अधिकार भनेको के हो ?
– महिलाका लागि सबैभन्दा ठूलो अधिकार भनेकै यही हो । यो विषयमा पुरुषका कुरालाई समावेश गर्न खोजिन्छ, तर त्यसलाई दोस्रो श्रेणीमा राखिन्छ । यौन, गर्भपतन, बच्चा जन्माउने र हिंसालगायतका कुरा महिलासँग मात्र जोडिन्छ । योसँग सम्बन्धित नौवटा तत्व हुन्छ ।
० राज्यले यसलाई कसरी हेरेको छ ?
– ऐनमा लान्छना तथा भेदभावलाई समावेश गरिएको छ । नियमावली बन्न बाँकी छ । यो ऐन बन्न जरुरी थियो । अहिलेसम्म यौन व्यवसाय र लागूऔषध प्रयोगकर्ता राज्यको नजरमा अपराधी हुन् । अब बन्ने ऐनले राज्यले दिएको सेवासुविधा यौनकर्मीले उपयोग गर्न पाउँछन् ।
० लबिङ गरिराख्नुभएको होला नि ?
– गैरसरकारी संस्थाले यो समूहको कुरा उठाउनेवित्तिकै एचआईभी कार्यक्रमको हो भन्ने ठानिन्छ । कसको जिम्मेवारीमा पर्छ भनेर यसबारे धेरै बहस भयो । स्पष्ट हुन गत वर्ष हामीले यौनकर्मीको देशव्यापी भेला ग-यौं । अधिकारका लागि यो समूहलाई अगाडि आउँदैन ।
० भेलामा कति थिए ?
– त्यस्तै सयजना जति थिए ।
० सबै जिल्लाबाट प्रतिनिधि थिए ?
– सबै जिल्ला भन्ने हुँदैन, यौनकर्मी जहाँ छन्, त्यहाँबाट प्रतिनिधित्व आएका थिए । जनसंख्या थोरै भएको ठाउँमा यौनकर्मी हुँ भनेर सम्मेलनमा आउन रुचाएको पाइयो ।
० कुन ठाउँमा यौनकर्मी बढी रहेछन् ?
– सहरी क्षेत्रमा स्वतः बढी हुन्छ । मुख्यतः काठमाडौं, ललितपुर र भक्तपुरमा बढी पाइयो । त्यसपछि सीमा क्षेत्रका बजारमा यौनकर्मी बढी पाइन्छ ।
० कुन उमेर समूहका हुन्छन् ?
– यो विषय धेरैको चासो हुने भएकाले अरु दुईवटा विषय छुट्छन् । बालबालिकादेखि ४०–४५ वर्षसम्मका यौनकर्मी हुन्छन् । अर्थात् सबै उमेर समूहका हुन्छन् । १८ वर्षभन्दा मुनिका यौनकर्मीलाई मानव बेचबिखनका रूपमा राज्यले हेर्छ । ०७२ सालको भूकम्पपछि यसको संख्यामा ह्वात्तै वृद्धि भएको ठानिन्छ ।
० तपाईंहरू कस्तालाई हेर्नुहुन्छ ?
– आफ्नो इच्छा यौन व्यवसायमा लागेकाहरूलाई हामी हेछौं । यो पेसा छाड्दिन भन्नेहरूको प्रजनन र स्वास्थ्य अधिकारका बारेमा हामी एडभोकेसी गछौं ।
० उनीहरूका लागि कानुनी मान्यता दिलाउनु पर्दैन ?
– यौन तथा प्रजनन स्वास्थ्यलाई हाइलाइट गर्छौं । कानुनी मान्यता होइन, समुदायबाट अलग गर्नुपर्छ । समस्या छ, त्यो कसरी समस्या सिर्जना भयो, त्यो खोजिनुपर्छ । कसैलाई प्रभाव नपारी ड्रग्स खान पाउने व्यक्तिको अधिकार हो । यो संसारभरिकै नियम हो । यही नियम यौनकर्मीमा किन लागू नहुने ?
० एउटा उदाहरण दिनुस् न ?
– स्कटल्यान्डमा सबैभन्दा धेरै अपराध हुन्थ्यो । यो अपराध प्रहरीले नियन्त्रण गर्ने होइन भनेर समस्या गृहले स्वास्थ्य मन्त्रालयमा सारिदियो । सामुदायिक स्वास्थ्यका विज्ञहरूले यसको रहस्य खोतल्दै गए । अहिले त्यहाँको अपराध शून्यमा झरेको छ । त्यस्तै यौनकर्मीविरुद्ध ज्यादती गरे समस्या नियन्त्रणमा आउँदैन, केटा मान्छे हुन्जेल यौनकर्मी भोकै मर्दैनन् ।
० उनीहरूलाई कस्तो अधिकार चाहिन्छ ?
– ड्रग्स खानेले जसरी पनि खान्छ, यौन प्यास मेटाउनेले जसरी पनि गर्छ । जति टाइट ग¥यो, उनीहरू लुक्दै यस्तो काम गर्छन् । लुक्दै यस्तो काम गर्दा हिंसामा परे, कसैले बलात्कार ग¥यो, अथवा काम गरिसकेपछि पिट्यो, पैसा लुट्यो भने उनीहरूले कहाँ गएर उजुरी गर्ने ? कसलाई भन्ने ? राज्यले यस्तो कामलाई गैरकानुनी भनेको छ । यौनकर्मीहरू मारिएका घटना धेरै छन् । यस्ता घटना सञ्चारमाध्यममा कहिल्यै आउँदैन । उनीहरूको नागरिकतासमेत हुँदैन । अभिभावकले मेरो छोरी हो भनेर सनाखत पनि गरिँदैन । संघसंस्थाले लगेर दाहसंस्कार गरेका घटना धेरै छन् । नेपालमा यौनकर्मीलाई कत्लेआम गरिन्छ ।
० यस्ता घटना तपाईहरूसमक्ष कसरी आउँछ ?
– दिदीबहिनीहरूको संस्था छ, हामी एकअर्कामा समन्वय गरेर यस्ता घटना बाहिर ल्याउँछौं । संस्थाबाट फिल्डमा गएर काम गर्ने दिदीबहिनीहरू हुनुहुन्छ । उहाँहरूमार्फत नै यस्ता घटना बाहिर आउँछन् । ती घटना विश्लेषण गर्दा हामी आफैं अचम्ममा पछौं ।
० यो संस्थासँग कसरी आबद्ध हुनुभयो ?
– यसको संस्थापक सदस्य हुँ, त्यसबेला एचआईभी भयावह थियो । म एउटा संस्थामा स्वयंसेवक गर्न गएको थिएँ । स्नातक सकिएपछि कुरा मिल्ने साथीभाइ मिलेर संस्था स्थापना गरियो । महिलाले चाहिँ जस्तासुकै हिंसा सहनुपर्ने ? महिलाका लागि केही गर्नुपर्छ भनेर हामीले संस्थागत रूपमा काम गर्न थाल्यौं ।
० परिवारबाट सहयोग पाइयो ?
– हाम्रो रुढीवादी परिवार नै हो । अध्ययन र नयाँ काम गर्न पे्ररणा दिने घर भएकाले नै म यहाँसम्म आइपुगेकी हुँ ।
० परिवार कस्तो छ ?
– हामी तीन दिदीबहिनी हौं, एउटा भाइ छ । अभिभावक परम्परागत भए पनि पढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।
० कहाँ के पढ्नुभयो ?
– त्रिचन्द्रबाट मनोविज्ञानमा स्नातक गरें । त्यसपछि बाँकी अध्ययन नेदरल्यान्डबाट पूरा गरेकी हुँ ।
० विवाह गर्नुभयो ?
– छैन, त्यसको पनि साइत आउँदैछ होला ।
० साइत कहिले आउने रहेछ ?
– अझै दुई तीन वर्ष मेरो मंगल कडा छ अरे । त्यसपछि आउँछ भन्छन् ।