बीपीलाई समाएपछि कर्णेलले सोधे, तिमी को हौं ?



 

काठमाडौंको तापक्रम निरन्तर ओरालो झरिरहेको थियो । २००५ सालको कुरा हो, कालो चस्मा लगाएका बिपीलाई हिजो देख्यौं, आज देख्यौं भन्ने रिपोर्ट प्रधानमन्त्री मोहन शमशेरसम्म पुगिरहेका थिए । चाकरीदार आफ्ना भारदार र जासुसमार्फत प्राप्त रिपोर्टबाट आक्रोशित प्रधानमन्त्रीले बिपीलाई पक्राउ गर्न पुलिस विभागको जिम्मेवारी पाएका छोरा विजयमाथि दबाब बढाइरहेका थिए ।

 

विजय भने बिपीलाई तत्कालै समाइहाल्ने पक्षमा थिएनन् । उनको निकट रहेर काम गरेका प्रशासक भीमबहादुर पाँडे लेख्छन्, ‘चाहेको भए विजयले बिपी उपत्यका छिरेको भोलिपल्टै उनलाई गिरफ्तार गर्न सक्थे (पाँडे, २०४५ :९७) ।’

 

‘दरबार स्कुलनजिकै कमलाक्षीको एक पुलिस सूचीकारबाट बिपीका हरेक गतिविधिको रिपोर्ट मेजर जनरल विजयशमशेरकहाँ पुग्थ्यो । तर पनि उनलाई समाउन चाहेका थिएनन् विजयले । बिपीलाई नसमाएको भन्दै बाबु मोहन रिसाएपछि मात्र आठपहरिया पठाएर ज्याठास्थित त्रिरत्न मानन्धरको घरमा रहेका बिपीलाई पक्रने आदेश उनले जारी गरे ।

 

त्यो दिन भोटो, सुरुवाल लगाएर मोटो च्यादर ओढेका बिपी गोप्य ढङ्गले सङ्गठन विस्तार र आन्दोलनका विषयमा छलफल गरिरहेका थिए । कर्नेल चन्द्रबहादुर थापाको कमान्डमा आठपहरियाले उनी बसेको घर घेरा हाले ।

 

त्यति बेला कति त टोपी भुइँमा छाडेर सुइँकुच्चा ठोके । बिपीले भनेका छन्, ‘अब भाग्नुपर्‍यो भनेर घरमाथि उक्लिएँ । अर्को घरमा फाल हाल्ने सोच्दै थिएँ । त्यहाँ पनि छानाभरि प्रहरी तैनाथ रहेछन् (कोइराला, २०६७ : ८५) ।’ चारैतिरबाट घेरा हालिसकेका थिए । घरको छिँडीमै उनी प्रहरीको फन्दामा परे ।

केदारमान व्यथित प्रहरीको हातबाट उम्किए । बिपीसँगै, त्रिरत्न र गौरीभक्त प्रधान पक्राउ परे । ठूलो माछा फेला पर्‍यो भनेर प्रहरी पनि व्यथितलाई खोज्नतिर लागेन । कब्जामा लिइसक्दासमेत कर्नेल चन्द्रबहादुर पक्राउ परेका व्यक्ति बिपी नै हुन् भनेर आश्वस्त हुन सकिरहेका थिएनन् । र उनले सोधे, ‘तिमी को हौ ?’ बिपीले भने, ‘विश्वेश्वरप्रसाद कोइराला ।’ चन्द्रबहादुरले छक्क पर्दै फेरि सोधे, ‘के रे ? के ?’ कड्किएर उनी भन्न थाले, ‘चिनाउने मानिस पनि छन् । चिनौंला ।’

 

बिपी काठमाडौंमा रहेको सुइँको पाउनासाथ विराटनगरबाट उनलाई चिन्ने मान्छे बोलाइएको थियो । जति सक्यो चाँडो महाराजकहाँ उनलाई हाजिर गराउन चाहन्थे कर्नेल । बिपीसँगै पक्राउ परेका मानिसलाई हतकडी लगाइयो ।

 

उनलाई चाहिँ पटुकाले बाँधे । आफ्ना साथीहरूलाई हतकडी लगाएको देखेर बिपी भन्न थाले, ‘उनीहरूको के दोष ? म हुँ मुख्य नेता । उनीहरूलाई दुःख नदिनुस् । हतकडी लगाउनु छ भने मलाई लगाउनुस् ।’ चन्द्रबहादुर पनि कड्किए, ‘तिमीलाई महाराजकहाँ लिएर जान्छौं । जे हुकुम हुन्छ, त्यही हुन्छ । सीधै सिंहदरबार लगियो (कोइराला, २०६७  : ८९) ।’

 

बिपीले भनेका छन्, ‘म पक्राउ पर्दा मेरो खल्तीबाट मैले महाराज मोहनशमशेरलाई लेखेको चिठी उनीहरूले फेला पारे । साथै टङ्कप्रसादले लेखेका तीन ओटा चिठी र मेरो कार्ययोजना, छ महिनाको कार्यक्रम पनि फेला पारे (गिरि : १८) ।’ त्यति बेला एउटा कोट, भोटो, पातलो एकजोर मोजाबाहेक उनको शरीरमा तातो लुगा र खुट्टामा जुत्तासमेत थिएन ।

 

राति १० बजे सिंहदरबार मूल ढोकाबाट भित्र दक्षिणपट्टिको दाहिने गोलो एकतले पल्टन बस्ने घरको बीचतिरको कोठामा उनलाई पुर्‍याइयो, जहाँ लहरै मानिस सुतेका थिए । ‘पुसको महिना, काठमाडौंको मुटु कमाउने जाडो । हिउँजस्तो चिसो छिँडीमा नाङ्गै नेल र हतकडी लगाएर अमानवीय ढङ्गमा उनलाई त्यहाँ पुर्‍याइएको थियो (गौतम, २०५५ : २०२) ।’

 

ढुङ्गा छापेको सिमेन्टेड भुइँमै सुत भन्न थाल्यो प्रहरी । सयौं सिपाहीहरू त्यसैगरी भुइँमै लडेका थिए । त्यस घटनाबारे बिपीले भनेका छन्, ‘मलाई न बिछ्याउने दिएको छ, न ओढ्ने । तीन दिनसम्म खाली भुइँमा सुत्न बाध्य पारियो ।’ जाडोका कारण उनी काँपिरहन्थे । एक पटक त मूच्र्छा नै परे । बिपीले भनेका छन्, ‘म त्यहीँ मर्छु कि जस्तो लाग्थ्यो । मेरो दिमागले काम गर्नै छोड्यो, आफ्नो मानसिक सन्तुलन कायम राख्न म कहिले उठ्थें, कहिले बस्थें र कहिले कुक्रुक्क पर्ने गर्थें (चटर्जी, २०६३ : ८३) ।’

 

हतकडी र गोडामा नेल ठोकी कम्मरमा साङ्लो बाँधिएको थियो भने सैनिक गार्डले अहोरात्र पहरा दिइरहेको हुन्थ्यो । पहिलो दिन खाना पनि दिइएन । बन्दीलाई खाना दिने कि नदिने ? दिए के दिने भन्ने मामुली निर्णयका लागि समेत प्रधानमन्त्रीकै आदेश चाहिन्थ्यो । धर्मकर्ममा असाध्यै लगन भएका प्रधानमन्त्री मोहनशमशेर हरेक दिन बिहान १० बजेसम्म पूजामा बस्थे । प्रधानमन्त्रीको आदेश नआउँदा बिपीले खान पाएका थिएनन् ।

 

पूजा सकेर महाराजले आदेश सुनाए, ‘थुनुवालाई खाना दिनू ।’ त्यसपछि मात्र मूला, आलु, चिउरा र तारेको भटमास एउटा कागजमा राखेर बिपीको कोठाभित्र छिराइएको थियो । बिनाकपडा रात काटेपछि ओढ्नेओछ्याउने कपडा दिनुपर्‍यो, जाडोले मर्ने भएँ भने बिपीले । राणाका कर्मचारी भन्न थाले, ‘आफन्तकहाँबाट मगाऊ ।’

 

असह्य दुःख दिएर राखेपछि बिपीको सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ भन्ने राणाहरूको रणनीति थियो । तर बिपीले केही गर्दा पनि मुख खोलेनन् । उनी भन्ने गर्थे, ‘यहाँ मेरो कोही मानिस छैन । कोसँग मागौं ?’ थुनामा परेको तेस्रो दिन राति बिपी मूच्र्छा परे ।

 

‘उनको आँखाअगाडि एकैचोटि रातो, नीलो, पहेंलोको समिश्रण इन्द्रेणी आयो । त्यसपछि निष्पट्ट अन्धकारको एउटा झड्काले छोप्यो । उनी मूच्र्छा परे (गौतम, २०५५ : २०२) ।’ ब्युँझिँदा कसैले आगो बालिदिएको थियो । सेनाले लगाउने कोट ओढाइदिएको थियो । मूर्च्छा  पर्नुअघि आफूलाई थुनामा रहेको कोठाबाहिर पहरा दिइरहेका सिपाहीको ‘राइफल खोसी खुट्टाले ट्रिगर थिचेर आफैंलाई गोली हान्नेसम्मको सोचाइ उनमा आएको थियो (गौतम, २०५५ : २०२ र २०३) ।’

 

एक दिन रातको १०–११ बजेतिर ठूलो राडी बोकेर कराउँदै एउटा मान्छे बन्दीकक्षमा पुग्यो । ऊ भन्दै थियो, ‘महाराजको आदेश छ यो राडी थुनुवालाई दिनू ।’ अनि त्यही एउटै राडी ओछ्याउने र ओढ्ने गर्न थाले बिपी । इँटको तकिया बनाए ।

 

महाराजको आदेशमा नेल, हतकडी र कम्मरमा जन्जिर लगाइएको थियो । हुन त त्यसअघि भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा पनि उनी पक्राउ परेका थिए । विराटनगर मजदुर आन्दोलनका क्रममा पद्मशमशेरको बन्दी भएका उनलाई जेलमा त्यस तहको यातना दिएर बन्दीलाई राख्छन् भन्ने कल्पनासम्म थिएन । राणाहरू अङ्ग्रेजको तुलनामा कैयन् गुणा क्रूर थिए । बिपीले भनेका छन्, ‘नेल लगाउँदा ठोक्नुपथ्र्यो, एकदमै क्रूर र अमानवीय तवरले ।

 

अलिकति विचार पुर्‍याएन भने हथौडा चिप्लिएर खुट्टामै बज्रिन्छ कि भन्ने डर हुन्थ्यो ।’ एक पटक हथौडाले हानेर नेल लगाउन लाग्दा ‘कौ’ (लोहार) को हात चिप्लिएर नेल अड्याएको ढुङ्गामा लाग्यो । बिपीले भनेका छन्, ‘त्यहाँ बसेको अफिसरले ‘कौ’ लाई हप्कायो, ‘ए, उसको खुट्टाको हाड फुट्यो भने त जोडिन्छ ।

 

अब तँ दिन्छस् त्यो ढुङ्गाको पैसा (कोइराला, २०६७ : ९०) ।’ नेलबाट केही समयका लागि भए पनि मुक्ति पाउने उपाय निकाल्दै बिपीले महाराजकहाँ खबर पठाए, ‘बाहुन हुँ । दिनहुँ ननुहाई म खान सक्दिनँ ।’ अनि महाराज मोहनको आदेशमा उनलाई नुहाउने अनुमति प्राप्त भयो । बिहान नुहाउनुअघि नेल खोलिन्थ्यो, नुहाइसकेपछि फेरि ठोकिन्थ्यो ।

 

थुनामा राखेको १५ दिनपछि उनलाई अदालतमा हाजिर गराइयो । सिंहदरबारभित्र ग्यालरी हाउस (संसद् भवन) नजिक काठेघरको एउटा कोठामा सफा मेच र कार्पेट राखी अदालतको रूप दिइएको थियो । मुख्य न्यायाधीश हरिशमशेर (राजा महेन्द्रका ससुरा) सहित अरू १०–१५ न्यायाधीश र दुईजना सहायक थिए । ‘गणेशमानका बाजे रत्नमान र प्रहरी प्रमुख पनि इजलासमा थिए (चटर्जी, २०६३ : ८४) ।’ उनीहरू कुन हैसियतमा त्यहाँ थिए भन्ने थाहा नभएको बिपीले उल्लेख गरेका छन् । एक जना कानुन विषयका ज्ञाता र अर्का गुरूज्यू पनि इजलासमा थिए ।

 

काठमाडौंमा क्रियाशील सहयोगी र सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ कि भन्ने उद्देश्यले अत्यन्त अमानवीय रुपले आफूलाई खाली भुइँमा सुत्न बाध्य पारिएको तथ्य बिपीले इजलास पुगेपछि मात्र थाहा पाए । थुनामा परेको दुई सातासम्म उनको खोजखबरका लागि कोही आएन ।

 

बयानको सुरूमै नेपाल आएपछि उनी लुकिछिपी बसेको ठाउँबारे सोधियो । बिपीको जवाफ थियो, ‘मैले त्यो कुरा कसैलाई नभन्ने कसम ईश्वरसँग खाएको छु । त्यसैले तपाईं मानिसहरूसँग म त्यो कसम तोड्न सक्दिनँ ।’ सूचना चुहाउन सकिन्छ कि भनेर सात दिनसम्म हरिशमशेरको इजलासमा उनलाई केरकार गरियो । तर बिपीले कुनै कुरा खोलेनन् । अनी कोर्रा लगाउने डर देखाइयो ।

 

तिम्रो नाम : विश्वेश्वरप्रसाद कोइराला ।
पिताजीको नाम : कृष्णप्रसाद कोइराला
घर : विराटनगर
तिमी यहाँ राजकाज उडाउन आएका होइनौ ?
बिपी : हामीले राज्य ताकेको होइन, नागरिक अधिकार खोजेको हो । वैधानिक र उत्तरदायी शासन खोजेको हो ।

 

हरिशमशेर : कोको छन् तिम्रा मतियार बताऊ ?
बिपी : सारा कुरा बताउँछु । तर त्यो बताउन सक्दिनँ । मैले भगवान्‌को नाममा प्रतिज्ञा गरेको छु । तपाईंका अगाडि आफ्नो त्यो प्रतिज्ञा तोड्न सक्दिनँ । बिपीको जबाफ सुनेपछि न्यायाधीश जर्नेल हरिशमशेरमा क्रोधको ज्वाला उत्पन्न भयो । इजलासमै रहेका गुरुतिर फर्केर उनले भने, ‘के गर्ने गुरू ? ल भन्नुस् त । बाहुनको छोरालाई केही गर्न नमिल्ने ।’ फेरि हरि शमशेरले थपे, ‘ल ठीक छ, आजलाई भैहाल्यो, अब  नमाने कोर्रा लगाउनुपर्ला ।’

 

बिपीपुत्र शशाङ्क सम्झन्छन्, ‘एकपटकको दसैंमा मैले बाबालाई कपडा किनिदिन निकै कर गरें । उहाँले सोध्नुभयो, ‘तँसँग कति ओटा सर्टपाइन्ट छन् ?’ मैले जबाफ दिएँ, ‘ त्यही पाँच/छ जोर ।’ बाबाले फेरि सोध्नुभयो, ‘एक पटकमा तँ कति जोर कपडा लाउँछस् ।’
शशाङ्क : एक जोर ।
बिपी : बाँकी के गर्छस् ?
शशाङ्क : दराजमा राख्छु ।
बिपी : जा बजारमा गएर हेर् । दराजमा राखिएका सबै कपडा मेरा हुन् भन्ने ठान्, आखिर लाउने त एक जोर न हो ।

 

बिपीले ठाने अब कोर्रा त लाउने नै भए । मानसिक रुपले यातना सहन तयार भए उनी । गोप्यता भङ्ग गर्दिनँ भन्ने प्रतिज्ञा गरे । बिपीले भनेका छन्, ‘कोर्रा लगाउँदा मुठ्ठी कस्छु । दाँत किटेर सहन्छु । बेहोस भएपछि त थाहै हुँदैन ।’ बाल्यकालमा बनारसमा भएको घटना सम्झिए, ‘अकस्मात् २४ घन्टाभित्र अपरेसन गर्नुपर्ने भयो । एनेस्थेसिया दिन ७५ रुपैयाँ थिएन । बेहोस बनाउने औषधिबिनै अपरेसन गरियो ।

त्यो बेला जसरी सहें, त्यही उपाय लगाउँछु ।’ अनि आमा दिव्याले सम्झाएको र हजुरआमाले मेरो नाति बहादुर छ भनेको सम्झिए । अपरेसन गरेर फर्किंदा डाक्टरले भनेको सम्झिए, ‘यो जस्तो साहसी बालक मैले देखेको थिइनँ (कोइराला २०६७ : ५२) ।’ त्यति बेला पैसाको अभावमा पीडा सहनुपरेको थियो, यतिखेर राणाशासकको क्रूरताका अगाडि केही नलागेर ।
भोलिपल्ट पुनः केरकारका लागि उनलाई इजलासमा हाजिर गराइयो ।

 

हरिशमशेर : ठीक छ । सजिलै नबके कोर्रा लगाउनुपर्ला ।
बिपी : कोर्रा लगाउनुस् वा जे गर्नुस् । भगवान्लाई साक्षी राखेर गरेको प्रतिज्ञा म तोड्न सक्दिनँ ।
जतिसुकै तर्साउँदा पनि केही नलागेपछि बिपीलाई जेल पठाउने आदेश भयो । तर कति समय थुनामा राख्ने भन्ने खुलाइएन ।

यता कोइराला परिवारका सदस्य सबै सत्ताको कोपभाजन भएका थिए । दुई छाक खान धौधौ थियो । प्रवास बस्दाको घटनाबारे बिपीले भनेका छन्, ‘बिहान हामी सबै आँगनमा जान्थ्यौं । आमाले भिजाएर टुसा उम्रेको चना र ताडीको झोल नास्ताका रुपमा खान दिनुहुन्थ्यो (चटर्जी, २०६३ : ६२) ।’

भारतका विभिन्न सहरमा भौंतारिँदै सहर्सा (बिहार) टेढी पुगेपछि मात्र उनीहरूले पौष्टिक आहार पाएका थिए । बिपी आफैंले टेढी पुगेपछि मात्र दूध र घिउ खान पाइएको उल्लेख गरेका छन् । भारत प्रवासमै हुँदा कुपोषणबाट बिपीका एक भाइको मृत्यु भयो ।

अन्तिम संस्कारका लागि कात्रो किन्ने पैसासमेत थिएन । स्कुल पढ्ने बेलासम्म पनि बिपीको खुट्टामा न एक जोर जुत्ता हुन्थ्यो, न फेर्ने कपडा नै । उनले आफैं भनेका छन्, ‘मैले जे लगाएको थिएँ, मसँग त्यति मात्रै थियो (चटर्जी, २०६३ : ६२) ।’ चरम कष्ट र अभाव भोग्नुपरेका कारण पनि उनले बाँचुन्जेल सादगीपूर्ण जीवन यापन गरे । परिवारका सदस्य र कार्यकर्तालाई सादगीका साथ जिउन प्रोत्साहित गरिरहे ।

बिपीपुत्र शशाङ्क सम्झन्छन्, ‘एकपटकको दसैंमा मैले बाबालाई कपडा किनिदिन निकै कर गरें । उहाँले सोध्नुभयो, ‘तँसँग कति ओटा सर्टपाइन्ट छन् ?’ मैले जबाफ दिएँ, ‘ त्यही पाँच/छ जोर ।’ बाबाले फेरि सोध्नुभयो, ‘एक पटकमा तँ कति जोर कपडा लाउँछस् ।’

शशाङ्क : एक जोर ।
बिपी : बाँकी के गर्छस् ?
शशाङ्क : दराजमा राख्छु ।
बिपी : जा बजारमा गएर हेर् । दराजमा राखिएका सबै कपडा मेरा हुन् भन्ने ठान्, आखिर लाउने त एक जोर न हो ।

 

त्यही दिन उनले कान्छा छोरालाई सम्झाउँदै भनेका थिए, ‘बनारसमा पढ्दा मसँग एक जोर कपडा मात्र थियो । जिउको कपडा मैलो भएपछि गङ्गाजीमा गएर धुन्थें र सुकेपछि लाएर हिँड्थें । लगाएको कमिज झुत्रो भएपछि मात्र खादीको पसलबाट अर्को तयारी कमिज किन्थें, १० आनामा ।’ बिपी छोराछोरीलाई सम्झाउँदै भन्ने गर्थे, ‘तिमीहरू त राजकुमार जस्ता छौ । दुःख
कस्तो हुन्छ थाहा छ ?’

 

त्यति बेलाको नेपाली समाजबारे गणेशमान सिंहले लेखेका छन्, ‘एक प्रतिशत जागिरदार र व्यापारीबाहेक ९९ प्रतिशत खेतीकिसानी, दुःखजिलो गरेर गुजारा गर्दथे । त्यो एक प्रतिशतचाहिँ दरबारको ढोकाढोकामा पुगेर चाकरी पुर्‍याउँथ्यो र आफूमुनिकालाई चाकरी गराएर प्रतिष्ठा आर्जन गरेको ढोङ गर्दथ्यो (सिंह, २०६७ : १) ।’

 

राणाको चाकडी गरेर मानप्रतिष्ठा आर्जन गर्ने, नोकरी र व्यापारमा उन्नति गर्ने नेपाली चन्द्र शमशेरको कोपभाजनमा परी देशनिकाला गरिएका कोइरालाहरूसँग सम्बन्ध बढाउनु त परै जाओस्, उनीहरूको छायासमेत नपरोस् भन्ने चाहन्थे । कृष्णप्रसाद र उनको परिवारका सदस्यलाई भेट्दा राणाबाट ‘राजद्रोही’सरह सजाय पाउने त्रास व्याप्त थियो ।

 

धर्मकर्मका लागि काशी पुग्ने नेपाली हुन् वा व्यापारका लागि कलकत्ता जानेहरू, राणाको छात्रवृत्तिमा पढ्न गएका विद्यार्थी हुन् वा पढेर राणाको चाकरीबिना जागिर खान पाइँदैन भन्ने मानसिकता बोकेका बुद्धिजीवी, सबै कोइराला परिवारसँग तर्सिन्थे । इष्टमित्र र आफन्तहरूसमेत भित्ताले समेत सुनि पो हाल्छ कि भन्ठानेर डराउँदै गोप्य तवरबाट भेट गर्थे । जतिसुकै पढेर आए पनि जागिर पाउन राणा प्रधानमन्त्रीलाई दाम राखेर दर्शन गर्नुपथ्र्यो । ‘जागिर दिने कुरा सबै प्रधानमन्त्रीको इच्छा र स्वविवेकमा भर पर्थ्यो

(पाँडे, २०६१ : १४०) ।’ बिपीले भनेका छन्, ‘म त्यस्तो खुलमखुला विद्रोही परिवारको सदस्य थिएँ, जोसँग संसर्गमा रहँदा दरबारका आशामुखीहरूलाई जोखिम थियो (कोइराला, २०६० : १४०) ।’

(शुक्रबार दिउँसो १ बजे विमोचन गर्न लागिएको पत्रकार जगत नेपालद्वारा लिखित ‘बिपीको विद्रोह’ पुस्तकको एक अंश)

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्