सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन ! चार राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?



 

सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ ।

 

अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिने स्रोतले जनाएको छ । भारत र मलेसियाका लागि यसअघि राजदूत सिफारिस भए पनि निर्णय कार्यान्वयनमा ल्याइएको थिएन ।

 

विशेष गरी भारतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत बनाउने निर्णयप्रति सत्तारुढ नेकपाका शीर्ष नेताले नै असहमति जनाएपछि प्रधानमन्त्री ओलीपछि हटेका थिए । मलेसियाका लागि नेकपाका नेता उदयराज पाण्डेको नाम सिफारिस भएको थियो ।

 

नीलकण्ठको नाममा विवाद भएपछि अब भारतको राजदूत कसलाई पठाउने भन्नेबारेमा अहिलेसम्म प्रधानमन्त्रीले संकेत दिएका छ्रैनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतको राजदूत बनाएर पठाउन योग्य व्यक्ति अहिलेसम्म भेटिएका छैनन् । कतिपयले पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डेको नाम चर्चा गरेका छन् ।

 

पाण्डे यसअघि ओली प्रधानमन्त्री हुँदा चीनको राजदूतमा सिफारिस भएका थिए । तर, ओली सरकार ढलेर प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि सो सिफारिस रद्द गरिएको थियो । भारतको राजदूत कसलाई बनाउने भन्नेबारे शीर्ष तहमा अहिलेसम्म छलफल नभएको नेकपाका एक सचिवालय सदस्यले बताए ।

 

कतिपयले यसअघि सिफारिस भएका नीलकण्ठ उप्रेतीकै लागि वातावरण बनाइन लागेको आशंका पनि गरेका छन् । उप्रेतीमाथि भारतीय जनता पार्टीका महासचिव राम माधव अध्यक्ष रहेको इण्डिया फाउण्डेशनसँग निकट रहेको आरोप छ ।

 

यसबीचमा सोही संस्थाको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड शुक्रबारै दिल्ली गएर फर्किएका थिए ।

 

त्यस्तै मलेसियाका लागि यसअघि सिफारिस भएकै उदयराज पाण्डेलाई राजदूत बनाइने सम्भावना छ । उनी एकपटक साउदी अरबको राजदूत भइसकेका अनुभवी हुन् । संयुक्त अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई बनाउने तयारी मन्त्रालयको छ ।

 

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा मन्त्रालयका प्रवक्ता डा.भरतराज पौडेलको सम्भावना छ । सचिव शंकरदास बैरागी स्थायी प्रतिनिधिमा जान इच्छुक नदेखिएपछि बरिष्ठताको हिसाबले पौडेलको सम्भावना बढेको हो । बैरागीले भने सचिवको पूरा कार्यकाल मन्त्रालयमै बिताउने ईच्छा व्यक्त गरेका छन् ।

 

स्थायी प्रतिनिधिका लागि अन्य सहसचिवहरुले पनि लबिङ गरिरहेका छन् । सचिव नजाने भनेपछि दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईले पनि आफ्नो पक्षमा प्रधानमन्त्रीको सचिवालयमा लबिङ गरेका छन् ।

 

स्रोतका अनुसार शाही शासनकालका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्ना छोरा निश्चलनाथ पाण्डेलाई राजदूत बनाइदिन पनि नेकपाका कतिपय नेतासँग लविङ गरिरहेका छन् ।

 

यसैबीच क्यानडा, दक्षिण अफ्रिका, थाइल्याण्ड, फ्रान्स, जेनेभा, कुबेत,थाइल्याण्ड र ब्राजिलमा पनि राजदूत नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ । अब कूटनीतिक नियोगमा राजदूतको पदवाधि सकिनुअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने मापदण्ड पारित भएकाले मन्त्रालयले यसबारेमा गृहकार्य थालेको स्रोतले जनाएको छ ।

 

यी सबै नियोगमा परराष्ट्रका कर्मचारी राजदूत छन् । उनीहरुको कार्यकाल पुसभित्रमा सबैको सकिँदैछ । अब ती नियोगमा राजदूत सिफारिस गर्दा नयाँ मापदण्ड अनुसार नै गरिने भएको छ । खाली हुने र फिर्ता हुने सबै नियोगमा एकैपटक परराष्ट्रसेवा र विज्ञबाट बराबरीका आधारमा सिफारिस गरिने भएको छ ।

 

यसका साथै इजराजल, स्पेन, जापान, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई फिर्ता बोलाउने सम्भावना छ । उनीहरुका ठाउँमा विज्ञताका आधारमा राजदूत सिफारिस गर्ने तयारी सरकारको छ ।

 

स्पेनमा भरतजंग रायमाझी, जापानमा प्रतिभा राणा, बंगलादेशमा डा.चोपलाल भुसाला, दक्षिण कोरियामा अर्जुनजंगबहादुर सिंह र कतारमा रमेश कोइराला कार्यरत छन् । उनीहरु कांग्रेस र राप्रपाको कोटाबाट राजदूत भएका थिए ।

 

कांग्रेस कोटाबाटै राजदूत भएका श्रीलंकाका डा.विश्वम्भर प्याकुरेल र ओमानकी शर्मिला पराजुलीलाई भने फिर्ता नगरिने भएको छ । पराजुलीले बालुवाटारमा बलियो पकड बनाएकाले उनलाई फिर्ता गर्न नसकिने परराष्ट्र स्रोतले जनाएको छ ।

 

उपप्रधानमन्त्री पोखरेलको उपलब्धिपूर्ण चीन भ्रमण

नेपालका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले यसैसाता चीनको भ्रमण गरेका छन् । यसक्रममा चीन सरकारका रक्षामन्त्री जनरल वाई फँगीसँग द्वीपक्षीय भेटघाट र वार्ता भएको छ ।

 

नेशनल पिपुल्स कांग्रेसका अध्यक्षसमेत रहेका चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो स्थानमा रहेका नेता ली झान सुसँगको समेत भेट र वार्ताले उपप्रधानमन्त्री पोखरेलको यो भ्रमणलाई चीनियाँ कम्युनिष्ट पार्टी एवं सरकार दुवैले निकै महत्व दिएको पाइएको छ ।

 

चीनका रक्षा मन्त्रीसँगको भेटमा उपप्रधानमन्त्री पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको २०१८ जूनमा भएको चीन भ्रमण त्यसले नेपाल चीन सम्वन्धमा पारेको प्रभावका साथै सैनिक सहकार्य, तालिम, मानवीय सहयोग, मेडिकल सामाग्री सहयोग पिस किपिङ मिशन र नेपालमा डिफेन्स विश्वविद्यालयको चीन सरकारको सहयोगका विषयमा कुराकानी गरेका छन् ।

पाँच वर्षका लागि नेपालको प्रकोप व्यवस्थापनमा चीन सरकारले नेपाललाई १५० मिलियन आर्थिक सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर हुनु पोखरेलको भ्रमणको अर्को उपलव्धी हो ।

 

त्यस्तै चीनपक्षबाट नेपाल सेनासँग सहकार्य गर्ने प्रस्ताव आउनु, र नेपालले लिएको र देखाएको एक चीन नीतिको प्रशंशा हुनुले पनि यो भ्रमण निकै महत्वपूर्ण रहेको देखिएको छ ।

 

त्यस्तै मन्त्री पोखरेलले अन्तराष्ट्रिय सैन्य सम्मेलनको फोरममा संयुक्त राष्ट्र संघ चुनौती र सहकार्य विषयमा जुन धारणा व्यक्त गरे, त्यसले नेपाल र नेपाली सेनाले संयुक्त राष्ट्रसंघका विभिन्न मिसनहरुमा खेलेको भूमिका र छविलाई एकपल्ट विश्वसामु उजागर गरेको छ ।

 

पोखरेलको अभिव्यक्तिले संयुक्त राष्ट्र संघमा नेपाली सेनाको आवश्यकतालाई अझै बढाएको छ । त्यसैले उनको यो भ्रमण नेपाल चीन सम्वन्धमा मात्र सीमित नरहेर संयुक्त राष्ट्र संघ र विश्व समुदायसँग नेपाल र नेपालीलाई चिनाउने र सम्वन्धहरुलाई थप मजवुद बनाउने फोरमका रुपमा समेत उपयोग हुनु भ्रमणको अर्को सफलता हो ।

 

नेपालीसँग देउसी भैलो

 

नेपालीहरुको महान चाड दशैं सकिन लागेको र तिहार एवं छठ भित्रिन लागेको अवस्थामा चीनमा रहेका नेपालीहरुका वीचमा मन्त्री पोखरेलको छलफल निकै महत्वपूर्ण रह्यो । चीनको बेइजिङमा रहेको नेपाली दुतावासमा चीनमा रहेका करिव ३०० नेपाललीले उपप्रधानमन्त्री पोखरेलसँग दशैं मनाउन पाए ।

 

 

चीनको कम्युकेशन युनिभर्सिटीमा नेपाली भाषा पढ्दै गरेका विद्यार्थीहरुले पोखरेलको सम्मानमा ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीत गाएका थिए । नेपाली विद्यार्थीहरुले मादल ठोकेर तिहारको देउसी भैलोको शुरुवात गरेका थिए । त्यो भेटघाटको सन्दर्भ हाम्रा राष्ट्रिय चाडहरुसँग जोडिएको थियो ।

 

 

चीनमा रहेका करिव तीन सय नेपालीले उपप्रधानमन्त्री पोखरेलसँग यी चाडहरु मनाउन पाउनु नेपालीहरुका लागि र स्वयं भ्रमण टोलीका लागि निकै महत्वपूर्ण थियो । त्यसैले उहाँको यो भ्रमणले नेपाल चीन सम्वन्धमा मात्र नयाँ उचाइ थपेन कि नेपालीहरुका वीचमा सांस्कृतिक र भावानात्मक सम्वन्ध स्थापित गर्ने कुरामा समेत कोसेढुंगा बन्न पुग्यो ।

 

 

घरभित्र सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भनेर व्यापक आलोचना भइरहेका बेला नेपालले चीनसँगको सम्वन्धका क्षेत्रमा उचाइ प्राप्त गरिरहेको छ । चीनको बेइजिगमा आयोजित अन्तरराष्ट्रिय सैनिक सम्मेलनमा भाग लिन आउनु भएका नेपालका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको भ्रमणलाई चीनले निकै महत्व दिएको छ ।

 

 

चीनसँगमात्रै होइन अरु कूटनीतिक क्षेत्रमा पनि केही प्रगतिहरु देखिएका छन् । नेपालले आयोजना गरेको विमष्टेक सम्मेलन, राष्ट्र संघमा नेपालको सशक्त उपस्थिति, प्रधानमन्त्री केपी शर्मा ओलीको जून २०१८ मा भएको चीन भ्रमण, त्यो भ्रमणमा नेपालले प्राप्त गरेको उपलव्धी र गत सेप्टेम्वर ७ मा चीनसँग भएको प्रोटोकल हस्ताक्षर आदिको शिलशीलामा उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणले नेपाल चीन सम्वन्धमा नयाँ आयाम थपेको दुवै देशका सरकारी अधिकारीहरुको भनाइ छ ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल