फास्ट ट्रयाकमा श्रममन्त्री विष्टका यस्ता छन ७ फैसला



हाम्रो इकोनोमि

 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भएयता मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारसम्बन्धी सबै मुद्दा फास्ट ट्र्याकमा किनारा लगाउँदै आएका छन् । पछिल्लो समय मन्त्रालयमा कुनै पनि मुद्दा विचाराधीन अवस्थामा नरहेको कानुन शाखाका उपसचिव रेशमराज सिग्देलले जानकारी दिए ।

 

मन्त्री विष्टको कार्यकालमा वैदेशिक रोजगार विभागले गरेको निर्णयउपर आएका ७ वटै पुनरावेदन म्यानपावरबाट आएका थिए । ती सबै मुद्दामा उनले कामदारको पक्षमा फैसला सुनाएका छन् । तर, कामदारका तर्फबाट भने विभागले गरेका निर्णयविरुद्ध पुनरावेदन नै नआएको मन्त्रालयले जनाएको छ ।

 

म्यानपावरको धरौटी, अनुमतिपत्र, करार तथा वैदेशिक रोजगारमा जाने श्रमिकको सेवा–सुविधा, अलपत्र कामदारको उद्धार, निर्धारित शुल्कभन्दा बढी लिन नपाइनेलगायतका मुद्दामा वैदेशिक रोजगार विभागलाई न्यायिक निर्णय गर्न सक्ने अधिकार दिइएको छ ।

 

विभागको निर्णयविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुनरावेदन लाग्ने व्यवस्था छ । वैदेशिक रोजगारसम्बन्धी कसुरमा कैद सजाय तथा व्यक्तिगत कसुरसम्बन्धी मुद्दाको सुनुवाइ भने वैदेशिक रोजगार न्यायाधीकरणबाट हुने गरेको छ ।

 

 

म्यानपावर कम्पनीहरूले अन्तिम श्रम स्वीकृति प्राप्त भएको ३ महिनाभित्र सम्बन्धित कामदारलाई वैदेशिक रोजगारमा पठाइसक्नुपर्ने व्यवस्था छ । त्यसअनुसार निर्धारित अवधिभित्र वैदेशिक रोजगारमा पठाउन नसकेमा म्यानपावरले २० प्रतिशत ब्याज रकमसहित कामदारबाट बुझेको रकम ३० दिनभित्र कामदारलाई फिर्ता गर्नुपर्छ ।

 

रोजगारदाता कम्पनीले करारको दायित्व पूरा नगरेको तथा म्यानपावर कम्पनीले करारमा उल्लिखित सर्त पूरा गराउन नसकेको सम्बन्धी उजुरीमा विभागलाई आवश्यक जाँचबुझ गर्ने अधिकार दिइएको छ ।

 

त्यसरी जाँचबुझ गर्दा सम्बन्धित कामदार स्वदेश फिर्ता गर्न आवश्यक देखिएमा विभागले म्यानपावरलाई आदेश दिन सक्छ । आदेशअनुसार कामदार फिर्ता गर्न म्यानपावरले रकम उपलब्ध नगराएमा विभागले कम्पनीको धरौटीबाटै कामदारलाई स्वदेश फर्काउनुपर्ने हुन्छ । खर्च भएको धरौटी विभागको सूचनाका आधारमा १५ दिनभित्रै म्यानपावरले शोधभर्ना गर्नुपर्ने हुन्छ ।

 

त्यसबाहेक रोजगारदाता कम्पनीले सम्झौतामा तोकिएको रोजगार उपलब्ध नगराएमा कामदारले (प्रतिनिधिमार्फत समेत) विभागमा क्षतिपूर्तिका लागि उजुरी गर्न पाउँछन् । यसरी प्राप्त उजुरीमा छानबिन गरी विभागले वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिन सक्छ । विभागले गरेका यस्ता निर्णयविरुद्ध श्रम मन्त्रीसमक्ष पुनरावेदन गर्न सकिने व्यवस्था छ ।

 

७ फैसला

१. पीडित सूर्यप्रसाद पाण्डेको उजुरीमा सुनुवाइ गर्दै वैदेशिक रोजगार विभागले १९ असार २०७५ मा म्यानपावरलाई १ लाख रुपैयाँ जरिवाना गर्दै तोकिएकोभन्दा बढी लिएको रकम फिर्ता गर्न लगाएको थियो ।

 

तर, सामी इन्टरनेसनल नामक म्यानपावरले विभागको उक्त फैसलामा चित्त नबुझेको भन्दै २१ साउनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसमक्ष पुनरावेदन गरेको थियो । मन्त्रालयमा दर्ता भएको ९ दिनमै मन्त्री विष्टले विभागकै निर्णय सदर गर्ने अन्तिम फैसला सुनाए ।

 

२. रोयल एचआर सोलुसन नामक म्यानपावरले क्यानडा पठाइदिने भन्दै सन्तबहादुर मगरसहित तीनजना कामदारबाट प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ उठाएको थियो ।

 

उक्त मुद्दामा २९ जेठ २०७५ मा विभागले म्यानपावरको धरौटीबाट २ लाख ४० हजार रुपैयाँका दरले पीडितलाई भराइदिने र १ लाख रुपैयाँ जरिवानासमेत लगाउने निर्णय ग-यो । म्यानपावरले २९ असारमा मन्त्री विष्टसमक्ष पुनरावेदन ग-यो । मन्त्री विष्टले दर्ता भएको २०औँ दिनमा विभागको निर्णयलाई सदर गर्ने फैसला लेखिदिए ।

 

 

३. किरण पाण्डेयलाई न्युजिल्यान्ड पठाइदिने बहानामा भेरियन कर्णाली इन्टरनेसनल म्यानपावरले ४ लाख रुपैयाँ ठगी गरेको थियो । पाण्डेयले आफूलाई न्युजिल्यान्ड पनि नपठाएको र रकमसमेत फिर्ता नदिएको भन्दै विभागमा उजुरी हालेका थिए ।

 

विभागले ३० जेठ ०७५ मा उनको उजुरीमा सुनुवाइ गर्दै २ लाख रुपैयाँ बुझाएको प्रमाणका आधारमा उक्त रकम म्यानपावरलाई भराउने र १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । ३१ असारमा पुनरावेदन आएको म्यानपावरलाई मन्त्री विष्टले २१ साउनमा विभागकै निर्णय सदर गरिदिए ।

 

४. दीपज्योति ओभरसिज नामक म्यानपावरले जापान पठाइदिने भन्दै शम्भु थापाबाट १० लाख ५० हजार रुपैयाँ लिएको थियो । जापान जान नपाएपछि थापाले वैदेशिक रोजगार विभागमा उजुरी दिए । म्यानपावरले दिएको ३ लाख रुपैयाँको चेक साटिए पनि बाँकी भने बाउन्स भयो ।

 

विभागले ३० जेठ २०७५ मा उजुरीउपर सुनुवाइ गर्दै थापालाई ७ लाख ५० हजार रुपैयाँ म्यानपावरबाट भराइदिने र थप १ लाख रुपैयाँ जरिवानासमेत गर्ने फैसला गरेको थियो । म्यानपावरको पुनरावेदनउपर सुनुवाइ गर्दै मन्त्री विष्टले २०औँ दिनमा विभागको फैसलालाई नै अन्तिम फैसलाका रूपमा सदर गरिदिए ।

 

५. रामकुमार राईलाई इभ नेपाल ओभरसिजले ८० हजार रुपैयाँ लिएर वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको थियो । मलेसियामा उनले करारको तुलनामा ५८ हजार ९ सय ६० रुपैयाँ कम पारिश्रमिक पाए । फर्किएपछि राईले विभागमा उजुरी दिए । विभागले २० भदौ ०७३ मा उक्त उजुरीउपर सुनुवाइ गर्दै म्यानपावरलाई बढी शुल्क लिएको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

 

म्यानपावर भने ३५ दिने म्याद नाघेको लामो समयपछि १० वैशाख ०७५ मा मात्रै पुनरावेदनका लागि श्रम मन्त्रालय पुग्यो । मन्त्री विष्टले २६ वैशाखमा विभागको निर्णय बदर गर्दै म्यानपावरलाई १ लाख जरिवाना र करारभन्दा कम दिएको ५८ हजार ९ सय ६० रुपैयाँ पारिश्रमिकसमेत भराउने फैसला सुनाए ।

 

६. डाइनामिक ग्लोबल एचआर सोलुसन नामक म्यानपावरले मधु लम्सालबाट वैदेशिक रोजगारीमा पठाउने भन्दै ७ लाख रुपैयाँ ठगेको थियो । वैदेशिक रोजगार विभागले १७ माघ ०७४ मा ७ लाख रुपैयाँ म्यानपावरबाट पीडितलाई भराउने र १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय ग¥यो । २३ चैत ०७४ मा म्यानपावरले मन्त्रालयमा पुनरावेदन दिएको थियो । मन्त्री विष्टले २१ वैशाख ०७५ उक्त मुद्दामा सुनुवाइ गर्दैै विभागको निर्णय सदर हुने फैसला गरेका थिए ।

 

७. वैदेशिक रोजगारीमा पठाइदिने नाममा दिया इन्टरनेसनल रिक्रुटमेन्ट म्यानपावरले ३ लाख १७ हजार रुपैयाँका दरले ६ जनाबाट रकम उठाएको थियो । पीडितको उजुरीका आधारमा विभागले १७ साउनमा म्यानपावरलाई १ लाख रुपैयाँ जरिवाना गरी पीडितलाई बिगोअनुसारकै क्षतिपूर्ति भराउने निर्णय गरेको थियो ।

 

त्यसविरुद्ध म्यानपावरले २५ भदौमा मन्त्रालयमा पुनरावेदन गरेको थियो । २ असोज अर्थात् सातौँ दिनमै मन्त्री विष्टले विभागकै निर्णयलाई सदर गरिदिएका छन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...