प्रचण्डकी बुहारी बाहेक सबै मन्त्रीविरुद्ध सुराकी, को को परे रेड जोनमा
प्रधानमन्त्री खड्गप्रसाद ओलीले सबै मन्त्रीहरूको कामको गतिविधिहरू बुझाउन सचिवहरूलाई सुराकीका रुपमा प्रयोग गरेको खुलासा भएको छ ।
ओलीले मन्त्रालयका सचिवहरूसँग मन्त्रीहरूले गरेका कामका बारेमा जानकारी माग्ने गरेका छन् । मन्त्री र सचिवहरूलाई बालुवाटारमा बोलाएर ओलीले संयुक्त रुपमा निर्देशन दिने गरे पनि पछिल्लो समय ओली सचिवहरुलाई विश्वास गर्न थालेका छन् ।
‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा राति सचिव र मन्त्रीहरूलाई बोलाएर झपार्ने गर्नुहुन्छ’, एकजना मन्त्रीले भने–‘सचिवहरूका अगाडि मन्त्रीहरूलाई गाली गरेर मन्त्रीहरूविरुद्ध सचिवहरूलाई प्रधानमन्त्रीले ताली बजाउन लगाउनु हुन्छ ।’
‘सचिवहरूकै अगाडि मन्त्रीहरूलाई हपारेपछि मन्त्रालयमा कस्तो अवस्था सिर्जना हुन्छ ?’, ती मन्त्रीले भने,‘मन्त्रीहरूका कारण होइन प्रधानमन्त्रीका कारण यो सरकार असफल हुने बाटोमा गइसक्यो ।’
प्रधानमन्त्रीको बल पाएर सचिवहरूले मन्त्रीका काम गर्नै मान्दैनन् । मन्त्रीले कुनै काम गर्न भन्यो भने सचिवहरूले एकछिनै हजुर भनेर प्रधानमन्त्री कार्यालयमा फोन गरेर कुरा लगाउने गरेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकहल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर नेतृत्वको खानेपानी मन्त्रालयको सचिव बाहेक सबै मन्त्रालयमा आफू अनुकूलका सचिव राखेका छन् । मन्त्रीहरूले चाहेर पनि सचिव फेर्न सक्ने अवस्था छैन ।
ओलीप्रति जवाफदेहिता र मन्त्रीका गतिविधिको सुराकी गर्ने सचिवहरूका कारण मन्त्रीका कुनै पनि राम्रा काम हुन नसकेको स्रोतको भनाइ छ ।
गृहसचिव रहेका पे्रमकुमार राईले प्रायजसोः बेलुका प्रधानमन्त्री ओलीलाई भेटेर व्रिफिङ गर्ने गरेका छन् । उनको काम नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई असफल बनाउनु रहेको भन्दै गृह मन्त्रालयभित्रै चर्चा हुँदै आएको छ ।
सचिवहरूले आजकाल मन्त्रीहरूका गतिविधिको रिपोर्टिङ प्रधानमन्त्रीलाई गरेर दिन विताउने गरेका छन् । प्रधानमन्त्री ओलीले पनि मन्त्रीभन्दा सचिवहरूका कुरा धेरै सुन्ने गरेका छन् ।
मन्त्रालयका समस्या परेर मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट्न खोज्दा भेट्ने समय नै पाउँदैनन् । ओलीले पनि मन्त्रीहरूलाई खासै भेट्न रुचाउँदैनन् । सचिवहरू, व्यापारी, मालदार अड्डाका हाकिमहरूलाई भेट्ने गरेको स्रोतको भनाई छ ।
राति १० बजेपछि बालुवाटारमा ओलीले आफू निकटका नेताहरूलाई बोलाएर मध्यरातसम्म गफ गरेर बस्ने गरेको आराप छ । मिर्गौला रोगको औषधि विदेशबाट मगाएर खाने गरेका ओली तीन घण्टाभन्दा धेरै सुत्दैनन् । ओली रातिमा साथीहरूसँग गफिएर बस्न रुचाउँछन् ।
सांसद बन्ने योजनाबाट पछि हटे गौतम
चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् ।
उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड्ने योजनाले पार्टी र स्वंम वामदेवमाथि आक्रमण तीव्र भएकोले अब उहाँ प्रतिनिधिसभामा जाने विषयमै पुनर्विचारको अवस्थामा पुग्नुभएको छ’, गौतम निकट एक नेताले भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक गर्नुहुन्छ।’
पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए । संसद् प्रवेशको उनको चाहलाई पार्टीभित्रै धेरै नेताले ‘शंका’ को दृष्टिले हेरेका छन् ।
आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन् । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए । तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन् ।
पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्र्कषमा पुगेका हुन् । गौतम निकट स्रोत भन्छ, ‘पार्टीभित्रै घेराबन्दी हुने देखेपछि उहाँ पछि हट्ने मनस्थितिमा पुग्नुभएको हो।
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित
नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशंकासमेत पैदा भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो ।
पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार हुनुभयो । सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।
घुस लिएको अभियोगमा उपसचिव पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा वीरगञ्जबाट पक्राउ गरेको छ ।
विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरेको हो ।
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री
सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
उनका अनुसार बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले दशैंलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करीब ९०० च्याङ्ग्रा ल्याइने उनले बताए ।
दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए ।
यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । विभागका महानिर्देशक गौचनले च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जानकारी दिए । सरकारले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने छन् ।
तलब वृद्धि गर्ने निर्णयमा महासंघको विरोध
सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतमात्र वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न सिफारिस गरेको थियो ।
सरकारले यस विपरित २५ प्रतिशतमात्र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोप्रति महासंघले आपत्ति जनाएको हो । महासंघद्वारा जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार पाँच सय कायम गर्न सरकारसँग माग गरिएको छ ।
दशैंअघि कर्णालीमा चामल ढुवानी गरिने
नेपाल खाद्य संस्थान सुर्खेतले दशैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ ।
कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैंतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने बताए ।
पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ । हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पुर्याइएको छ ।