सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु
सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ ।
यद्यपि, उनीहरूको अवस्था सामान्य रहेको पालले बताए ।सोमबार भएको सामान्य विवादलाई लिएर मंगलबार बिहान झडप भएको थियो ।
सडक दुर्घटनामा एकको मृत्यु
काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जीतेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको सोही सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवारी साधनसहित माइक्रो चालक प्रहरी नियन्त्रणमा छन्