राजपाभित्र विवाद : त्रिपाठीले बोलाए काठमाडौंमा भेला



 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद चलिरहेको बेला सो पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौंमा समूहको भेला बोलाएका छन् ।

 

मंसिर २८ गते हुने सो भेलाको तयारी भइरहेको समूहका संयोजक ह्रदयश त्रिपाठीले जानकारी दिए । भेलामा देशैभरिका सिमित व्यक्तिको मात्र उपस्थिति रहने बताउँदै उनले यो भेलामा चुनावदेखि हालसम्म देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताए ।

 

राजपा नेपाल गठनमा विशेष भूमिका खेलेका त्रिपाठी सो पार्टी छाडेर समूह गठन गरी तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । त्यसमा नवलपरासीबाट त्रिपाठी, कपिलवस्तुबाट वृजेष गुप्ता प्रतिनिधिसभा र नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव प्रदेशसभामा जितेका हुन् ।

 

समूहका नेता ईश्वर दयाल मिश्रले भने, ‘यो भेलामा समूह बाहिरबाट पनि सहभागी हुन्छन् । समसामयिक विषयमा छलफल हुने भएकाले यसमा बौद्धिक छलफल हुने भएकाले बाहिरका व्यक्तिलाई पनि बोलाउने कुराकानी भएको छ ।’

 

उनले समूहप्रति थुप्रै नेता तथा कार्यकर्ताहरुको आकर्षण छ । राजपा नेपालदेखि फोरम नेपाल, काँग्रेस र नेकपाबाट पनि समूहमा आउन तयार रहेको उनले दावी गरे । उनले भने, ‘राजपा नेपाल र फोरम नेपालबाट सबभन्दा बढी आकर्षण हाम्रो समूहप्रति रहेको छ ।’

 

यसअघि एउटा भेला नवलपरासीमा पनि सम्पन्न भएको छ । त्यो भेला जिल्लास्तरीय भेला थियो । यो भेला राष्ट्रिय स्तरको हो । तर त्रिपाठीले यसलाई राष्ट्रिय भेला भनेको छैन । उनले भने, ‘यो एउटा भेला मात्र हो, यसमा छलफल हुन्छ, त्यसपछि अगाडि के गर्ने कुरा हुन्छ ।’

 

राजपा नेपालमा विवाद शुरु भएपछि समूहले गर्न लागेको भेलाले ठूलो अर्थ राख्छ । सो समूहमा अधिकाँश राजपा नेपालबाट गएका नेताहरु छन् । यदि राजपा नेपाल विभाजन भयो र तमलोपा पुनर्गठन भयो भने समूह त्यसमा मिसिन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

 

महन्थ ठाकुरलाई राजपा नेपालको संयोजकबाट हटाएको भोलिपल्ट त्रिपाठीले उनलाई भेटेका थिए । तर ईश्वर दयाल मिश्र भन्छन्, ‘राजपा नेपालको विवादसँग आफ्नो यो भेलाको कुनै कनेक्सन छैन । राजपा नेपालमा विवाद आउनुभन्दा पहिले नै यो कार्यक्रम तय भएको थियो ।’ उनले त्रिपाठी र ठाकुरबीच कुनै भेटघाटनै नभएको पनि दावी गरे ।

 

किन जाँदैछन् महन्थ ठाकुर दिल्ली ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पूर्व संयोजक महन्थ ठाकुर आज राति ८ बजे भारतको नयाँ दिल्ली जाँदैछन् । ठाकुर उपचार क्रममा भारत जान लागेका हुन् । ठाकुर हरेक ६ महिनामा भारतमा फलो अपका लागि जाने गरेका छन् ।

 

ठाकुरको भ्रमणबारे राजपामा औपचारिक जानकारी छैन । राजपाको सोमबार नै बैठक बसेर सरकारलाई दिइएको समर्थन फिर्ता लिने कार्यसूची थियो । तर सोमबार बैठक बस्न सकेन ।

 

ठाकुर आएपछि बैठक
सोमबार बस्ने भनिएको बैठक बस्न नसकेपछि राजपाको बैठक अनिश्चित छ । महामन्त्री केशव झाले भन्नुभयो, ‘ठाकुर भारत जानु भएपछि उहाँ फर्केपछि मात्रै बैठकको मिति तय हुनेछ र पहिलो बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता हुने छ ।’

 

भेटघाटको सूची
महन्थ ठाकुर भारत भ्रमणमा उपचारका लागि जाने भनिए पनि उनको राजनीतिक भेटघाट पनि हुनेछ । यद्यपि भेटघाटबारे केही बताइएको छैन । १८ महिना राजपा संयोजक रहेका ठाकुर संयोजकबाट हटेलगत्तै राजपाको बैठकसमेत बस्न सकेको छैन । ठाकुर निकटका केही नेता असन्तुष्ट छन् ।

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द, राजपा फुटने पक्का

सिङ्गो मधेस क्षेत्रमा राजनीतिक प्रभाव जमाएर बसेको राष्ट्रिय जनता पार्टीभित्र नयाँ विषयमा विवादको विजारोपण भएको छ । अध्यक्षमण्डलको संयोजक परिवर्तन भएको महिना दिन नपुग्दै सिङ्गो पार्टीभित्र प्रदेश तह र केन्द्रमा विवाद चुलिएको हो ।

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द भएकोे छ । महन्थ ठाकुरले राजपा फुटाएर भएपनि आफु अध्यक्ष बन्ने बताएको स्रोतको दाबी छ ।

 

राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक तोकेपछि अन्य सदस्यका असन्तुष्टि बाहिर आएका छन् । महन्थ ठाकुर पक्षधर मात्र नभई अन्य शीर्ष नेताहरूले पनि महतोको संयोजकत्वलाई स्वीकार नगरी आलोचना गर्न शुरु गरिसकेका छन् ।

 

विवाद किन बढ्यो ?

निवर्तमान महन्थ ठाकुर संविधान संशोधन वा संशोधनको सुनिश्चितता नभई सरकारमा जान हुँदैन भन्ने पक्षमा अडिग छन् । तर, महतोलगायतले सरकारमा जान गृहकार्य शुरु गरेका छन् । ठाकुरलाई हटाएको अध्यक्षमण्डलका बहुमत सदस्यले सरकारलाई समर्थन गरेपछि मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने नयाँ विषयलाई पार्टीभित्र प्रवेश गराएका छन् ।

 

अब आउने महाधिवेशनमा कसको वर्चश्व रहने भन्ने विषयभन्दा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय राजपाभित्र पेचिलो बन्दै गएको छ ।

 

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी (सपा), राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), तराई मधेस सद्भावना पार्टी (तमसपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी (नेसपा) मिलेर राजपा पार्टी बनेको थियो । त्यतिबेला, तमलोपाको ११, सपाको पाँच, रामसपा र तमसपाको तीन–तीन र फोरम गणतान्त्रिक र नेसपाको एक–एक सांसद थिए ।

 

समानुपातिकतर्फ तमलोपाले एक लाख ८१ हजार, सपाले एक लाख ३३ हजार, रामसपाले ७९ हजार, तमसपाले ६२ हजार, फोरम गणतान्त्रिकले ३३ हजार र नेसपाले २५ हजार भोट ल्याएका थिए ।

 

पार्टी एकीकरणपछि २५ हजार भोट भएको र १ लाख ८१ हजार भोट ल्याएका पार्टी अध्यक्षको समान हैसियत निर्धारण भयो । त्यही हैसियतलाई निरन्तरता दिन एक पक्षले महाधिवेशनसम्म सरकारमा जानुपर्ने विषयमा जोड दिँदै आएको छ ।

 

अध्यक्षमण्डलका संयोजक महतो, सदस्यहरू शदत्सिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवको टोलीले कि सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन भने मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने भन्दै अर्का सदस्य महन्थ ठाकुरलाई दबाब दिएको स्रोतले जनायो ।

 

उता अध्यक्षमण्डल संयोजकमा नयाँ नेतृत्व आएपछि महाधिवेशनपछिको पार्टी संरचना कस्तो बनाउने भन्ने विषय पनि विवादित बन्न पुगेको छ । ठाकुरबाहेकका सबै अध्यक्षमण्डलका सदस्य यही प्रणालीलाई महाधिवेशनपछि पनि निरन्तरता दिनुपर्ने अडानमा छन् । तर, ठाकुर भने अध्यक्ष एक व्यक्ति मात्र हुनुपर्ने पक्षमा देखिन्छन् ।

 

विवाद बढ्दै गएकोले महतो अध्यक्षमण्डलको संयोजक बनेपछि बैठक बस्न सकेको छैन । सोमबार बोलाइएको बैठक आन्तरिक विवादकै कारण बसेन । मंगलबार पनि बैठक कहिले बस्ने भन्ने विषयमै विवाद निम्तियो ।

 

राजपाले महाधिवेशन ७ वैशाखका लागि तोकेको छ । अध्यक्षमण्डलको संयोजक बन्न सबै सदस्यलाई नेतृत्वको अवसर दिन दुई–दुई महिनामा संयोजक परिवर्तन हुने भनिएको थियो ।

 

तर, आगामी ७ वैशाखसम्म शरत्सिंह भण्डारी र महेन्द्र राय यादवलाई त्यो अवसर मिल्छ वा मिल्दैन यसै भन्न सक्ने अवस्था देखिँदैन । ठाकुरलाई हटाएर महतोलाई संयोजक बनाउने बहुमतको निर्णय विधानअनुसार अवैध भएको भन्दै केही नेताले विरोध जनाएका छन् ।

 

राजपाको महाधिवेशन पनि हुन सकेको छैन । सरकारलाई दिइएको समर्थन फिर्ता लिने नलिनेमा पनि नेताहरुबीच फरक मत छ । यस्तो अवस्थामा ठाकुरको उपचार मात्र हुनेछैन, उनले भारतको राजनीतिक वृत्तका नेतासँग पनि परामर्श गर्नेछन् । के सन्देश बोकेर आउँछन्, केहीदिन कुर्नैपर्छ, त्यसपछिको राजनीतिक घटनाक्रमले विस्तार पर्दा उघारिने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्