भारत छिमेकी मात्र होइन, असल मित्र पनि हो : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारत छिमेकी मात्र नभएर निकटका मित्र रहेको बताएका छन् । दुई देशको साझा इतिहास, सभ्यता र संस्कृतिले सम्बन्ध अतिविशिष्ट रहेको उनले बताएका छन् ।
इन्डिया फाउन्डेसनको कार्यक्रमलाई नयाँदिल्ली पुगेर सम्बोधन गर्दै प्रचण्डले वेद, बुद्धत्वदेखि नेपालको शान्तिप्रक्रियाको चर्चा गरे । एक दिने कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार बिहान दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्ड शुक्रबार राति नै स्वदेश फर्केका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाको सांस्कृतिक पृष्ठभूमि, नेपालको शान्तिप्रक्रिया तथा संविधान जारीपछिको अवस्थाबारे भारतीय विज्ञ र मन्त्रीसामु बताएका थिए ।
प्रचण्डले संसार अन्धविश्वास र अशिक्षामा रुमल्लिरहेका वेला दक्षिण एसिया वेद र बुद्धत्वले प्रज्ज्वलित भएको बताए । प्रचण्डले दक्षिण एसिया सभ्यता र मानवताका लागि विशिष्ट रहेको समेत उल्लेख गरे ।
प्रचण्डले भने, ‘संसारको यो भागले महान् सभ्यताहरूलाई वास दिएको छ अनि महान् चिन्तक, नेता, अन्वेषक, विज्ञ, अध्येतालाई जन्म दिएको छ । दक्षिण एसियाको पहिचान विगतमा अत्यन्त उच्च थियो । विगत दुई सय वर्ष हाम्रा लागि अपवाद भएको छ किनकि यो समयमा अधिकांश संसार हामीभन्दा धेरै अघि बढेको छ, हामी पछि परेका छौँ ।’
समृद्धिको सपना साकार पार्छौँ
नेपालका दुई करोड ८० लाख जनता समृद्धि र मुक्तिको सपना साकार पार्न अघि बढेको उनले बताए । प्रचण्डले भने, ‘लामो समय निरंकुश शासन तथा गरिबी र अविकासको दुष्चक्रमबाट नेपाली जनताले स्वतन्त्रताको लडाइँ लडेका छन् । निरंकुशतन्त्र र गरिबीबाट मुक्ति चाहेका छन् ।’
यसकारण युद्धमा होमिएँ
युद्धकालको चर्चा गर्दै प्रचण्डले सीमान्तीकृत र पीडित जनताको तहको चेतना माथि उठाउन, उनीहरूलाई सुदृढ भविश्यको सपना देखाउन तथा आर्थिक रूपमा सुदृढ गर्न युद्धमा होमिएको बताए ।
उनले भने, ‘देशको अधिकांश ग्रामीण भूभागमा सामाजिक जागरण सिर्जना गर्ने त्यो महान् समय थियो । केही वर्षमै हामीले सामन्तवादको जरा हल्लायौँ र स्वतन्त्रता तथा लोकतन्त्रको आवाज बुलन्द बनायौँ । यही क्रममा सुरु भएको ऐतिहासिक शान्तिप्रक्रिया जनताका यावत् आकांक्षाका एजेन्डा संस्थागत गर्ने कोर्स थियो । यसका उतारचढाबको साक्षी म आफैँ छु ।’
संविधानको चर्चा
अध्यक्ष प्रचण्डले नयाँ संविधानमार्फत जनताका अधिकार सुरक्षित गरेको बताए । उनले अगाडि भने, ‘जनताको घोषणापत्रका रूपमा हामीसँग संविधान छ भनेर अहिले हामी ढुक्कसाथ भन्न सक्ने अवस्थामा छौँ । प्रक्रिया र अन्तर्वस्तुका हिसाबले संविधान जनताको घोषणापत्र हो ।
प्रत्यक्ष जननिर्वाचित समावेशी प्रतिनिधिले पहिलोपटक जारी गरेको संविधान हो । संघर्षहरूमा देखिएका जनताका सपना संस्थागत भएको संविधान पनि यही नै हो । जनआकांक्षाअनुसार आवश्यक संशोधनमार्फत निरन्तर सुधारका लागि संविधान (जनताको घोषणापत्र)ले नै प्रतिबद्धता व्यक्त गरेको छ ।’
सरकारले गरिबी र अविकास, आधारभूत आश्यकताको चिन्ताबाट मुक्ति दिने एजेन्डालाई प्राथमिकतामा राखेको उनले बताए । ‘यसका लागि छिमेकी र संसारभरिका मित्रहरूले गरेको सहयोगप्रति धन्य छौँ । शान्तिपूर्ण र सम्पन्न नेपालले मात्रै यो क्षेत्र र बाहिरको शान्ति, स्थायित्व र सम्पन्नतामा योगदान दिन सक्छ,’ प्रचण्डले भने ।
प्रचण्डले दुई देशको निकटताको चर्चा पनि गरे । ‘हाम्रा दुई देश नेपाल र भारतसँग प्राचीनतम इतिहास एवं हार्दिकतापूर्ण सहअस्तित्वमा सँगै छौँ ।
हामी भूगोल, इतिहास, धर्म, नदी, संस्कृति, वाणिज्यद्वारा जोडिएका छौँ,’ उनले भने, ‘वास्तवमा हामी छिमेकी मात्र होइनौँ निकट मित्रहरू पनि हौँ । जनस्तरको अन्तत्र्रिmया र आदनप्रदानले हाम्रो अति विशिष्ट सम्बन्धको प्रकृति प्रतिबिम्बित हुन्छ ।’