निर्मला पन्त प्रकरणमा सैनिकमाथि पनि अनुसन्धान सुरु
निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रहरीले केही सैनिकहरुको डिएनए परिक्षण प्रक्रिया अघि बढाएको छ ।
स्रोतका अनुसार १० साउनमा ब्यारेकबाट निस्किएका चार सैनिकको डिएनए परीक्षणका लागि रगतको नमूना लिइएको छ । १० साउनमा साथीको घर गएकी निर्मलाको भोलिपल्ट नजिकैको उखुबारीमा शव भेटिएको थियो ।
हालै प्रहरीले डिएनए परीक्षणका लागि रगत लिएका १६ मध्ये चारजना सैनिक रहेको स्रोत बताउँछ । ‘सेनाले अनुसन्धानमा सहयोग गरिरहेको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘ठूलो संख्यामा डिएनए परीक्षण अघि बढेको छ, थप सैनिकको पनि नमूना लिन सक्छौं ।’
निर्मलाको शव भेटिएको स्थानबाट करिब तीन सय मिटरमा सेनाको बाहिनी छ । त्यसकारण कतिपयले सैनिक पनि घटनामा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ । यसअघि तत्कालीन एसपी दिल्लीराज बिगटसहित नौ जनाको डिएनए परीक्षण गरिएको थियो ।
घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले समेत घटनामा १८ प्रहरीको लापरबाही र गलत नियत देखिएको भन्दै कारबाही गर्न सिफारिस गरिसकेको छ ।
प्रहरी फेरि असफल ?
घटनामा संलग्नताको आधारमा प्रहरीले स्थानीय प्रदीप रावल र बिशाल चौधरीलाई पक्राउ गरेको थियो । घटनास्थलको अवस्था र उनीहरूको भनाई ठ्याक्कै मिलेको प्रहरीको भनाई थियो । त्यसैले सोधपुछमा आइजिपी सर्वेन्द्र खनाल आफैं खटिएका थिए ।
अनुसन्धान सफल हुने ठानेर नै प्रहरीले दुवैलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाएको थियो । तर, अपराध स्वीकार गरेका उनीहरूविरुद्ध प्रहरीले पर्याप्त प्रमाण संकलन गर्न सकेन । १८ दिनपछि विशाल छुटेका छन् ।
प्रदीप र बिशालको डिएनए रिपोर्टबारे आफूलाई जानकारी नभएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का निर्देशक डिआईजी निरज शाही बताउँछन् । अभियुक्त पत्ता नलागेसम्म अनुसन्धानमा आफूहरू निरन्तर लाग्ने उनले बताए ।
नक्कली अभियुक्त किन खडा गर्न चाहन्थ्यो प्रहरी ? सिआइबीका डीएसपीले नै च्यातेका थिए दिलिपको सर्ट
निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न तत्कालीन समयमा कञ्चनपुर पुगेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का डिएसपीको भूमिका ‘गैरव्यावसायिक’ रहेको पाइएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको प्रहरी आन्तरिक प्रतिवेदनमा डिएसपी जिसी नेतृत्वको टोलीले ‘गैरव्यावसायिक’ कार्य गरेको औंल्याइएको हो ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । निर्मलाको सामूहिक बलात्कार भएको हुनसक्ने गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको विशेष छानबिन समितिले निष्कर्ष निकालेको थियो ।
निर्मला हत्याकाण्डका मुख्य अभियुक्तको रुपमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट र सिआइबीका डिएसपी जिसीको नेतृत्वको टोलीले गत भदौ ४ मा मानसिक रोगी भीमदत्तनगर–१९ का दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको थियो ।
दिलिपलाई सार्वजनिक गरिएसँगै कञ्चनपुरमा प्रहरीले नक्कली अभियुक्तलाई हत्या स्वीकार गर्न लगाइएको भन्दै आन्दोदन चर्किएको थियो । तर, दिलिपको डिएनए निर्मलाको ‘स्वाब’सँग म्याच नभएपछि उनी छुटेका थिए ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीकै भूमिकाबारे प्रश्न उठेपछि आईजीपी सर्वेन्द्र खनालले प्रहरी कमजोरीबारे आन्तरिक अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।
बस्न्यात नेतृत्वको समितिले गत सोमबार आईजीपी खनाललाई प्रतिवेदन बुझाएको थियो । यसअघि निर्मलाको शव भेटिएको स्थानमा दिलिपको सर्ट भेटिएको सिआइबीका डिएसपी जिसी र एसपी विष्टको टोलीले दाबी गरेको थियो ।
दिलिपका आफन्तले भने प्रहरीले घरबाट सर्टको गोजी (खल्ती) च्यातेर लगेको दाबी गर्दै आएका थिए । ५ सय ३२ पृष्ठ लामो उक्त प्रतिवेदनमा दिलिपको सर्ट डिएसपी जिसीकै नेतृत्वको टोलीले घरबाटै च्यातेर ल्याएको खुलासा एक प्रहरीले गरेका छन् ।
निकै मोटो प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले अध्ययन गरिरहेको बताइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्न्यात नेतृत्वको प्रतिवेदनले प्रहरी नायब निरिक्षक (सई) वासुदेव अवस्थीलाई कारवाही गर्न सिफारिस गरेको छ ।
साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सई अवस्थी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दा शाखामा कार्यरत थिए । निर्मलाको शव फेला परेको दिन घटनास्थल नगए पनि सई अवस्थीले नक्कली प्रमाण जुटाउन भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ ।
निर्मला हत्याको २४ दिनपछि मुख्य अभियुक्त सार्वजनिक गरिएका दिलिपबारे बयान दिँदै प्रहरी नायब निरीक्षक (सई) वासुदेव अवस्थीले भनेका छन्, ‘‘दिलिपको घरमा सर्ट च्यात्न डिएसपी अंगुर जिसीकै नेतृत्वमा हामी गएका हौं । सर्टको खल्तीको टुक्रा च्यातेपछि हामी जिल्ला प्रहरी कार्यालय पुग्यौं । त्यसपछि त्यही डिएसपी जिसी एसपी दिल्लीराज विष्टको कोठामा गएका हुन् । त्यहाँभित्र के भयो, जानकारी भएन ।’’
प्रहरी प्रतिवेदनका अनुसार च्यातिएको दिलिपको सर्टको टुक्रालाई पछि निर्मलाको शव भेटिएको स्थानमा राखिएको थियो । हाल डिएसपी जिसी निलम्वनमै छन् । बस्न्यात नेतृत्वको समितिले १८ जना प्रहरीलाई कारवाहीको सिफारिस गरिएको छ । तर दिलिपलाई किन मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरियो भन्ने विषयमा कसैले मुख खोलेको छैन् ।
तत्कालीन समयमा दिलिपलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गर्ने अनुसन्धान टोलीका सदस्य भने आफूहरुले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । उनीहरु अझै पनि दिलिप नै मुख्य अभियुक्त रहेको तर्क गर्दै आएका छन् । यसअघि मैनाली नेतृत्वको गृहको प्रतिवेदनमा पनि दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गर्नुको कारण खुलाइएको छैन ।
निर्मला पन्त बलात्कार–हत्याबारे अनुसन्धान गर्न भन्दै साउन १३ गते सिआइबीका डिएसपी जिसी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो । प्रतिवेदनमा डिएसपी अंगुर जिसीले कुशल नेतृत्व नगरेको र व्यावसायिकता प्रदर्शन गर्न नसकेको छानबिन समितिले निष्कर्ष निकाल्दै थप कारवाहीको लागि सिफारिस गरिएको छ ।
निर्मला प्रकरणमा हालसम्म ८ जना प्रहरीहरु कारवाहीमा छन् । कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । यस्तै डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, सई रामसिंह धामी, सई हरि सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा छन् ।
दिलिपको त्यो सर्ट
निर्मला हत्या अनुसन्धानबारे दबाब बढ्दो थियो । कञ्चनपुरमा प्रदर्शन चर्किंदै गयो । २४ दिनसम्म पछि अभियुक्तको पहिचान हुन नसकेपछि प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजलाई भेटेर प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्दै घटनास्थलमा लग्यो ।
घटनास्थल पुगेपछि प्रहरीले प्रमाण खोज्न थाल्यो । दुई मिनेटमै एक प्रहरीले चिच्याउँदै भने– ‘प्रमाण भेटियो ।’ प्रहरीले घटनास्थलबाट सर्टको खल्तीको कपडा र कन्डम बरामद गर्यो । पछि त्यसैलाई प्रमाणको रुपमा अघि सार्दै दिलिपलाई मुख्य अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिएको बाह्खरीले जनाएको छ ।


