प्रधानमन्त्रीज्यू, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र गोकुल बाँस्कोटाकाे यस्तै तस्बिर कहिले आउँछ ?



 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको तस्बिर मंगलबार बिहानै अखबारका पानामा छाए ।

केहीबेरमै सामाजिक सञ्जालमा छायो । उसो त सोमबार साँझ काठमाडौंका सडकका पोलमा अनि मंगलबार बिहानै अखबारको पानाको पहिलो पृष्ठमा प्रधानमन्त्री केपी ओलीकै तस्बिर छाए ।

सरकारले ल्याउन लागेको सामाजिक सुरक्षा कोषको शुभारम्भ अवसरमा यी तस्बिर आएका हुन् ।

यसअघि शेरबहादुर देउवा सरकारका स्वास्थ्यमन्त्री गगन थापाले पनि स्वास्थ्य मन्त्रालयले ल्याएको योजनामा यसरी नै टेलिभिजन प्रचार गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अखबार र राजधानीका पोल रोजे ।

विज्ञापनको शैली आआफ्नै हुन्छ । कसरी जनताको मनमुटुमा छाप पार्ने भन्ने ध्येय हो विज्ञापनको ।

सामाजिक सुरक्षा कोष आफैँमा समाजवादी कार्यक्रम हो ।

कम्युनिष्टको सरकारले लागु गर्न लागेको कार्यक्रम प्रभावकारी बन्नुपर्छ । गोकर्ण विष्टले फेरि एकपटक आफूलाई अब्बल सावित गरेका छन् ।

मलेसिया प्रकरणमा नमूना काम गरेर चर्चा कमाएका मन्त्री गोकर्ण विष्टको तस्बिर देखेर सामाजिक सञ्जाल र चोकचौतारामा कसैले नाक खुम्च्याएनन् । जति आलोचना विद्युत्का पोल र अखबारमा देखिएका प्रधानमन्त्रीको भयो ।

एउटै सामग्रीमा पनि दुई फरक पात्रको तस्बिरले कति फरक पार्दोरहेछ, प्रधानमन्त्री र सचिवालयले पक्कै महसुस गरेको हुनुपर्छ ।

सामाजिक सुरक्षा कोष एउटा ऐतिहासिक र दूरगामी महत्त्वपूर्ण कदम भएको र बल्ल कम्युनिष्ट सरकार छ भन्ने सोचाइ आएको भनेर गोकर्ण विष्टको कदमको प्रशंसा भएको छ । प्रचार गरेजस्तै कार्यान्वयन पनि होस् । कामना गरिएको छ । शिक्षा, स्वास्थ, रोजगारी, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, सुशासनमा कम्युनिष्ट सरकार अब्बल बन्छ कि भन्ने अपेक्षामा एक वर्षअघि जनताले दुई तिहाइको हाराहारीमा जनमत दिएका हुन् । जनमतको सम्मानमा लगातार परीक्षा भने प्रधानमन्त्री केपी ओली सरकारका मन्त्री गोकर्ण विष्टले मात्रै दिनु पर्ने हो कि भनेर आलोचना पनि भइरहेको छ ।

ओली सरकारका प्रभावशाली मन्त्रीहरु ८ नम्बरका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, १८ नम्बरका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र २० नम्बरका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि गोकर्ण विष्टलेजस्तै लोकप्रिय हुने काम किन गरेनन् र लगातार विवादमा पारेर ओली सरकारको आलोचनाको देउराली मात्रै बनाइरहेको छ भन्ने बहस बाहिर मात्र होइन, पार्टीभित्रै हुन थालेको छ । यी तीन मन्त्रीको कार्यशैलीको लगातार आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओलीको सोच र सपनामा आफ्नै मन्त्रीहरुको बदमासी तगारो बन्ने गरेको आलोचना हुने गरेको छ ।

रघुवीर महासेठ
यातायात क्षेत्रमा सिण्डिकेट तोड्ने सरकारको निर्णयको ८ महिनाअघि कम प्रशंसा थिएन । सरकारले केही गर्छ कि भन्ने थियो । यातायात व्यवसायी र मजदुरको पनि ओठ तालु सुकेको थियो । तर जब सिण्डिकेट तोडिनुको साटो दशैँमा यातायात व्यवसायीले भाडा बढाउँदा सरकार तमासे बन्यो, त्यसपछि महासेठको मात्र होइन, सरकारकै आलोचना चुलियो । यति मात्रै होइन, गृहमन्त्री रामबहादुर थापा बादलले ठेकेदारलाई कारबाहीको कुरा गर्दा पनि मन्त्री महासेठले तगारो हालेको कुरा लुकेन । ओली सरकारको शुरुवातीदेखि नै आलोचित र विवादित मन्त्रीका रुपमा महासेठको परिचय रहिरह्यो ।

रवीन्द्र अधिकारी
नेपाल वायुसेवा निगमले खरीद गरेको दुई वटा वाइड बडी विमानमा ६ अर्ब रुपैयाँ घोटाला भएको तथ्य संसदकै लेखा समितिले सार्वजनिक गरेको छ । वाइड बडी विमान खरीदमा मन्त्री अधिकारीको सहभागिता नहुन सक्छ । तर मन्त्रीलाई ‘दालमा कालो छ’ भन्ने मन्त्रीलाई ज्ञान नहुने कुरा भएन । यसमा अनियमितता छैन भनेर स्पष्ट जवाफ दिन मन्त्रीलाई निकै हम्मे परेको देखिन्छ । घोटाला भएकै भनेर बाहिर आएपछि कारबाही गर्छु भन्नु पर्नेमा अझै भर्खरको प्रेममा परेको किशोरले भनेजस्तो ‘वाचाकसम’ खाने गरी ‘गल्ती देखिए कारबाही गर्छु, राजनीति छाड्छु’ जस्ता कोरा कुरामा मन्त्री अल्झिएका छन् । वायुसेवा निगममा अध्यक्ष मदन खरेलको नियुक्ति, प्रज्ञाप्रतिष्ठानमा झापाका गंगाप्रसाद उप्रेतीको नियुक्ति पनि मन्त्री अधिकारीको काममा प्रश्नचिन्ह खडा गर्ने विषय हो । यसमा मन्त्रीको विमति थियो कि सहमति ? प्रधानमन्त्रीले पेलेकै भए पनि मन्त्रीले किन अपमान सहेर बस्ने ? तर रवीन्द्र अधिकारीमाथि लगातार पेचिलो प्रश्न प्रहार भइरहेको छ ।

गोकुलप्रसाद बाँस्कोटा
सरकारका प्रवक्तासमेत रहेका गोकुलप्रसाद बाँस्कोटा ओली सरकारका अर्का आलोचित र विवादित मन्त्री हुन् । दशैँमा पत्रकारलाई दशैँखर्च लिन मन्त्रालय आए हुन्छ भन्ने विवादित अभिव्यक्तिसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको पुनर्नियुक्ति प्रकरणमा बाँस्कोटामाथि अनेक आक्षेप लागेका छन् । गोरखापत्र संस्थानमा नियुक्ति, त्यहाँ भएका आन्तरिक कारबाहीमा पनि मन्त्री बाँस्कोटाको हस्तक्षेप, दूरसञ्चार सञ्चालकलाई फोन गरेर अध्यक्षलाई सहयोग नगरे ‘ठीक’ नहुने जस्ता कुरा मन्त्रीका बाहिर आएका छन् । यतिमात्र होइन, उनले अनेक पूर्वाग्रह राखेर काम गरेको भन्दै गुनासो हुने गरेको छ । सरकारकै प्रवक्ता भएकाले सरकारी कामकाजको प्रभावकारी प्रस्तुति गर्नु पर्नेमा मन्त्री बाँस्कोटाले यो काममा क्षमता देखाउन नसकेको आलोचना हुने गरेको छ ।

मन्त्रीले राम्रो काम गर्ने हो । योजना, सपना सरकारको हो । त्यसको कार्यान्वयन मन्त्रीले गरे पनि श्रेय सरकारको हुने भएकाले श्रममन्त्री गोकर्ण विष्टले लोकप्रिय कार्यक्रम ल्याएर ३५ लाख मजदुरलाई पेन्सन सुविधा दिने प्रयास गरिरहँदा उनले यसको श्रेय प्रधानमन्त्री केपी ओलीलाई दिए । ओली सरकारको सपना भएकाले तस्बिरमा शेरबहादुर देउवाका स्वास्थ्यमन्त्री गगन थापाले जसरी आफैँलाई ‘हिरो’का रुपमा प्रस्तुत गरेनन्, प्रधानमन्त्री ओलीलाई नै प्रस्तुत गरे । प्रधानमन्त्रीले आफ्ना प्रिय मान्छेहरुलाई मन्त्री बनाएका छन् । ती मन्त्रीहरुले पनि गोकर्ण विष्टलेजसरी नै यसरी नै शहरमा प्रधानमन्त्री ओलीको तस्बिर टाँगेको हेर्ने जनताको चाहना गलत हो र ? गोकर्ण विष्टले जस्तै रवीन्द्र अधिकारी, रघुवीर महासेठ र गोकुलप्रसाद बाँस्कोटाको तस्बिर पनि यसरी नै सामाजिक सञ्जालमा लोकप्रिय भएको हेर्न जनता चाहन्छन् ।(जनता समाचार बाट)

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्