वामदेवको सपना : के देखे उहिले, के भयो अहिले ?



 

वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) एक प्रभावशाली नेता हुन् । उनको राजनीतिक जीवन उतारचढावमा बढी केन्द्रित छ । समकालीन राजनीतिको विभिन्न कालखण्डमा कुनै न कुनै हिसाबले वामदेव सधैँ चर्चामा रहे । कतिपयले उनलाई झ्याप्पै निर्णय लिने ठाडो स्वभाव भएका नेताका रूपमा लिन्छन् । नजिकबाट संगत गर्नेहरूचाहिँ उनलाई अहिलेका शीर्ष राजनीतिकर्मीमध्ये सबैभन्दा प्रष्ट र इमान्दार वक्ताको रूपमा विश्लेषण गर्छन् ।

 

राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका गौतमलाई एक वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि ठूलै झट्का लागेको टिप्पणी चले । निर्वाचनअघि भएको तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलमा गौतमले सक्रिय भूमिका निर्वाह गरेको बताइन्थ्यो ।

 

तत्कालीन अवस्थामा चुनाव सम्पन्न भएपछि पार्टी एकता गर्ने उद्देश्यले एकता संयोजन समिति गठन भयो र त्यसको नेतृत्व नेता वामदेव गौतमलाई दिइयो । उनै नेता गौतम चुनाव सम्पन्न भएको एक वर्षपछि र दुई तिहाइको शक्तिशाली सरकार बनेको नौ महिनापछि पुनः एकपटक चर्चामा छन् ।

 

हुन त यसबीचमा पनि उनी चर्चामा नरहेका होइनन् । पहिले उनी रोल्पाबाट चुनाव लडेर प्रतिनिधि सभामा आउने चर्चा चल्यो । पछि फेरि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र त्यहाँबाट गौतम चुनाव लड्ने चर्चा चल्यो । तर ती दुवै चर्चा वास्तविकतामा परिणत हुन सकेनन् या दिइएन ।

 

भर्खरै सम्पन्न नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको प्रतिवेदनलाई चुनौती दिँदै गौतमले फरक प्रतिवेदन पेश गरेपछि त्यसले नेकपाभित्र मात्र होइन नेपाली राजनीतिमै तरंग ल्याइदिएको छ । वामदेवको पछिल्लो आक्रोशले शिशु अवस्थामा रहेको दुई ठूला कम्युनिस्ट पार्टीको एकताको भित्री कथालाई पनि सतहमा ल्याइदिएको छ ।

 

वामदेव किन एकाएक आक्रामक भए ? सरकारले काम गर्न नसकेको निचोडमा उनी कसरी पुगे ?केपी ओलीलाई प्रधानमन्त्री बनाउन हतार गरिएछ भन्ने आशयको निष्कर्षमा कसरी पुगे ? त्यस्तो आरोप लगाउनुका पछाडिको आधार के हो ?

 

कतिपयले प्रतिनिधि सभामा आउन तगारो खडा गरिएकाले त्यसबाट वामदेव आक्रोशित भएको र त्यसको असर हालैको नेकपाको स्थायी समिति बैठकमा पोखिएको टिप्पणी पनि नगरेका होइनन् ।

 

तर वामदेवसँग निकट सम्बन्धमा रहेका विभिन्न स्रोतहरूका अनुसार आफू नेतृत्वको कार्यदलले एक वर्षअघि बुझाएको सुशासन र विकास प्राथमिकता सम्बन्धी प्रतिवेदनको रौं पनि कार्यान्वयन नभएकोमा वामदेवको ठूलो असन्तुष्टि छ । उनको पछिल्लो आक्रोश त्यसैको असर भएको दाबी उनी निकटहरूको छ ।

 

चुनावपछि गठन हुने सरकारको सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन गठित कार्यदलमा बसेर प्रतिवेदन तयार पार्न गौतमले निकै मेहेनत गरेको कार्यदलकै सदस्यहरूको भनाइ छ ।

 

कार्यदलमा बसेर प्रतिवेदन तयार पार्न गौतमलाई नेता भीम रावल, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, डा. विजय पौडेल, पूर्व गभर्नर डा. युवराज खतिवडा (हालका अर्थमन्त्री) र योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सघाएका थिए ।

 

कार्यदललाई जनताका आकांक्षा तथा आवश्यकता अनुरूप सरकार सञ्चालनका समग्र पक्षमा ध्यान दिई सुशासन र विकासका लागि प्राथमिकता निर्धारणसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइयो ।

 

काम सम्पन्न गर्ने सिलसिलामा कार्यदलले विभिन्न विशेषज्ञ समूह तथा विज्ञहरूसँग छलफल गरी राय–सुझाव प्राप्त गरेको थियो ।  गौतम नेतृत्वको उक्त कार्यदलले नौ पटकभन्दा बढी बैठक बसी विभिन्न विषयमा गहन र व्यापक छलफल पश्चात् सुशासन र विकासका प्राथमिकता सहित आर्थिक विकास तथा समृद्धिको मार्गचित्रको रूपमा सुझाव–प्रतिवेदन तयार गरेको थियो ।

 

के थियो प्रतिवेदनमा ?

मूलतः वामदेव आफैँ अग्रसर भएर लेखेको उक्त प्रतिवेदनमा पाँच वर्षको अवधिमा लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने, निरपेक्ष गरीबी निवारण गर्ने, अधिकांश घरपरिवारका लागि गाँस, बास, शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानीको व्यवस्था गर्ने र समग्रमा मुलुकले दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गरी १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याउन आधार तयार गर्ने उल्लेख छ ।

 

उक्त प्रतिवेदनमा आगामी दश वर्षको अवधिसम्म सबै स्थानीय तह तथा प्रदेशका केन्द्रमा प्रशासनिक र जनप्रतिनिधि संस्थाहरूको व्यवस्थापकीय पक्षहरूसंग सम्बन्धित पूर्वाधारहरू निर्माण भइसक्ने विषय उल्लेख छ ।

 

गौतमले आवश्यक ठाउँमा आधुनिक शहर विकसित गर्ने तथा अव्यवस्थित बसोबास एवं शहरहरू आधुनिकीकरण र स्तरोन्नति गर्ने, कृषिको व्यवसायीकरण र औद्योगीकरण गर्ने, खाद्यवस्तुमा आत्मनिर्भर भई निर्यात प्रवद्र्धन गराउने,  नेपाली जनसंख्यालाई आवश्यक पर्ने उपभोग्य औद्योगिक उत्पादन मुलुकभित्रै सम्भव तुल्याउने तथा सूचना सञ्चार क्षेत्रको प्रगतिका मार्गहरू अघि बढाउने विषयलाई प्रतिवेदनमा प्रमुखताका साथ समेटेका छन् ।

 

सबै राजमार्गको आधुनिकीकरण, विस्तार तथा स्तरोन्नति गर्ने, आवागमन र उत्पादनसँग सम्बन्धित हुनेगरी सडक सञ्जाल, रेल्वे तथा हवाई यातायातको विकास गर्ने सपना प्रतिवेदनमा समेटिएको छ ।

 

सम्पूर्ण आवास, उत्पादन तथा औद्योगिक क्षेत्रहरू, सबै किसिमका यातायात साधन र क्षेत्रहरूमा विद्युतीकरण गर्ने, आफ्नै भू–उपग्रह मार्फत् नेपालका सबै भू–भाग र संसारभरी सञ्चार माध्यमको पहुँच पुर्‍याएर समाजलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने गौतमको योजना थियो ।

 

प्रतिवेदनमा लेखिएको छ, ‘आगामी पाँच वर्षमा सम्पन्न गर्न प्रस्तावित गरिएका कार्यक्रमहरूको निम्ति ठूलो परिमाणको स्रोतसाधन आवश्यक हुन्छ ।  आन्तरिक तथा बाह्य स्रोतबाट आवश्यकता अनुसारको स्रोतसाधन परिचालन गर्ने कुरा चुनौतीको रूपमा छ ।’

 

विकास, निर्माण र समृद्धिका नीति, कार्यनीति, कार्ययोजना र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न देशभित्र दिगो शान्ति, बलियो सुरक्षा व्यवस्था तथा राष्ट्रिय हित अनुकूलको बाह्य सम्बन्ध आवश्यक पर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

 

देशभित्र सबै सुरक्षा अंगहरूलाई समयानुकूल सुदृढ, सक्षम र सक्रिय तुल्याउने, स्वदेश तथा विदेशका संघ–संस्थाहरूसंगको सम्बन्धलाई नेपालको संविधानमा उल्लेखित परराष्ट्र नीति अनुरूप कूटनीतिको आधारमा राष्ट्रिय हित अनुकुल हुने गरी अगाडि बढाइनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

 

कैयन गुणा बढी विकास–निर्माणका काम गर्नुपर्ने, राजस्व र अन्य स्रोत–साधनमा वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा छ । त्यसका लागि ठूलो बजेट परिचालन गर्नुपर्ने हुँदा अहिलेको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई निर्मुल गर्न, सीमित व्यक्ति वा समूहहरूको चंगुलमा फस्ने प्रवृत्ति रोक्न प्रतिवेदनले सुझाएको छ । त्यसो हुन नसकेमा समयमा काम नहुने, भएका काम गुणस्तरीय नहुने र लक्षित जनताले विकासको प्रतिफल पाउन नसक्ने जोखिम रहनेतर्फ प्रतिवेदनले सचेत गराएको छ  ।

 

प्रतिवेदनमा प्रस्ताव गरिएका नीतिगत, संरचनागत, विधिगत र प्रक्रियागत व्यवस्था एवं रूपान्तरणका कार्यहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने सुझाव कार्यदलले दिएको छ । गौतमले प्रतिवेदनमा उल्लेख गरेका थिए– उल्लेखित कामहरू गर्न सकिएमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा घोषणामा उल्लेख गरिएका प्रतिवद्धताहरू पूरा हुनेछन् र मुलुक समृद्धि सहितको समाजवादको दिशातिर अघि बढ्ने छ ।

 

ब्रेक कसरी लाग्यो ?

हेबिवेट उम्मेदवार मानिएका तत्कालीन एमालेका उपाध्यक्ष गौतम बर्दिया– १ मा ७७४ मतले पराजित भए । प्रतिनिधिसभाको उम्मेदवार बनेका गौतमलाई कांग्रेसका सञ्जय गौतमले पराजित गरे । त्यस बेलाका सिञ्चाइ मन्त्री समेत रहेका सञ्जय गौतमसँग पराजित भएपछि आफ्ना सपना पूरा गर्ने आकांक्षामा गौतमलाई प्रारम्भिक ब्रेक लाग्यो । यद्यपि हार नै सबै कुरा थिएन, हारपछि पनि उनी आफूले बुनेको सपना कार्यान्वयनका सन्दर्भमा शिथिल देखिएनन् ।

 

गौतमले चुनाव हारेको होइन, हराइएको हो भन्ने टिप्पणी पनि राजनीतिक वृत्तमा चलि नै रहेको छ । ‘वामदेवले हार बेहोरे पनि उनी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदनले हार्नु हुने थिएन,’ नेकपाका एक शीर्ष नेता भन्छन्, ‘तर, प्रतिवेदनमा कार्यान्वयनमा जाने कुनै छाँटकाँट देखिएन ।’

 

गौतमले चुनाव त हारे, तर गौतमका सपनाहरू पूरा गर्ने बाटाहरू बन्द भइसकेका थिएनन् । यसैबीचमा निकट भविष्यमै सरकारले शक्तिशाली प्रकृतिको विकास निर्माण प्राधिकरण निर्माण गर्ने बहस चल्यो ।

 

सरकारका शुरूवाती दिनहरूमा समृद्धि र सुशासनलाई प्राथमिकता दिएको केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले पार्टी सचिवालय सदस्य बामदेब गौतमलाई प्राधिकरणको कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणमा पठाउने हल्ला चलेको थियो ।

 

गौतमको विकास र समृद्धिको क्षेत्रमा रुचिका कारणले पनि कार्यकारी अधिकार सहित प्राधिकरणको नेतृत्व दिने तयारी भएको नेकपाका नेताहरू बताउने गर्छन् ।

 

स्रोतका अनुसार गौतमलाई प्राधिकरणको नेतृत्व दिन प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले सहमति समेत जनाएका थिए ।

 

राजनीतिक विषयवस्तुका अलावा समृद्धि र विकास मामिलामा रुचि भएका गौतमले नेपाल नवनिर्माण महाअभियान नामको पुस्तक समेत प्रकाशित गरेका छन् । १५ पुष (०७४) मा सो पुस्तकको विमोचन ओली र प्रचण्डले संयुक्त रूपमा गरेका थिए ।

 

त्यसक्रममा प्रचण्डले गौतमलाई विकास सम्बन्धी कुनै जिम्मेवारी दिइने बताएका थिए । तर अहिलेसम्म न शक्तिशाली विकास निर्माण प्राधिकारण बन्यो, न बामदेव त्यसको नेतृत्वमा पुगे ।

लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ