नारायणकाजीले पनि गरेका थिए सांसद बन्ने प्रस्ताव, तर किन बामदेवको मात्र चर्चा ?
२०७४ मंसिरमा भएको संघीय चुनावमा तत्कालिन एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया– १ बाट र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा– २ बाट चुनाव लडेका थिए ।
तत्कालिन एमाले र माओवादीका शीर्ष नेताहरुले चुनाव जित्दा गौतम र श्रेष्ठ भने पराजित भए । संयोगनै मान्नुपर्छ, वामगठबन्धनको सुत्रधार मानिएका दुवै नेताको चुनावी परिणाम उनीहरुको पोल्टामा परेन ।
प्रधानमन्त्रीको महत्वकांक्षा राखेका नेता गौतम र चुनावपछि उपप्रधानमन्त्रीसहित तत्कालिन माओवादीका तर्फबाट सरकारको नेतृत्व गर्ने महत्वकांक्षा राखेका नेता श्रेष्ठ पराजित भएपछि दुवै नेताले ठूलो धक्का महसुस गरेका थिए ।
चुनाव अगाडि बनेको बामगठबन्धनले बहुमत ल्याउने दुवै पार्टीको विश्वास थियो र त्यसपछि बन्ने सरकारमा आफ्नो पद सुरक्षित गर्ने दुवै नेताको रणनीति पनि ।
र, आफुलाई बाम गठबन्धन र एकताको सूत्रधार बताउने यी दुई नेताबीच अर्को समानता के थियो भने दुवैले आफ्नो हारमा अन्तर्घातलाई कारण मानेका थिए ।
अहिले नेकपाको ९ सदस्यीय सचिवालयमा गौतम र श्रेष्ठबाहेक अरु सबै नेता सांसद छन् । तत्कालिन एमालेका नेताहरुका अनुसार चुनाव लगत्तै नेता गौतमले सांसद बन्न चाहेको प्रस्ताव पार्टीभित्र प्रवेश गराएका थिए ।
र, यसका लागि उनले ठाँउ खाली गर्न सक्ने सांसदसँग कुराकानीसमेत गरेका थिए । नेता गौतम प्रतिनिधिसभाको सदस्य बन्न चाहन्थे ।
डोल्पाका धनबहादुर बुढालाई मन्त्री बनाउनेदेखि काठमाडौँमा रामवीर मानन्धरले ठाँउ खाली गरिदिने घोषणासम्म गौतमलाई सांसद बनाउने योजनाका कदम थिए । तर, पार्टीभित्रको कठोर विरोधपछि गौतमको चाहनाले मूर्त रुप लिन सकेको छैन ।
गौतमको प्रस्तावले बेलाबेला पार्टीभित्र, मिडिया र जनस्तरमा ठूलै बहस जन्माएपनि सांसद बन्न चाहने श्रेष्ठको प्रस्ताव भने अहिलेसम्म गुपचुप नै छ । अझ भनौँ उनी पनि सांसद बन्न चाहन्छन् भन्ने प्रशंगको चर्चा कतै छैन ।
तर, सचिवालयको एक बैठकमा गौतमले मात्र होइन नेता श्रेष्ठले पनि आफू सांसद बन्न चाहेको प्रस्ताव प्रवेश गराएका थिए । यो प्रस्तावले कार्तिक ४ र ५ गते बसेको सचिवालय बैठकमा पनि निकै चर्चा पाएको थियो ।
त्यतिबेला नेता गौतमको प्रशंगले सचिवालयमा चर्का चर्कीनै भएको थियो । भविष्यमा दुई नेतालाई संसद छिराउने एजेण्डामा नेकपाका धेरै नेता नकारात्मक देखिएका छैनन् ।
तर, सर्वत्र आलोचना भएपछि उक्त सचिवालय बैठकले तत्कालका लागि नेता गौतमको चुनाव लड्ने च्याप्टर क्लोज गरिदिएको थियो ।
नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘वामदेव कमरेडले आफू प्रतिनीधिसभाको सांसद बन्न चाहेको प्रस्ताव गर्नु भएको थियो । नारायणकाजी कमरेडले चाहिँ प्रतिनिधिसभा वा राष्ट्रियसभा केही भन्नु भएन, म पनि सांसद बन्न चाहन्छु भन्ने प्रस्ताव पार्टीमा राख्नुभएको छ । दुवै जनामा सांसद चाहना छ ।’
सचिवालयका ती सदस्यका अनुसार श्रेष्ठले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेलाबेला दवावसमेत दिने गरेका छन् । स्रोतका अनुसार श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा पनि ओली–प्रचण्डमाथि ‘दवाव’ कै हिस्सा थियो ।
यद्यपि श्रेष्ठले डा.गोविन्द केसी प्रकरणमा आफुले प्रवक्ताबाट राजीनामा दिएको बताएका थिए । तर, उनको राजीनामा नेकपाले भने अस्वीकृत गरेको छ ।
सचिवालयका ती नेताका अनुसार नेता श्रेष्ठले उपयुक्त समयको पखाईमा छन् । ‘बामदेब कमरेडको चुनाव लड्ने प्रशंगले सवत्र आलोचना भयो । नारायणकाजी कमरेडले बाहिर आफ्ना प्रतिक्रिया दिँदा चुनाव नलड्ने बताउनु हुन्छ ।
तर, सचिवालयको बैठकमा उहाँले प्रस्ताव राख्नु भएको साँचो हो । उहाँ उपयुक्त समयको पखाईमा हुनुहुन्छ,’ ती नेताले भने, ‘तर बामदेव कमरेड र उहाँ दुवैमा सांसद बन्ने चाहना तीव्र छ । उहाँहरुको प्रस्तावमा पार्टी सकारात्मकनै छ ।’
प्रतिनिधिसभाको चुनावमा पराजित भएका गौतम र श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् ।
नेता गौतम बर्दिया–१ मा काँग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भएका थिए । काँग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले ४४ हजार ८२९ मत ल्याएका थिए । नेता गौतमले भने ४४ हजार ७६ मत ल्याएका थिए ।
नेता श्रेष्ठ भने गोरखा–२ मा पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराइसँग ६ हजार ८ सय ८४ मतले पराजित भएका थिए ।
६० हजार एक सय १७ मत खसेकोमा भट्टराईले ३१ हजार आठ सय सात र श्रेष्ठले २४ हजार नौ सय ३३ मत प्राप्त गरेका थिए । खसेको मतमा दुई हजार छ सय ३८ मत बदर भएको थियो । नेता श्रेष्ठले २०७० को चुनावमा मकवानपुर २ बाट पनि चुनाव हारेका थिए ।
तर नेता गौतमले भने त्यतिबेला बर्दिया र प्यूठानबाट चुनाव जितेका थिए ।