मलेसियामा बसेको माया, तामिलकी छोरी नेपालकी बुहारी (भिडियो)
तमिल मूलकी सेल्भीका प्रेमी थिए, मोरङको उर्लाबारी नगरपालिका –३, थापा चौकका विक्रम बोहोरा ।
सेल्भी र विक्रम भेटको सुरुवातमा मलाया भाषामा कुराकानी गर्थे ।प्रेम झाँगिदै गएपछि दुवैले एक अर्काका भाषा सिक्न जरुरी ठाने र सिके । अहिले विक्रम तमिल र सेल्भी नेपाली भाषामा फरर्र कुराकानी गर्न सक्छन् ।
विक्रमले मलेसियालाई कर्मथलो बनाएको १४ वर्ष भयो । सुरुमा उहाँ लेबरको भिसामा एयर कण्डिसन बनाउने उद्योगमा काम गर्न जानु भएको थियो ।
त्यो उद्योग थियो, मलेसियाको सेलेङगर राज्यस्थित काजाङमा । हो त्यसैबेला भेट भएको थियो, स्थानीय सेल्भीसित । सेल्भी त्यसबेला शिक्षिका हुनुहुन्थ्यो ।
विक्रम बस्ने लेबर क्याम्प र सेल्भीको घर नजिकै थियो । दुई चार दिनको देखादेखपछि कुराकानी हुन थाल्यो ।
सुरुमा साथीका रुपमा विक्रम सेल्भीको घरमा आउजाउ गर्नुहुन्थ्यो ।
जतिबेला उहाँहरुबीच परिचय साटियो, त्यसबेला सेल्भीकी आमा बिमारले थलिएर ओछ्यानमा हुनुहुन्थ्यो ।बिरामी हुँदा विक्रमले सहयोग गर्न थालेपछि सेल्भीकी आमा पनि छोरी र विक्रमबीचको सम्बन्धमा सकारात्मक बन्नुभयो ।
अन्ततः उनीहरुले परिवारकै सहमतिमा बिहे गरे ।

