रेल किन्दै सरकार : भाडामा नलिने निश्चित, सञ्चालनको मिति अनिश्चित



 

सरकारले जनकपुर–जयनगर रुटमा चलाउन रेल किन्ने भएको छ । यसअघि भारत सरकारको रेल कम्पनीसँग ‘वेट लीज’ सम्झौता गरेर भाडामा रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर अब सरकार आफ्नै रेल किन्ने निष्कर्षमा पुगेको छ ।

 

नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले सरकारले आफ्नै रेल किनेर सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘पहिले लीजमा रेल चलाउने विषयमा भारतीय पक्षसँग कुराकानी भएको थियो । तर अब सरकारले आफ्नै रेल किनेर सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ महानिर्देशक मिश्रले लोकान्तरसँग भने, ‘त्यसका लागि नेपाल सरकारले भारतीय पक्षसँग कुराकानी अगाडि बढाइसकेको छ ।’

 

लीजमा रेल भाडा लिएर चलाउँदा महंगो पर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले रेल किनेर नै चलाउनुपर्ने बताएपछि रेल किन्ने प्रक्रिया अगाडि बढेको उनले बताए । ‘रेल भाडामा चलाएर फाइदा हुँदैन । त्यसैले पनि रेल किन्न लागिएको हो,’ उनले भने ।

 

सरकारले भारतीय राजदूतमार्फत् भारतीय रेल कम्पनीसँग २ सेट रेल किन्नका लागि कुराकानी अगाडि बढाएपनि ठोस जवाफ नआएको उनले बताए । ‘हाम्रो टोली रेलबारे अध्ययन गर्न भारतको टूरमा पनि गएको थियो । छोटो दूरीको लागि ‘डिजेल इलेक्ट्रोफायरिङ मल्टिपल ओप्सन’ (डीमो) मोडेलको किन्दा उपयुक्त हुने भएकाले सरकारले रेल किन्न तयारी थालेको उनले बताए ।

 

डीमो मोडेलको रेल किन्दा अगाडि र पछाडि दुवैतिर चलाउन सकिने विशेषता भएकाले रेल घुमाउनु नपर्ने उनले बताए  । उनका अनुसार १ सेट रेलमा एउटा मुख्य इन्जिन र एउटा सहायक इन्जिन हुने गर्छ ।

 

‘हामीले एउटा रेलको लागि ५ वटा प्यासेन्जर कोच (डब्बा अर्थात् बोगी ) किन्ने छौं,’ मिश्रले भने, ‘एउटा डब्बामा ७२ जना यात्रुको सीट र त्यतिकै संख्यामा उभिएर यात्रा गर्न सक्ने क्षमता हुन्छ ।’ २ सेट रेल र १० वटा डब्बा किन्यो भने १ पटकमा ५ सयदेखि ६ सय जनासम्म यात्रुले यात्रा गर्न सक्ने छन् ।

 

हाल धेरै यात्रुहरू पनि नभएकाले त्यति नै इन्जिन र डब्बा पर्याप्त हुने तथा आवश्यकता पर्यो भने ३ घण्टामा सञ्चालन हुने सेवा १–१ घण्टाको अन्तरालमा सञ्चालन गर्न सकिने विकल्प समेत रहेको उनले बताए ।

 

१ सेट रेलको मूल्य ५० करोड रुपैयाँ पर्ने र २ सेटको सय करोड रुपैयाँ पर्ने मोटामोटी अनुमान गरिएको छ । भारत सरकारले अनुदानमा रेल निर्माण कार्य गरेको भएपनि रेल किन्न नेपाल सरकार आफैं पनि सक्षम रहेको उनले बताए ।

 

रेल किन्नका लागि भारतको कोन्कर्ण कम्पनी र राइट्स कम्पनीसँग कुराकानी भइरहेको उनले बताए । ‘नेपाल सरकार र भारत सरकारको तहमा त्यो कुराकानी भइरहेको छ,’ उनले भने, ‘भारतको महाराष्ट्र राज्यको मुम्बईमा कोन्कर्ण कम्पनीको हेडक्वार्टर छ ।’ रेल किन्दा तत्काल जनशक्ति र मर्मतसम्भार समेत त्यहीँ कम्पनीले दिने र ६ महिना वा १ वर्षमा सरकारले जनशक्ति भर्ना गरेर प्रशिक्षित गरिसक्ने उनले बताए ।

 

प्रधानमन्त्री ओलीले नेपालमा रेल सञ्जाल अगाडि बढाउन पटक–पटक निर्देशन दिएकाले अहिले तत्काल भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म पहिलो चरणमा रेल सञ्चालनमा आउने छ । त्यसको १ देखि डेढ वर्षभित्रै बर्दिबाससम्म र त्यसपछि बर्दिबासदेखि निजगढसम्म रेल चलाउने सरकारको तयारी तीब्र गतिमा अगाडि बढिरहेको मिश्रले बताए ।

रेल किनेर चलाउने निश्चित भएपनि रेल किन्न लाग्ने समय र रेल सञ्चालक हुने मिति अझै अनिश्चित छ । रेल किन्ने प्रक्रियाबारे नै निश्चित नभएकाले सेवा सञ्चालन हुने विषय अनिश्चित छ ।

 

विवाह पञ्चमीमा हुँदैन उद्घाटन 

आउँदो मंसिर २६ गते रामजानकी विवाह पञ्चमीका दिन रेल सञ्चालनमा आउने चर्चा चलेको थियो । तर विवाह पञ्चमीका दिन रेल सञ्चालनमा आउने वा उद्घाटन हुने कुनै छाँटकाँट देखिएको छैन ।

 

‘हाम्रो तयारी के थियो भने विवाह पञ्चमीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट रेल उद्घाटन गरौ । न भए भारत सरकारको केन्द्रीय वरिष्ठ मन्त्रीबाट उद्घाटन गरौ,’ रेल विभागका महानिर्देशक मिश्रले भने, ‘कुराकानी पनि भइरहेको थियो । मोदीजी आउने लगभग तय भइसकेको थियो । तर भारतमा उहाँहरू व्यस्त भई समय मिलाउन नसकेका कारण उहाँहरू आउन नसक्ने भएपछि विवाह पञ्चमीका दिन हुने भनिएको रेलको उद्घाटन स्थगित गरिएको छ ।’

 

रेल निर्माणको काम पनि पूरा भएको छैन । कतिपय काम सम्पन्न हुन बाँकी नै छ । रेल उद्घाटन हुने यकिन मिति निर्धारण नगरिएको भएपनि छिट्टै रेल उद्घाटन हुने उनले बताए ।

 

परीक्षणकालमै रेल दुर्घटना 

रेल सञ्चालनमा नआउँदै परीक्षणकालमै रहेको बेला रेल दुर्घटना भइसकेको छ । विभिन्न स्टेसन तथा हल्टमा स्टेसन घर निर्माण हुँदा गुणस्तरहीन सामग्रीको प्रयोग भएको कुरा बेलाबेलामा स्थानीयले आवाज उठाउँदै आएको थियो ।

 

गत मंगलबार बैदेही स्टेसन र लखौरी गाउँको बीचमा रेल दुर्घटनामा परेको थियो । रेलको परीक्षण हुँदा रेलको चक्का लीगबाट तल झरेको थियो । जनकपुरस्थित रेल्वे विभाग साइट कार्यालयका प्रमुख विनोदकुमार ओझाले भने, ‘रेलको चक्का लीगबाट तल झरेको होइन । चक्काको लक मात्र टुटेर तल झरेको हो ।’

 

अहिले रेलको लीगलाई गिट्टीले कस्ने काम ‘टेम्पिङ’ पूर्ण नभएकाले प्राविधिक काम भई नै रहेको उनले बताए । ‘अहिले २ पटक मात्र टेम्पिङको काम भएको र तेस्रो पटकको टेम्पिङको काम सकेपछि मात्र रेल ट्रयाक निर्माणको काम पूर्ण हुनेछ,’ इन्जिनियर ओझाले भने, ‘अहिले रेलको ट्रयाक पनि तल–माथि उबडखाबड जस्तो देखिन्छ । तेस्रो टेम्पिङको काम भएपछि ट्रयाक सिधा देखिने छ ।’  अबको ७ देखि १० दिनभित्र टेम्पिङको कामले पूर्णता पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्