उपत्यकामा प्रहरीको हप्ता असुली, भट्टीदेखि हुन्डीसम्म
‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् ।
शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।
पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । पछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।
३ वर्षदेखि अख्तियारको पिछा
त्यसो त ३ वर्षअघिदेखि अख्तियारले उनलाई पिछा गरेको थियो । चापागाउँ वृत्तमा हुँदा उनलाई पक्राउ गर्न आयोगबाट प्रहरी टोली खटिएको थियो । तर, उनले आयोगको टोलीलाई नै छक्याएर घुस लिएका थिए ।
बौद्धमा पनि उनीविरुद्ध धेरै उजुरी आएको आयोगका एक अधिकारीले बताए । चतुर तरिकाले घुस लिने भएकाले उनी पक्राउ परेका थिएनन् । अख्तियारले पिछा गरेको ३ वर्षपछि उनी पक्राउ परेका छन् ।
बदनाम ‘लाइन’
उपत्यकाका महानगरीय प्रहरी वृत्त तथा प्रभागलाई ‘लाइन’का कार्यालय भनेर चिनिन्छ । ‘लाइन’मा सरुवा हुन प्रहरीमा ठूलो सोर्सफोर्स चल्दछ । ठूला नेता, प्रहरी प्रमुखनिकटका व्यक्ति उपत्यकाका वृत्त तथा प्रभागमा इन्चार्ज भएर सरुवा हुन्छन् । किन यति धेरै सोर्सफोर्स चल्छ ? जब कि, अन्यत्रभन्दा उपत्यकाका कार्यालयमा बढी खटिनुपर्छ । किनकि, ती कार्यालयमा अतिरिक्त आम्दानी हुन्छ ।
गोप्य रूपमा अवैध धन्दा गर्नेहरूले प्रहरीलाई हप्ता तथा महिनामा नियमित पैसा बुझाउँछन् । यही कारण लाइनका कार्यालयमा प्रहरीको आकर्षण छ । यसअघि पनि उपत्यकाका वृत्त तथा लाइनका प्रहरी पटक–पटक घुससहित पक्राउ परेका छन् । यसले उपत्यका वृत्त तथा प्रभागमा हुने आर्थिक चलखेल प्रस्ट हुन्छ ।
प्रहरी पक्राउका शृंखला
३१ भदौमा एकैपटक कोटेश्वर, काँडाघारी तथा नयाँठिमी प्रभागका ९ प्रहरी घुससहित पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा थप २ प्रहरीले ‘लाइन मिलाएर’ पैसा लिने गरेको खुल्यो ।
सइ गोविन्द खरेल, ज्योति विष्ट, असइहरू गोपाल श्रेष्ठ र सुवास ढुंगाना, प्रहरी हवल्दारहरू उमेशलाल यादव, अमन चौधरी र दीपक भारती तथा प्रहरी जवानहरू मुकेशकुमार पटेल, दीपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल पक्राउ परेका थिए । उनीहरूले पनि बालुवा व्यापारीसँग मासिक पैसा लिने गरेका थिए ।
५ मंसिरमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्र्कका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परे । उनी ठूलै नेताको सोर्सफोर्स लगाएर त्यहाँ सरुवा भएका थिए । नयाँबसपार्क क्षेत्रका होटेल तथा लजसँग मासिक लिने दररेट उनले बढाएका थिए । असन्तुष्ट बनेका स्थानीय एक लजका सञ्चालकले अख्तियारलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए ।
गतवर्ष असोजमा बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी तथा असइ चन्द्रसिंह भाट पक्राउ परेका थिए । उनले नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ५ लाख रुपैयाँ घुस लिएर छाडेको अनुसन्धानमा खुल्यो ।
त्यस्तै, बानेश्वर वृत्तका डिएसपी रमेश तामाङ जग्गा विवादमा सहयोग गरिदिने भन्दै घुस लिँदा पक्राउ परे । ८ माघ ०७१ मा उनी ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । १२ साउन ०६९ मा थानकोट वृत्तका डिएसपी तेजेन्द्र पौडेल ३५ हजार घुससहित पक्राउ परेका थिए ।
भट्टीदेखि हुन्डीसम्म
प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउने गर्छन् । भट्टी चलाउनेदेखि हुन्डीको कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन् । कतिपय अवस्थामा बेलुका ढिलासम्म प्रहरीले रेस्टुरेन्ट तथा डान्सबार खोल्न दिएर पैसा लिने गरेको छ ।
कतिपय होटेलमा वेश्यावृत्ति हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरीले संरक्षण गरेर समेत पैसा लिने गरेको छ । हुन्डी तथा डलरको अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिने गरेको छ । कतिपय प्रहरी त गुन्डागर्दीमा संलग्नसँग समेत मिल्ने गर्छन् ।
यस्तै ठाउँबाट पैसा लिनका लागि वृत्त तथा प्रभागका प्रमुखहरू आफूनिकट प्रहरीलाई घुमुवाका रूपमा राख्ने गर्छन् । सबैजसो वृत्तमा अपराध अनुसन्धानका लागि अपराध महाशाखाको शाखा भए पनि वृत्तले छुट्टै घुमुवा टोली परिचालन गर्दै आएको छ ।
महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले उपत्यकाका प्रभाग तथा वृत्तका प्रहरीहरू निगरानीमा रहेको र गलत गर्नेलाई कारबाही गर्दै आएको बताए ।
यस्तै, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उजुरी बढेपछि आन्तरिक शुद्धीकरणलाई तीब्रता दिएको बताए । सोही क्रममा परिसरको टोलीले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीका एक प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घुस खाएको उजुरी परेपछि ती अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ ।नयाँपत्रिकाबाट