पाँच वर्षपछि जनकपुरमा रेल चलेको छ । भारतको झारखण्ड पाखरबाट मंगलबार छुटेको रेल बुधबार दिउँसो ३ बजे जनकपुर आइपुगेको हो । ०७० देखि पूर्ण रूपमा बन्द रहेको जनकपुर–जयनगर रेल आंशिक सञ्चालनमा आएको हो ।
५३ बोगीमा लिकमा राखिने करिब ५ हजार टन गिटी लिएर मालबाहक रेल आएको हो । प्रतिघन्टा ७ देखि १० किलोमिटरको गतिमा आएको रेलमा सवार मजदुरहरूले लिकमा गिटी झार्दै आएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले बताए । रेल बुधबार नै भारत फर्किएको छ ।
भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग बनाउने गरी काम भइरहेको छ । पहिलो चरणमा जयनगर–कुर्था ३५ किलोमिटरमा आगामी डिसेम्बरदेखि रेल सञ्चालनको तयारी भइरहेको छ । ब्रोडगेज रेलमार्गमा १ सय किलोमिटर प्रतिघन्टाका दरले रेल कुद्नेछन् ।
कामै नगरी तलब खाइरहेका छन् रेल कम्पनीका कर्मचारी, रेल भने भारतलाई नै दिने तयारी रेल विभागले आगामी डिसेम्बरदेखि जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
तर, त्यसका लागि आवश्यक पर्ने प्राविधिकसहितका काममा नेपाल सरकारको तर्फबाट कुनै तयारी भएको छैन । त्यसो हुँदा रेल विभाग वा नेपाल रेल्वे कम्पनीले रेलमार्ग चलाउने सम्भावना कम छ ।
बरु सरकारले २ देखि ३ वर्षसम्मको लिजमा रेल सञ्चालन गर्न भारतलाई दिने विषयमा छलफल भइरहेको ओझाले बताए । रेल तत्काल सञ्चालन गर्ने विषयमा नेपाल सरकार, रेल विभाग र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए । ‘कर्मचारी भर्ना, रेल्वे सञ्चालन गर्नेलगायत विषयमा छलफल भइरहेको छ,’ उनले भने भने ।
यता नेपाल रेल्वे कम्पनीका १७ कर्मचारीले भने कामै नगरी तलब लिइरहेका छन् । रेल बन्द भएपछि इन्जिन, बोगी, काठको पट्टरी तथा अन्य भौतिक सम्पत्तिको लिलामीबाट आएको पैसाले उनीहरूले तलब खाइरहेका छन् । लिलामीबाट ६ करोड ८८ लाख जम्मा भएको थियो ।
रेल विभाग गठन भएपछि नेपाल रेल्व कम्पनी त्यसमातहत आएको थियो । रेल सञ्चालनका लागि भने अहिलेका कर्मचारी सक्षम नरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
जनकपुर–जयनगर रेल सेवा ०७० माघमा बन्द हुँदा कम्पनीसँग स्थायी ४५ र अस्थायी एक सय आठ गरी एक सय ५५ कर्मचारी थिए । रेल सेवा बन्द भएपछि अस्थायी सबै कर्मचारीलाई क्षतिपूर्तिसहित अवकाश दिइएको थियो । स्थायी २९ कर्मचारीले पनि स्वैच्छिक अवकाश लिएका थिए ।
नेपाल रेल्वे कम्पनीलाई वीरगन्जको रक्सौलमा रहेको जमिनबाट वार्षिक ३५ लाख रुपैयाँ भाडा आइरहेको महाप्रबन्धक तुलबहादुर डाँगीले बताए ।
न्यारोेगेजका रेलको इन्जिन, बोगीहरूलाई संग्रहालयमा राख्ने चर्चा चलिरहेका वेला कर्मचारीहरूले आफ्ना समस्या देखाएर ती इन्जिन तथा बोगीहरूको लिलामी नै गरिदिएको स्रोतको भनाइ छ ।
रेल लिकको काम अन्तिम चरणमा
रेल गुड्ने लिक निर्माणको काम अन्तिम चरणमा पुगेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले बताए । जयनगरदेखि खजुरीसम्म ८ किलोमिटर लिक पूर्ण रूपमा तयार भइसकेको छ ।
त्यस्तै खजुरीदेखि देउरी परवहासम्म ११ किलोमिटरमा दुईपटक गिटी हालिएको छ भने देउरीदेखि जनकपुरसम्म एकपटक मात्रै गिटी हालिएको उनले बताए । तीनपटक गिटी राखिएपछि लिक पूर्ण रूपमा तयारी हुने ओझाले बताए ।
भारतको रेल निर्माण कम्पनी इरकोन इन्टरनेसनलले जयनगर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माणको जिम्मा लिएको छ ।