तेह्रथुम — छथर गाउँपालिका ३, ज्यामिरेकी सबिना लिम्बू भर्खर २८ वर्ष लाग्दै छिन् । यो उमेरमै उनले ७ सन्तान जन्माइसकिन् । जेठो सन्तान ९ वर्षका छन् । त्यसयता उनले ६ सन्तानलाई जन्म दिइन् । दुई सन्तानको भने बाल्यावस्थामै मृत्यु भइसकेको छ ।
छथरकै पेक्चीमाया लिम्बूको उमेर ४३ वर्ष पुग्दै छ । उनले १७ सन्तानलाई जन्म दिइसकिन् । कलिलै उमेरमा धनकुटाको चौबीसे क्षेत्रबाट विवाह गरी आएकी उनले जन्माएका १७ सन्तानमध्ये ७ जनाको मृत्यु भइसकेको छ । बर्सेनि सन्तान जन्माउँदा पेक्चीमायाको शरीर कमजोर भएको छ ।
सुत्केरीमा समेत मीठो–मसिनो र पोसिलो खानेकुरा खान नपाउँदा स्वास्थ्य कमजोर भएको उनले बताइन् । सोही गाउँकी ४० वर्षीया विन्दुमाया लिम्बूले पनि ७ छोराछोरी जन्माइसकेकी छन् । उचित खानपान, हेरचाह र स्याहार–सुसार नपुगेका सबै बालबालिकाको शारीरिक अवस्था कमजोर देखिन्छ । मजदुरी गरी जीविकोपार्जन गर्दै आएका गाउँका २३ घर लिम्बू समुदायका सबैमा सन्तान उत्पादन दर धेरै रहेको स्थानीय अगुवा युवा इन्द्रसागर लिम्बू बताउँछन् ।
यहाँका लिम्बू समुदायमा गरिबी पनि उत्तिकै बढिरहेको उनले बताए । गरिबीका कारण सबैका घरमा बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले पिरोलिरहेको वडासदस्य इन्द्रकुमारी लिम्बूको भनाइ छ । गाउँका सबैजसो महिला–पुरुषमा प्रजनन स्वास्थ्य, परिवार नियोजनका अस्थायी तथा स्थायी साधनबारे कुनै जानकारी नभएको उनले बताइन् ।
यहाँका दम्पतीमा ‘भगवान्ले जति सन्तान दिए पनि थाप्नुपर्छ’ भन्ने अन्धविश्वास रहेको इन्द्रसागर बताउँछन् ।
१८ वर्षको उमेरमा विवाह गरेकी पेक्चीमायाले धेरैजसो सन्तान खेतबारीमा काम गर्दा, ढुंगा बोक्दा र घाँसदाउरा गर्न जाँदा जंगलमै जन्मे । ‘एउटा त अर्काको खेतमा धान रोप्दै गर्दा जन्मियो,’ उनले भनिन्, ‘महिनै नपुगी जन्मिएको रहेछ, मरिहाल्यो, त्यही खेतको हिलोमा गाडिदिएँ ।’ उमेर नपुगी जन्मिएका धेरै सन्तान जन्मनासाथ मर्ने गरेको उनले बताइन् । उनको पछिल्लो सन्तान ५ वर्षको छ ।
त्यसयता पनि पटकपटक गर्भधारण गरेकी उनले पछिल्लोपटक केही पर गाउँकी एक महिलाको सल्लाहमा धनकुटाको हिलेमा रहेको मेरी स्टोप सेन्टरमा गएर गर्भपतन गराइन् । गर्भपतन गराएका सन्तान जुम्ल्याहा थिए ।
‘१७ सन्तानमध्ये ती २ को त मैले हिसाबै गरेको छुइनँ,’ पेक्चीमायाले भनिन् । ६ महिना उमेर पुगेका सन्तानको गर्भपतन गराएपछि मेरी स्टोप सेन्टरमै स्वास्थ्यकर्मीले परिवार नियोजनको अस्थायी साधन कपर टी राखिएको उनले बताइन् । ‘त्यसयता शरीरले दु:ख पाएको छैन,’ उनले सुनाइन् । सन्तान जन्माउँदा–जन्माउँदा थिलथिलो भएको शरीरले अहिले भने केही आराम पाएकामा उनी सन्तुष्ट छिन् ।
परिवार नियोजनका साधनबारे थाहा नपाउँदा धेरै सन्तान जन्मिएको उनको दुखेसो थियो । ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्ने गाउँका अधिकांश दम्पतीका सन्तान धेरै छन् । धेरै सन्तान हुँदा मीठो–मसिनो खुवाउन, राम्रा लुगाकपडा लगाइदिन र शिक्षा दिनसमेत समस्या भएको उनीहरू बताउँछन् ।
ज्यामिरे गाउँमा पढेलेखेका नगण्य छन् । अहिलेसम्म गाउँबाट एकै जनाले पनि एसएलसी पास नगरेको इन्द्रसागर बताउँछन् । अघिल्लो पुस्ताकी गाउँकी वृद्धा इन्द्रमाया लिम्बूले पनि उमेर छँदा १८ सन्तानलाई जन्म दिएकी थिइन् । तीमध्ये ६ जना मात्र जीवित छन् । बाँकी सबैको मृत्यु भइसकेको छ ।
हजुरबुबा–हजुरआमा पुस्तादेखि नातिनातिनी बुहारी पुस्तासम्म आइपुग्दा पनि यहाँका महिला/पुरुषमा परिवार नियोजनका साधनबारे खासै जानकारी नभएको पाइएको छ ।
गाउँका सबैजसोमा ‘परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ’ भन्ने मान्यता छ । पछिल्लो पुस्ताका एकदुई बुहारीले मात्र परिवार नियोजनका साधन प्रयोग गरेको हुन सक्ने वडासदस्य इन्द्रकुमारी बताउँछिन् ।