सरकारले भुक्तानी गर्न नसकेछि अमेरिकामै रोकिए नेपाली सेनाका अत्याधुनिक हतियार



हाम्रो इकोनोमि

 

नेपाली सेनाका लागि सरकारले अमेरिकासँग किन्न लागेका अत्याधुनिक हतियारको भुक्तानी गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि विकल्पबारे छलफल शुरु भएको छ ।

 

एउटा सरकारले अर्को सरकारसँग (जिटुजी) कारोबार गर्ने यो खरिद प्रक्रियामा विचौलियाको प्रवेश हुँदैन । तर, एकै किस्तामा हतियारको रकम तिर्नुपर्ने अमेरिकी सरकारको प्रस्ताव नेपालले पूरा गर्न नसक्दा हतियार किन्न ढिलाइ भएको छ ।

 

सार्वजनिक खरिद ऐनअनुसार एकै किस्तामा सबै रकम भुक्तानी गर्न नमिल्ने भएकाले सेनाका लागि आवश्यक एम-१६ लगायतका हतियार खरिद प्रक्रिया टुंगोमा नपुगेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले  बताए ।

 

मन्त्री पोखरेलले ती हतियार नेपालका लागि नभई नहुने भएकाले अर्को प्रक्रियामा गएर भने पनि ल्याउन लागिएको जानकारी दिए । मन्त्री पोखरेलले भने, ‘सेनाले यसअघि अमेरिकासँग लिएका हतियार धेरै पुराना भइसकेका छन् ।

 

जिटुजी खरिद प्रक्रिया भएकाले अमेरिकाले एकमुष्ठ रकम भुक्तानी गर्नुपर्छ भन्छ । तर, हाम्रो खरिद ऐनले एकैपटक भुक्तानी गर्न नमिल्ने भएकाले अड्किएको हो । हामीलाई हतियार चाहिएको छ, करिव एक करोड डलर रकम भुक्तानी गर्ने अर्को विकल्प खोज्दैछौं ।’

 

रक्षा मन्त्रालयका अनुसार नेपाली सेनासँग रहेका २०/३० वर्ष पुराना हतियारलाई विस्थापित गर्नका लागि जिटुजी खरिद प्रक्रिया अघि बढाइएको हो । यो प्रक्रिया अनुसार अमेरिकाले करीव साढे ६ हजार थान अत्याधुनिक राइफल नेपाललाई उपब्ध गराउन अमेरिकी सेनामार्फत टुंगो लगाइसकेको छ ।

 

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले एम-१६, ए-४ र एम-४ काबाइन लगायतका अत्याधुनिक राइफलहरु नेपाललाई विक्री गर्न स्वीकृती जनाएको छ ।

 

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको बताए पनि कति थान हतियार ल्याउन लागिएको भन्न नमिल्ने बताए ।

 

अमेरिकाबाट खरिद गर्ने हतियारको मूल्य करीव एक करोड डलर अर्थात करिब एक अर्ब रुपैयाँ पर्ने प्रारम्भिक जानकारी रहेको रक्षामन्त्री पोखरेलले बताए ।

 

सरकारले नेपाली सेनाका लागि अत्यावश्यक हतियार खरिद गर्नका लागि २ अर्ब १९ करोड रुपैयाँ छुट्याएको छ । मन्त्री पोखरेलले सेनाको हतियार खरिद प्रक्रिया सहज बनाउने विकल्पमा छलफल भइरहेको बताए ।

 

कस्तो हतियार हो एम १६ ?

अमेरिकी सेनाले भियतनाम युद्धमा प्रयोग समेत गरेको एम-१६ विश्वका धेरै देशका सेनाहरुले प्रयोग गरिरहेको हतियार हो । यो हतियार कम तौल र प्रभावकारीरुपमा मार हान्न सक्ने भएकाले धेरै देशमा प्रयोगमा आएको हतियार हो ।

 

५.५६ एमएम क्यालिबरको गोली लाग्ने अटोमेटिक एम-१६ राइफलले २७ सय मिटरसम्म प्रहार गर्न सकिन्छ । ९ सय मिटरसम्म यसले प्रभावकारी रुपमा मार हान्न सक्छ ।

यो राइफलको मूल्य १६ सयदेखि तीन हजार अमेरिकी डलरसम्म पर्ने विभिन्न वेवसाइटहरुमा उल्लेख छ ।

 

अमेरिकासँग हतियारको उतार-चढाव

सन् २००१ देखि नेपालमा विद्रोही माओवादीसँग लड्न नेपाली सेनालाई हतियार तथा सैन्य सहायता दिएको अमेरिकाले २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि सो सहायता रोकेको थियो ।

 

सेना समायोजनपछि अमेरिकाले नेपाललाई लगाएको सैनिक सहायता बन्देज खुलाइसकेको सेनाका प्रवक्ता भण्डारीले बताए । यो बन्देज खुलेपछि अमेरिकाबाट पहिलो पटक हतियार खरिद गर्न लागिएको हो ।

 

पहिले पनि अमेरिकाबाटै हतियार किने र अमेरिकी हतियार सबैभन्दा उत्कृष्ट रहेकाले तिनै प्रयोग गर्न लागिएको प्रवक्ता सहायकरथी भण्डारीले बताए ।

 

प्राविधिक कारणले अड्किएको हतियार ल्याउने बारे सरकारीस्तरबाटै पहल भइरहेको मन्त्री पोखरेलले बताए । जिुटजी प्रक्रिया बाहेक अर्को प्रक्रियामा जाँदा ग्लोबल टेण्डर आह्वान गर्नुपर्ने, बिचौलिया चलखेल हुने लगायतका झण्झट हुने भएकाले सरकारीस्तरबाटै खरिद गर्न लागिएको हो ।

 

कतिपयले अमेरिकासँग ठूलो परिणाममा अत्याधुनिक हतियार खरिद गर्न लागिएकोमा नेपाल अमेरिका सैन्य रणनीतिसँग पनि जोडेका छन् । तर, रक्षामन्त्री पोखरेलले भने राष्ट्रसंघीय मिसनमा खटिने फौजका लागि ती हतियार खरिद गर्न लागिएको र यो नयाँ प्रक्रिया नभएको बताए ।

 

सेनाले पनि अमेरिकी हतियार चलाउन सजिलो र उत्कृष्ट रहेकाले पुनः अमेरिकी सेनाबाटै लिन लागिएको जनाएको छ । द्वन्द्वकालमा सेनाले भारतसँग पनि इन्सास राइफल किनेको थियो । ती हतियारमा धेरै कैफियत निस्किएको र कतिपय पड्किँदै नपड्किने समस्या आएको उतिबेलै सेनाले जनाएको थियो ।

 

अहिले सेनाका लागि अमेरिकाबाट हतियार ल्याउन लागिएको प्रक्रिया नयाँ नभएको सरकारले प्रष्ट पारेको छ । स्रोतले भन्यो, ‘लामो समयदेखि रोकिएको हतियार कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेर ल्याउन लागिएको मात्र हो, यसबाट नेपालको सैन्य सम्बन्धमा तलमाथि हुँदैन ।

 

इण्डो प्यासिफिक रणनीतिको चर्चा

अमेरिकी सेनाको भारत तथा प्रशान्त क्षेत्र हेर्ने इन्डो प्यासेफिक कमाण्डले नेपाली सेनालाई एम १६ लगायतका घातक हतियारहरु नेपाललाई बिक्री गर्न स्वीकृती जनाएको अमेरिकी सेनाको वेवसाइटमा उल्लेख छ । खबरअनुसार झुक्तानीको विषयमा कुरा मिलेपछि ती हतियार नेपाल आइपुग्नेछन् ।

 

हालै अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग नेपाली समकक्षी प्रदीप ज्ञवालीको औपचारिक भेटवार्तामा अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने अमेरिकाले जनाएको थियो । यद्यपि परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीतिमा नेपाल साझेदार नरहेको बताइसकेका छन् ।

 

मन्त्री ज्ञवालीले अमेरिका भ्रमणका क्रममा एशिया प्रशान्त मामिलासम्बन्धी सहायक रक्षामन्त्री र्‍याण्डल स्त्रिmभरसँग पनि भेटघाट गरेका थिए । सो भेटमा नेपला र अमेरिकाबीच सहयोग तथा सहकार्यका साथै शान्ति सेनामा सहभागी नेपाली सेनाको लागि सहयोगका विषयमा छलफल भएको ज्ञवालीले बताए ।

 

गत पुस ३ गते मंगलबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो बीच वासिङ्टन डीसीमा द्वीपक्षीय भेटवार्ता भएको थियो । अमेरिकी सरकारको विशेष निमन्त्रणामा भेटवार्ताका लागि अमेरिका पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री पोम्पियो बीचको भेटवार्ता १६ वर्षपछि नेपाल र अमेरिका बीच भएको उच्चस्तरीय वार्ता हो ।

 

विशेषगरी नेपालमा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज गर्ने ट्रम्प प्रशासनको नीतिअनुसार अमेरिकाको विशेष पहलमा भएको वार्तामा द्वीपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

 

वार्तापछि पोम्पियोले नेपाल र अमेरिका बीचको मैत्री सम्बन्धलाई अझै बलियो बनाउने र जनस्तरमा मैत्री सम्बन्धको आधारलाई राम्रो बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताएको कुरा सार्वजनिक भयो ।

 

यो भेटवार्ताले अन्तराष्ट्रिय राजनीतिमा ठूलै तरंग पैदा गरेको छ । अमेरिकाले एकाएक नेपाललाई यति ठूलो प्राथमिकता दिएर बोलायो भन्ने बारेमा विभिन्न कोणबाट विश्लेषणहरु हुन थालेको छ ।

 

नेपाली सेनाले हाल प्रयोग गरिरहेको इन्सास र एसएलआर राइफल विस्थापन गरेर सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक एम १६ राइफल उपलब्ध गराउने योजना अनुसार खरीद प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...