नेताहरु दशैं, प्रधानमन्त्री ओली बालुवाटारमा, अध्यक्ष प्रचण्ड खुमलटारमा
शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा र अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैं मनाउने कार्यक्रम रहेको छ। अध्यक्षद्वयले दशैंको समयमा पार्टीको सांगठनिक एकता प्रक्रियाका बारेमा गृहकार्य गरेर टुंगो लगाउने तय भएको छ।
दशैंको समयभित्र नै आन्तरिक गृहकार्य गरी जिल्लादेखि विभिन्न जनसंगठनको एकता खाकासहित कात्तिक ४ गते बस्ने सचिवालयको बैठकमा पेस गराउने गरी गृहकार्य भएको सचिवालयले बताएको छ।
‘दशैंको अवधिमा दुई अध्यक्षबीच पार्टीको सांगठनिक एकताको विषयमा नै छलफल हुन्छ, मन्त्रीहरूको कार्यशैलीका बारेमा पनि गम्भीररूपमा समीक्षा गरी सरकारलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ।’ –सचिवालयका एक सदस्यले बताए।
प्रधानमन्त्री ओलीले कात्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा दशैं मनाउने कार्यक्रम रहेको छ। टीकाका दिन बालुवाटारमै रहने र परिवार तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम तय भएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए ।
पूर्वप्रधामन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डको यसपालि दशैं छैन। उनले काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार खुमलटारमा नै दशैं अवधि बिताउने कार्यक्रम रहेको बताए ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दशैं मनाउने कार्यक्रम रहेको छ।
काठमाडौंबाहिर कार्यक्रम नरहेकाले देउवाले घरमै आफन्त तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम बनाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
त्यस्तै नेकपाको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि दशैं काठमाडौंमा नै मनाउँदैछन् ।
आफन्त र कार्यकर्तालाई टीका लगाइदिने, घरमै बस्ने र भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई दशैंका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुने भएका छन् ।
उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम रहेको छ। समाचारपत्रबाट
सिके राउतका कार्यकर्ता पक्राऊ
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।
कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
लडेर मजदूरको मृत्यु
सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।
चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लड्ेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुनियर रेडक्रस गठन
सिरहाको मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विजय कापरको अध्यक्षतामा ११ सदस्यीय सर्कलको उपाध्यक्षमा काजल महासेठ, सचिवमा विवेक सिंह, उपसचिवमा अञ्जली साह, कोषध्यक्षमा राजीव यादव, उपकोषाध्यक्षमा स्नेहा शर्मालाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यमा मनिष राम, अशोक महतो, सुस्मिता लामा, समीक्षा राम र अनिल नायकलाई चयन गरेको रेडक्रस मिर्चैया शाखाका सचिव ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।
सर्कलको संरक्षकमा विद्यालयका प्राचार्य प्रदीपकुमार तिवारी, शिक्षक नायकमा टीकाराम कार्की, उपशिक्षक नायकमा दिलीप मण्डल र सल्लाहकारमा विष्णुहरि घिमिरेलाई चयन गरिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले विद्यार्थीलाई रेडक्रसप्रति आर्कषित गराउन सर्कल गठन गरिएको बताउनुभयो ।
रानीपोखरी पुनःनिर्माण अन्योलमा
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।
भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो ।
कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनः निर्माणको काम अन्योल भएको हो ।
नगरप्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।”
यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।
कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो । पुनःनिर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ ।
उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।