प्रहरीले यातना दिएको खुलासा, चौधरी भन्छन् लात्तैलात्ताले हाने, गोली ठोकेर मार्छौँ भने
प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।
महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ ।
डिएनए रिपोर्ट अझै गोप्य
निर्मला घटनाको प्रमुख आधार भनेको डिएनए रिपोर्ट हो । स्रोतका अनुसार रावल र चौधरीको डिएनए रिपोर्ट कञ्चनपुर प्रहरीमा पुगिसकेको छ, तर खोलिएको छैन । स्रोतका अनुसार प्रदीप र विशाल दुवैको डिएनए म्याच भएको छैन । तर, दुवैले अपराध स्विकारेको र उनीहरूको भनाइ मिल्दोजुल्दो भएको प्रहरी दाबी छ । त्यही कारण प्रदीपलाई नछाडिएको एक प्रहरी अधिकारीले बताए । ‘प्रदीपले अपराध स्विकारेका छन् ।
उनीविरुद्ध थप प्रमाण संकलनमा प्रहरी लागेको छ । उनको बयानअनुसार डिएनए म्याच हुनुपर्छ भन्ने नै छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘घटनामा उनीहरूसहित अन्य व्यक्तिहरू संलग्न हुन सक्छन् ।
’प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानमा डिएनए एउटा माध्यम मात्र भएको बताए । सामूहिक बलात्कार भएको र नमुना राम्रोसँग संकलन नभएको अवस्थामा डिएनए नमिल्नसमेत सक्ने उनले बताए । हाल सैनिकसहित थप १६ जनाको डिएनए परीक्षण गरिएको छ ।
प्रहरी र सेनासहित तीन सयभन्दा बढीमाथि छानबिन
घटनाको अनुसन्धानमा कुनै कमी नगरिएको प्रहरी अधिकारीहरू बताउँछन् । शंकास्पद तीन सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।
बढी शंका भएका २४ जनाको डिएनए परीक्षणसमेत भएको छ । जसमा तत्कालीन एसपी दिल्लीराज विष्टदेखि स्थानीय ब्यारेकका सैनिकसमेत छन् । प्राविधक अनुसन्धानको क्रममा हजारौँ व्यक्तिको कल डिटेल र एसएमएससमेत हेरिएको छ ।
१८ प्रहरीमध्ये केहीलाई मुद्दा चल्ने
एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा केही प्रहरीलाई सेवाबाट बर्खास्त र केहीलाई फौजदारी मुद्दा दायर हुने भएको छ । सो समितिले १८ जना प्रहरीलाई दोषी औँल्याएको थियो ।
यसअघि नै सेवाबाट बर्खास्त गरिएका एसपी दिल्लीराज विष्ट, इन्स्पेक्टर जगदीश भट्टसहित डिएसपीहरू अंगुर जिसी, ज्ञानबहादुर सेटी, इन्स्पेक्टरहरू एकेन्द्र खड्का र गणेश सापकोटालाई कारबाही सिफारिस गरिएको छ । सईहरू रामसिंह धामी, वासुदेव अवस्थी, हरसिंह धामी र डिकरदेव पन्त तथा हवल्दारहरू धर्मसिंह भाट, धर्मेन्द्र सिंह विष्ट र दीपक विष्टमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । पाँच जवानलाई पनि कारबाही सिफारिस गरिएको छ ।
जवानहरू चाँदनी साउद, लालबहादुर विष्ट, माधव खत्री, सुरेन्द्रसिंह कुँवर र शुभराज महतरामाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । जसमध्ये प्रमाण नष्टमा संलग्न र दिलीपसिंह विष्टविरुद्ध नक्कली प्रमाण बनाउने प्रहरीविरुद्ध मुद्दा दायर हुन सक्ने स्रोत बताउँछ । प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भइसकेको छ ।
अनुसन्धान टोली बनाउन गृहलाई चासो छैन
जटिल किसिमका घटनाको अनुसन्धानमा स्वतन्त्र अनुसन्धानकर्तासमेत राखेर विशेष अनुसन्धान टोली बनाउन सकिने प्रावधान संगठित अपराध ऐनमा छ । निर्मला प्रकरणमा प्रमाण नष्ट गरेकोदेखि नक्कली अभियुक्त खडा गर्न खोजेको प्रहरीकै छानबिनबाट खुलिसकेको छ ।
जसले गर्दा प्रहरीमाथि सर्वसाधारणको चरम असन्तुष्टि छ । यस्तो अवस्थामा सरकारले विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूलाई राखेर अनुसन्धान गर्न सक्ने विकल्प छ । तर, यस विषयमा गृह मन्त्रालयले चासो दिन सकेको छैन ।
सुन तस्करी प्रकरणमा गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली बनाएको थियो । यस्तो टोलीलाई अनुसन्धान अधिकृतसरह अधिकार हुन्छ । प्रहरी विवादमा तानिएकाले निष्पक्ष अनुसन्धानकर्ताहरूसमेत हुने हुँदा त्यस्तो टोलीले गर्ने अनुसन्धानले सर्वसाधारणको समेत विश्वास जित्ने सम्भावना हुन्छ ।
गृहमा यसबारे एकपटक छलफल भए पनि अहिले चासो दिइएको छैन । विशेष अनुसन्धान टोली बनाउने गृहकार्य नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सिआइबीलाई अनुसन्धानको जिम्मा दिइएको उनको भनाइ छ ।
विशाल चौधरी भन्छन्
आँखामा पट्टी लगाइदिएर लात्तैलात्ताले हाने, गोली ठोकेर मार्छौँ भने, बाँच्नलाई अपराध स्विकारेँ
मंसिर १९ गते प्रहरीले मलाई समात्यो । निर्मलालाई अपराध गरेको होस् कि होइनस् भनेर सोधे । मैले होइन भन्दा मेरो आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटे । झुट बोलिस् भने गोली ठोकेर मार्छौँ, सत्य बोलिस् भने प्रहरीमा जागिर लगाइदिन्छौँ भने ।
जागिर लगाइदिन्छन् भन्ने आस त थिएन, तर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसैले ‘हो, मैले गरेको हुँ’ भनिदिएँ । फेरि काठमाडौंमा पक्राउ परेको प्रदीप रावलले तेरो नाम लिएको छ, तिमीहरू मिलेर गरेका रहेछौ भनेर स्विकार्न दबाब दिइरहे । गालामा पटकपटक हानिरहेका थिए, त्यसैले मैले हो भनिदिएको हुँ ।
मैले हो भनेर बयान दिएपछि मंसिर २० गते जहाजबाट काठमाडौं लगे । बुबा पनि जहाजमै हुनुहुन्थ्यो, तर बोल्न दिएनन् । उहाँलाई अगाडि राखेका थिए, मलाई सबैभन्दा पछाडि ।
काठमाडौं पुगेपछि पिटेनन्, तर पिट्छन् भन्ने डर लागिरहेको थियो, त्यसैले उनीहरूले जे चाहेका छन्, त्यही भनिदिएँ । बुबाका सामुन्ने पनि हो भनिदिएँ । तर, अदालत गएपछि डरले हो भनेको हुँ, तर मलाई घटनाबारे केही थाहा छैन भनिदिएँ । डिएनए रिपोर्ट पनि मिलेनछ, त्यसैले छुटकारा पाएँ ।