२५ वर्षकी भए कैयौं पटक ब्वाईफ्रेण्डका साथीहरुसँग नि सेक्स गरेँ !
नाम उही, मान्छे उही । सबै चिज उही । केवल समय फरक । जीवनमा म जे सोच्थें अहिले अर्कै सोच्ने भइसकेकी छु । जिन्दगी भर्खर बुझ्दै छु । अझ सजिलो अर्थमा भनौं जिन्दगी जिउने कला आफैंबाट सिक्ने प्रयत्न गरिरहेकी छु ।
२५ वर्षकी भएँ । होची कदकी भएकीले पनि होला कलेज पढ्ने युवतीकै उमेर देखिन्छु । रुममेट साथीहरूले पनि यही भन्छन् । अनि सम्झिन्छु विगतका घटना । जसले आज मलाई यो खाडी मुलुकमा ल्याइदियो । तर, खुशी छु किनकी मैले पढ्न नपाएर के भो जीवनको महत्व बुझ्ने मौका पाएँ । आफूलाई बल्ल चिन्ने मौका पाएँ । वास्तविक नामलाई मनबाट झिकेर फालिदिएकी छु ।
साउदीको बसाइ दुई वर्ष कटिसक्यो । संघर्षले नै मान्छेलाई महान् बनाउँदोरहेछ भन्ने बुझ्दै छु । अचेल मैले आफूलाई ‘कैंची’ उपनाम दिएकी छु । जतिबेला स्कुल हुँदै कलेज पढ्दै थिएँ । त्यो मेरो भविष्य बनाउने कुलो थियो । जुन कुलोको पानीले खेतको अन्नबाली सदा हराभरा पारिरहनु थियो । मैले हातमा अति राम्रो कैंची पाएँ तर चलाउन जानिनँ । नचलाउनुपर्ने ठाउँतिर चलाई दिएँ । आफ्नो सुन्दर रूपमाथि आफैंले कैंची चलाएँ अनि कुरूप बनें ।
यो मरुभूमिमा काग त पाइँदैन । सायद पाए पनि म कसरी देख्न सक्छु ! काग जति कालो छ, ऊसँग आफ्नै खालको मौलिकता छ । कुनै नक्कल झक्कल छैन । आखिर कालो भएर के भो ? ऊ स्वतन्त्र छ । कसैको छेकबार छैन । उडेर जहाँ पनि पुग्छ, आफ्नो प्रेमिकासँगै संसार हेर्छ, आउँछ अनि गँुडमा बस्छ । स्कुले जीवन छँदा कागको चलाखी शीर्षक कथा पढेकी थिएँ । अहिले त्यसको अर्थ बुझ्दैछु ।
कागले आफ्नो परिचय आफैँ दिन्छ, अरूलाई दिन लगाउँदैन ‘काग, काग’ । तर, सुगाझैँ भयो मेरो जिन्दगी । आफ्नो जीवनबारे सोच्न सक्ने मगज हुँदाहुँदै, हुन सक्छ पिँजडाको बार सम्झिएर फेरि सायद बिग्रिन पुगें । अहिले अर्काे पाटोले पनि हेर्छु, त्यो उमेर सायद त्यस्तै थियो । अहँ ! त्यसले पनि चित्त बुझ्दैन । मसँग हिँड्ने साथीहरू पनि सही थिएनन् । अझ त्यसले पनि चित्त बुझ्दैन । ती साथीहरू गलत भइदिएको भए उनीहरूले हिँडेको बाटो त्यागिदिन सक्थें । यसरी विभिन्न कोणबाट प्रश्न सोध्छु । उत्तर फेला पारेकी छैन ।
घरमा अति सुख सयलसाथ माया ममता दिइयो । कुनै दिन कलेजको फि तिर्न कसैकहाँ पुगेर गुहार्नुपर्ने स्थिति सिर्जना भएन । बुवा, दाइ र भाइले चलाएको पसलको आम्दानीले सबैको गाँस, बास अनि कपास धान्थ्यो । उत्तम दाइ अनि प्रजित भाइको चेहरा अहिले कस्तो भयो होला ? यो खाडीमा बसेर पुरानै तस्बिर सिरानीबाट निकाली हेरिरहेछु ।
दुई वर्षअघि फेसबुकको जमाना फस्टाउने क्रम जारी थियो । कलेज फि तिर्न नसक्ने आमा बुबाले पनि छोराछोरीको हठसामु धनी बनिदिनुपथ्र्याे । र, किनिदिन्थे टच स्क्रिनवाला मोबाइल । कलेज पढ्न जाँदा मसँग महँगो मोबाइल थियो । शिक्षकले पढाउँदा बाहेक अरू समय फेसबुक खेलेरै बित्थ्यो । आज ती सुन्दर लाग्ने दिन सम्झिँदा पछुतो र वैराग्य लागेर आउँछ ।
कलेज पढ्न थालेको केही समयमै एक जना शिक्षित परिवारको तर मध्यम आय भएको केटो फेसबुकमा जोडियो । एक सहरिया केटी भएको हुनाले आफ्नै खाले घमण्ड त थियो तर उसको शब्दवाण सामु लाचार थिएँ । उसले बोलेका शब्दले एकैछिनमा फुरुंग बन्थें । आकाशमाथि उडे जस्तो र सास रोकिए जस्तो हुन्थ्यो । यसरी नै ऊसँग रातदिन फेसबुकमा कुराकानी हुँदै गयो । र, अति नजिकियौँ । फेसबुकमा उसको निक नेम थियो, रोज ।
मार्क जुकरबर्गदेखि होइन उसले बनाएको फेसबुकलाई सदुपयोग गर्न नजान्दा मैले आफैँलाई चिनिनँ । फेसुबक चलाउने ‘च्याटर’ अर्थात् गफिने ऊ मेरो जीवनमा यस्तो नायक बनेर आइदियो । म सजिलै नायिका बनेर उसको पछिपछि दौडिएँ । आफू के ? कहाँ पुग्ने ? सबैथोक भुलें । घर परिवारलाई छक्याएर कैयौँ दिन होमस्टे त कहिले कता–कता उसैसँग पुगें ।
पिँजडाबाट निस्किएको चरीलाई बाहिरको रापताप कस्तो हुन्छ ? सायद त्यो बुझ्न नसकेर पनि होला । अहिले बुझ्दै छु, छोरा भनेको छोरा रहेछ, छोरी छोरी नै । मैले छोरीलाई घरमै थन्किएर बस्नुपर्छ भन्न खोजेकी होइन । मसँग छोरी मान्छेले यस्तो गर्नुपर्छ भन्नलाई त्यस्तो सल्लाह र सुझाव पनि छैनन् ।
रोजले बोलेका शब्दले म अचम्भित बन्थें । कसरी उसले यस्तो जादुमय शब्द बोल्न सकेको होला भन्थें । आफू पनि त्यस्तो शब्द बोल्न र लेख्न सिक्थें । अहँ ! मरिगए नआउने । सायद सुगालाई आफ्नो रूप थाहा हुँदैन । उसले अर्काको रूपको मात्र वर्णन गर्न सक्छ ।
आजको जमानामा सामाजिक सञ्जाल नचलाउने र हातमा मोबाइल नहुने युवायुवती कमै होलान् । बरु गाँस छोडिन्छ तर फेसबुक छोडिन्न । मलाई पनि त्यतिबेला त्यस्तै लाग्थ्यो । आमाले खान आइज छोरी भन्दा ‘एकछिन है’ भन्दै घन्टौं समय लगाउँथें । मेरो बानी देखेर उहाँ निकै आजित हुनुभएको थियो । आखिर फेसबुकको करामत, एक दिन रंगेहात भेट्नुभयो ।
त्यसपछि परिवारसँग कहिल्यै भेट भएन । भेट्न चाहेर पनि सकिरहेकी छैन । अहिले फेसबुक चलाउन मन नहुँदा नहुँदै र आफ्नो जीवन बर्बाद पार्ने फेसबुकलाई घृणा गर्दागर्दै पनि फेरि उसैसँग नजिकिएर यो कुरा तपाईंमार्फत भनिरहेकी छु । सोच्छु, फेसबुक त सही सूचना आदानप्रदान गर्न बनाइएको थियो । हामीजस्ताले नै त्यसको उपयोगितालाई गलत बनाएका रहेछौँ ।
जहाँ ज्ञान–विज्ञानदेखि रंग–रंगका साथीको संगत पाइन्छ, जसलाई आफूले चिन्न र छान्न सक्नुपर्ने रहेछ । यही कुरालाई नचिन्दा जो–कोही, अन्ततः मजस्तै पछुताउनुपर्ने दिन आउँछ । सबैलाई आग्रह गर्न चाहन्छु केवल मनोरञ्जनका लागि फेसबुक चलाएर म जस्तै नबनिदिनुस् । आफू त बिग्रिनुहुन्छ, सुन्दर परिवारको पनि नाक काटिदिनुहुन्छ ।
फेसबुकमा देखेको र भेटेको रोज अद्भूत होला, साँच्चिकै इमान्दार र सच्चा होला भन्ने थियो तर मेरो सोच एक, भइदियो अनेक । उसले मसँग इमोसनल ब्ल्याकमेलिङ गरिरहेको रहेछ । एक दिन मैले फेसबुकमार्फत भेट गर्न आग्रह गरें । बौद्धको क्याफेमा भेट गर्ने मिति र समय तोकियो । भेट भयो । खुबै हाँसियो । फेसबुकको रोज अर्थात् कक्षाको साथी अनुभव केटीलाई फकाउन, जिस्क्याउन र हँसाउन एकदमै माहिर थियो । जोसँग पनि सजिलै घुलमिल हुने ।
चाहेको खण्डमा जस्तोसुकै कदम उठाइदिने । बौद्धको त्यो भेट यस्तो होला भन्ने सोचेको थिइनँ । तर, भइदियो । उसले आफ्नो सबै फेक आइडी देखाएर आफूसँग बोेलेका एक–एक शब्द देखायो । शनिबारको दिन । दुवै खुबै हाँस्यौं । मैले उसलाई रोज नभई एक दिलदार साथीको रूपमा लिएँ । तर, त्यो दिलदार मन कतिखेर हो कुन्नि अनुभव पौडेलसँग अनायसै जोडिन पुग्यो ।
वास्तविक रोजलाई चिनेको एक दिन, दुई दिन हुँदै उसले गरेका सबै क्रियाकलाप मलाई औधी मन पर्यो । र, केही समयमै हाम्रो जोडी बन्यो । १२ कक्षाको परीक्षा सिँढीनेर आउँदै थियो । तर, हाम्रो परीक्षाभन्दा पनि घुमफिर र मनोरञ्जनमै बित्यो ।
कति फोटा खिचिए । कति फेसबुकमा पोस्ट्याइए । थुप्रै लाइक, कमेन्ट अनि केही हदसम्म सेयर पनि । तर, त्यो सबै जुकरवर्ग प्रतिमिनेट धनी बन्ने कार्य थिए । आफू केवल फेसबुक निर्माताको कामदार । तर, त्यो ज्ञान त्यतिबेला भइदिएको भए आज सायद म कति जाती बन्थें होला । यसरी अनुभव र म अति नजिकियौँ । घुमफिरसँगै कुनै रेष्टुरेन्टमा गएर खानपिनसँगै रमाइलो गर्नु हाम्रो सामान्य थियो । साथीहरू पनि ऊजस्तै चुरोट, गाँजा सबै खाने । म पनि त्यसमा मिसिन पुगें । खाएँ सबैथोक ।
यस्तो कुलतमा फसेपछि घर आउने समय परिवर्तन भयो । अनेक बहाना बनाएर टारिदिएँ । एकदिन डान्स पार्टीमा जाने निमन्त्रणा आयो । १२ को परीक्षा सकिएकाले एक हिसाबले स्वतन्त्र थिएँ । ठमेल पुगियो । नाचियो । तानियो बियर । भइयो झ्याप । अनुभवसँग साथीहरूले ग्रुप सेक्सको प्रस्ताव राखेछन् । सुरुमा त मैले इन्कार गरें । तर, पछि उसले ग्रुप सेक्स सामान्य हो बेबी, यो जमानामा भन्दै सम्झायो ।
कैयौँ पटक ग्रुप सेक्स भयो । बुवा, दाइ र भाइ काममा, आमा पनि कतै गएको मौका छोपेर एकदिन अनुभवलाई आफ्नै घरमा बोलाएँ । आमाले फेला पार्नुभयो र मलाई मामाघर पठाई दिनुभयो । अध्ययन रोकियो । परिवारले सबै थाहा पायो । मसँग भेट्न चाहेनन् । र, लागें खाडी मुलुकतिर । अहिले बुझ्दै छु जिन्दगी । भन्न चाहन्छु, मेरो जस्तो बगर जिन्दगी नपार्नु !