नेपाली भूमि मिचेर बाटो बनाउँदै भारत, बाटो खन्न नेपाली कामदार नै प्रयोग



 

भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।  भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।

 

त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

 

 

‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ ।

 

त्यही विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा पनि घोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ । उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ ।

 

 

स्थानीय बासिन्दाकाे विरोध

स्थानीय बासिन्दाले विरोध गरे पनि नेपालीलाई पनि आवतजावत सहज हुने बताउँदै भारतीय अधिकारीहरूले बाटो बनाइरहेका छन् । ‘हामीलाई मात्रै होइन, नेपालीलाई पनि सजिलो हुन्छ भनेर धमाधम काम गरिरहेका छन्,’ स्थानीय बासिन्दा नरेश धामीले भने ।

 

 

पुल र बाटो निर्माणको सम्पूर्ण खर्च भारत सरकारकै लोक निर्माण विभागले बेहोरेको निर्माण कम्पनीका प्रतिनिधि विष्टले बताए । भारतीय क्षेत्रमा सडक निर्माण नभएसम्म नेपालकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

 

 

गत वर्ष यही क्षेत्रमा महाकाली नदीमाथि दुई ठाउँमा एकलौटी काठेपुल बनाउँदा विरोध भएको थियो । पछि नेपालबाट अनुमति लिइएको थियो । दुई पुल निर्माणका लागि अनुमति लिइए पनि दोपाखे क्षेत्रमा तेस्रो पुल पनि बनाएको थियो ।

 

 

नेपाली कामदार नै प्रयोग
भारतले नेपाली भूभागमा बाटो बनाउन नेपाली मजदुरलाई नै लगाएको छ । बाटो खन्ने, सामान ओसार्ने र भारी बोक्ने काम नेपालीले नै गर्दै आएका छन् । सामान ढुवानी गर्दै आएका व्यास–४ सुन्सेराका जनकसिंह कुँवरले भने, ‘नेपाल सरकारले रोजगार दिँदैन, परिवार पाल्न काम त गर्नै प-यो ।’

 

कात्तिक पहिलो सातादेखि निर्माण कार्य भइरहेको छ । दैनिक सात/आठजनाले बाटो खनिरहेको व्यास–५ स्याँकुका जनक धामीले बताए । ‘यो क्षेत्रमा नेपाल सरकारले केही गर्दैन, भारत सरकारले नै गर्ने हो । जसको भए पनि काम त गर्नै प-यो ।’

 

 

दैनिक आठ सय रुपैयाँ ज्याला

नेपाली मजदुरले बाटो निर्माणमा दैनिक आठ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । त्यस्तै, बाटो निर्माण भइरहेको क्षेत्रमा सामान बोक्न प्रतिकिलोग्राम २० रुपैयाँसम्म ज्याला पाउने गरेको स्थानीय जनकसिंह कुँवरले बताए ।

 

 

अनुमति लिएको छैनः प्रजिअ आचार्य
बाटो निर्माणका लागि भारतीय पक्षले अनुमति नलिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पुल निर्माणका लागि अनुमति लिएको हो, बाटो निर्माणका लागि अनुमति लिएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने ।

 

 

बाटो निर्माण भइरहेको क्षेत्रमा नेपाली अधिकारीहरू पुगेका पनि छैनन् । गत वर्ष पुल निर्माणका स्थानीय बासिन्दाले अवरोध गरेपछि दुम्लिङ प्रहरी चौकीबाट प्रहरी टोली गएको थियो । त्यस्तै, यही कात्तिक दोस्रो साता प्रहरी टोली सो क्षेत्रमा गए पनि बाटो निर्माण भएको क्षेत्रसम्म भने नपुगेको स्थानीय बासिन्दाले बताए ।

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुर आउँदै

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन जनकपुर आउने भएका छन् । २६ मंसिरमा हुने उनको भ्रमणका लागि प्रदेश २ सरकारले तयारी थालेको छ ।

 

विवाहपञ्चमीमा जन्तीका रूपमा जनकपुर आउन लागेका मुख्यमन्त्री योगीको स्वागतको तयारीमा प्रदेश सरकार जुटेको आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । सत्तारुढ भाजपाका हिन्दूवादी नेतासमेत रहेका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि सुरक्षाका लागि जनकपुरमा पाँच हजार प्रहरी खटाइने भएको छ ।

 

 

‘सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले तयारी थालेको छ,’ यादवले भने, ‘सुरक्षाको विषयमा पहिलो चरणमा छफलफल भएको छ, दोस्रो चरणमा मुख्यमन्त्री योगी आउने रुट तथा थप सुरक्षाका रणनीति तयार हुन्छ ।’ मुख्यमन्त्री योगीको भ्रमणलाई लिएर केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी जनकपुर आएर मुख्यमन्त्री लालबाबु राउतलगायतसँग छलफल गरेका थिए ।

 

 

जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले पनि रामजानकी विवाह महोत्सवमा भारतबाट आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री सहभागी हुने तय भएको बताए । योगीले दीपावलीका अवसरमा भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा यस वर्ष जन्ती लिएर जनकपुरधाम जान लागेको अभिव्यक्तिसमेत दिएका थिए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत २९ वैशाखमा भएको भ्रमणपछि जनकपुरमा भारतीय सरकारका मन्त्री, राज्यमन्त्री तथा सांसद र विधायकहरू आउने क्रम बढेको छ ।

 

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज दिने भएका छन् । त्यस्तै भारतबाट जन्तीका रूपमा आउने हजार साधुसन्तलाई प्रदेश सरकारले भोज खुवाउने भएको छ ।

 

मधेस भवनमा भोजको व्यवस्था गरेको आन्तरिक मामिलामन्त्री यादवले बताए । प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन जानकी मन्दिरलाई ५० लाख सहयोग पनि गरेको छ ।

 

 काठमाडौं हुँदै जनकपुर
रामजानकी विवाह महोत्सवअन्तर्गत राम–सीताको विवाह हुने दिन २६ मंसिरमा मुख्यमन्त्री योगी हवाईजहाजबाट जनकपुर आउनेछन् । उनी काठमाडौं हुँदै हजाईजहाजबाटै जनकपुर आउने कार्यक्रम छ । राम–सीताको स्वयंवरपछि निकालिने शोभायात्रामा पनि योगी सहभागी हुनेछन् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल