प्रचण्डको भाषणले पूर्व एमालेका नेता खुसी, भने अब नेकपामा गुट रहेन



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका केही प्रश्नहरुको जवाफ दिएका छन् ।

 

झन्डै पौने दुई घण्टा बोलका प्रचण्डले सैद्धान्तिक र वैचारिक विषयमा लामो समय खर्चिएका थिए । आफ्नो भाषणमा प्रचण्डको खासगरी नेकपाका असन्तुष्ट समुहलाई सम्बोधन गरेका छन् । प्रचण्डको जवाफले पूर्व एमालेका असन्तुष्ट नेताहरु खुसी भएका छन् ।

 

पूर्व एमालेका एक नेता भन्छन्, ‘प्रचण्ड कमरेडको जवाफले धेरै कमरेडहरु खुसी हुनुहुन्छ । खासगरी खुलेरै असन्तुष्टि राख्नुभएका कमरेडहरुको मागमा उहाँ लचिलो देखिनुभयो,’ रातोपाटीसँग कुरा गर्दै ती नेताले भने, ‘ उहाँको सम्बोधनले पार्टीभित्र जतिपनि समस्या देखिएका छन् ति सबैलाई हल गर्न अर्का अध्यक्ष पनि लचिलो बन्न दबाब दियो । हेरौँ भोलि ओली कमरेडको जवाफ कस्तो आउँछ ।’

 

स्थायी समिति सदस्य घनश्याम भुषालले सदस्यहरुबाट बैठकमा उठाइएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डबाट आएको बताए । ‘यो बैठकमा सबै सदस्यहरुले आफ्ना कुराहरु स्पष्ट र खरो रुपमा राखेका छन् ।

 

समस्या कहाँ छन् भन्ने बारेमा अध्यक्षद्वयले थाहा पाउनुभयो भन्ने मलाई लागेको छ,’ नेता भुषालले भने, ‘कमरेड प्रचण्डले बोलेको कुराले बैठकको अपेक्षाको सम्बोधन गरेको छ । सम्भवतः अध्यक्षहरु यो कुराप्रति गम्भिर भएछन् भन्ने लाग्यो ।’

 

त्यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि प्रचण्डको जवाफले धेरै कुरा समेटेको बताइन् । ‘समग्रमा प्रचण्ड कमरेडको जवाफ राम्रो थियो । उहाँले सैद्धान्तिक र वैचारिक पक्षबारे प्रष्ट पार्नुभयो । एकताको महत्त्व, चुनौति र अब कसरी अगाडि जाने भन्ने बारेमा उहाँको धारणा आयो,’ नेता शाक्यले प्रचण्डको भनाई उद्धृत गर्दै भनिन्, ‘पार्टीभित्र संर्किण सोचाई राख्नुहुदैँन ।

 

पुरानै शैली, समूह वा गुट हावी गराउनु भनेको पार्टी कमजोर बनाउनु हो । भर्खर पार्टी एकता भएको छ, हामीलाई नयाँ चुनौती छ । पार्टीभित्रै सत्तापक्ष प्रतिपक्ष जस्तो व्यवहार गर्नुहुदैँन । सबैलाई समेटेर जानुपर्छ ।’

 

नेता शाक्यले अर्का अध्यक्षको जवाफ पनि सकारात्मक आउनेमा विश्वत भएको बताइन् । ‘समग्रमा प्रचण्ड कमरेडको जवाफ राम्रो आयो । अब ओली कमरेडको जवाफ कस्तो आउँछ त्यो हेर्नुपर्छ । साथीहरुका असन्तुष्टि लगायत अन्य प्रश्न उहासँग सम्बन्धित छन्,’ उनले भनिन्, ‘बैठकमा धेरै कुरा उठेका छन् । ओली कमरेडले पनि त्यसलाई सकारात्मक लिँदै सच्चिएर अगाडि बढ्ने खालको जवाफ आउनुपर्छ भन्ने लाग्छ ।’

 

 

के भनेका थिए प्रचण्डले बैठकमा ?

बैठकमा छलफल र बहस राम्रो भएको छ । यसले पार्टी एकतालाई गम्भिर बनाउन र सरकारलाई सफल बनाउन योगदान पुर्याउँछ भन्ने विश्वास गरेको छु । यद्यपि छलफल गर्दा पूर्व एमालेभित्रको विवादमा छलफल केन्द्रीत भएजस्तो र पूर्व माओवादी केन्द्रका नेताहरु छलफलमा आफूलाई पुरै प्रस्तुत गर्न हिच्किचाए जस्तो, रक्षात्मक भए जस्तो कहिलेकाहीँ अनुभूति हुन्थ्यो ।

 

तरपनि समग्रमा बैठकको छलफल अत्यन्तै राम्रो भयो । यसले ऐतिहासिक रुपमा पार्टी एकतालाई बलियो बनाउने र पार्टी राजनीतिलाई सही दिशातिर लैजान योगदान गर्नेमा विश्वस्त छु ।

 

हामीले मुख्यरुपमा अहिले केही विषयमा ध्यान दिनुपर्छ । अहिलेको राजनीतिक परिवर्तनको प्रकृति, चरित्र त्यसको आयातन के हो ? भन्ने विषयमा अब गम्भिर छलफल हुनुपर्ने हो कि ? यो विषयमा एकत्व नभएको हो कि भन्ने मलाई लाग्यो । यो परिवर्तन मात्रात्मक परिवर्तन हो वा गुणात्मक परिवर्तन हो ? मलाई लाग्छ, यो परिवर्तन गुणात्मक परिवर्तननै हो ।

 

यो परिवर्तनले हाम्रो विचार, राजनीति र पार्टी एकताको कार्यभारलाई पनि ‘गुणात्मक’ ढंगले अगाडि बढाउन दिशानिर्देश गर्छ । ‘मात्रामा’ बुझियो भने हिजोको जोड घटाउमा मात्रै हामी जान्छाँै । त्यसकारण यो गुणात्मक हो भन्ने बुझाई मेरो छ । हाम्रो पार्टीको विचार, राजनीति र एकता किन आवश्यक पर्यो भन्नलाई पनि त्यसरुपमा बुझ्नु पर्छ ।

 

यसमा गम्भिर छलफल नभई पार्टी एकता सुदृढ हुँदैन । मलाई के विश्वास छ भने साविकको एमाले र माओवादी केन्द्र पनि यो परिवर्तन गुणात्मक हो भन्ने कुरामा समझदारी भएरनै पार्टी एकता भएको हो भन्ने सबैको बुझाई छ ।

 

तर, अहिले पछाडि फर्केर बहस जान थाल्यो कि भन्ने मलाई चिन्ता छ । पुरानै मेरो कुरा सहि हो भन्ने ढंगले छलफल गर्यौँ भने सही दिशामा लैजादैन र अन्तरसंघर्ष पनि अस्वस्थ हुने दिशातिर जान्छ । त्यसकारण यही कुरामा हाम्रो एकता हुनुपर्छ ।

 

राजनीतिक प्रतिवेदनमा जति पनि आलोचना र टिप्पणी भएका छन्, सही आलोचना र टिप्पणीलाई आत्मसाथ गरेर परिमार्जित प्रतिवेदन तयार गर्नुपर्छ । त्यसले नै अहिलेको आवश्यकता र पार्टी एकतालाई सुदृढ गर्छ ।

 

अहिलेको बन्दुक भनेको सरकार हो

हामी जनयुद्धकालमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्थ्यौँ । अन्तिममा पार्टीलेनै बन्दुक चलाउने हो भन्ने मान्यतामा विज हुन्थ्यौँ । अहिलेको बन्दुक भनेको सरकार हो । त्यसकारण पार्टीले सरकार चलाउने हो भन्ने सैद्धान्तिक मान्यतामै अगाढि बढ्नुपर्छ ।

 

त्यसैले सरकारलाई सहयोग गर्नुपर्छ । सरकारले पनि सामूहिक वा पार्टीभित्रको छलफलको आधारमा महत्त्वपूर्ण नीति र अरु निर्णयहरु गर्नुपर्छ । त्यसो भएमात्रै सरकार पनि सफल हुन्छ ।

 

सांगठनिक एकीकरणको निर्णय यही बैठकबाट गर्नुपर्छ भनेर धेरै कमरेडहरुले भन्नुभयो, म पनि त्यसैमा आए । यही बैठकले निर्णय गर्नुपर्छ भन्ने कुरा ठीक छ । स्थायी कमिटीबाटै कार्यदल बनाउँ, त्यही कार्यदलले प्रतिवेदन परिमार्जन गर्न सुझाव दिन्छ ।

 

त्यही कार्यदलले सांगठनिक एकीकरणको गृहकार्य गरेर सुझाव दिन्छ । त्यसपछि स्थायी कमिटीमा ल्याएर छलफल गरेर पारित गरिदिने । यसो गर्दा धेरै कमरेडहरुको धारणा समेटिन्छ ।

प्रतिक्रिया दिनुहोस
हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि

नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको

एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार