केपी ओलीले धेरै बोलेर बिगारे, शेरबहादुरले नबोली सिध्याए



 

 

नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य हुन् चन्द्र भण्डारी । भण्डारीलगायतका केही युवा नेताहरूले काँग्रेसको वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर अभियान नै चलाएका थिए । तर हाल त्यो अभियान सुस्त बनेको छ ।

 

यहीबीचमा काँग्रेसले आफूलाई सङ्घीय स्वरूपमा बदल्ने प्रयासस्वरूप नयाँ विधान बनाइरहेको छ । बन्दै गरेको काँग्रेसको विधानका प्रावधान, नेतृत्वको कार्यशैली, अधिकार तथा प्रतिपक्षको जिम्मेवारी र सरकारका कामकारवाहीका बारेमा भण्डारीसँग गरिएको कुराकानीको संपादित अंश   :

 

 

काँग्रेस रूपान्तरणका लागि तपाईंलगायत युवा नेताहरूले निकै कसरत गर्नुभयो । अहिलेसम्म तपाईंहरूको प्रयास कति सार्थक भयो ?

नेपाली काँग्रेस आफ्नो इतिहास, चरित्र र नीतिअनुसार वर्तमानमा अघि बढ्न सकेन । तसर्थ कम्युनिस्ट पार्टीहरू मजबुत बनेर आए र झण्डै दुई तिहाई मत ल्याउन सफल भए । यो हाम्रो आफ्नै नेतृत्वको कमजोरीले हो । यसमा कसैले कसैलाई औँला ठड्याउन जरुरी छैन । यो अवस्थामा हामीले नयाँ कुरा केही पनि खोज्ने होइन, बीपीको जस्तो दृष्टिकोण, सुवर्ण शमशेरको जस्तो उदारता, गणेशमानको जस्तो डिटरमिनेसन र किसुनजीको जस्तो निष्ठालाई मिलाउन सकियो भने अहिले पनि काँग्रेसलाई अघि बढाउन सकिन्छ । अरूको विचार आवाश्यक पर्दैन ।

उग्र, उदण्ड मानिसको टाउको काटेर रगतबाट परिवर्तन हुन्छ भन्ने पार्टीको नेता मदन भण्डारीबाट प्रभावित भएर बहुदलीय जनवादको अभ्यास भइरहेको छ । यस्तो अवस्थामा काँग्रेस आफूलाई मात्रै होइन, अरू पार्टीका लागि पनि उदाहरणीय बन्न सक्नुपर्छ । त्यो अवस्था ल्याउन वर्तमान नेतृत्वबाट सम्भव छैन । तसर्थ अब नेपाली काँग्रेसको महासमिति बैठक बस्दैछ । विधानलाई परिमार्जन गर्दैछ । वर्तमान चुनौतीहरूलाई आधार मानेर नयाँ विचार र नयाँ दृष्टिकोणका आधारमा पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्छ भनेर हामी अझै लागिरहेका छौँ ।

 

नेतृत्व परिवर्तनका लागि महाधिवेशन बोलाउनुपर्ने हुन्छ । त्यसका लागि अझै एक वर्षको समय छ । त्योभन्दा अघि नै तपाईंहरूको होमवर्क देखियो । जसले तपाईंहरूले भनेको रूपान्तरणको लक्ष्य प्राप्त होला ? 

परिवर्तन हुने नै यसरी नै हो । एउटा जीवन्त पार्टीमा हरेक किसिमका विचार र दृष्टिकोण हुन्छन् । यसरी विचारगत रूपमा आउने विभिन्न दृष्टिकोणहरूलाई स्वभाविक मान्नुपर्छ । विचारहरूको मन्थनबाट नै निष्कर्षमा पुग्न सकिन्छ ।

 

के अब काँग्रेसको नेतृत्व शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेकबाट खोज्ने हो ?

हामीले संविधान बनायौँ, संविधानमा समानुपातिक समावेशी राख्ने विभिन्न प्रावधान पनि राख्यौँ । त्यसका  लागि आयोगहरू गठन गर्यौँ । त्यो किन गर्यौँ भने प्रजातन्त्रमा १९ हजार एक सय एकले जित्छ, १९ हजार ९९ ले हार्छ । हारेको प्रतिनिधत्व पनि भएन । विभिन्न समाजको परिवर्तन र मागअनुसार पहिचानका कुरा उठाएर राष्ट्र मजबुत बनाउनका लागि सम्बोधन गर्नुपर्ने रहेछ भनियो । राम्रो संविधान भएन भने द्वन्द्व उत्पादन गर्छ भन्ने हो । तर  संविधान निर्माण भइसकेपछि हामीले जुन लक्ष्य र उद्देश्यका लागि जुन काम गरेका थियौँ त्यो नेताहरूले पूरै बिर्सिए ।

 

आफ्नो परिवार र आफ्नो व्यापार मात्रै हेरे । सबैलाई अवसर दिन सकेनन् । कुनै पनि नियुक्ति होस् वा समावेशी समानुपातिककै कुरा किन नहोस् तिनलाई समाजको माग र आवश्यकताअनुसार समावेशी तरिकाले कुनै काम भएन । जुन नेता आफ्नो परिवार र गिरोहबाट बाहिर निस्कन सक्दैन, त्यो व्यक्ति जोसुकै भए पनि राष्ट्र हाँक्न सक्दैन । जसले भोलि म नेपाल हाँक्छु भनेर समानताको प्रत्याभूति दिनसक्छ त्यो नै भोलिको हाम्रो नेता हुन्छ ।

 

त्यसका लागि उपयुक्त पात्र काँग्रेसमा को छ त ? 

को हुन सक्छ भनेर अहिले व्यक्तिकै पहिचान गर्ने र भन्दै हिँड्ने कुरा हैन । तर हाम्रो विचार समूहमा ठूलो जमात छ । यो जमातले विचार र दृष्टिकोणका आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्छ ।

 

काँग्रेसले आफूलाई सङ्घीय संरचनामा बदल्न विधान तयार गर्दैछ । विधान बनाउने क्रममै संस्थाभन्दा पनि व्यक्ति बलियो बनाउने भन्नेमा नेताहरूबीच ठूलो रस्साकस्सी भइरहेको छ । यसले त काँग्रेस अझै पनि परिवर्तनलाई आत्मासाथ गर्न चाहँदैन कि भन्ने आशङ्का गर्न थालिएको छ नि ?

नेतृत्वलाई शक्तिशाली बनाउन हुँदैन, अधिकार दिनु हुँदैन भन्ने पक्षको म होइन । सैद्धान्तिक रूपमा अधिकार दिनुपर्छ  तर नेपालको अहिलेको नेतृत्वले अधिकार लिएर चलाउन सक्दैन । अहिले दुई तिहाइको सरकार छ, चलाउन सकेको छैन । आफ्नो पार्टी नै चलाउन सकेको देखिँदैन । नेपालका राजनीतक पार्टी र तिनका नेताहरू समग्र देशको नेतृत्व गर्नभन्दा गुटउपगुट र पैसका भरमा चल्छन् । त्यसकारण नेताहरूलाई सबै अधिकार दिने बेला अझै भइसकेको छैन । हामीले देखिसकेका छौँ । पार्टीहरूमा पनि देखिसक्यौँ । कुनै पनि नेताले देशका लागि केही गर्न सकेको छैन । एउटा नेताले आफ्नो अवसरवादभन्दा टाढा हेर्न खोज्दैन । पैसाभन्दा बाहिर निस्कन सक्दैन । वरिपरि साना घर बनाएर बीचमा आफू ठूलो घर बनाउन नेताहरू लालायित छन् । यस्तो प्रवृत्ति, दृष्टिकोण र सोचाइले कसरी हुन्छ मुलुकको समृद्धि ? कसरी हुन्छ न्याय र समानता ? त्यसकारण यो परिवेशमा नेतालाई सबै अधिकार दियो भने देश पनि सकिन्छ, पार्टी पनि सकिन्छ भन्ने विगतको पाठबाट भोगेको कुरा हो ।

 

काँग्रेस आफूलाई देशको पुरानो प्रजातान्त्रिक पार्टी भन्छ । तर यही पार्टी नै प्रजातान्त्रिक पद्धतिबाट अलग हुन्छ भने अरू पार्टीबाट के अपेक्षा गर्न सकिएला ? जस्तो नेविसङ्घको विधान पारित गर्ने बेलामा नै मध्यराति नेताहरूको असहमतिका बीचमा निर्णय भयो ?

नेविसङ्घको ३२ वर्षे हदम्यादका विषयमा गत वर्ष नै निर्णय भएको हो । यो वर्षबाट कार्यान्वयन गर्ने भनिएको हो । त्यसबेला निर्णय गर्ने बेलामा पनि केही कमीकमजोरी भएका थिए । त्यसकारण यसमा अनिर्णयको बन्दी हुनुभन्दा बहुमतले पास गर्नु नै उपयुक्त हो । यसलाई अनर्थका रूपमा लिनु हुँदैन । आफू हुँदा सबै राम्रो र नहुँदा सबै नराम्रो भन्ने प्रवृत्ति पनि ठीक होइन । हाम्रो पार्टीमा सुशीलजी सभापति हुँदा शेरबहादुरजीले १० महिनासम्म असहमति जनाएर केन्द्रीय कमिटी बैठक बस्न दिनुभएन बहिष्कार गर्नुभयो । अहिले कम्युनिस्ट पार्टी सरकारमा छ ।

 

यही कम्युनिस्ट पार्टीले गिरिजाबाबु पहिलो चुनावबाट आउँदा १५ दिनपछि हड्ताल गरे । कर्मचारी उचाले । ५७ दिनसम्म संसद नै चल्न दिएनन् । यस्तो क्यारेक्टरबाट हामीले सिकेर जाने हो । जस्तो, भारतीय पूर्वराष्ट्रपति अब्दुल कालम भन्नुहुन्थ्यो– ‘हरेका राम्रा निर्णयहरू अनुभवबाट प्राप्त हुन्छन् । ती अनुभवका आधारमा भावी निर्णय गर्नुपर्छ ।’ हामी सबैले हिजो गलत निर्णयहरू गर्यौँ ।

 

त्यसैकारण युरोपजस्तो देश जहाँ हिउँ नै हिउँ छ, त्यो स्वर्ग बनेको छ । जहाँ ५३ डिग्री तापक्रम भएको अरब छ, त्यो देश स्वर्ग बनेको छ । हाम्रो देश आफैमा स्वर्ग छ तर यहाँका युवा त्यही युरोप र अरब गएर कष्ट भोगिरहेका छन् । पसिना बगाइरहेका छन् । यी सबै कुरा विगतमा हाम्रा लिडरहरूले गरेको गल्तीका कारण भइरहेका छन् । त्यसको जरो उखेल्नुपर्छ । त्यो रोगको निदान गर्नुपर्छ । चाहे जुनसुकै पार्टीमा होस् ।

 

भनेपछि अब बन्ने काँग्रेसको नयाँ विधान पार्टी रूपान्तरण र नेतृत्व परिवर्तन हुने किसिमको होला ? 

हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रो जस्तो संविधान भारत या अरू कुनै देशले बनाउन सक्छ ? सक्दैन । भारतमा हाम्रो जस्तो संविधान बनाए त्यहाँ मारकाट हुन्छ र देश नै विखण्डन हुन्छ । यो संविधान बनाएर लागू गर्दैछौँ । लागू भइसकेको पनि छैन । तर परिवर्तन भएन गरेन भनिरहेका छौँ । यो कति गैरजिम्मेवारीपना हो । अनुभव गर्दै जाँदा अप्ठ्यारो भयो भने फुकाउँदै जाने दुनियाँको अभ्यास हो ।

त्यस्तै काँग्रेसको विधानको सवाल पनि यही हो । हामीले यसअघि पार्टीको विधान बनायौँ तर लागू नै गरेनौँ । महासमिति बैठक एकएक वर्षमा बस्ने विधानमा व्यवस्था छ । तर सभापति यो लागू नै गर्नुहुन्न । कम्युनिस्ट पार्टीहरू विधान बनाउँछन् लागू नै गर्दैैनन् । आपसमा झगडा गरेर बस्छन् । प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नदेखेका नबुझेका नेताहरू नेपालको राजनीतिक दलका नेता भए । तिनका हातमा पार्टी गयो । त्यसकारण उनीहरूलाई विधानप्रति मतलब भएन । समाजप्रति उत्तरदायित्व भएन यही भएर नै नेपाली जनताले दुःख पाएका हुन् ।

 

जानीबुझी तपाईंहरू किन त्यस्ता नेताहरूलाई नेतृत्व दिनुहुन्छ त ? कमजोरी त तपाइर्हंरू जस्ता नेताको पनि हो नि ? 

कमजोरी हाम्रो पनि हो । पढेलेखेका राम्रा मान्छे प्लस टु गरेकाहरू विदेश गए । अलिअलि पढेका कर्मचारी भए, कोही डाक्टर कोही इन्जिनियर । बाँकी रहेका राजनीति गर्ने भए । राम्रा मान्छे र राम्रा कुराहरू नै अल्पमतमा परे । अहिले हाम्रा कुरा कसले सुन्छ ? बजारमा नयाँ धेरै डाक्टर आएका छन् तर अशोक बास्कोटा नै किन खोज्छन् ? कल्चर नै त्यस्तो भयो । यसलाई बनाउन समय लाग्छ ।

 

तर नेपालका युवा पुस्तालाई राजनीतिमा स्थान नै दिइँदैन भन्ने गुनासो पनि छ नि ?

विचार ओरिएन्टेड भएनन् नेता र तिनका कार्यकर्ता । जहाँ आफ्नो परिवार, नाताकुटुम्ब, आफन्त, गुट र गिरोहको मात्रै कुरा सुनिन्छ । त्यो पार्टी र नेताले केही गर्न सक्दैन । युवाहरू छन् तर स्थान पाउँदैनन् । यो पनि सत्य हो । तर विस्तारै यो क्रम हटाउन जरुरी छ । आउटपुट हेर्ने भनेको त राष्ट्र र जनताको अवस्था नै हो ।

 

अब नयाँ परिवेशमा नेपालका राजनीतिक दलहरू सच्चिने अवस्था कति देख्नुहुन्छ त ?  

नयाँ परिवेशमा नयाँ सोच, विचार र नेतृत्व आउन जरुरी छ । यिनीहरूबाट देश पनि बन्दैन । पार्टी पनि बन्दैनन् । यो अवस्था धेरै राख्न दिनुहँुदैन ।

 

दुई तिहाईको सरकार बनेको छ । शान्ति र समृद्धिका चर्का कुरा पनि भइरहेका छन् । तर जनतामा निराशा कम भएको छैन । तपाईं प्रतिपक्ष दलको नेता पनि हुनुहुन्छ । कस्तो देख्नुहुन्छ यो सरकारको यात्रा ? 

हामीले गएको केही समयभित्र दुईजना व्यक्तिको अनुभव सँगालेका छौँ । एकजना सुशील कोइराला र अर्को केपी ओली । कोइराला गृहस्थीविहीन वा परिवारविहीन हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदा पनि राष्ट्रले सहयोग गर्यो । त्यसको बदलामा उहाँले अत्यन्त चुनौतीका बाबजुद देशलाई संविधान दिएर जानुभयो । त्यसपछि केपी ओली आउनुभयो । ओलीजीको गृहस्थी छ । अरू छैन । बिरामी हुनुहुन्छ, राज्यले करोडौँ खर्च गर्छ । उहाँको नेतृत्वमा यो देशले समृद्धि पाउनुपर्ने होइन ? व्यक्ति के पार्टी के ? तर उहाँ प्रधानमन्त्री भएपछि पहिलो भ्रमण गर्दा निजी जहाज चढेर जानुभयो ।

 

नेपालको आफ्नो लगानीको जहाज चढ्न मन लागेन । किन ? उहाँलाई म नेपालको नेता हुँ, सबैको नेता हुँ भन्ने नै लागेन । मैले धेरै भनेको र लेखेको पनि छु । कर्मचारी, एनजीओ, प्रहरी उहाँकै हातमा छन् । वकिल ठेक्कापट्टा गर्ने उहाँहरूकै छन् । यो चुनौतीबाट निस्कनुपर्नेमा उहाँ निस्कन सक्नुभएन । जसले गर्दा सरकारले दैनिक रुटिनको काम पनि गर्न सकेन ।

 

तर यो सरकारले अझै पनि गर्नतिर लागोस् भन्ने मेरो कामना छ । केपी ओलीजस्तो मान्छेले माधव नेपाल, प्रचण्ड, झलनाथलाई राखेर भन्नुपर्छ– मलाई केही चाहिएको छैन । तपाईंहरूले लगनशिल मान्छे छान्नुस्, कसैलाई अन्याय नहोस् । सबै मिलेर काम गरौँ । यो देशलाई १० वर्षमा राम्रो र विकसित बनाऊँ भन्नुपर्नेमा व्यक्तिव्यक्तिमा अड्किनुभएको छ ।

 

देशमा त्यति धेरै बलात्कारका घटना भएका छन्, भ्रष्टचार भएका छन् । तर उहाँ आफै सबै कुरा बोल्न खोज्नुहुन्छ । उहाँले त्यसरी बोल्ने नै होइन । ओलीजी बोलेको बोल्यै गर्नुहुन्छ । बोल्नुपर्ने प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा बोल्नै खोज्नुहुन्न । एउटाले बोलेर विगार्ने अर्कोले नबोली विगार्ने काम भएको छ । यस्तो अप्ठ्यारोमा देश पुगेको छ । हुन त कम्युनिस्टहरूको चरित्र नै हो बढी बोल्ने काम कम गर्ने ।

 

भारत र चीनसँगको सम्बन्ध यो सरकारले राम्रो बनायो । यसमा गाली गर्नुपर्दैन तर बङ्गालको खाडीको सम्मेलनमा सैन्य अभ्यासको कुरा किन गरेको ? सैन्य अभ्यासको कुरा गर्नुपर्ने थियो भने फूलबारी राजमार्ग राखिदिएको भए हुन्थ्यो । त्यसबेला चाइनालाई भन्न सक्थ्यौँ । किनभने हाम्रो स्वार्थ छ, १४ किलोमिटर बाटो भयो भने हामीलाई सहयोग हुन्छ भनेर । बोलेपछि भारतीयहरू विपक्षमा लागे । यी सबैले गर्दा अहिलेको नेतृत्वमा भिजन भएन । सिन्डिकेट उस्तै छ । कर वृद्धि भएको छ । महँगी बढेको छ ।

 

मुलुकको इतिहासमै पहिलो पटक ५ वर्षे स्थायी सरकार बनेको छ । जनताको समृद्धिको चाहना पनि त्यतिकै बढेको छ ? के यो सरकारबाट समृद्धिको अपेक्षा पूरा हुँदैन त ? 

अहिले नै सबै उपलब्धि भैहाल्नुपर्छ भन्ने पनि होइन । तर सरकारको सुरुवात नै राम्रो भएन । पाकिस्तानका प्रधानमन्त्रीले मेरो देश गरिब भयो । मेरो आइडल भनेको नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुन् । म कोइराला जस्तै सिम्पल प्रधानमन्त्री हुन्छु । मलाई यो बुलेटप्रुफ गाडी चाहिँदैन, यति भैँसी पाल्नुछैन । ठूलो घरमा बस्नु पनि छैन भन्न सक्छन् भने नेपालका प्रधानमन्त्रीले त्यो त्याग र तपस्या देखाउन सक्नुपर्दैन  ? तर त्यस्तो आँट उहामा देखिएन । फेरि यो सरकार गयो भने कसले चलाउने भन्ने अर्को प्रश्न पनि छ । किनभने काँग्रेस त तयार छैन । देश फेरि अराजकतामा जान सक्छ ।

 

प्रतिपक्षको हैसियतमा काँग्रेसले निभाउनुपर्ने भूमिका चाहिँ निभाएको छ  ?

अहिलेको अवस्थामा नेपाली काँग्रेसले जसरी आफ्नो भूमिका निभाउनुपथ्र्यो, त्यो अलिकति पनि निभाउन सकेको छैन । यति धेरै राष्ट्रिय मुद्दा छन् । हत्या बलात्कार बढेका छन् । ट्याक्स वृद्धि भएको छ । बुढीगण्डकी आयोजनामा मनपरी भइरहेको छ । निजगढ विमानस्थलमा भ्रष्टचारका कुरा आएका छन् । तर काँग्रेस कहाँ छ, आफैले आफैलाई खोज्नुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा प्रतिपक्षले दनदन अवाज उठाउनुसक्नुपथ्र्यो । जसले एउटा गाइडलाइन दिन्थ्यो । सरकारलाई सजग गराउन सहयोग पुग्थ्यो तर भएन ।

सरकारका सबै अङ्ग र ज्ञानेन्द्रीयहरू बन्द भए जस्ता छन् भने प्रतिपक्ष डराइरहेको अवस्था छ । तर किन डरायो भन्ने मलाई नै थाहा भएन । प्रतिपक्षको नेता सदनमा गएर नबोल्ने हो भने प्रतिपक्षको नेता किन बन्या ?

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
सिजी सोलार वाटर हिटरको न्यानो, शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

  नेपाली उपभोक्ताका लागि परिचित कम्पनि सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार

बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि

    बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ

जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग, आरामदायी मौसमका लागि आधुनिक समाधानहरू

    ११४ बर्षको लामो ईतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार