‘सुश्री सम्पत्ति’सँगै हलमा ‘डोली’ र ‘कथा ७२’, ‘प्रसाद’ दोस्रो सातामा प्रवेश



हाम्रो इकोनोमि

 

 फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि हलमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’ ।

 

कमेडी कथामा ‘सुश्री सम्पत्ति’
सुव्रतराज आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली र विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ ।

 

एक युवतीको पछाडि दौडने युवाहरूको कथालाई प्रस्तुत गरिएको चलचित्रमा कमेडीसँगै सामाजिक कथावस्तुलाई पनि उठान गरिएको छ ।

 

सलोन, सारा र विनोदका साथमा चलचित्रमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठको साथमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । रमेश त्वयना यो चलचित्रको प्रस्तुतकर्ता हुन् ।

 

सामाजिक प्रेमकथामा ‘डोली’

शुक्रवारबाटै प्रदर्शनमा आएको ‘डोली’ सामाजिक प्रेमकथामा बनेको चलचित्र हो । यसअघि ‘बृन्दावन’ निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् ।

 

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाईँ, प्रिया रिजाल, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । किरण नेपालीले निर्माण रहेको चलचित्रको कथा निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन् ।

 

‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

 

भूकम्पको कथामा ‘कथा ७२’ 

२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’लाई प्रवीण स्याङ्बोले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा रंगमञ्चमा अभिनयको पृष्ठभूमि बनाएका कलाकारहरू आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी लगायतको अभिनय छ ।

 

चलचित्रलाई आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रलाई चिन्तन राजभण्डारीले खिचेका हुन् ।

 

चलचित्र सार्वजनिक प्रदर्शनअघि हालै सम्पन्न अन्तर्राष्ट्रीय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर गरिएको थियो ।

 

यो चलचित्र डर्बन इन्टरनेशनल फिल्म फेस्टिभल (दक्षिण अफ्रिका), सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका), हनोइ इन्टरनेशनल फिल्म फेस्टिभल (भियतनाम), सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका)मा पनि छनोट भई प्रदर्शन भइसकेको छ ।

 

दोस्रो सातामा ‘प्रसाद’

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ भने आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

दिनेश राउत निर्देशित निःसन्तान दम्पतीको कथामा बनेको चलचित्रको कथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् ।

 

साथमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व लगायतको पनि भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...