‘माइकल’ बनेकै हुन् त माधव नेपाल ?
माधवकुमार नेपालका दुई गुण स्मरणयोग्य छन्, ‘पङ्क्च्युयालिटी’ र ‘सिम्लिसिटी’ अर्थात् समयलाई ध्यान दिने र साधारण जीवनशैली उनको विशिष्ट पहिचान हो । नेपाली ढाकाको टोपी कहिल्यै नछोड्ने हुँदा माधव नेपाललाई एक खाँटी राष्ट्रप्रेमीका रूपमा पनि हेर्ने गरिएको हो । तर, उनको व्यवहारले नेपाली राष्ट्रियता प्रवद्र्धनका लागि नभई खुइलिएको तालु छोप्ने अरू कुनै उपयुक्त वस्त्र नभेटिएकोले मात्र टोपीको उपयोग भएको रहेछ भन्ने दर्शाउँदै छ ।
०४६ को परिवर्तनअघि माधवकुमार नेपाल नामसँग देश परिचित थिएन र, खुला राजनीतिमा आइसकेपछि पनि उनका प्रति जनचासो पाइन्नथ्यो । तात्कालिक माले र त्यसपछिको एमालेका नेता–कार्यकर्ताहरू माधव नेपाललाई एक बौद्धिक, कुटिल र रणनीतिज्ञका रूपमा चर्चा गर्ने गर्दथे, त्यसैलाई सबैले पत्याइदिनुपर्ने अवस्था थियो ।
मदन भण्डारीको व्यक्तित्व र सीपी–झलनाथहरूको चर्चाले ओझेलिएका माधव नेपाल ०५० मा मदन भण्डारीको देहावसानपश्चात् एकाएक आकासिएका हुन् । त्यसो त ०४७ सालको संविधान सुधार सुझाव कार्यदलको सदस्य रहँदा पनि माधव नेपालका विषयमा यदाकदा चर्चा हुने गर्दथ्यो, उनको व्यक्तित्वले उचाइ लिएकोचाहिँ मदनको अवशानपश्चात् मात्र हो ।
नेकपा एमालेको महासचिव माधवकुमार नेपाल ०५१ को मध्यावधि निर्वाचनपश्चात् मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनाइएका थिए र, त्यसबेला उनी प्रधानमन्त्रीभन्दा शक्तिशाली मानिन्थे । तर, माधव नेपालले आफू शक्तिशाली भएको प्रमाण भने निर्वाचनभन्दा अगाडि नै दिइसकेका थिए । एसियाली विकास बैंकलाई एक पत्र लेखेर अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी नगर्न आग्रह गरेर बन्नै लागेको आयोजना रोक्ने बहादुरी यिनैले देखाएका हुन् ।
त्यसबेला दातृ निकायहरूको सहयोगमा नेपाल आफैँले निर्माण गर्न तयारी गरेको परियोजना थियो त्यो । तर, माधव नेपालको एउटै पत्रबाट उक्त आयोजनामा रोक लाग्यो । रोकिएको डेढ दशकपछि माधवकुमार नेपाल प्रधानमन्त्री (२०६६) भएका बेला उक्त परियोजना सतलज नामक भारतीय कम्पनीलाई निर्माण अनुमति दिइयो ।
भारतको कुनै कम्पनीलाई दिनकै लागि अरुण तेस्रो आयोजना रोकिएको थियो भन्न तथ्य प्रमाण पुगिरहेको छैन, तर उनले रोक लगाएको आयोजना उनी आफैँ प्रधानमन्त्री बनिसकेपछि भारतको कुनै कम्पनीले निर्माण अनुमति प्राप्त गर्छ भने शङ्का गर्न नमिल्ने भन्नेचाहिँ हुँदैन ।
राधाकृष्ण मैनालीले लेखेको कुरालाई विश्वास नगर्न प्रमाण चाहिन्छ, उनले लेखेको आफ्नो संस्मरणात्मक पुस्तकमा माधव नेपाल ०४६ सालमै गणतन्त्र स्थापनाका निम्ति भारतबाट सैन्य र ‘अन्य’ सहयोग लिनुपर्छ भन्ने पक्षमा थिए । मदन भण्डारीले अस्वीकार गरेका कारणले मात्र त्यसबेला माधवको इच्छा पूरा हुन सकेको थिएन ।
हो, पटक–पटक प्रजातन्त्रमाथि धावा बोलेका कारण राजासँग प्रजातन्त्र पक्षधरहरू हैरान थिए र तीमध्ये कतिको दिमागमा गणतन्त्र जागिसकेको थियो । तर, कुनै देशको सेनाको सहयोगमा गणतन्त्र स्थापना गर्ने या राजसंस्था विस्थापित गर्ने कल्पना कुनै नेपालीले गरेका थिएनन्, माधवले कार्यान्वयन नै गरिदिने प्रस्ताव ल्याएको तथ्य मैनालीको पुस्तकबाट स्पष्ट हुन्छ ।
यिनै माधव नेपाल तात्कालिक राजाको पाउमा दाम चढाएर दर्शन गर्न र प्रधानमन्त्री पदका निम्ति राजदरबारमा दरखास्त हाल्न पुग्नुले उनी गणतन्त्रवादी थिए त भन्ने प्रश्न पनि उठाउँछ । माधव नेपालको दोहोरो चरित्र राजदरबार हत्याकाण्ड प्रकरणमा पनि प्रकट भयो । राजालाई छानबिन समितिमा बस्ने वचन दिएर पनि अन्तिम क्षणमा आएर समितिमा नबस्ने जानकारी
गराउने यिनले मौका पाउँदा दरबार हत्याकाण्डबारे मनगढन्ते कथा प्रकट गर्ने गरेका छन् । सत्यतथ्य बुझ्नु र आमजनतालाई जानकारी गराउने जिम्मेवारी पूरा गर्नु थियो भने उनी छानबिन समितिमा अनिवार्य रूपले बस्नुपर्ने थियो, तर बसेनन् । दरबार हत्याकाण्डको विषयमा प्रचण्ड–बाबुरामले झैँ ‘सुगा रटान’ गर्न भने यिनी छोड्दैनन् ।
त्यस्तै, ०६६ सालमा सेनासँग भयभीत भएर प्रचण्डले प्रधानमन्त्री पद त्याग गरेपछि पनि माधवकुमार नेपालको भूमिका अनपेक्षित देखियो । प्रधानमन्त्रीका रूपमा प्रचण्डले लिएको निर्णयका विरुद्ध तात्कालिक प्रधानसेनापति रुक्माङ्गद कटवाल उभिएकाले त्यसबेला माधव नेपाललाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको तथ्य जगजाहेर छ ।
कटवालको अडानका कारण प्रधानमन्त्री बन्ने अवसर पाएका कारण तीनवर्षे कार्यकालका सेनापतिको अर्को एक वर्ष थप हुन सक्ने अनुमान यत्रतत्र गरिँदै थियो । तर, प्रधानमन्त्री बनेकै साता माधव नेपालले रुक्माङ्गदको राजीनामा मागिदिए ।
प्रचण्डले पनि पहिले राजीनामा मागेको र, नदिएपछि उनलाई अवकाशको चिठी थमाउन खोजिएको थियो । माधवले पनि त्यसैगरी राजीनामा मागेका थिए । कटवालले राजीनामा नदिएसम्म माओवादीसँग सम्बन्ध सुमधुर बनाउन नसकिने तर्कसहित राजीनामा माग्दा नदिएपछि सेनापति पदमा कटवाल वहाल रहँदासम्म प्रधानमन्त्रीको हैसियतमा माधवले सैनिक मुख्यालयमा पाइला हालेनन् ।
माधव नेपाल महत्वाकाङ्क्षी भएजस्ता लाग्दैनन् । तर, प्रधानमन्त्री बन्नका निम्ति उनले गरेका प्रयासको विवेचना गर्दा उनी महत्वाकाङ्क्षी हुँदै होइनन् भन्न सकिँदैन । ज्यादा पदाकाङ्क्षी भनौँ भने झलनाथ खनालले आँखा तऱ्यो भनेर लुसुक्क पदबाट राजीनामा दिने पनि यिनै माधव हुन् ।
माधव नेपालको भूमिका विभिन्न सन्दर्भमा अस्वाभाविक, द्वैध र अनपेक्षित लाग्छन् । तर, यसपटक कुनै इसाई एकनाथ र फादर मुनसँगको सहकार्यलाई दोहो¥याई–तेहेऱ्याई उनले जसरी गौरवका साथ ‘डिफेन्ड’ गरिरहेका छन्, यसले चाहिँ भविष्यमा नमेटिने गरी उनलाई दाग लगाइदिएको छ । माधव आफू मात्र इसाईका सहकर्मी बनेनन्, प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत माधवले यसपटक दुरुपयोग गरिदिएका छन् । माधवको चङ्गुलमा पर्दा केपीले समेत बदनामी व्यहोर्नुपरेको छ ।
माधवको जीवनकालमै इसाईहरू बहुसङ्ख्यक र सनातनीहरू अल्पसङ्ख्यक हुन पुगेछन् भने उनको कोटी–कोटी अभिनन्दन पनि हुन सक्ला, क्रस चिह्नअङ्कित रथमा राखेर उनलाई बजार परिक्रमा पनि गराइएला । इसाईहरूको वृद्धि अवरुद्ध भयो र सनातनीहरूको स्थितिमा योभन्दा नकारात्मक अवस्था पैदा भएन भने माधव नेपाल अर्को संसदीय निर्वाचनमा पराजयका निम्ति बलियो जग बसिसकेको छ ।
माधव नेपाल केका निम्ति इसाईका हितैषी बनेका हुन् त्यो स्पष्ट हुन सकेको छैन । कम्युनिस्ट भएकैले क्रिश्चियनमैत्री व्यवहार गरेका हुन् भने पनि उता अमेरिकातिर क्रिश्चियनहरू कम्युनिस्टप्रति सम्मान र प्रेमभाव राख्दैनन् भन्ने यिनले बुझेको हुनुपर्ने हो । एकनाथहरूको खर्चमा जीवन धान्ने या चुनाव लड्ने–जित्ने काम हुँदै–गर्दै आएको हो भने पनि हिजो ‘एक्स्पोज’ नहुँदा जति सजिलो माधवलाई अबका दिनमा हुनेछैन ।
माधव नेपाललाई बुझ्न भीम रावल र गायत्री आचार्यहरूले समेत सकेजस्तो प्रतीत हुँदैन, तर एकनाथले कसरी यिनलाई बुझ्न सके र मज्जाले उपयोग–प्रयोग गर्न सकेका हुन् यो पनि अर्को जिज्ञासाको विषय बनेको छ । पैसामा माधव नेपाल कमजोर मानिँदैनन्, तर पैसाबाहेक अन्य कुन कारणले माधवलाई एकनाथहरूको सहयोगी बनायो भन्न सकिने अवस्था पनि रहेन ।
कतिपय कारणले माधव नेपाललाई आवश्यक ठान्नुपर्ने अवस्था नेपाली राजनीतिमा अझै पनि विद्यमान छ । उनी ‘माइकल नेपाल’ नबनुन्, माधव नेपालकै रूपमा क्रियाशील रहिरहुन् भन्ने चाहना उनका शुभचिन्तकहरूको छ । बाँकी माधव नेपालजीकै मर्जी !
यादव शर्मा घटना र विचारबाट