‘एसिया प्यासिफिकसम्मेलन’बारे नेकपा बैठकमा चर्काचर्की
विवादित संस्था एसिया प्यासिफिक सम्मेलन र त्यसमा पार्टी र सरकारका प्रतिनिधिहरुको सहभागिताबारे नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ ।
आइतबार बिहान बसेको नेकपाको बैठकमा सम्मेलनमा पार्टीका नेताहरु सहभागी भएको विषयमा पक्ष–विपक्ष लिएर चर्काचर्की भएको हो ।
सम्मेलन र सहभागिताको विषयको बचाउमा नेता माधव नेपाल र केपी ओली उत्रिएका थिए भने नेताहरु भीम रावल, घनश्याम भुषाल, वेदुराम भुषाल, अग्नि सापकोटा, लगायतका नेताहरुले त्यसको विरोध गरेका थिए ।
आइतबारको बैठकमा नेता माधव कुमार नेपालले एसिया प्यासिक सम्मेलनमा सरकार र पार्टीको संलग्नताको बचाउ गर्दै जवाफ दिइरहेका बेला नेताहरु भीम रावल र बेदुराम भुषालले उठेर प्रतिवाद गरेका थिए ।
जवाफ दिने क्रममा नेता नेपालले कार्यक्रममा सहभागी हुँदैमा देशको शिर ननिहुरिने भन्दै सो संस्था समेत गलत नभएको जिकिर गरे । ‘सो संस्था संस्था गलत हो जस्तो मलाई लाग्दैन । कार्यक्रममा सहभागी हुँदैमा देशको शीर निहुरिने जस्तो पनि लाग्दैन ।
यसले कुनै नोक्सानी पनि भएको छैन,’ एक स्थायी समिति सदस्यले नेपालको भनाई उद्धृत गर्दै भने, ‘सम्मेलन र हाम्रो सहभागिताले कुनै नेपाललाई नोक्सानी भएको छैन । सबै विवरण नै म पेश गर्न सक्छु ।’
तर नेता नेपालले यस्तो भनिरहँदा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुषाल, योगेश भटटराई र रघुजी पन्तहरुले सम्मेलनमा सरकार नै आयोजकमा बस्नु र नेताहरु सहभागी हुनु गम्भिर गल्ती भएको भन्दै आत्मालोचना गर्नुपर्ने अडान राखेका थिए ।
‘यसमा कमजोरी भएकै छ । नेता नेपालले आत्मालोचना गर्नेपर्छ । विवादित संस्थाको कार्यक्रममा सहभागी भएर समग्र पार्टी, सरकार र देशको आत्मसम्मानमा चोट पुगेको छ’ नेता रावलले बैठकमा भनेका थिए ।
माधव नेपाल बोलेलगत्तै सो सम्मेलनमा उठेका प्रश्नको प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलेले जवाफ दिएका थिए । जवाफ दिने क्रममा ओलीले उक्त विषय सकिइसकेकाले त्यसैलाई उठाइरहनु जायज नभएको बताएका थिए ।
‘यसलाई उछाल्न जरुरी छैन । साम्य भइसकेको विषय हो यो । तपाइहरु निहुमात्रै खोजनुहुन्छ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । तर, ओलीको जावफप्रति पनि चित्त नबुझेपछि सदस्य घनश्याम भुषालले निहु आफुहरुले नभई अध्यक्ष आफैले खोज्ने गरेको आरोप लगाएका थिए ।
त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदन पास गर्ने बेलामा गर्न सकिने र समेट्न सकिने विषयहरु समावेश गरेर अघि बढ्न सकिने विकल्प कायमै रहेको जवाफ दिएका थिए । यसैबीच (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आईतबार बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको प्रतिवेदनमाथिको छलफल सकिएको हो । छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै अपरान्ह बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले दिने कार्यक्रम रहेको छ ।
अध्यक्षद्वयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा भाग लिएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने अडान राखेका थिए ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले मापदण्ड समेत तय नगरी पार्टी प्रदेश कमिटी गठन गरिएकोमा आपत्ति जनाउँदै सच्याउन माग गरेका थिए भने अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पार्टीको उचाई अनुसार नआएको उल्लेख गर्दै पुनर्लेखन गर्न माग गरेका थिए ।
आइतबार अपरान्ह पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने वरिष्ठ नेता खनालले बताएका छन् ।