यस्तो रहेछ दिगम्बर झाले राजीनामा दिनुका तीन कारण, भयो नेकपाभित्र खैलाबैला



 

सरकारले बर्खास्त गर्ने र अदालतमा मुद्दासमेत दायर हुने तयारी बुझेपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएको खुलेको छ । सत्तारुढ नेकपाभित्र झाको नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला झाले बुधवार साँझ राजीनामा दिएका थिए ।

 

नेकपा नेताले पैसा मागेको आरोप

स्रोतका अनुसार प्रधानमन्त्री र सञ्चारमन्त्री समक्ष दिगम्बरले आफूसँग केही नेकपा नेताहरुले आर्थिक लेनदेन र ठेक्कापट्टाको बार्गेनिङ गरेको भन्दै उजुरीसमेत दिएका छन् । केही दिनअघि उनको बर्खास्ती माग्नेमध्येकै नेकपाका दुई केन्द्रीय सदस्यले उनीसँग बार्गेनिङ गरेको सूचनासमेत सञ्चारमन्त्री बास्कोटाले पाएको स्रोतले बतायो ।

 

उता झाको नियुक्ति विरुद्ध वक्तव्य जारी गर्ने अभियानका अगुवा नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने आफ्नो समूहका कुनै सदस्यले झासँग आर्थिक लेनदेनको बार्गेनिङ गरेको भए तिनको नाम सार्वजनिक गरिनुपर्ने बताए ।

 

स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्य भाष्कर काफ्ले र झाबीचको कुराकानीको सूचना सरकारसम्म पुगेपछि नेकपामा खैलाबैला मच्चिएको छ । अर्का एकजना अखिलका पूर्वनेताले पनि बार्गेनिङ गरेको भन्दै झाले सरकारसमक्ष उजुरी दिएको स्रोतले बतायो ।

 

नेकपा स्थायी कमिटीमा झाको नियुक्तिविरुद्ध नेताहरुले बोलेकै बेला ४१ जना केन्द्रीय सदस्यले उनको नियुक्ति बदर गर्न सरकारलाई निर्देशन दिन माग गर्दै स्थायी कमिटीमा ज्ञापनपत्र बुझाएका थिए ।

 

झाले आफूलाई बिना आधार र प्रमाण भ्रष्टाचारी भनेर चरित्रहत्या गरेको भन्दै नेकपा नेताविरुद्ध अदालतमा मानहानीको मुद्दा लिएर जाने बताएका थिए । तर, उनले अकस्मात राजीनामा दिए ।

 

अघिल्लो वर्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव हारेर जाँदाजाँदै झालाई ५ वर्षका लागि नियुक्ति दिएको थियो । उनको उमेर ६४ वर्ष पुगिसकेको भन्दै उतिबेलै ५ वर्षे नियुक्तिलाई लिएर विवाद भएको थियो ।

 

चुनावपछि ओली सरकारले चुनाव आचारसंहिता लागेपछि गरेका सबै राजनीतिक नियुक्ति एकमुष्ठ बदर गर्दा झा पनि परेका थिए । तर, झा आफ्नो पुनर्वहाली माग गर्दै अदालत गए ।

अदालत गएकै बेला सरकारसँगको भित्री सहमतिपछि अदालतबाट मुद्दा फिर्ता लिएर उनी पुनः प्रतिस्पर्धामा भाग लिई अध्यक्ष भए ।

 

झा ०६९ मंसिर १९ मा पहिलोपटक डा. बाबुरम भट्टराई प्रधानमन्त्री भएका बेला प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । तर, अदालतमा मुद्दा चलेका कारण २ वर्ष उनी अध्यक्ष हुन पाएनन् । ५ वर्षका लागि नियुक्ति पाएका झाले आखिर किन दिए त राजीनामा ?

 

पहिलो कारण : ६५ वर्षे उमेर हद

दिगम्बर झा यही पुस २२ गतेबाट ६५ वर्ष पुग्दैछन् । नेपालका कुनै पनि संवैधानिक र सरकारी नियुक्तिहरुमा ६५ वर्षभन्दा माथि जागिर खान पाइँदैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र स्वयं ६५ वर्ष उमेर हदका कारण अर्को साता अवकाश हुँदैछन् ।

 

प्राधिकरणका अध्यक्ष झालाई सरकारले ५ वर्षका लागि नियुक्ति दिएको थियो । प्राधिकरणको ऐन र नियमावलीमा अध्यक्ष तथा सदस्यको शैक्षिक लगायत अरु योग्यता तोकिए पनि उमेर खुलाइएको छैन । उमेरबारे ऐन र नियमावलीले नबोलेकै कारण ६५ वर्ष कटे पनि जागिर खान पाउने झाको तर्क थियो ।

तर, अन्तिम घडीमा आएपछि झा यो निश्कर्षमा पुगे कि पुस २२ बाट उनी कुनै पनि हालतमा पदमा रहन पाउने छैनन् ।

 

दुरसञ्चार प्राधिकरणको ऐन र नियमभन्दा माथि मुलुकको संविधान र संवैधानिक अंग तथा सरकारी सेवासम्बन्धी कानुनहरु हुने भन्दै ६५ वर्षभन्दा माथि कसैले पनि सरकारी सेवामा रहन नपाउने वकिलहरुको तर्क छ ।

 

त्यसैले, उमेर हदका कारण पदावधि सकिएको सन्देश जानुअगावै झाले जुक्ति निकाले कि नेकपा नेताले आफूमाथि अपमान गरेकाले राजीनामा दिएको बाहनाबाजी गर्ने र पदावधि सकिनुभन्दा १२ दिनअगावै राजीनामा ठोक्ने ।

 

यद्यपि राजीनामा दिएर जाँदाजाँदै दिगम्बर झाले आफ्नो मानहानी भएको भन्दै नेकपा नेताहरुविरुद्ध अदालतमा मुद्दा हाल्ने बताएका छन् । उनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई विवादमा तानिएकाले आफूले राजिनामा दिएको दाबी गरेका छन् ।

 

दोस्रो कारण : मुद्दाबाट जोगिने

दिगम्बर झाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको थियो । यही मुद्दाको सुइँको पाएपछि उनले हत्तपत्त राजीनामा ठोकेको स्रोतले  बतायो ।

 

नेकपानिकटकै एक वकिलले पुस तेस्रो साता झाविरुद्ध सर्वोच्च अदालतमा योग्यतामाथि प्रश्न उठाउँदै नियुक्ति बदरको रिट दायर गर्ने तयारी गरिरहेका थिए । अदालतमा उनीविरुद्ध रिट परेको खण्डमा उनको नियुक्ति बदर हुने सम्भावना थियो ।

 

झाविरुद्ध उमेर हदको विषयमा रिट दायर गर्ने तयारीमा रहेका ती वकिलले भने–सर्वोच्च अदालतको न्यायाधीश आफैं ६५ वर्ष उमेरभन्दा बढी सेवामा रहन पाउँदैन । त्यही न्यायाधीशले सरकारी सेवामा रहने उमेर ७० कायम गर्न सक्छ ? त्यसैले यदि दिगम्बरले राजीनामा नदिएको भए पुस २३ मा हामी सर्वोच्चमा जाँदै थियौं ।

 

तेस्रो कारण : सरकारले बर्खास्त गर्न लागेको बुझाइ

झाले अकस्मात राजीनामा दिनुको अर्को कारण हो–सरकारले आफूलाई बर्खास्त गर्न लागेको बुझाइ ।

झालाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त गर्न लागेको ठानेर उनले हठात् राजीनामा दिएको स्रोतले  बतायो ।

नेकपा स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफूलाई ‘नखाएको विष लागेको’ भन्दै झालाई राजीनामा गर्न निर्देशन दिएका थिए ।

 

दिगम्बर झाले बुधवार दिउँसो रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको र स्वार्थ समूहको काम गर्न नसक्दा आफूविरुद्ध सुनियोजित प्रचार भएको बताइरहेका थिए । तर, साँझ उनको राजीनामा आउनुअघि नै प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको बैठकमा झाले राजीनामा दिइसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि

नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु