भक्तपुरका कृषक धान भित्र्याउन व्यस्त
दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ ।
खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन् ।
यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादनसमेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् ।
चाँगुनारायण नगरपालिका–१० चित्तपोलका कृषक रामकृष्ण खत्रीले आकाशमा बाँदल देखिएपछि असिना पानी परेर धान झार्ला भन्ने डरले दशैँको पर्वाह नगरी धान भित्र्याउन लागेको बताउनुभयो ।
वर्ष दिनभरि खाने धान पाकिसकेकाले खेतमा छोडेर दशैँ मान्ने भन्दै समय खेर फाल्न नसकिएकाले खेतमा धान काट्न आएको बताउँदै उहाँले भ्याएसम्म साँझ बिहान आफन्तको टीका थाप्न जाने बताउनुभयो ।
मौसम बिग्रेर असिना पानी आएर धान झार्ला भन्ने पीर छ भक्तपुरका सबै कृषकलाई । त्यसैले पाकेको धान काट्ने चटारो छ भने धान काट्नका लागि ज्यामीसमेत नपाउँदा थप समस्यामा परेका छन् कृषक ।
अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्यविनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ ।
यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् । “यस वर्ष धान राम्रो उत्पादन भएको छ, धान असिनाले झार्ला भन्ने डर भएकाले धान काट्न चटारो परेको चागुनारायण–९ ताथलीका राजाराम श्रेष्ठले बताउनुभयो ।”
सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती
दशँै पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहँुदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् ।
फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन् ।
यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त सङ्ख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको सङ्ख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सूचनाको आधारमा आइतबार एकैदिन २४९ सवारी साधन कारवाहीमा परेका छन् ।
ती सवारीबाट रु एक लाख ८१ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । सामान्य समयको भन्दा निकै कम सङ्ख्यामा गाडी चलेको अवस्थामा राजश्व सङ्कलन भने धेरै गुणा बढी भएको उहाँको भनाइ छ ।
दशैँको समयमा यात्रुको सङ्ख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त सङ्ख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गर्नुभयो ।
सामुदायिक वनको कमाइ सामाजिक कार्यमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।
सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो । सामुदायिक वनले आम्दानीको रकम सडकमा ग्राभेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको छ ।
सडकमा ग्राभेल राख्नका लागि रु दुई लाख ५० हजार, भल्का मन्दिरमा पक्की घर निर्माणका लागि रु एक लाख ५० हजार, अन्य मन्दिर मर्मत गर्न रु ४० हजार, धर्म जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि रु दुई लाख ५० हजार रकम खर्चिएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताउनुभयो । “विद्यालयमा कम्प्युटर खरीद गर्न, विद्यार्थी पोशाक, झोला र फर्निचरका लागिसमेत आवश्यक रकम उपलब्ध गराएका छौँ” उहाँले भन्नुभयो ।
सामुदायिक वनको कमाइबाटै स्थानीय उपभोक्तालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षति कम गर्नका लागि दुई दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रु २४ लाख खर्च गरेर आधुनिक जालीयुक्त तारबार गरिएको उहाँले बताउनुभयो ।
जङ्गली जनावरबाट घरपालुवा जनावरमा रोग सर्ने र खेतबारीमा जङ्गली जनावर छिरेर व्यापक नोक्सानी गर्ने गरेका थिए सामुदायिक वनका कोषाध्यक्ष प्रेमबहादुर धानुकले भन्नुभयो, “तारबारपछि त्यो सबै रोकिएको छ ।”
सामुदायिक वनले बास बिक्री गरेर रु चार लाख, सामुदायिक वनको बाँझो जग्गामा लगाइको फलफूल ठेक्कामा दिएर रु एक लाख ६५ हजार रकम आम्दानी गर्दै आएको छ । यसका अतिरिक्त वनले काठ, दाउरा, ढुङ्गालगायतबाट रु ४२ लाख बढी आम्दानी गर्दै आएको छ । आव ०७४÷७५ मा सामुदायिक वनले रु ४८ लाख आम्दानी गरेको थियो भने आव ०७३÷७४ मा सामुदायिक वनले रु ४५ लाख आम्दानी गरेको थियो ।
सामुदायिक वनको आम्दानी बढाउनका लागि यस वर्षदेखि एक बिगाहा पाँच कट्टा जग्गामा अदुवा र बेसार खेती गरिएको छ । शौचालय जडित गोबर ग्यास प्लान्ट निर्माणका लागि सामुदायिक वनले उपभोक्तालाई रु आठ लाख ४२ हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ । चार सय २१ जनालाई रु दुई हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ ।
सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि रु दुई लाखको लागतमा वनभोज स्थल निर्माण गर्ने योजना अघि सारिएको छ ।
सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आयआर्जनका कार्य गर्नका लागि अनुदान रकम दिने व्यवस्थासमेत गरिएको छ । जसबाट चार दर्जन बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल सामुदायिक वनको कोषमा रु १४ लाख रकम बचत रहेको छ ।
तराईदेखि चुरेको फेदीसम्म ४१७ हेक्टरमा फैलिएको सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइनुका साथै जङ्गली जनावर र चराचुरुङ्गीका लागि प्रख्यात रहेको छ । चितल, बँदेल, निलगाई, पाटेबाघ, चितुवा, वन कुुखुरा, बाँदर, स्याल, गोही, सुन गोहरा, खरायो, धनेश, मजुरलगायत सामुदायिक वनमा सहजै देख्न सकिन्छ । विसं २०५४ मा स्थापना भएको सामुदायिक वनमा ९०० बढी उपभोक्ता आश्रित रहेका छन् ।


