मुस्लिमको पूरै बस्ती नागरिकताविहीन, यसरी लिन्छन भारतीयले नागरीकता
कैलालीको धनगढी उप–महानगरपालिका–१ पशुपति टोलकी बयोबृद्ध सकुरन कुरैसी धनगढी बजारभन्दा आफू जेठी भएको दाबी गर्छिन् । धनगढीमा बजार बस्नु भन्दा पहिलैदेखि नै आफूहरु बसोबास गर्दै आएको बताउने कुरैसी आफ्नो उमेर १ सय भन्दाबढी भएको ठोकुवा गर्छिन् ।
‘दाँत र कपाल पनि पुनः पलाउँदैछ’ दाँत र कपाल देखाउँदै उनी भन्छिन्–‘धनगढी बजार क्षेत्र पहिला पूरै जंगलै जंगल थियो । बाघ, भालु आउँथे । थोरै छाप्राले छाएका घर थिए । धनगढी नगर थिएन । धनगढी आउँदा गाउँ पञ्चायत थियो । नगरपालिका त मेरो विबाहपछि मात्रै बनेको हो ।
२०३३ सालमा धनगढी नगरपालिका बन्यो । नगरपालिका बनेपछि यो ठाउँ आफ्नै आँखा अगाडि एकाएक पुरै परिवर्तन भएको उनी बताउँछिन् । तर नागरिकता नपाउँदा आफूलाई परिवर्तन गर्न नसकेको भन्दै उनी विलौना गर्छिन् ।
उनी मात्रै होइन धनगढीमा संयौंको संख्यामा पुस्तौदेखि बस्दै आएका मुस्लिम छन् । उनीहरु भारतबाट आएको बताइन्छ । धनगढीमा उनीहरुको ३/४ पुस्ताले जीवन गुजारिसकेको छ । तर नागरिता प्राप्त गर्न नसक्दा उनीहरुले समस्या व्यहोर्दै आएका छन् । गैरमुस्लिमबाट बरम्बार भारतीय भनी गरिने दुव्र्यवहारबाट हैरानी खेप्दै आएको उनीहरुको दुखेसो छ ।
आफ्नो सम्पत्ति अर्काको नाममा
सकुरन कुरैसीकी बुहारी चम्पा साउँदको पीडा अलि फरक छ । साविक चौमाला गाविस–१ कटानमा माइती घर भएकी साउँदले नुरजहा कुरैसीसंग विवाह गरिन् । विवाह गरेपछि उनी नेपाली नागरिकताबाट बञ्चित हुन पुगिन् ।
उनी भन्छिन्–‘मैले मुस्लिमसँग विवाह गरेकै कारण प्रशासनले मलाई नागरिकता दिएन । मैले माइतीबाट सिफारिसको लागि २०६३ सालमा साविक चौमाला गाविस जाँदा ठकुल्ला थरका सचिवले भारतीयसँग विबाह गर्दा नागरिकता पाइँदैन भनेर सिफारिस रोकिदिए ।’
बच्चा नभएपछि देवरको बच्चालाई धर्मपुत्र राखेकी चम्पा छोराको भविष्यबारे धेरै चिन्तित छिन् । उनको अलिकति जमिन छ । तर नागरिकता नभएको कारण २०६३ सालमा नागरिकता पाएकी देवरकी छोरी फारिद बानुको नाममा सबै सम्पत्ति गरेकी छिन् । चिन्तित हुँदै भनिन्–‘भोलि ज्वाँई कस्तो मिल्ने हुन् ? सम्पत्ति फिर्ता गर्ने हुन् या होइन् चिन्ता लाग्छ ।’
पशुपति टोलकै जहिदुल खान नागरिकता नभएर अपांगता झै महशुस हुने बताउँछिन् । आमाको मृत्यु पश्चात सानै उमेरमा आफन्तसंग धनगढी आएको बताउँने उनी धनगढीमै हुर्किइन् र विवाह गरिन् ।
छोराछोरीको पनि विवाह भैसकेको छ तर कसैले पनि नागरिकता पाउँन नसकेको उनको भनाइ छ ।
‘उमेर ६५ वर्ष भयो । बस्नलाई जग्गा किनेको छु तर आफ्नो नागरिकता नभएको कारण विश्वासमा अरुको नाममा लालपुर्जा छ । सम्पत्तिको बारेमा सम्झिदा निन्द्रा पनि लाग्दैन । जसको नाममा जग्गाको लालपुर्जा छ, पछि उसले मेरो जग्गा फिर्ता गर्छ कि गर्दैन भनेर चिन्ता लागेर आउँछ’ भावुक हुँदै जहिदुलले भनिन् ।
चम्पा र जहिदुल प्रतिनिधि पात्र मात्रै हुन् । मुस्लिम समुदायका धेरै व्यक्तिले आफ्नो सम्पत्ति अरुको नाममा राखेका छन् । अरुको नामबाट व्यापार व्यावसाय चलाइरहेका छन् । बैंकिङ कारोबार पनि अर्काकै नामबाट सञ्चालन गरिरहेका छन् ।
पशुपति टोलीकी ६५ वर्षीया जिनत खान विवाहपछि धनगढी आइन् । उनको सासु ससुराको मृत्यु भएको धेरै भएको छ । श्रीमानको मृत्यु भएको १० वर्ष भइसकेको छ । उनका दुई छोरा र नातीनातिना पनि छन् तर हालसम्म कसैले नागरिकता पाएका छैनन् ।
‘प्रमाणको नाममा छोराहरुको जन्मदर्ता छ । बहुदलको बेला भोट लिष्टको कार्ड छ’, उनले भनिन्–‘धनगढीमा ५ कठ्ठा जमिन छ । लालपुर्जा अर्काको नाममा छ । पछि दिँदैन भनेर त्यो जग्गा मदरसालाई दान दिएर आफू ऐलानी जमिनमा बसेको छु’ जिनतले भनिन् ।
राज्यको न्यूनतम सुविधाबाट वञ्चित
पशुपति टोलकी ४५ वर्षीया माया अन्सारीको पनि पीडा कम छैन । नागरिकता नभएर ४ छोरी एक छोरालाई हुर्काउन धेरै समस्या झेलेको बताउँछिन् । उनको जेठी छोरी सविना अन्सारी २८ वर्षकी भईन् । विकम अध्ययन गरेकी उनले नागरिकता नभएका कारण जागिर गर्न पाएकी छैनन् ।
उनकी माइली छोरीको उमेर २५ वर्ष पुगेको छ । उनी इन्जिनियरिङ सकेर उत्तिकै बसेकी छिन् । बच्चाहरुको जन्म दर्ता, शैक्षिक प्रमाणपत्र भएपनि नागरिकता नहुँदा बेरोजगार भएको पीडा उनले सुनाइन् ।
उनले भनिन् ‘महिला स्वास्थ्य स्वयं सेविका भएको १८ वर्ष भयो । नागरिकता नहुँदा सम्झौतामा स्वयम् सेविका बने । २०६३ सालमा नागरिकताको सिफारिस लिन जाँदा कर्मचारीले टेबलको तलबाट पैसा मागेपछि मैले हल्ला गरी दिए । त्यसको परिणाम अहिलेसम्म भोग्दैछु ।’
धनगढी उपमहानगरपालिकाले बेलाबखत सबै वडामा सुपरनेट झुल वितरण गर्दै आएको छ । तर मुस्लिम समुदायले नागरिकता नभएकै कारण सबै सेवा सुविधाबाट पनि बञ्चित हुँदै आएका छन् ।
‘धोबीका कुत्ता घरका न घाटका’ भन्ने उखान सुनाउँदै मायाले भनिन्–‘नेपालले हामीलाई इन्डियन देख्छ, इन्डियामा हाम्रो कोही छैन । नेपालमा बासोबास गरेको पुस्तौ बिति सक्यो । हामीलाई नेपालको माया लाग्छ तर नेपाली भएको महशुस हुनसकेको छैन । नागरिकता नभएर राज्यबाट पाउनु पर्ने हरेक सेवा सुविधाबाट बञ्चित छौं ।’
राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को तथ्यांक अनुसार कैलाली जिल्लाको कुल जनसंख्या ७ लाख ७५ हजार ७ सय ९ हो । जसमध्ये मुस्लिम समुदायको ४ हजार ९ सय ३० अर्थात ००.६४ प्रतिशत रहेको छ ।
नागरिकताधारी मुस्लिमलाई विभेद उस्तै
नेपाल सरकारले २०६३ सालमा जन्मको आधारमा नागरिकता बनाउनलाई टोली नै खटाएको थियो । जुन बेला भारतबाट आएकाहरु नेपाली नागरिकता पाए । तर सूचनाको पहुँच नपुगेका धेरै नागरिकता पाउनबाट बञ्चित भएका छन् ।
०६३ सालमै नागरिकता प्राप्त गरेकी सबिना बानु भन्छिन्–‘हाल कैलालीमा मुस्लिम समुदायको ५/६ हजारको हाराहारीमा जनसंख्या रहेको छ । नागरिकता प्राप्त गरेका जम्मा एक सय ५० जना जति मात्रै छौं ।’ धनगढीमा ३/४ पुस्तादेखि बसोबास गर्दै आएका अधिकांश छन् । सबिनाका अनुसार उनको ४ पुस्ता धनगढीमै बस्दै आएको छ तर उनको दादी (बज्यै)को १ सय भन्दा वढी उमेर भएपनि नागरिकता हातमा छैन ।
उनको घरमा त्यतिबेला उनको र उनको दिदीको मात्रै नागरिकता बन्यो । आमा, बुवा, दाइको भने बने् । सबिनाको नागरिकता बन्नु अघि उनीहरुको जग्गा अन्तराम चौधरीको नाममा थियो । पछि आफ्नै जमिनको लागि चौधरीलाई दुई लाख नगद दिएर सविनाको नाममा सारे ।
नागरिकता बनेपछि काम गर्न सजिलो भए पनि सामाजिक कामदेखि हरेक ठाउँमा गैरनेपालीको जस्तो व्यवहार खेपिरहेको उनी बताउँछिन् । उनले भनिन्–‘कुनै कामको लागि प्रमाण पेश गर्दा पटक–पटक सोधछन्, नक्कली हो कि ? भनेर आशंका गर्ने हेराइले हेर्छन् ।
त्यस्तै, पशुपति टोलकै ४३ वर्षिय अहमद अमिर खानले २०६३ सालको टोलीबाट नागरिकता पाए । नागरिकता नपाउनेको जस्तै व्यवहार खेप्दै आएको दुखेसो उनले सुनाए ।
मलिन मुहार लगाउँदै अमिरले भने–‘सरकारले मुस्लिम समुदायलाई नागरिकता नदिएर जति हेपे पनि हामी सहेर बसेका छौं, तर नागरिकता पाएकाहरुलाई पनि हेप्न छोडेका छैनन्’, उनले भने–‘कुनै सरकारी कामकाजको लागि होस् या अन्य कामको लागि पहिलो कुरा नागरिकता हेर्न माग्छन् ।
तर हामीलाई भारतीयको संज्ञा दिएर हाम्रो नागरिकता हेर्छन् । हामी संगै भएका गैरमुस्लिमलाई आशंका गरिन्न । यस्तो व्यवहारले आफूलाई विभेद भएको महसुस हुन्छ । नागरिकता पाएको अपनत्व नै हुदैन ।’
मुस्लिम समुदायका पछिल्लो पुस्ताले घरमा नभई अस्पतालमा प्रसुती गराउदै आएका छन् । बच्चाको जन्म दर्ता गर्न सजिलो होस भनेर पनि उनीहरु अस्पतालमा बच्चा जन्माउँछन् । तर जन्माएको बच्चाहरुको जन्म दर्ता गर्न जाँदा आशंकाको नजरमा पर्दै आएको उनीहरु बताउँछन् । जसले गर्दा आफुहरु आफ्नो पक्षमा बोल्ने कोही छैन, भन्ने आभास हुँदै आएको दुखेसो सुनाउँछन् ।
धनगढी उप–महानगरपालिकाकी वडा सचिव कमला चन्दले बच्चाको जन्म दर्ता गराउँन आमा बुवाको पहिचान चाहिने भएकोले आमा बुवाको नागरिकता नभएको बच्चाको जन्म दर्ता बनाउन नसकिने बताइन् ।
उनी भन्छिन्–‘उनीहरुसंग नेपाली नागरिकता हुँदैन । अस्पतालको कागज देखाएर मात्रै जन्मदर्ता बन्दैन । उनीहरुले पुस्तौदेखि बसोबास गरेको भन्दै कसरी विश्वास गर्ने । उनीहरु भारतीय पनि हुन सक्छन् । तर बच्चा जन्मेको ३५ दिन भित्रै अस्पतालको कागज लिएर आएमा जन्मदर्ता बन्न सक्ने बताइन् ।
कैलालीको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेपालमा बसोबास गरेर मात्रै नागरिकता नपाउने बताए । प्रमाण हेरेर जन्मको आधारमा वा बैवाहिक अंगिकृत नागरिकता दिने कानून बनेपनि पछिल्लो अवस्थामा जन्मको आधारमा नागरिकता दिनबाट सरकारले रोक लगाएको बताए ।
यहाँको भन्दा प्रदेश नं. २ मा यो समस्या बिकराल रहेको बताए । २०६३ सालमा जन्मको आधारमा नागरिकता दिने अस्थायी व्यवस्था आइएको थियो । सो समयमा बनाउन छुटेकाहरु समस्यामा परेका उनको तर्क छ ।
‘करोड खर्चेर जमिन किन्छन्, नामसारी मेरो नाममा’
२०३८ सालमा महोत्तरीबाट बसाईसराई गरी धनगढी नगरपालिका–२ चौराहा बस्दै आएका ताहि अन्सारीले अरुको ५ करोड बराबरको सम्पत्ति जिम्मा लिएको बताए ।
उनले मुस्लिम समुदायका अधिकांशसँग नागरिकता नभएको कारण धेरैले आफूलाई विश्वास गरेर सम्पत्ति नामसारी गर्न आग्रह गरेपछि उनीहरुको सम्पत्तिको संरक्षण गरिरहेको बताए ।
‘पहिला धेरैले नगद पनि जिम्मा लगाएका थिए तर आजभोलि जमिन मात्रै जिम्मा लिएको छु’, उनले भने–‘धनगढीमा बस्नको लागि करोडौ रकम खर्चेर जमिन किन्छन्, नामसारी भने मेरो नाममा हुन्छ ।’
५ जनाको जग्गा आफ्नो नाममा रहेको सुनाउदै उनले भने–‘उहाँहरु नागरिकता पाएपछि त्यो सम्पत्ति फिर्ता गरी दिन्छु ‘अल्लाह ने छिटो नागरिकता दिलाई दिए म पनि यो बोझबाट मुक्त हुन्थे ।’
धनगढीमा साइकल मर्मत पसल सञ्चालन गर्दै आएको उनलाई सरकारले सम्पत्तिमाथि छानबिन गरे गैरकानूनी देखिन्छु कि ? भन्ने डरले पिरोल्दै आएको छ ।