कञ्चनपुरमा समातिएका ३ छाडिए, काठमाडौंबाट पक्राउ परेका यूवा थुनामा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ।उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले सेतोपाटीलाई बताए।‘सोधपुछका लागि बोलाएका थियौं, हिजो साँझ नै छोडिदियौं,’ उनले भने।
यता काठमाडौंबाट पक्राउ परेका युवाको भने थुनामा राखेर बयान र प्राविधिक जाँच भइरहेको छ।उच्च प्रहरी स्रोतका अनुसार ती यूवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिँदैछ।
‘संकेतहरू प्रशस्त छन् तर यसअघि पनि नेपाल प्रहरी चुकेकाले यसपालि अनुसन्धान पूरा भएर एकीन नभएसम्म बाहिर नभन्ने गरी काम गरिरहेका छौं, ’ सोतले भन्यो।शंकाष्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती युवालाई समातेको थियो।
४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।
निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिए।
त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो। यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।
निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो। साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन्।भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।
ट्याक्सी चालकहरूबाट दैनिक २५ लाख रूपैयाँभन्दा बढी ठगिने खुलासा
ठमेलबाट दरबारमार्गको दुरी एक किलोमिटर छ। यत्ति दुरीमा ट्याक्सी चालकहरूले सय रुपैयाँभन्दा बढी भाडा उठाइरहेका थिए। कति ट्याक्सी त जानै मान्थेनन्। बाटो नचिनेकालाई जयनेपाल हल हुँदै हात्तीसार घुमाएर अझ बढी ठटाउँथे।
यसरी मनलाग्दी भाडा उठाउने २५ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले पक्राउ गर्यो।
यता २५ जना समातिए, उता तीन सय जना चालक ट्राफिक कार्यालय घेराउ गर्न आए। दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म दरबारमार्गमा चक्काजाम भयो। बाटो खुलाउन लाठीचार्ज गर्नुपर्यो। तै ट्राफिक प्रहरीको केही जोड चलेन।
ठग्न नपाएकै कारण चक्काजाम गर्ने ट्याक्सी चालकहरूको दादागिरीका अगाडि नियम–कानुन सब हावा खायो।
यो आजभन्दा पाँच वर्षअघिको घटना हो।
त्यतिबेला दरबारमार्गमा ट्राफिक प्रमुख रहेका सीताराम हाछेथू २०७० सालको उक्त घटना सम्झँदै भन्छन्, ‘यातायात क्षेत्रमै सबभन्दा जटिल समस्या ट्याक्सीको ठगी हो। चालकहरूले वर्षौंदेखि कानुन हातमा लिएर यात्रु ठगिरहेका छन्, हामी केही गर्न सकिरहेका छैनौं।’
‘कडा कारबाही गर्न खोजे एकजुट भएर उर्लिन्छन्। सडकमा गाडी तेर्स्याएर आवागमन ठप्प पार्छन्,’ उनले भने, ‘ठगी रोक्न खोज्दा हजारौं सर्वसाधारणले झन् ठूलो दुःख भोग्ने अवस्था सिर्जना हुन्छ।’
पाँच वर्षअघिको त्यो नियति आज पनि उस्तै छ।
राजधानीमा गुड्ने अधिकांश ट्याक्सी मिटरमा जान मान्दैनन्। यात्रुले चालकको मनलाग्दी भाडा तिर्नुपर्छ। कुनै पनि ट्राफिक प्रहरी यस्तो छैन, जसलाई यो बेथितिको ज्ञान नहोस्। तर, आफ्नै हातमा कानुन हुँदाहुँदै ट्राफिक प्रशासन ट्याक्सी बेथिति रोक्न असफल छ।
ट्राफिक महाशाखा प्रमुखका रूपमा यो ठगी अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रकाश अर्याल र सर्वेन्द्र खनालले प्रहरी संगठनकै नेतृत्व सम्हाल्दा पनि समस्या एकरत्ति कम भएको छैन। आखिर ट्याक्सी चालकसामु ट्राफिक प्रशासन किन यति निरीह सावित भइरहेको छ? के यो बेथिति कहिल्यै अन्त्य गर्न सकिँदैन?
२९ वर्ष ट्राफिक प्रहरीमा रहेर हालै अवकाश पाएका हाछेथूसँग हामीले यही प्रश्न सोध्यौं।
उनी आफैं पनि यसका भुक्तमान हुन्। कारबाही गर्न खोज्दा सयौं चालक चक्काजाममा ओर्लेको घटनाका साक्षी। लामो समय सडकमा सिठी फुकेर ट्याक्सीको मनपरी नजिकबाट नियालेका हाछेथूले यसका केही प्रमुख कारण र समाधानका उपाय सुझाए।
उनका अनुसार ट्याक्सी चालकहरूले भनेको ठाउँ जान नमान्ने, मिटर नचलाउने र मनलाग्दी भाडा उठाउनुका दुई कारण छन्।
पहिलो, मनपर्दी गर्ने ट्याक्सी चालकहरूका लागि जरिवाना रकम कम छ।
दोस्रो, यात्रु आफू ठगिएको जान्दाजान्दै चालकले भनेकै भाडा तिर्न राजी हुन्छ।
कुनै पनि ट्याक्सी भनेको ठाउँ जान मानेन भने हामी उजुरी गर्न सक्छौं। त्यस्ता चालकले जरिवाना तिर्नुपर्छ। तर, कति?
कानुनले यस्तोमा पाँच सय रुपैयाँ जरिवाना तोकेको छ। मिटर नराख्ने, नचलाउने वा बिग्रेको छ भन्नेलाई पनि पाँच सय नै जरिवाना। मनलाग्दी भाडा लिनेलाई तीन हजारसम्म जरिवाना व्यवस्था छ।
‘ठगीको तुलनामा यो जरिवाना नगन्य हो,’ हाछेथूले भने, ‘यात्रु ठग्न हुन्न भन्ने सबैलाई थाहा छ। जरिवाना हुन्छ भन्ने नि थाहा छ। तै उनीहरू टसमस हुन्नन्। यसको कारण जरिवाना कम भएरै हो।’
दिनभरिमा सयौं यात्रु ठग्ने चालकलाई एकचोटि कारबाहीमा पर्दा पाँच सय वा तीन हजार तिर्नु भनेको मामुली रकम हो। त्योभन्दा कयौं गुणा बढी उनीहरूले ठगेरै कमाइसकेका हुन्छन्।
उपत्यकामा १० हजार ५ सयभन्दा बढी ट्याक्सी दर्ता छन्। तीमध्ये अधिकांशले ट्राफिक नियम उल्लंघन गर्दै आएको ट्राफिक महाशाखाकै तथ्यांकबाट देखिन्छ। महाशाखाका अनुसार २०७४ वैशाखदेखि २०७५ साउनसम्म करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परे। धेरैजसो तोकिएको ठाउँ र मिटरमा जान नमान्ने नै थिए।
सोह्र महिनामा आठ हजार ट्याक्सी कारबाहीमा पर्नु चानचुने कुरा होइन। यसले समस्या कुन हदसम्म फैलिएको छ भन्ने छर्लंग पार्छ।
अत्यन्तै कम हिसाब निकाल्दा पनि हरेक दिन ट्याक्सी चालकहरूबाट २५ लाख रुपैयाँभन्दा बढी ठगी भइरहेको हाछेथूको अनुमान छ।
‘हामीले एक दिनमा बढीभन्दा बढी २५–३० वटालाई कारबाही गर्ने हो। बाँकी त यात्रुलाई ठगेर खुलेआम घुमिरहेकै छन्,’ राजधानीमा गुड्ने ट्याक्सी र दैनिक कारबाहीको मोटामोटी हिसाब कोर्दै उनले भने, ‘काठमाडौंमा सरदर पाँच हजार ट्याक्सी दैनिक सडकमा हुन्छन्। एउटाले दिनको ५ सय मात्र ठग्यो भने पनि २५ लाख रुपैयाँ हुन्छ। यसको दाँजोमा जरिवाना अत्यन्तै थोरै हो।’
जरिवाना थोरै भएसम्म चालकहरू यात्रु ठग्नबाट हतोत्साही नहुने उनको भनाइ छ।
ट्याक्सीलाई एकातिर फितलो कारबाहीले पुल्पुल्याइरहेको छ भने अर्कातिर यात्रुको बाध्यताले यो ठगीधन्दालाई प्रश्रय दिइरहेको छ।
‘ट्याक्सीले ठग्छ भन्ने जानेबुझेकाहरू पनि जानाजान ठगिन्छन्,’ हाछेथूले भने, ‘मिटरमा जान नमान्ने चालकलाई मागेअनुसार भाडा दिनु यात्रुको गल्ती हो। एउटै यात्रु जानीबुझी ठगिन स्वीकार्छ भने त्यसले चालकको मनोबल बढ्छ, अरू थुप्रै यात्रु ठगिन बाध्य हुन्छन्।’
हाछेथूले काठमाडौं उपत्यकामै सबभन्दा बढी ट्याक्सी ठगी फैलिएका तीन ठाउँको उदाहरण दिए– गोंगबु बसपार्क, कलंकी र अस्पताल क्षेत्र।
कोही मान्छे झमक्क साँझ परेपछि सामानसहित बसपार्कमा ओर्लेको छ भने ट्याक्सीले परिस्थितिको फाइदा उठाउँदै भाउ कस्न खोज्छ। यहाँ यात्रुसँग विकल्प कम हुन्छ। ऊ दुःख बेहोर्न चाहँदैन। अनि चालकले भनेजति भाडा दिन तयार हुन्छ।
अस्पताल क्षेत्रको समस्या यही हो। बिरामीलाई ट्याक्सी चाहिन्छ। भनेको भाडा नतिरे ट्याक्सीले लैजान मान्दैन। अर्को ट्याक्सी खोज्नु भनेको बिरामीलाई थप सास्ती बोकाउनु। यहाँ पनि यात्रुसँग विकल्प कम हुन्छ। झमेला बेहोर्नुभन्दा चालकले मागेजति भाडा तिर्न तयार हुन्छ।
‘यात्रुको यस्तै बाध्यताले हो, ट्याक्सी चालकहरूमा ठगीको मनोबल बढेको,’ हाछेथूले भने।
यसको समाधान के त?
हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, ‘चालकले जति माग्यो, त्यति भाडा तिर्न राजी हुनु हुन्न। सकेसम्म एउटा ट्याक्सी नमाने अर्को खोज्ने र ठगी गर्नेविरुद्ध ट्राफिकलाई खबर गरिहाल्ने। हामी सबैले यस्तो गर्न थाल्यौं भन बल्ल उनीहरू मनलाग्दी भाडा भन्नबाट हच्किने छन्।’
यहाँनिर ठगी गर्ने चालकलाई कडा कारबाही पनि भइदिए विस्तारै यो बेथितिको जालो तोडिने हाछेथू बताउँछन्।
यसको निम्ति जरिवाना दर पटके रूपमा बढाउँदै लगेर निश्चित समयपछि चालक लाइसेन्स र ट्याक्सीको इजाजत खारेज गर्नुपर्ने उनको सुझाव छ।
उनका अनुसार एकपटकको कारबाहीमा ५ हजार जरिवाना छ भने दोस्रोपटक गल्ती गर्नेलाई १० हजार तिराउनुपर्छ। तेस्रोपटक पनि कारबाहीमा पर्यो भने २० हजार घटीमा छाड्नुहुन्न।
पटक–पटक गल्ती दोहोर्याउने चालकको लाइसेन्स पनि केही महिना खोस्न सक्ने व्यवस्था हुनुपर्छ। यतिले पनि टेरपुच्छर नलाए ट्याक्सीको इजाजत नै खारेज गरेर त्यो नम्बर नयाँ व्यवसायीलाई उपलब्ध गराउनुपर्छ। र, चालकलाई जेल सजाय तोक्नुपर्छ।
संसारका विभिन्न मुलुकले ट्याक्सी बेथिति रोक्न यही नियम लागू गरेका छन्। सफल पनि भएका छन्।
उदाहरणका लागि, हङकङमा पनि ट्याक्सी चालकहरूले मनलाग्दी भाडा उठाउने र भनेको ठाउँ जान नमान्ने समस्या थियो। यसलाई नियन्त्रण गर्न हङकङको यातायात तथा आवास व्यवस्था विभागले नयाँ नियम लागू गर्यो। जसअनुसार गल्ती गर्ने चालकको प्रत्येकचोटि अंक थपिँदै जाने भयो। जुन चालकको दुई वर्षभित्र १५ अंक नाघ्छ, उसको सवारी लाइसेन्स नै तीनदेखि छ महिना रद्द हुनेछ।
यहाँ अंक दिने तरिका एउटा गल्ती बराबर एक अंक होइन। गल्तीको प्रकृति हेरेर अंक फरक हुन्छ।
कसैले मनलाग्दी भाडा उठाएको छ भने त्यो एकैचोटि १० अंकमा गणना गरिन्छ। ट्याक्सी खाली हुँदाहुँदै यात्रु लैजान नमान्ने र भाडाबाहेक अन्य लाभ खोज्नेलाई पनि गम्भीर गल्तीका रूपमा लिँदै एकैचोटि १० अंक गणना हुन्छ। बिल नदिने, मिटर बिग्रेको छ भन्ने लगायत गल्तीमा भने ५ अंक गणना गरिन्छ।
हङकङमा जरिवाना पनि उच्च छ। नयाँ नियमअनुसार पहिलोचोटि गल्ती गर्नेले १ हजार ३ सय अमेरिकी डलर जरिवाना तिर्नुपर्छ। दोस्रोचोटिमा बढेर ३ हजार २ सय ५० डलरसम्म पुग्छ।
यति उच्च जरिवानाका साथै लाइसेन्स जफत हुने र कैद सजायको डर भएपछि अचेल ट्याक्सी ठगी उल्लेख्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपालमा पनि ट्याक्सी ठगी अन्त्य गर्न जरिवाना रकम बढाउने प्रस्ताव गरिएको थियो। यातायात व्यवस्था विभागबाट कार्यान्वयन नभएको हाछेथूले जानकारी दिए।
उनका अनुसार जरिवाना निर्धारण गर्ने अधिकार यातायातलाई छ। ट्राफिकको काम प्रस्ताव गर्ने मात्र हो। ‘हामीले धेरैपटक चिठी पठाएर जरिवाना बढाउन आग्रह गरे पनि उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘ट्याक्सी मात्र होइन, अरू सवारी नियम मिच्नेको जरिवाना पनि बढाउन भनेका हौं। खै कहिले बढाउने हो?’
ट्याक्सी चालकहरूमा ठगीको मनोबल घटाउन केही कार्यक्रम लागू गर्न सकिने उनी सुझाउँछन्।
हरेक ट्याक्सी स्ट्यान्डमा गन्तव्यअनुसार भाडादर टाँस्ने हो भने यात्रुलाई जानकारी हुन्छ, चालकहरू पनि हच्किन सक्छन्। त्यही बोर्डमा ट्राफिक प्रहरीको नम्बर, उजुरी गर्ने ठाउँको नम्बर पनि राख्न सके कारबाहीको मानसिक दबाब बढ्नेछ। चालकले के–के गर्दा उजुरी दिने भन्ने पनि बोर्डमा लेख्न सकिन्छ।
‘यिनै विवरणसहितको स्टिकर ट्याक्सीबाहिर र भित्र टाँस्न लगाउन सके अझ राम्रो। यसले उपभोक्ता पनि कतै म ठगिएको त छैन भनी सोच्न प्रेरित हुनेछन्। चालकले भाडामा कचकच गर्यो भने तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्न सक्छन्,’ हाछेथूले भने, ‘कसैले स्टिकर टाँस्न मान्दैन भने उसलाई तत्काल तीन–चार हजार जरिवाना तिराउन सकिन्छ।’
मिटर बिगार्ने र भनेको ठाउँ जान नमान्ने चालकलाई पाँच सय होइन, पाँच हजारसम्म जरिवाना तिराउनुपर्ने उनको प्रस्ताव छ। त्यस्तै, मनलाग्दी भाडा उठाउनेलाई तीन हजार होइन, दस हजारसम्म जरिवाना तिराउन सकिन्छ।
जरिवानापछि मापसे (मादकपदार्थ सेवन) कारबाहीजस्तै अनिवार्य सचेतना कक्षा लिन लगाउनुपर्ने उनले बताए।
‘ट्याक्सी चालकलाई विभिन्न नाममा छुट दिने नियम पनि बेथितिको कारण हो,’ उनले भने, ‘कुनै पनि गल्तीमा कसैलाई पनि छुट दिने नियम हुनुहुँदैन।’
उनका अनुसार ट्याक्सीलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म साविकभन्दा डेढ गुणा बढी भाडा लिन छुट छ।
‘पहिले पो काठमाडौं सुनसान थियो। राति जोखिममा काम गर्नुपर्छ भनेर डेढी भाडा लिन पाउने सुविधा दिइयो। अब यहाँ केलाई यो सुविधा दिनु? ९ बजेपछि गुड्ने सार्वजनिक सवारीलाई त यो सुविधा छैन, ट्याक्सीलाई किन चाहियो। यो तुरुन्तै कटौती गरिहाल्नुपर्छ र चौबीसै घन्टा भाडा दर समान हुनुपर्छ,’ उनले भने।
ट्याक्सीले रिङरोडभन्दा दुई किलोमिटर बाहिर गएपछि मिटर चलाउनु नपर्ने नियम पनि छ। यसले चालकलाई आफूखुसी भाडा लिन प्रेरित गर्छ। यही आडमा रिङरोडबाहिर जानुपर्ने धेरै यात्रु ठगिएको हाछेथू बताउँछन्।
‘यसरी कुनै पनि बहानामा ट्याक्सीलाई भरणपोषण गर्नु उपभोक्तामाथिको उपहास हो,’ उनले भने, सार्वजनिक सवारीमा यी नियम लागू हुँदैन। त्यसो भए ट्याक्सीमा मात्र किन? यो त झन् सिधै यात्रु ठग्न सुविधा दिएजस्तै हो।’
ट्याक्सीको समस्या विकराल छ, तर सुल्झाउनै नसकिने होइन। हङकङको अनुभवबाट पाठ सिक्ने र अनुभवी पूर्व ट्राफिक हाछेथूको सुझाव मान्ने हो भने कानुनी कारबाहीमा कसेर यो बेथिति अन्त्य गर्न सकिन्छ।
के यसका लागि यातायात व्यवस्था विभाग तयार छ?