भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ
भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा
प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।
घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् ।
बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।
स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।



