ओलीको थला पार्ने ‘काण्ड’ अरिङ्गाल भन्दा महंगो पर्ने, यसरी हुँदै ‘व्याक फायर’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु र आफ्नो सरकारको कार्यशैलीबारे वुद्धिजीवीहरुले गरेको टिप्पणीलाई लिएर वादविवादको आह्वान गरेका छन्, साथमा वुद्धिजीवीलाई थला पर्ने गरी जवाफ दिने चेतावनी पनि । तर, उनले लक्षित गरेका वुद्धिजीवी को हुन् भन्ने चाँही खुलेन ।
उनले ‘आफूले ती वुद्धिजीवीहरुलाई जानेको र वादविवाद अथवा आफूसँग सत्यको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन ?’भनेर सोधेका छन् । प्रधानमन्त्रीको चेतावनी भुइँमा नखस्दै ‘व्याक फायर’भएको छ, वौद्धिक वर्गबाट । उनीहरुले आफूलाई वुद्धिजीवी हैन वौद्धिक भन्नू, भनेका छन् । साथमा नझुक्किन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले सरकारी श्रव्य दृष्य संचारमाध्यम नेपाल टेलिभिजनबाट प्रसारण हुने (नाम ‘जनतासँग प्रधानमन्त्री’, कुरा प्रधानमन्त्रीको मात्रै, जनता गायब?) कार्यक्रमबाट ओलीले, ‘कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको देख्छु । त्यस्ता बुद्धिजीवीहरुलाई एक पटक पहिले मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि जवाफ दिदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ । त्यसकारण म उहाँहरुलाई थला पार्न चाहन्नँ’ भने ।
त्यति मात्रै होइन उनले चेतावनीपूर्ण ढंगले, ‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ, त्यो विचार गर्नुपर्ने हो’ पनि भने । अब प्रधानमन्त्रीको कुरालाई आधार मान्ने हो भने, यो साता कार्यक्रममा प्रस्तुत ‘के यो एउटा नयाँ युगको सुरुवात होइन र ?’ शीर्षकको श्रव्य दृष्य सामाग्री जस्तै अर्को साता ‘…….को संख्यामा वुद्धिजीवी थला परे’ शीर्षकको सामाग्री हेर्न र सुन्नु त पर्दैन भन्ने जिज्ञासा आउन थालेका छन् ।
वामपन्थी विचारधारामा कलम चलाउनेहरुले नै कडा प्रतिक्रिया दिएका छन् । लेखक तथा पत्रकार नरेन्द्रजंग पिटरले सामाजिक सञ्जाल फेसबुकमा लामै झटारो हानेका छन् । उनले, ‘प्रधानमन्त्री डा.खड्ग प्रसाद शर्मा ओलीज्यूले बुद्दिजिवीहरूलाई चुनौति दिवक्सियोः वौद्धिकहरू सत्ताको फरमान स्वीकार्दैनन् बरू, जेल, निवार्सन र फासी स्वागत गर्छन् ।
तर,बुद्दिजीवीहरू आफुसँग रहेका ज्ञान, विवेक र क्षमताको व्यावसायिक उपयोग गर्ने ह्वाइट लेवर हुँन् । आर्जन गरेका वुद्धि र सिपका प्रोफेसर, कवि, कलाकार, लेखक, वकिल, पत्रकार, शिक्षक, कर्मचारीका रूपमा प्रयोग गरेर जिविकोपार्जन गर्छन् । तर, उनीहरूले पनि विवेक बन्दगी राख्दैनन् । लालदास बन्दैनन् । जसरी ब्ल्यू लेवर मजदुरले राख्दैन ।
मान्यवर डा. ओली सत्तामा को, कति रहन्छ र बालुवाटारबाट कसरी निक्लनुपर्छ अब मोहन शमशेर, तुल्सी गिरी, सूर्य ब.थापा र गिरजाबाबुले भन्न पाउनु हुनेछैन । तपाइले पादरी मुन अभ्यास जे, जसरी गर्नु भो, त्यो राष्ट्रलाई अक्षम्य र कम्युनिष्ट आन्दोलनको लागि अपराध हो’ भनेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ट्वीट गर्दै ‘प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने, जुँगाको स्याउँस्याउँ, एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीय मात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है । कि हिजो राजतन्त्रविरूद्ध लड्नु बेठिक भन्नुपर्यो कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्यो । प्रमले पुनः ‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि ?’ भनेर सुझाएका छन् ।
विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले समेत ट्वीट गर्दै,‘असभ्य टिप्पणी गर्ने वुद्धिजीवीहरुलाई थला पार्नु पहिले प्रमज्यूले बहसका लागि आमन्त्रण गर्नुभएछ । सामाजिक सञ्जालमा सरकार र प्रमज्युको कार्यशैलीबारे सभ्य टिप्पणी–आलोचना गर्ने नागरिक पनि थुप्रै छन् । संवादका लागि उनीहरुलाई पनि आमन्त्रण गर्दा प्रमको हितमै होला’ भनेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमको भनाई अशोभनीय भएको भनेका छन् । उनको ट्वीटमा, ‘वुद्धिजीवी थला पर्नेछन् अर्थात् थला पार्ने कर्म हुनेछ । गरिमामय उचाइबाट यस्तो धम्की बोलिनु शोभनीय भएन । अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा बोल्नुभन्दा आफ्नो कर्ममा वौद्धिकतालाई स्थान दिनु राम्रो होला कि सम्माननीय ?’ भनिएको छ ।
प्रधानमन्त्रीको टिप्पणीलाई लिएर अहिले वौद्धिकवर्ग आक्रोशित छ । वुद्धिजीवीलाई थला पार्ने अभिव्यक्तिविरुद्ध उनीहरुले नेपाली शब्द कमजोर हुन्छ कि भनेर फारसी शब्द समेत प्रहार गरेका छन् । वुद्धिजीवीले प्रयोग गरेका फारसीको ‘फरमान’ जस्ता शब्दले प्रधानमन्त्रीलाई त थला पार्दैन ? भन्ने पिर छ । फारसीमा फरमानको अर्थ राजकीय आज्ञापत्र हुन्छ ।
त्यसलाई नेपालको पूरानो सन्दर्भसँग जोड्दा ‘शाही आदेश’ भन्ने अर्थ लाग्छ । यसको अर्थ प्रधानमन्त्रीको थला पार्ने बोली ‘अरिङ्गाल’ भन्दा महंगो सावित हुनेछ । एक पल्ट आफ्ना कार्यकर्तालाई सरकारको विरोध गर्नेमाथि अरिङ्गाल जस्तै खनिनु भन्दा प्रधानमन्त्रीको निकै आलोचना भएको थियो ।
अहिले पनि प्रधानमन्त्रीको बोलीलाई धेरै अर्थमा बुझ्न थालिएको छ । प्रधानमन्त्रीले घुमाउरो रुपमा आफुले जानेका वुद्धिजीवी भन्ने शब्द प्रयोग गरेकाले यो बीचमा कतै चर्चसँग जोडिएका तथा दाताको पैँसा खाएर मुलुकलाई वर्वादी गर्नेहरुको पोल पो खुल्ने हो कि पनि भन्न थालिएको छ । यद्यपि,, प्रधानमन्त्रीले आफ्नो बचाउको लागि वुद्धिजीवी कार्ड प्रयोग गरेको अथवा वौद्धिक वर्गलाई घानमा हालेका हुन्, भन्ने मत बलियो छ ।
प्रधानमन्त्री ओलीले केही दिन पहिले सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रममा प्रचार गरिएको नयाँ युग र युनिफिकेशन चर्चकी प्रमुखबाट सुशासन अवार्ड थापेको प्रसंगबारे भएका टिकाटिप्पणीलाई लिएर वुद्धिजीवीलाई थलापार्ने कुरा गरेका हुन् ।
पत्रकारलाई पढाउने सञ्चारमन्त्री
संञ्चारमन्त्री गोकुल बास्कोटाले पहिले नै सुनाइसकेका छन्, ‘व्याचलर पत्रकारिताबाटै गरेको हुँ’ भनेर । विगतमा पत्रकारिता गरेको कुरा पनि उनले भनिरहनै परेन । तर, अहिले उनी पत्रकार रहेनन् । र, पत्रकारिताका प्राध्यापक पनि होइनन् ।
जनप्रतिनिधि हुन् । जननिर्वाचित सरकारको मन्त्रिपरिषद सदस्य । र, त्यसपछि मात्रै उनी त्यो मन्त्रिपरिषदले तोकेका प्रवक्ता हुन् । अहिलेको सरकारबारे सञ्चारमाध्यमले टिप्पणी गर्नै हुँदैन । उनी हरेक साप्ताहिक भेटमा पत्रकारलाई पढाउँछन् । यो साताको विहिबार पनि उनले त्यही सिलसिला दोहोर्याए । उनले मिडिया जवाफदेही हुनुपर्दैन भनेर ठाडै हकारे । मन्त्री बास्कोटाले मिडियाले तथ्य वंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाए ।
उनले काठमाडौमा भरखरै सम्पन्न एसिया प्यासेफिक सम्मेलन र निर्मला पन्त हत्या प्रकरणलाई लिएर सञ्चार माध्यममा आएका समाचारको खण्डन पनि गरे । तथ्य वंग्याएको आरोप लगाएका उनी आफैले सम्मेलनको तथ्य के हो ? भनेर भनेनन् । र, निर्मला हत्याबारे पनि चाँडै हत्यारा पत्ता लाग्छ मात्रै भने ।
त्यो कुरा प्रहरीले जहिल्यै भनिरहेको छ । तथ्य वंग्याएको आरोप लगाउँदै पत्रकारलाई पढाउने सकारका प्रवक्ताले तथ्य यो हो भनेर भन्नु चैँ पर्दैन ? यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्नेले त्यो यसकारण गर्नु हुँदैन भनेर भन्नु चैँ नपर्ने ?
पत्रकार सम्मेलन पत्रकारलाई गाली गर्न डाकिएको कि तथ्य दिन ?
केही मिडियाले सरकारलाई खेद्न मिसनै बनाएर लागेको पनि भने, मन्त्री बास्कोटाले । तर, मन्त्रिपरिषदले गरेका बासी निर्णय सुनाउने नाउमा सञ्चार जगतलाई गाली गरेर के सन्देश दिन खोजेको ? कुरा बुझिएन । उनले पछिल्लो भेटमा ‘आजको समस्या सूचना लुकाउनुको होइन, सूचना तोडमोडको हो’ भने । अनि सूचनाको ट्याङ्कामा ‘भोटे’(बोलीचालीमा)ताला लगाएर अब खोजीपत्रकारिता गर्नुस् चैँ, कुन मुखले भनेको ?
उनले यो बेला नचाहिँदो ढंगले व्यअर्थ दिलशोभा प्रकरण र भक्तमान प्रकरणलाई जोडे । त्यसको मक्सद के, पत्रकारलाई पढाउन खोजेको ? त्यतिमात्रै होइन हिजोका कुरा कोट्याउँदै उनले अहिले जस्तो एसिया प्यासेफिक सम्मेलन पहिला पनि भएका थिए, भने ।
ठीक छ, त हिजो भए ! अनि गिरिजाप्रसाद कोइराला, सन्त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलगायतले हिजो भाग लिए, त्यही तक्मा उनीहरुले थाप्दा शान्तिदूत हुने अहिले ओलीले थाप्दा अपवित्र ?, भनियो । यो तुलनाको पनि अहिले के अर्थ ? सम्मेलनमा कांग्रेस नेता प्रदीप गिरी, सुजाता कोइराला, धनराज गुरुङ सहभागि हुनुहुन्थ्यो, मिडियाले देखेन ? ए,, मन्त्री ज्यू हिजोको नेतृत्वको मात्रै के कुरा ?
हिजोको राज्य संरचना त अब कहाँ रहयो र ? हिजोका गिरिजा र कृष्णप्रसादहरु पनि कहाँ रहे र ? उनीहरु सत्तामा कहाँ छन् र, त्यो पनि गणतन्त्रमा । हिजोका गल्तीहरुलाई देखाउँदै अहिले पनि त्यही गल्ती दोहोर्याउन पाउनु पर्छ भन्नु भएको हो भने, हाम्रो भन्नु केही छैन ।
नागरिकले केपी ओलीलाई गिरिजा र कृष्णप्रसाद जस्तो हुनुहोला भनेर शत्ताको शिखरमा पुर्याएका हुन् र ? कि के हो ? नभए नेकपाकै नेता भीम रावलले भनेको जस्तो हिजो यति वर्ष जेल बसेको भनेर अहिले व्याज खान कहाँ पाइयो र ?
तपाइँकै नेता रावलले हामी जनताका सेवक हौँ, भनेको तथ्य पनि गलत हो उसो भए ? के तपाईहरु मालिक हो ? आफै सरकारको आयु घटाउने काम किन गर्दै हुनुहुन्छ, माननीय ? किन एक पछि अर्को कचिङ्गल निम्त्याउनु हुन्छ ? अनि कहिले ल्याउनु हुन्छ, सम्वृद्धि ?