फेरिपनि निर्मलाको फेक हत्यारा सार्वजनिक, जो हत्या भएको दिन जेलमै थिए
ललितपुरमा शनिबार आयोजित ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै निर्मला हत्याकाण्डको विषयमा रक्षा मन्त्री ईश्वर पोखरेलले मोटामोटी तीनवटा कुरा गरे।
पहिलोः उनले निर्मलाका हत्यारा पक्राउ परिसकेको खुलासा गरे। दोश्रो, काँग्रेसलाई सीधा तारो बनाउँदै, अब पक्राउ परेकाहरु सर्वाजनिक गरेपछि, राजनीतिक अभिष्ट पुरा गर्न हत्यारालाई छाता ओढाउन नआऊ।
तेश्रो : त्यो अपराधी बाहिर ल्याउँदा अधिकारकर्मी र स्थानीय कसैले पनि छाता ओढाउन नआउनुहोला। आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन।’रक्षामन्त्रीको चेतावनीयुक्त यो अभिव्यक्तिभित्र डरलाग्दा रहस्य लुकेको छ।
हत्यारा को हो ?
निर्मला बलात्कार र हत्या प्रकरणसँग जोडिएर यतिबेला कन्चनपुरका दुई किशोर १७ वर्षका प्रदीप रावल र १४ वर्षका विशाल चौधरी काठमाडौंमा प्रहरीको हिरासतमा छन्। उनीहरु दुबैको डीएनए परीक्षण भइरहेको प्रहरीको भनाइ छ। स्थानीय प्रहरीको केस अनुसार यी दुई युवा निर्मलाको हत्याताकाका कन्चनपुर भीमदत्तनगरका कुखुरा चोर हुन्।
“उच्चस्तरीय छानविन समितिको प्रतिवेदनअनुसार पोष्टमार्टम रिपोर्टमा निर्मलाको हत्या १० साउन अपरान्ह करिब ३ बजे भएको उल्लेख छ। पाले चौधरीका अनुसार प्रदीपलाई प्रहरीले त्यही दिन बिहान करिब १० बजे नियन्त्रणमा लिएको छ।
प्रदीपको बयानका आधारमा प्रहरी अपरान्ह करिब ४ बजे विशालको घर जाँदा उनी घरमैं थिए। घरबाटै विशाललाई प्रहरीले गाडीमा राखेर लगेको आमा सर्मती र छरछिमेकले बताएका छन्।
प्रदीप बिहानैदेखि प्रहरी हिरासतमा छन्। पाले चौधरीको पसलबाटै उनलाई करिब ४ घण्टा अगाडि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी र पोष्टमार्टम रिपोर्टअनुसार करिब ३ बजे निर्मलाको हत्या भएको छ। प्रहरीले त्यसको ठीक एक घण्टापछि घरबाटै विशाललाई नियन्त्रणमा लिएको छ।” श्रोत (मानसखण्ड)
यी दुई किशोरमाथि यतिबेला धुमधडाका अुनसन्धान चलिरहेको छ। यदि यी दुई किशोर बाहेक रक्षामन्त्री पोखरेलले अरु नै कोही हत्यारा हुन् भन्ने ठोकुवा गरेका हुन् भने त्यो उनै जानून्। तर यिनीहरुलाई नै भनेका हुन् भने रक्षामन्त्रीले संबिधान बिरुद्ध नै बोलेका छन्। नेपालको संबिधानले नै अदालतबाट दोषी ठहर नभइकन कसैलाई अपराधी, हत्यारा करार गर्न कसैले पाउँदैन। चाहे ती प्रधानमन्त्री, रक्षा मन्त्री हुन् चाहे कुनै दलको स्थायी कमिटी सदस्य नै किन नहुन्।
रक्षामन्त्री अभिव्यक्तिले जन्माएको डरलाग्दो प्रश्न :
फौजदारी न्यायको विषयको सरोकारवाला हुन् : गृहमन्त्रालय र ऊ मातहतका निकाय। यसअघि गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनाल जता पुग्यो उतै भन्ने गर्थेः “हामी निर्मलाका हत्यारालाई कठघरामा ल्याएरै छाड्छौं”।
निर्मला हत्या प्रकरणमा यतिबेला मुख खोलेका छन् रक्षामन्त्रीले। त्यो पनि हत्यारा फेला परिसक्यो भनेर। रक्षामन्त्रीको हत्यारा फेला पर्यो भन्नु साह्रै खुशीको कुरा हो। साह्रै राम्रो हुने भयो साढे ४ महिनादेखिको घटनाले निकास पाउनेभयो।
तर के हत्यारा कुनै मन्त्रीले करार गर्ने हो? यो ठाडै विधिशास्त्र विपरितको कुरा हो। ललितपुरमा आयोजित मानवअधिकार सम्बन्धी महासभामा रक्षामन्त्री पोखरेल भन्दाअघि काँग्रेस नेतृ पुष्पा भुसाल बोलेकी थिइन्। मानव अधिकारको कुरामा उनले निर्मलाको प्रसंग जोडिन्।
शुरुमै प्रहरीले प्रमाण जोगाउनुको साटो नष्ट गर्नतिर लाग्यो। प्रधामन्त्री ओलीले सरकारी टेलिभिजन मार्फत नै “जलाउनका लागि बाबुआमा नै तयार भएको बेला, निर्मलाको शब हाम्रा स्थानीय नेता मेयरको घरमा लगियो, कारण के हो?” भनेर अनुमानको भरमा बोले।
भीम रावलले त्यही बेला निर्मला घटनालाई काँग्रेसले उचाल्यो भनेर बोले। प्रमाण नष्ट गर्ने प्रहरीलाई नाम मात्रको कार्वाही गरियो। यस्तै यस्तै प्रसंग जोडेर, यो प्रकरणलाई राजनीतिक र सरकारी संरक्षण नहोस् भनेर उनले कुरा राखिन्।
त्यसपछि बोलेका रक्षामन्त्री ईश्वर पोखरेल, हत्यारा पक्राउ भइसकेको खुलासा गर्नतिर लागे। उनी यत्तिमै अड्किएनन्। उनले भुसालतिर आँखा तर्दै भने ‘विधिसम्मत ढंगले सार्वजनिक गर्छौं। तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला।’
निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए। उनले भन्दै गए , ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ। माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला। आफ्ना राजनीतिको रोटी सेक्नु पर्दैन।’
निर्मला हत्याका मुख्य अभियुक्त भन्दै यसअघि नै कन्चनपुर प्रहरीदेखि केन्द्र्रका आइजीपी सर्बेन्द्र खनाल सहित गृहमन्त्री राम बहादुर थापाले दिलिपसिंह विष्टलाई उभ्याए। स्थानीय, अधिकारकर्मीले चर्को बिरोध गरे। आन्दोलनकै क्रममा कन्चनपुरमा सनी खुनाको अनाहकमा ज्यान लिए, सुरक्षाकर्मीले।
आन्दोलनले चर्को रुप लिएपछि दिलिपको डीएनए जाँच गरियो निर्दोष सावित भए। दिलिप विष्ट निर्दोष सावित हुनुको पछाडी मुख्य कारण होः स्थानीयको आन्दोलन। त्यतिबेला आन्दोलन चर्किएको थिएन भने दिलिप विष्ट यतिबेला जेलको कोठामा हुने थिए।
प्रहरी प्रशासनले उभ्याएको अभियुक्त अपराधी बन्नेमा शंका थिएन। हो, यही कुरा उप्काएका हुन् रक्षा मन्त्री पोखरेलले शनिबार ललितपुरको कार्यक्रममा। काँग्रेस नेतृ पुष्पा भुसाल भन्छिन् “रक्षामन्त्रीले चोरको खुट्टा काट् भन्दा खुट्टा झिकेका हुन्, बच्काना अभिव्यक्ति हो उनको। रक्षामन्त्री आफैंले कसैलाई हत्यारा भन्न सुहाउँछ ? यो त गैरजिम्मेवारीको पराकाष्ठा नै हो नि।” रक्षामन्त्रीको अभिव्यक्तिले फेरी पनि कुनै निर्दोषलाई दोषी करार गराउने संकेत देखिँदैछ।
विधिको शासनप्रति साह्रै दयालाग्दो अबस्था हो, भुसालले भनिन्। रक्षामन्त्री ईश्वर पोखरेलले भने झैं अब निर्मलाका हत्यारा चाँडै सार्वजनिक होलान्। तर अदालतले दोषी ककार गर्नुपर्नेमा मन्त्री आफैं हामीले जसलाई सार्वजकि गर्छौं त्यही नै दोषी, हत्यारा, अपराधी हुन्, यो बिषयमा अब अरु कसैले बोल्न पाउने छैनन् भन्नुले शंका उब्जाउने बाटो खोलिदिएको छ। र सरकार अहिल्यै प्रतिरक्षात्मक भइसकेको छ : “मन्त्री पोखरेलले हत्यारा करार गरेका मान्छे सार्वजनिक हुनासाथ आन्दोलन चर्किएला भनेर।”