सत्तामा पुगेपछि किन बदलिन्छ मान्छे ?



 

सगरमाथको शिखरमा क्षणभरकै लागि रहँदा पनि मानिस त्यसको आधार शिविर स्मरण गर्दैनन् । शिखरमा पाइला राख्ने इच्छा पूरा नभइन्जेल मानिसहरू पटक–पटक आधार शिविरको याद गरिरहन्छन् र, अप्ठयारो परेपछि फर्किएर बास बस्न जाने सुरक्षित स्थानका रूपमा दिल–दिमागमा आधार शिविरलाई राख्छन् । तर, प्रिय आधार शिविरको स्मरण शिखरमा पाइलो अडियुन्जेल कसैले पनि गर्दैन, शिखरमा पुग्नुको खुसी र त्यहाँ रहँदाको आनन्दमै भुल्ने गर्छन् आरोहीहरू ।

 

सत्ताको शिखर पनि त्यस्तै हो, शिखरमा नपुगुन्जेल आधार (जनता) को याद, पुगिसकेपछि भेटिने र देखिने अर्कै । वास्तवमा कोही पनि साधारण मानिस सत्तामा पुगिसकेपछि मुहार चर्मको तेज बढ्नु, केही मांस थपिनु र तिनको स्फूर्तिसम्म बढ्नुलाई स्वाभाविक मान्न सकिए पनि बिस्तारै तिनको हाव–भाव, व्यवहार, सोच, शैली र दृष्टिकोणसमेत किन बदलिने गर्दछ, यो अवश्य अनुसन्धानको विषय हुन सक्छ ।

 

‘सत्ता राजनीतिलाई नै आफ्नो जीवनशैली बनाउँदै आउनुभएका तपाईंको राजनीतिक जीवनले सदाका लागि विश्राम लिएको छ, यतिबेला तपाईं आफ्नो विगत र भविष्यका बारेमा के सोच्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा विष्टले भनेका थिए– ‘त्यस्तो अनौठो र अस्वाभाविक केही लागेको छैन, राजनीतिमा उतारचढाव आइरहन्छन्, तर मलाई विगत सम्झेर एउटा कुराचाहिँ आश्चर्य लागिरहेको छ, त्यो के भने जतिबेला प्रधानमन्त्री बनेको थिइनँ, त्यसबेला देश र जनताको समस्या म छर्लङ्गै देख्थँे–बुझ्थेँ ।

 

फलानो प्रधानमन्त्री भएर यति काम पनि गर्न सकेन भनेर टीका–टिप्पणीसमेत मबाट हुन्थ्यो र आफू कुनै दिन प्रधानमन्त्री बने भनेँ यी–यी कामहरू तत्कालै गरेर अघि बढ्छु भन्ने लाग्थ्यो ।

 

नभन्दै एक दिन प्रधानमन्त्री बनेँ, अनि मैले पहिल्यैदेखि देखेको समस्या समाधान गर्नका निम्ति तत्परता लिएँ । मैले चासो राखेका विषय सन्दर्भमा भइरहेका कार्यबारे कर्मचारीहरूले विस्तृत विवरण पेस गरे । मलाई लाग्यो– प्रयास त ठीकै ढङ्गले भइरहेको रहेछ । बेलाबखत के भइरहेको छ भनेर प्रश्न राख्ने र उनीहरूले कार्य प्रगति विवरण बुझाउने क्रम पनि जारी थियो । त्यसरी कार्य प्रगतिको विवरण सुन्दासुन्दै एक दिन मैले पदबाट हट्नुपर्ने अवस्था आयो ।

 

प्रधानमन्त्रीबाट सामान्य व्यक्तिमा रूपान्तरित भएँ । त्यसपछि यसो हेर्छु त समस्या जहाँँको त्यहीँ ! अनि मन बनाएँ– अब अर्कोपटक प्रधानमन्त्री बनेँ भनेँ यस्तो अवस्था रहन दिइने छैन । परिणाम नै देखिनेगरी केही गर्नेछु, अठोट गरँे मैले । केही वर्षको अन्तरालमा मलाई पुनः प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो, पद सम्हालेकै दिनदेखि अलिक कडाइका साथ लागिपरेँ । कर्मचारीहरूले पनि कार्य प्रगति विवरण पेस गर्न थाले, यसपटक पहिलेभन्दा म अलिक बढी नै सचेत र विश्वस्त भएँ ।

 

कार्य प्रगति भइरहेका विवरण कर्मचारी तथा मातहतका निकायहरूबाट प्राप्त भइरहँदा लाग्यो– यसरी पो काम हुनुपर्छ त ! यसरी कामहरू हुँदै थिए, अचानक मैले प्रधानमन्त्री पद त्याग्नुपर्ने अवस्था आयो र म बाहिरिएँ । पदबाट बाहिरिएको भोलिपल्टै मलाई वास्तवमा काम त केही पनि नभएको, समस्याहरू जस्ताको त्यस्तै रहेको महसुस भयो ।

 

म पटकपटक प्रधानमन्त्री भएँ, हरेकपटक बाहिर रहँदा समस्या देख्ने र सत्तामा पुगेपछि सब ठीकठाक चलिरहेको अवस्था मैले पाएँ । यस्तो किन र कसरी भएको हो, यो एउटै कुरा मेरा निम्ति आश्चर्यको विषय बनेको छ । यसबाहेक अरू आश्चर्य या चिन्ताजनक ठान्नुपर्ने खासै कुनै अनुभूति ममा छैनन् ।

 

कीर्तिनिधि विष्टले २०४७ सालतिर सुनाएको यो अनुभव हामीले वर्तमानमा व्यहोरिरहेका राजनीतिजीवीहरूले गरेका छन् या छैनन्, यो उनीहरूकै सोच र शैलीमा निर्भर रहला । तर, हाम्रा लागि कीर्तिनिधिको ‘यस्तो’ अनुभव अध्ययन–अनुसन्धानकै विषय बन्न पुगेको छ ।

 

वास्तवमा कुनै पनि मानिसको सोच–व्यवहार सत्तामा पुगेपछि किन बदलिन्छ ? पदीय उचाइमा पुगेका बेला किन उनीहरू धरातलीय यथार्थ देख्दैनन्–बुझ्दैनन् ? र, सत्ताबाट बाहिरिएपछि तिनै व्यक्ति हामीजस्तै तथ्यबोध गर्ने अवस्थामा कसरी आइपुग्छन् भन्नेजस्ता प्रश्नहरूमा विचरण गर्न यहाँ सान्दर्भिक र उचित ठानिएको छ । यो प्राकृतिक नियम हो कि धेरै माथि पुगेपछि ‘तल’ देखिँदैन–भेटिँदैन । माथि पुगेर पनि तल देख्न–भेट्न सक्नु भनेको विशिष्ट अवस्था हो, अद्भूत क्षमताका मानिसबाट मात्र यो सम्भव हुन सक्छ ।

 

क्षमता र आत्मविश्वास जसको जति कमजोर हुन्छ त्यस्ता मानिसमा पदप्राप्तिको चाहना ज्यादा हुने गर्दछ । आफैँमा क्षमतावान, प्रतिभाशाली, प्रभावशाली, योग्य र आत्मविश्वासी मानिसले जीवन निर्वाहका साधन जे बनाए पनि पदरहित अवस्थामै आफूलाई पूर्ण ठान्दछन् । तर, साधारण तहका मानिस पदले आफ्नो उचाइ बढाउने विश्वास राख्दछन् ।

 

खासगरी राजनीतिक क्षेत्रमा पद लिएर अग्लो देखिन खोज्नेहरूको बाहुल्य रहन्छ । पद प्राप्तिको लागि सङ्घर्ष र अनेक तिकडम गर्ने, पद पाइसकेपछि पदमा रहिरहन जेसुकै हथकण्ठा अपनाउन नहिच्किचाउने र पद गुमेपछि पुनः पद प्राप्तिकै लागि मरिहत्ते गर्ने ती हुन् जो वास्तवमा अति साधारण कोटिका मानिसमध्ये पर्दछन् ।

 

भारतीय राजनीतिमा प्रधानमन्त्रीको पद धारणा गरेर अग्लिएको ठान्ने हर्दनहल्ली डोडेगौडा देवेगौडाभन्दा अतुलनीय रूपमै अग्ला मानिन्छन् मोहनदास करमचन्द गान्धी । नेपालमा चारपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई कहिल्यै प्रधानमन्त्री नबनेका गणेशमान सिंहसँग कसैले तुलना मात्र गऱ्यो भने पनि त्यसलाई गणेशमान सिंहको अपमान ठानिन्छ ।

 

कुनै बेला शिक्षामन्त्री पद धारण गरेको बिर्सनेहरूले पनि लक्ष्मीप्रसाद देवकोटा नाम बिर्सन सक्दैनन् । पदले मानिसलाई ‘महान्’ बनाउन नसके पनि केही काल अकासिएको अनुभूति अवश्य गराउँछ ।

 

पदमा पुग्नुअघि व्यक्तिले आफूलाई साधारण तहको मानिस ठानिरहेको हुन्छ । पद प्राप्त भएलगत्तै उसले आफूलाई विशेष ठान्छ । हामीकहाँ अहिलेसम्म पदीय जिम्मेवारीमा पुग्नुपर्ने कारण देश र समाजको सेवाका लागि भन्ने बुझाइ छैन ।

 

अरूहरू भन्दा भिन्न, विशिष्ट र सामान्यभन्दा असमान्य मान्छे भएका देखाउन, प्रतिष्ठा आर्जन गर्न, धाक–रवाफ जमाउन र धन आर्जनका मार्ग सहज बनाउनका लागि पद प्राप्त गर्नुपर्छ भन्ने आमसोच यहाँ स्थापित भएको छ । उच्च पद हात लागेको केही समयसम्म व्यक्तिमा साधारण तहमा रहँदाकै धङधङी (ह्याङओभर) रहन्छ । उसका व्यवहारहरू पनि सामान्य हुन्छन् ।

 

तर, बिस्तारै सत्ता र शक्तिको अभ्यास नै दैनिकी बन्छ र, यही दैनिकी आदतमा रूपान्तरित हुन्छ । यसप्रकारको रूपान्तरणपछि व्यक्तिमा आफू असाधारण एवम् विशिष्ट र शक्तिशाली भएको महसुस हुन थाल्छ । आफूबाहेक सबैलाई अयोग्य, अक्षम र नालायक देख्ने अहङ्कारी प्रवृत्तिको विकास पनि यसै समयमा भइसक्छ । त्यसपछि मानिसले ‘व्यक्ति’लाई बेग्लै देख्न थाल्छ र पतनको सुरुवात पनि यही बिन्दुबाट हुन्छ ।

 

पद, शक्ति र मानिससँग जोडिएको एउटा रोचक पक्ष के हो भने जसरी मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि मानिस त्यसको हेक्का राख्दैनन्, अरूहरू मरिरहे पनि आफू बाँचिरहने विश्वासका साथ व्यवहार गरिरहेका हुन्छन्, त्यसैगरी पद र शक्ति हिजो अरू कसैको हातमा थियो र, यो सधैँ आफूसँग रहन असम्भव छ भन्ने बुझ्दाबुझ्दै पनि पदमा रहनेले यस्तो हेक्का राख्दैनन् ।

 

 

‘पद’ले गरेको काम आफैँले गरेको ठान्ने र, बाँचिन्जेल आफू यसैगरी शक्तिशाली रहने भ्रम पदासीनहरूमा रहन्छ । पौराणिक कालका लोकप्रिय राजा सत्य हरिश्चन्द्रले मसानमा मानिसको शव दहन गरेर बस्नुपरेको, राजा नलले अर्काको घरमा सेवक भई जीवन गुजार्नुपरेको र दिन लागेपछि स्वर्गका राजा इन्द्रसमेत अर्काको घर–घर पुगेर सहयोगको याचना गर्नुपरेको ‘कथा’हरूबाट त आधुनिक पुस्ताले सिक्ने कुरै भएन ।

 

विश्वविजयी सिकन्दर, चङ्गेज खाँ, शक्तिवान नपोलियन, हिटलर, सद्दाम हुसेन, इदी अमिन र बोकासाहरूले भोग्नुपरेको उतारचढावबाट पनि हाम्रा शासक–प्रशासकहरू सिक्न चाहँदैनन् । त्यसैले यहाँको राजनीति र प्रशासनमा तत्काल सुधारको अपेक्षा राख्नु व्यर्थ छ, मुलुकलाई योभन्दा बढी क्षति हुनबाट जोगाउन मात्र सकियो भने त्यसैलाई महान् उपलब्धि ठान्नुपर्ने वर्तमान हामीले भोगिरहेका छौँ ।

 

०४६ सालको राजनीतिक परिवर्तनले पञ्चायती व्यवस्था र पञ्च राजनीतिको स्थायी अन्त्य गरेको थियो । सत्ता–राजनीतिलाई आफ्नो जीवनशैली बनाउँदै रमाइरहेका पञ्चहरू त्यस्तो अवस्थामा आफूलाई कसरी सम्हाल्दै होलान्, के सोच्दै होलान् र उनीहरू आफ्नो भविष्यबारे कस्तो सपना देख्दै होलान् भन्नेजस्ता जिज्ञाशाहरूले त्यसबेला आफूलाई ठूला पञ्चहरूको घर–घरमा पु¥याएको स्मरण भइरहेको छ । अनेक अगुवा पञ्चहरूसँगको भेटपछि कीर्तिनिधि विष्टसम्म पुग्दा उनले भनेको एउटा कुरा अविष्मरणीय रह्यो ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा