कांग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम



 

नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी कांग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।

 

प्रस्तावनामा “…नेपाली कांग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको विसं २०१५ को प्रथम संसदीय आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त…” वाक्य थप गरिएको छ ।

 

‘नेपाली कांग्रेसको विधान, २०१७’ मा हालसम्म (विसं २०७२ फागुन २३ गते गरिएको आठौँ संशोधनसम्म) पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम मात्र उल्लेख गरी उहाँहरूको योगदानबारे चर्चा गरिएको थियो ।

 

पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नाका साथै पार्टीलाई आर्थिकरूपमा भरमग्दुर सहयोग गर्नुभएका संस्थापक नेता सुवर्णको नाम उल्लेख थिएन । यद्यपि पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शम्शेरको नाम उल्लेख गरिन्छ र उनका योगदानलाई पनि सम्झिइन्छ ।

 

मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न कांग्रेसले गत भदौ ७ गते महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । गत मङ्सिर २९ गतेदेखि आजसम्म चल्ने महासमिति बैठकमा पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मतले पारित विधान मस्यौदा शनिबार प्रस्तुत भएको थियो । उक्त विधान मस्यौदासहित अन्य सबै प्रतिवेदन बैठकले आज पारित गर्ने र त्यसपछि लागू हुनेछन् ।

 

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा कांग्रेसले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

 

त्यस्तै प्रस्तावनामा “नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट विसं २०७२ मा बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कृतिमानप्रति गर्व गर्दै” वाक्य थप गरिएको छ ।

 

प्रस्तावनामा “पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकाङ्क्षाअनुरुप बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै” पनि थप गरिएको नेता बडूले बताए ।

 

विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली कांग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले योगदान गरेको कांग्रेसको इतिहासमा उल्लेख छ ।

 

विसं २००३ मा स्थापित राष्ट्रिय कांग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र कांग्रेस स्थापनामा लागेका थिए । सोही अनुसार पछि दुवै कांग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भई प्रजातन्त्रको स्थापना भएको हो ।

 

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गरे । त्यस बारेमा बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गरेका छन् । उनको २०३४ सालमा निधन भएको थियो ।

 

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उनको कतिपय जग्गा जमीन तत्कालीन सरकारले हड्पेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो । हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्याधीशको निवास रहेको जग्गा एवम् घर उनकै थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ