एसिया प्यासिफिक सम्मेलनले नेपालको बिग्रेको छवी पखाल्ने काम गर्याे
भर्खरै मात्र सकिएको एसिया प्यासिफिक समिटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाएको छ । नेपाल पनि ठूला–ठूला सम्मेलन गर्न सक्षम छ भन्ने यो समिटले अझै पुष्टी गरिदिएको छ ।
विगतमा पनि सार्क शिखर सम्मेलन, बिमस्टेक जस्ता सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गरेको हामीमाझ ताजै छ । भर्खरै सम्पन्न समिट पहिलेको तुलनामा अझै ठूलो हो । र यो सम्मेलन पनि नेपालले भव्य रुपमा सम्पन्न गर्न सफल भएको छ ।
सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि, ३ सयभन्दा बढी बिभिन्न देशका सांसद, ५ देशका सरकार प्रमुख नेपालमा आउनु भनेको त ती देशमा पनि नेपालका बारेमा चर्चा हुनु हो ।
नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो ।
नेपाल पनि एक सक्षम देश हो । शान्ति र स्थायित्व छ भन्ने देखाउन पनि सम्मेलन लाभदायी बनेको छ । नेपाल द्वन्द्वबाट शान्तितर्फ अनि अस्थिरताबाट स्थिरतातर्फ गएको छ भन्ने जुन बताउनुथियो, हामीले बताउने मौका पनि पायौं ।
नेपालले शान्ति प्रकृयामा अपनाएको मौलिक स्वरुपका बारेमा संसारका कुनै पनि देशमा हुने ठूला सम्मेलनहरुमा बोलौं भन्ने हुन्थ्यो । त्यो मौका हामीले आफ्नै देशमा भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा बोल्न पायौं । यसले नेपालबारे बाहिर हल्ला गरेजस्तो संक्रमण छैन भन्ने सन्देश गएको छ ।
नेपाल एउटा सुन्दर र शान्त देश हो भन्ने सन्देश संसारभर छर्न पनि यो सम्मेलन एउटा माध्यम बन्न पुगेको छ । त्यसैले समग्रमा सम्मेलन लाभदायी रह्यो भन्ने नै हो ।
पर्यटन प्रवद्र्धनमा पनि सहयोग
सम्मेलन एकपक्षीय रुपमा मात्रै सफल भयो भन्ने होइन । सम्मेलन चौतर्फी रुपमा नै सफल भएको छ । पर्यटन प्रवद्र्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सम्मेलनमा आएका झण्डै १५ सय पाहुना काठमाडौंका बिभिन्न होटलमा बसे । बिभिन्न देशका राष्ट्र प्रमुखहरु, सरकार प्रमुखहरु, पूर्व प्रमुखहरु तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिले नेपाल घुम्नै पर्ने देश रहेछ भन्ने सन्देश छाड्न हामी सफल भयौं ।
यसले यहाँ आएका पाहुनाका माध्यमबाट पनि ती देशका नागरिकहरु हाम्रो देश अर्थात नेपाल भ्रमणमा कुनै न कुनै माध्यमबाट आउँछन् भन्ने विश्वास हामीलाई छ । पर्यटन प्रवर्द्धनकै विषयमा हामीले कम्बोडियासँग हवाई सम्झौता गरेका छौं ।
त्यस्तै भैरहवा विमानस्थल निर्माण भएर सञ्चालन हुने बित्तिकै म्यानमार र नेपालबीच पनि हवाई सम्झौता गर्ने विषयमा नेपाल सरकार र म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकबीच सहमति बनेको छ ।
कम्बोडियामा सन् २००१ मा वार्षिक जम्मा १ लाख पर्यटक पुग्थे । तर अहिले वार्षिक ६० लाख पर्यटक घुम्नका लागि कम्बोडिया पुग्ने गरेको तथ्याँकले हामी पनि भिजन २०२० लाई सफल बनाउन सक्छौं र त्यसका लागि यो सम्मेलन महत्वपूर्ण रह्यो भन्ने लाग्छ ।
हामी सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिरहेका छौं । भैरहवा विमानस्थल बनेसँगै हामी त्यो लक्ष्य भेट्टाउन सक्छौं । पोखरा क्षेत्रीय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा छ । त्यसले पनि अझै योगदान दिने छ भन्ने विश्वास छ ।
गुड गभर्नेन्स अवार्ड
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’बाट सम्मानित गरिएको छ ।
यो सम्मान ४५/५० देशबाट आएका प्रतिनिधि सामु पाउनु भनेको ठूलो कुरा हो नि ।
अवार्डबाट पाएको एक लाख डलर नेपाली युवा र बालबच्चाको हितमा प्रयोग गरिने भनेर प्रधानमन्त्रीले घोषणा नै गर्नु भएको छ । यसले नेपाललाई नै फाइदा भयो नि । घाटा के मा भयो ?
नआइज भन्न मिलेन
सम्मेलन आयोजक जो भए पनि विदेशी राष्ट्र प्रमुखहरु नेपाल आउन तयार भएपछि नआइज भन्न मिलेन । हामीले कुटनीतिक मर्यादा ख्यालमा राखेर उच्च सम्मानका साथ सम्मेलनमा आएका सबै देशका राष्ट्र प्रमुख तथा अधिकारीहरुलाई स्वागत गरेका छौं ।
बाहिर चर्चा र हल्ला गरेजस्तो कुटनीतिक मर्यादा नाघेर कुनै काम गरेको छैन । सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले हामीलाई न्यानो आतिथ्यताको लागि धन्यवाद भन्नुले हामी सहि छौं भन्ने पुष्टी हो ।
सम्मेलनको सहआयोजक सरकार हुँदै होइन । सरकार त सहयोगी बनेको मात्रै हो । आफ्नो देशमा ठूला अन्तर्राष्ट्रिय सम्मेलन सफल बनाउन सरकार सहयोगी त बन्ने पर्यो नि । यसमा जति पनि चर्चा भए ती सबै गलत हुन् ।
सरकार कहिल्यै पनि सहआयोजक रहेन । अन्तरर्राष्ट्रिय जगतमा नेपालको नाम उच्च बनाउन यो सम्मेलन सफल बनाउनेतर्फ नै सरकारको ध्यान गएको हो ।
सरकारको विरोध गर्नु कसैका लागि रोजगारी बनेको छ
अर्को कुरा जुन धर्म प्रचारसँग जोडिएर आयो त्यस्तो केही पनि गतिविधि सरकारले आफ्नो ठाउँबाट गरेको छैन । संविधानले नै प्रष्ट पारिसकेको छ, हाम्रो देश धर्मनिरपेक्ष हो भनेर । यहाँ सबै किसिमका धर्ममा आस्था राख्ने र आफ्नो रीतिरिवाज र संस्कृति मान्न पाउने स्वतन्त्रता सबैलाई छ ।
देश र नागरिकलाई अहित हुनेबाहेक सबैले सबै किसिमका कार्यक्रम गर्न पाउँछन् । सरकार कुनै अमुक धर्मको प्रचारमा लाग्दैन । सबै धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो ।
त्यसैले यो कार्यक्रम कुनै धर्म प्रचारका लागि मात्रै भयो भन्नु भन्दा पनि कार्यक्रममा दिगो शान्तिका कुराहरु भएका छन् । आत्मनिर्भरता, पारस्परिक समृद्धि, जलवायु परिवर्तन लगायतका विषयमा गम्भीर छलफल भएको छ ।
हामी बुझ्दै नबुझी हल्लाको पछि मात्रै नलागौँ । यथार्थ बुझेर मात्रै बोलौँ न । केही संचार माध्यम र संचारकर्मीका लागि सरकारको विरोधमा लेख्नु र बोल्नु जागिर नै हो जस्तो बनेको छ ।
यथार्थ बुझेर बोल्दा, लेख्दा हुन्छ । तर नबुझी लेख्ने गर्दा भविष्यमा संचारमाध्यम र संचारकर्मीमाथि नै अविश्वास गर्ने दिन आउन सक्छ ।