सरकारले लिएको निर्णयमा राष्ट्रप्रमुखको यति धेरै अपमान किन ?
कुनै पनि साधन आफैँमा दोषी हुँदैनन् । बन्दुकले रक्षात्मक भूमिका पनि निर्वाह गर्छ र आकाशमा विचरण गर्ने निर्दोष पक्षीको सिकार पनि गर्छ । फूलको रस भँवराले पिएर बिष्टा बनाउँछ र माहुरीले त्यही रसमा माधुर्य थपेर निसृत गर्छ । यसर्थमा कुनै पनि साधनको प्रयोग–उपयोगद्वारा कस्तो परिणाम निकाल्ने भन्ने कुरा प्रयोगकर्ताको क्षमता र नियतमा भरपर्छ भन्न सकिन्छ ।
नेपालमा कुनै समय राणाहरूको पारिवारिक शासन थियो, शासन व्यवस्थालाई युगानुकूल परिवर्तन गरी कानुनी राजको स्थापना गरिनु शतप्रतिशत सही थियो । तर, प्रजातन्त्र स्थापना (वि.सं. २००७) पछिको दशक उपलब्धिहीन रहेको यथार्थलाई इतिहासले स्वीकार गरेको छ ।
जननिर्वाचित सरकारलाई अपदस्थ गरी राजाको हुकुमी शासन (२०१७) शुरु हुनु स्वीकार्य थिएन, तर अस्वीकार्य साधनमार्फत राजा महेन्द्रले मुलुकलाई पुऱ्याएको योगदानचाहिँ नेपालीका निम्ति अस्वीकार्य कदापि हुन सक्दैन ।
संसारमा कुन राजनीतिक साधन समृद्धिका निम्ति उपयोगी सिद्ध भएका छन् भन्ने विषयमा अनुसन्धान गर्ने हो भने समृद्धिमा प्रजातन्त्रले भन्दा निरङ्कुशताले योगदान पु¥याएको निष्कर्ष निस्कन सम्भव छ । युरोपको समृद्धिको जग प्रजातन्त्रले नभई निरङ्कुशताले बसाएको तथ्य युरोपकै इतिहासले स्पष्ट गरेको छ ।
कुनै समय चर्चहरूको निरङ्कुशता र एक समय राजा–महाराजा तथा अन्य प्रकारका तानाशाहहरूको निरङ्कुश शासनमा जे–जति कार्य भए त्यसैको जगमा आजको युरोप उभिएको हो । अमेरिकाको समृद्धिमा ‘अफ्रिकी दास’हरूको मुख्य योगदान रहेको छ । जञ्जिरमा बाँधेर ल्याइएका कालाहरूलाई अमानवीय ढङ्गले काममा जोताएर समृद्धिको जग राख्ने पश्चिमी व्यवहार निरङ्कुश थियो कि प्रजातान्त्रिक त्यो हामी स्वयम्ले समीक्षा गर्ने विषय हो ।
दक्षिण कोरिया, मलेसिया र सिङ्गापुरले निकै अल्पकालमा उपलब्धि हासिल गरेका हुन् र हामी तिनको निकै प्रशंसा पनि गर्ने गर्छौं । तर, यी मुलुक निर्माणको जगमा प्रजातन्त्र या प्रजातान्त्रिक व्यवहार र साधनको प्रयोग भएको थियो कि निरङ्कुशताको भन्ने विषयमा यहाँ चर्चा गरिरहनु नपर्ला ।
दक्षिण कोरियामा सेनाका जनरल पार्क चुङ हीले सत्ता हातमा लिएर विकास र समृद्धिको यात्रा शुरु गरेका थिए भने मलेसियाका मोहम्मद महाथीर र सिङ्गापुरका ली क्वान यूले प्रजातान्त्रिक आवरणमा निरङ्कुश व्यवहारबाट आफ्नो मुलुक निर्माणको जग राखेको तथ्य सबैमा अवगत नै छ । साधन सङ्घीय लोकतान्त्रिक गणतन्त्र अपनाएर पनि विश्वमा धेरै मुलुक गरिबका गरिब छन् । विश्वको सबैभन्दा गरिब मुलुक कङ्गोले अपनाएको पनि धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्र नै हो भन्ने यथार्थलाई हामीले भुल्नुहुँदैन ।
संसारको इतिहासले स्थापित गरेको तथ्यका आधारमा निस्कने निष्कर्ष भनेको उपलब्धि हासिल गर्न साधन नभई साधक अर्थात् प्रयोगकर्ता नै योग्य हुनुपर्छ भन्ने हो । यसर्थ नेपालमा प्रचण्डहरूले परायाशक्तिसँग सहकार्य गरेर भित्र्याएको धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति मोह राखिरहनुपर्ने अवस्था होइन । पछिल्लो समयमा गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि जुन ढङ्गले प्रहार भइरहेको छ यसले गणतन्त्रप्रति नै घृणा बढाउने काम गरेको छ भने पनि सच्चा नेपालीले मन दुखाइरहनु नपर्ला ।
तर, व्यक्तिगत रूपमा विद्या भण्डारीलाई अपमान गर्ने, उनको योगदान र व्यक्तित्वलाई होच्याउने जुन कर्म नियोजित रूपमा भइरहेको छ यसले चाहिँ हामी नेपाली सभ्य र परिपक्व हुन अझै केही शताब्दी प्रतीक्षा गर्नुपर्ने सङ्केत दिएको छ । गणतन्त्रमा राष्ट्रप्रमुख बन्ने व्यक्ति जोकोही हुन सक्छन् र सामान्य नागरिक भूमिकाकै मानिस उक्त जिम्मेवारीमा पुग्ने हुन् ।
नेपालमा गणतन्त्र घोषणा गरिएपछि अन्तरिक्षतिरबाट कुनै एलिएनलाई आमन्त्रण गरेर राष्ट्रप्रमुख बनाइने भन्ने कुरा पनि थिएन, हामीमध्येकै साधारण नागरिकले राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने हुन्थ्यो, अहिले सो पदीय हैसियतमा विद्या भण्डारी पुगेकी छिन् ।
वामपन्थी नेता मदन भण्डारीकी पत्नी बन्नुअघि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनले मदनको कार्यबोझ थपिँदै जाँदा आफूलाई एक समय घरभित्र सीमित गरेको भए पनि विद्या भण्डारी कुनै आर्जु राणाहरूझैँ वैवाहिक बाध्यताले प्रजातान्त्रिक प्वाँख धारण गर्नेमा पर्दिनन् ।
यदि गणतन्त्रलाई आत्मसात् गर्ने हो भने विद्या भण्डारी राष्ट्रप्रमुखका रूपमा गर्वका साथ स्वीकार गर्न सकिने नामभित्र पर्दछ । लामो समयदेखि सत्ता र सत्ताको वरिपरि भएर पनि भ्रष्टाचार तथा अनुचित क्रियाकलापमा उनको नाम मुछिएको छैन । शालीन तर विचार र सिद्धान्तमा अडिग उनको देशभक्ति र राष्ट्रवादमा शङ्का गर्ने ठाउँ पनि देखिँदैन ।
राष्ट्रप्रमुखका रूपमा विद्याले कुनै विवादास्पद कार्य गरेको पनि पाइएको छैन । राष्ट्रिय सभाका तीनजना सांसद नियुक्ति प्रकरणलाई सर्वोच्च न्यायालयले नै किनारा लगाइसकेपछि यस विषयमा टीका–टिप्पणी गरिरहनु उचित नहोला ।
कुनै टिप्पणीयोग्य गल्ती नभेटिएपछि कहिले राष्ट्रप्रमुखको आवागमन हुँदा र कहिले टीका त कहिले के विषयलाई लिएर अस्वाभाविक एवम् अमर्यादित टिप्पणी हुनुलाई कुनै अर्थमा पनि उचित मान्न सकिँदैन । राष्ट्रपतिले मेरो कार्यालय या निवास परिसर फराकिलो तुल्याइयोस् या मलाई करोडौँ मूल्य पर्ने विलासी कार उपलब्ध गराइयोस् भनी मौखिक या लिखित माग गरेको भए त्यसमाथि प्रश्न उठ्नु स्वाभाविक मान्न सकिन्थ्यो ।
राष्ट्रपति अधिकारविहीन भएको र सरकारले राष्ट्रप्रमुख संस्थालाई प्रभावकारी तुल्याउन भन्दै अनेक निर्णय लिएको बुझ्दाबुझ्दै पनि विद्या भण्डारीमाथि निर्मम प्रहार किन हुँदै छ, यो आफैँमा एक जटिल प्रश्न हो ।
गत दशैँमा राष्ट्रप्रमुखका हैसियतमा उनले टीका कार्यक्रम राखिन्, यो हाम्रो धर्म, परम्परा, सभ्यता र संस्कृतिअनुरूप व्यवहार थियो । राष्ट्रपतिद्वारा टीकाको कार्यक्रम नराखिएको भए वामपन्थी पृष्ठभूमिकी विद्याले हाम्रो सांस्कृतिक पहिचानको उपेक्षा, अपमान या तिरस्कार गरेको भन्न सकिन्थ्यो ।
यदि उनले टीका लगाउने कार्यक्रम नराखेको भए ‘लौ विद्या भण्डारीले इसाई इसारामा दशैँको अपमान गरिन्’ भन्दै सामाजिक सञ्जाल भरिन सक्थ्यो । टीका थाप्ने व्यक्तिले कुर्सी नपाएको विषयलाई यसरी उचालियो कि मानौँ यो देशको मुख्य समस्या नै यही हो र राष्ट्रपतिले दशैँको टीका लगाइदिँदा कुर्सी नराखिदिएकै कारणले देश पछाडि परेको भन्ने स्तरमा मुद्दा बनाइयो । राष्ट्रप्रमुखको आवागमनका क्रममा केहीबेर आइपर्ने असुविधा हाम्रा लागि सैह्य हुने गर्दैन ।
कुनै लक्ष्मणसिंह खड्का नै राष्ट्रपति बनेछन् भने पनि राष्ट्रप्रमुखका रूपमा तिनलाई दिइने सम्मानको तरिका बेग्लै हुन्छ । टाढा जानु पर्दैन, छिमेकी मित्रराष्ट्र भारत र चीनका राष्ट्रपतिहरूलाई राज्यले कुन स्तरको सम्मान दिएका छन् र, तिनलाई कसरी ‘ट्रिट’ गरिन्छ भन्ने हेरियो भने राष्ट्रप्रमुखप्रति कस्तो व्यवहार गरिनुपर्छ भन्ने ज्ञान प्राप्त हुन सक्छ ।
हिजो राजालाई पनि राष्ट्रप्रमुखका रूपमा सम्मान दिइएको हो, अहिले राष्ट्रपति राष्ट्रप्रमुखको हैसियतमा रहँदा पनि सोही स्तरको सम्मान दिइएको छ र भोलि राजसंस्था पुनस्र्थापित भएमा राजालाई दिइने सम्मान फेरि पनि यही स्तरको हुने हो । विश्वमा राज्यहरू अस्तित्वमा रहिन्जेल राष्ट्रप्रमुख भन्ने पद रहने र राष्ट्रप्रमुखलाई सर्वाधिक उच्च सम्मान प्राप्त भइरहने निश्चित छ ।
यतिबेला नेपाललाई उपलब्ध राष्ट्रप्रमुख वामपन्थी पृष्ठभूमिकी भएर पनि उनमा आध्यात्मिक र धार्मिक प्रवृत्तिको प्रचुरता देखिन्छ । देशको मौलिक सांस्कृतिक परम्पराप्रति पनि उनी अत्यन्त संवेदनशील देखिन्छिन् ।
शालीनता त उनको विशिष्ट पहिचान भइ नै हाल्यो, कर्मले उनलाई स्वच्छ छविकी नेतृको रूपमा स्थापित गरिदिएको छ । आर्जु राणा, हिसिला यमी र सुजाता कोइरालाहरूले अवसर पाउँदा के गरे र सत्ताको आसपास रहेर पनि विद्याले आफूलाई कुकर्महरूबाट कसरी सुरक्षित राखिन् त्यो समीक्षा या सम्मानको विषय होइन र ?
सरकारले राष्ट्रपति परिसरलाई फराकिलो बनाउने या राष्ट्रप्रमुखका निम्ति महँगा गाडी खरिद गर्ने निर्णय जुन गऱ्यो यसको औचित्यमाथि प्रश्न उठाउन या बहस गर्न आवश्यक छ । यसप्रकारका निर्णयहरू लिनैपर्ने हो भने सरकारले सबैभन्दा पहिलो औचित्य पुष्टि गर्न सक्नुपर्दथ्यो । गल्ती सरकारले गर्ने तर गालीचाहिँ राष्ट्रपति विद्या भण्डारीले व्यहोर्नुपर्ने जुन स्थिति देखापरेको छ यसले पनि सरकारको कार्यपद्धति ठीक नभएको सङ्केत गर्दछ ।
हुन त विद्या भण्डारीप्रति माओवादीहरू अलिक पूर्वाग्रही रहेकोले पनि उनलाई लक्षित गरेर नकारात्मक टिप्पणी भएका हुन सक्छन् । जतिबेला नेपाली सेना संरक्षकविहीनझैँ बन्न पुगेको थियो र माओवादीका नेताहरू राष्ट्रिय सेनालाई तथानाम गाली गर्दै सैन्य सङ्गठनभित्र पार्टीका निम्ति लडेको भनिएका दशौँ हजार गुरिल्लाहरू घुसाउन प्रयासरत थिए, त्यतिबेला
रक्षामन्त्रीका रूपमा देश र सेनाका पक्षमा दृढतापूर्वक उभिने हिम्मत यिनै विद्याले गरेकी हुन् । विद्याले लिएको अडानकै कारण सेनाभित्र ठूलो सङ्ख्यामा गुरिल्ला घुसाएर कालान्तरमा सत्ता कब्जा गर्ने कसैको योजना असफल हुन पुगेको हो ।
विद्या भण्डारीले धार्मिक, आध्यात्मिक एवम् सांस्कृतिक व्यवहार गर्दा पनि उनको आलोचना हुने र सरकारले लिएको निर्णयमा समेत उनैलाई लक्षित गरेर प्रहार हुनुले माओवादीका तिनै ठेट्नाहरू गाली भूमिकामा विशेष सक्रिय भएका त होइनन् भन्ने आशङ्का पनि जन्माएको छ । राष्ट्रप्रमुखलाई दिइने सम्मानप्रति सकारात्मक बन्न सकिँदैन भने पनि व्यक्ति विद्या भण्डारीलाई गाली–बेइज्जती गर्ने काममा समय खर्च नगर्नु सबैका निम्ति हितकर हुने देखिन्छ ।
घटना र विचारबाट