नेकपाको एकता जटिल, सांसद बन्दै वामदेव, रामवीर मानन्धरको हुने भयो जागिर चट



 

पार्टीभित्रको आन्तरिक विवाद टुंगो लगाउन भन्दै सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना कुनै निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पार्टी विवादमा भन्दा नेताहरुको विदेश भ्रमणको ब्रिफिङमा केन्द्रित बन्यो ।

 

पार्टीभित्रको असन्तुष्टिका बारेमा बैठकमा छलफल गर्ने तयारी भएपनि बैठक रिर्पोटिङमा केन्द्रित भएको हो । तर, बैठकले आगामी बैठकका लागि कार्यसुची तयार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति पत्र पेश भएको छ । यो सँगै नेकपा भित्रको विवादले औपचारीकता पाएको छ ।

 

यता, नेपाल समाचारपत्रमा छापिएको खबर अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको हो ।

 

विवाद चुलिँदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद शुरु भएको छ । तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना बितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् ।

 

पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।

 

सांसद बन्ने तयारीमा वामदेव
नेकपाका नेता वामदेव गौतम काठमाडौंबाट चुनाव लड्ने तयारीमा छन् । उनका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।

 

वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।

के हो नेपालको असहमति ? 

 

वरिष्ठ नेता नेपालले नेकपा सचिवालयको निर्णयमा तीब्र असन्तुष्टि जनाउँदै केन्द्रीय कार्याल धुम्बाराहीमा  असहमति पत्र दर्ता गराए थिए। उनले गत असोज १२ मै महासचिव विष्णु पौडेलमार्फत् लिखित अहसमति पत्र बुझाएका थिए ।

 

‘सचिवालय बैठकले प्रस्ताव ल्याउने, मापदण्ड बनाउने र उक्त मापदण्डका आधारमा कमिटीमा व्यक्तिको नाम प्रस्ताव गर्नुपर्थ्यो। तर, कुनै प्रक्रिया पूरा गरिएनन्। सचिवालय आफैंले बनाएको मापदण्डलाई समेत निर्णय प्रक्रियामा मानिएन ।

 

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणपछि मात्र सहमतिका आधारमा निर्णय लिने भनिएकोमा विश्वास तोडेर जालझेलपूर्ण ढंगले निर्णय लिने काम गरियो, यो निर्णयबाट म स्तब्ध छु’, नेपालले महासचिव पौडेललाई बझुाएको असहमतिपत्रमा भनिएको छ ।

 

वरिष्ठ नेता नेपालले असहमतिमा दुई विषय उठाएका थिए । पार्टी विधानको धारा ३८ (ग) र साउन २५ मा बसेको सचिवालयले आफैंले बनाएको मापदण्ड मिचेर असोज ५ को सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गरेकोप्रति नेपालले तीब्र असहमति जनाएका छन् ।

 

विधानको उक्त धारामा पार्टी एकताका क्रममा सहमतिका आधारमा कमिटी निर्माण गरिने उल्लेख गरिएको थियो। गत साउन २५ गते बसेको सचिवालय बैठकले कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधिलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने मापदण्ड बनाएको थियो।

 

तर नेता नेपाल विदेशमा रहेका बेला मुख्यमन्त्रीहरुलाई समेत पार्टीको कार्यकारी पदको जिम्मेवारी तोकेको थियो ।

 

यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे ।

 

त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई विधिविपरीत प्रदेश कमिटीको नेतृत्व छानिएको भन्दै असहमतिपत्र बुझाए । चार महिनाअघि केन्द्रमा भएको एमाले र माओवादीबीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै एकता प्रक्रियालाई लिएर वरिष्ठ नेताहरूबीचको विवाद छताछुल्ल भयो ।

 

बिहीबार स्वदेश फर्केका प्रधाममन्त्री ओलीले आफ्नो अनुपस्थितिमा नेपालका गतिविधिप्रति संकेत गर्दै ‘मुद्दाविहीन राजनीति’ नगर्न सल्लाह थिए । ओलीले ‘कवि मन’ले केही भनिहाले पनि त्यसको पछि नकुद्ने बताउँदै एकता प्रक्रिया केही दिनमै टुंगो लाग्ने दाबी गरे ।

 

नेकपाभित्र शीर्ष नेताबीचको विवादको खास कारण के हो त? नेताहरूका अनुसार पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ हो यो । त्यसकै रिहर्सलका रूपमा प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकतासम्बन्धी विवाद सतहमा आएको हो ।

 

चार महिनाअघिको एकताले उत्साह सिर्जना गरे पनि त्यसपछि अन्य काम अल्झिएका छन् । यसले कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गइरहेको पार्टीका नेता बताउँछन् ।

 

एकता प्रक्रियामा सक्रिय भएका नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार नेताहरूले पार्टी एकता र कार्यकर्ताको भावना नै नबुझी आफ्नो ढंगले चल्न थालेका छन् । कमिटी प्रणाली बिर्सेर गलत निर्णय हुन थालेको उनको बुझाइ छ ।

 

‘एकतालाई एउटा ढाँचा र पद्धतिबाट टुंग्याउनुपर्ने हो,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘तर पार्टी सत्ता र राज्यसत्तामा को हावी हुने भन्ने स्वार्थको लडाइँ धेरै भइरहेको छ ।’ सहमतिअनुसार आउँदो दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको छ ।

 

त्यसका लागि आकांक्षीको सूची लामै छ । एकता गर्दा नै भावी अध्यक्ष आफ्नो भन्ने पुष्पकमल दाहालको दाबी छँदै छ । एमाले ठूलो पार्टी भएकाले त्यो धारकै नेतृत्व हुनुपर्छ भन्नेमा माधव नेपाल छन् ।

 

ईश्वर पोखरेल एमालेमा दुई पटक महासचिव भएको व्यक्ति अब नेतृत्व गर्ने भन्ने आकांक्षामा छन् । यी सबै नेताका आकांक्षाबीच ओली आफैंले पनि भावी नेतृत्व आफ्नो होइन भनेर कतै भनेका छैनन् ।

 

वामदेव गौतमले पनि ७० वर्षको उमेर हद लागू नहुने भन्दै छन् । पूर्वअध्यक्षसमेत रहेका झलनाथ खनाल ‘पहिले बिरामी थिएँ र विश्राम लिएँ, अब तन्दुरुस्त भएको छु, आफ्नो गुट बनाउँछु’ भन्दै हिँडेका छन् ।

 

त्यसैले भावी महाधिवेशनमा कसको नेतृत्व स्थापित हुने भन्ने कुरा अहिले प्रदेश र जिल्ला कमिटीको एकतासम्बन्धी निर्णयको धेरै प्रभाव रहन्छ । अहिले आफू अनुकूलको जिल्ला र प्रदेश नेतृत्वमा बढीभन्दा बढी व्यक्ति ल्याउनसके महाधिवेशनमा प्रभाव पर्न सक्छ जसलाई आधार बनाएर महाधिवेशनको नेतृत्व हत्याउन पाइन्छ भन्ने नेताहरूको सूक्ष्म गृहकार्य छ ।

 

अहिले केपी ओली र पुष्पकमल दाहालले गरिरहेको निर्णय र माधव नेपालका विरोधभित्र त्यस्तै स्वार्थ पनि हावी छन् । ‘आफ्नो मान्छेलाई मात्र अघि सार्ने, नेताको वरिपरि हुनेले पनि घेराबन्दी गरेर अवसर लिइहाल्ने जस्तो देखिएको छ,’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘भोलि पार्टीले कस्तो शक्ति आर्जन गर्ने भन्नेतर्फ कम ध्यान दिएको देखिन्छ ।’

 

केन्द्रको एकता हुँदा एमाले र माओवादी भन्ने मनोविज्ञान थियो । एमाले र माओवादी पक्ष भन्दै भागबन्डा भयो तर तल्लो तहमा एकीकरण प्रक्रिया जब सुरु भयो, त्यसमा नेताहरूको भावी नेतृत्वको आकांक्षा टकराउन थाल्यो ।

 

त्यसले विवाद एमाले र माओवादी भन्ने मात्र सीमित रहेन, विभिन्न नेताको पक्षधरतामा विस्तार भयो । एमालेभित्र ओली र नेपाल पक्षको गुट हावी भयो ।

 

धेरै स्थानमा ओली पक्षले नेपाललाई निमिट्यान्न पार्न खोजेको गुनासो आयो । त्यही गुनासोको विस्तारित रूप हो नेता नेपालले पार्टीभित्र राखेका लिखित असहमति । ‘नेताहरूका आफ्ना कुरा केही होलान् तर एकताको मर्मलाई नेताहरूले बोकेर हिँड्नुपर्छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘एकताले सबैलाई जोड्ने खालको वातावरण बनाउँदै लैजानुपर्छ ।’

 

तर शीर्ष नेताहरूको स्वार्थ टकराउँदा जिल्ला तहमा समेत विभाजनको रेखा कोरिइरहेको छ । यसले स्वाभाविक रूपमा नेतृत्वमा आउने व्यक्ति पाखा पार्ने अवस्था आएको छ । त्यस्तैमध्येका एक प्रतिनिधि हुन् अर्घाखाँचीका पूर्वएमाले सचिव रामबहादुर चौहान जो अहिले राजधानी आएर शीर्ष नेताहरूसमक्ष आफूलाई न्याय दिलाउन पुकार गरिरहेका छन् ।

 

पार्टीभित्र दोहोरो पद नदिने भन्ने मापदण्ड बन्यो । त्यसअनुसार जिल्लाका अध्यक्ष प्रदेश सांसद, उपाध्यक्ष प्रदेश संगठनमा बढुवा भएपछि तत्कालीन एमालेको सचिवका रूपमा चौहान वरिष्ठ थिए तर हाल पार्टीको कार्यदलले उनीभन्दा कनिष्ठ व्यक्तिलाई जिल्ला अध्यक्षको सिफारिस गर्‍यो ।

 

‘नेताहरूको गुट तल्लो तहसम्म विस्तार भएको छ र कसलाई ल्याउँदा आफूलाई फाइदा हुन्छ, त्यो हेरिएको छ,’ चौहानले भने, ‘स्वाभाविक रूपमा पार्टीको वरिष्ठतालाई उल्लंघन गरिँदै गइएको छ, कामका आधारमा होइन, नेतासँगको निकटताका आधारमा जिम्मेवारी पाउने अवस्था छ ।’

 

यो प्रवृत्ति अहिले तल्लो तहमा एकीकरण हुने अधिकांश जिल्लामा देखिएको उनको दाबी छ । तल्लो तहको नेतृत्वमा समेत माथिबाट नेताहरूको स्वार्थले काम गर्दा पार्टी कामले गति नै लिन सकेको छैन ।

 

विवाद र आक्रोशको पारो बढै जाँदा प्रधानमन्त्री केपी ओली १४ दिन लामो विदेश यात्राबाट फर्केलगत्तै शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

 

आफूहरूको अनुपस्थितिमा वरिष्ठ नेता माधव नेपालले व्यक्त गरेका असन्तुष्टिका विषयमा दुवै नेताले छलफल गरे । उनीहरूले पार्टी एकता प्रक्रियामा भइरहेका विवाद र असन्तुष्टिलगायत विषयमा छलफल गर्न आइतबारका लागि सचिवालयको बैठक बोलाएका छन् ।

 

नेकपामा यसरी एक्लिँदै माधव नेपाल, कस–कसले छाड्दैछन् गुट ?

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा नै लेखिन्– अब म कुनै गुटमा रहन्न । स्वतन्त्र बस्छु ।

 

तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेत चलाइसकेकी झाँक्री कहिले पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुटनजिक भइनन् ।

 

ओलीइतरका विभिन्न नेताका समूहमा सक्रिय भइन् तर सुरक्षित नभएको महसुस गरिन् । तत्कालिन अध्यक्ष झलनाथ खनाल गुटमा सक्रिय रहेकी उनी पछिल्लो कालमा ओलीइतरको गुटको नेतृत्व गरेका नेता माधवकुमार नेपालको लाइनमा थिइन् । सायद उनको ठम्याई छ, नेपालले अवसरलाई पक्रने र अवसर नपाउनासाथ कार्यकर्तालाई वास्ता गर्दैनन् ।

 

नेपाल समुहका होनाहार नेता भएर पनि योगेश भट्टराईले अवसर पाएनन् । सांसद जित्दा जित्दै उनी मन्त्री बन्ने चर्चा थियो । तर नेता नेपालले मन्त्रीका लागि उनको नाम अघि सार्न सकेनन् । तत्कालिन एमाले सचिव भट्टराई पनि अब नेपाल समूहबाट दिक्क भइसकेका छन् ।

 

उनी पार्टीको जिम्मेबारीमा स्वतन्त्र भएरै अघि बढ्ने तयारीमा छन् । ‘न सरकारमा जिम्मेबारी न पार्टीमा कुनै हैसियत भएपछि नेताको पछि लागेर हिँड्नु वा त्यो समूहको भन्नुको के अर्थ रह्यो र ?’, भट्टराईनिकट एक नेताले भने,‘यसैले अब युवा र मनमिल्ने साथीहरूको नयाँ समूह बनाएर प्रभावकारिता देखाउने योजना बन्नेक्रममा छ ।’

 

पार्टीमा वैचारिक र सैद्धान्तिक दृष्टिकोण राखेर अघि बढे नेता घनश्याम भुसाल । उनका कतिपय विचारलाई अन्य पार्टीले आफ्ना अवधारणापत्र समेत बनाए । उनको वैचारिक र राजनीतिक हैसियतका आधारको दबाबले नेताहरू बोल्न सकेनन् नत्र नेपाल समूहका व्यक्ति भन्ने ट्याग लागिरह्यो ।

 

उनी पनि स्वतन्त्र हिसाबले नै कम्युनिस्ट विचार र समाजवादको सैद्धान्तिक पक्षका विषयमा विमर्श र मन्थनमा व्यस्त हुने मुडमा छन् ।

 

विद्यार्थीको नेतृत्व गरेर पार्टीमा पनि लामो समयसम्म वैकल्पिक केन्द्रीय सदस्य बनेका ठाकुर गैरे पनि स्वतन्त्र वैचारिक समूहको पक्षमै उभिने तयारीमा छन् । झन् तत्कालिन माओवादी केन्द्रसँगको एकीकरणपछि उनलाई दबाबमा मात्र राखियो, मौका दिने छाँटकाँट नै देखिएन ।

 

नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष ओलीको सशक्त समूह छ । उनले आफ्नो टोलीलाई सुरक्षित गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीलाई पार्टी र सरकारमा सकेसम्म समेट्ने प्रयास गरेका छन् । तर, तेस्रो वरियतामा रहेका नेता नेपालले भने आफ्नै समूहका ‘प्रभावशाली’हरूलाई बेवास्ता गरेका छन् ।

 

एक नेता भन्छन्,‘वरियतामा तेस्रोमा पर्दा उहाँ खुशी हुनुभयो त्यसपछि टिमको वास्ता पनि गर्नु भएन । अहिले उहाँलाई नसोधी गरिएका निर्णयमा विवाद गरिरहनु भएको छ । त्यस विषयमा पनि टिमसँग छलफल गर्नु भएन ।’

 

ओली अगाडी खनालको समूहमा रहेका यी युवा नेता नवौं महाधिवेशनमा नेपालको सहयोगसहित समूहमा स्थानान्तरण भएका थिए । खनालले गर्न नसकेको काम नेपालले गर्छन् भन्ने विश्वास थियो ।

 

तर त्यसैबेलादेखि नै मौका नपाएका युवा नेतालाई पार्टी एकीकरणपछि झन् भित्तामै पुराएपछि गुटगत राजनीति त्याग्ने मनसायमा पुगेका छन् ।

 

‘पार्टीमा एउटा लाइन हुन्छ तर त्यो लाइनले पनि सुरक्षा गर्न नसक्ने र प्रभावकारिता देखाउन नसकेपछि साथ दिनुको अर्थ हुँदैन ।

 

हामीले पनि पार्टीमा योगदान गरेका कारणले नै यहाँसम्म आएका हौं तर यहाँभन्दा माथि त नेताले पनि सोच्नुपर्छ’, नेकपाका एक युवा नेताले भने,‘यसैले हामी यस्तो मनस्थितिमा पुगेका छौं ।’

 

यसै पनि केही दिन यतादेखि नेकपामा नेपाल र अध्यक्षद्वयको कटाक्ष चलिरहेको छ । प्रचण्ड मध्यमार्गी भएर बसेका छन् भने ओलीसँग नेपालको कटाक्ष चलिरहेको छ ।

 

सरकारको काम कारबाहीप्रति नेपालले असन्तुष्टी जनाउँदै संसदमा आलोचना गरेका थिए भने स्थायी कमिटीको छुट्टै बैठक डाकेर असन्तुष्टी पोखेका थिए ।

 

विहीबार दिउँसो मुलुक आइपुगेका अध्यक्ष ओलीले नेपाललाई पुराना गीत र कविता भनेर असन्तुष्टी पोख्नु स्वभाविक भएको भनी व्यंग्य समेत गरेका थिए ।

 

यस्तो अवस्थामा नेपाल समूहलाई नै अघि बढाएका युवा नेताको मनस्थिति परिवर्तन भएपछि नेकपामा पनि युवाको चौथो धारको उदय हुनसक्ने अनुमान गरिएको छ ।

नेता सुरेनद्र पाण्डेले पनि आउने महाधिवेशनलाई ध्यानमा राखेर गुट चेन्ज गर्न सक्ने बुझिएको छ ।

 

सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन
गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

 

गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई सोमबार निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए ।

 

मन्त्री थापाले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरूलाई सचेत गराए । राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न उनको निर्देशन छ ।

 

गुण्डा नाइकेलाई थुनामुक्त गर्ने निवेदन खारेज
सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले सोमबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो ।

 

यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।     सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो ।

 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो ।

 

रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार 
विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ ।

 

विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्काल विद्युत् रोयल्टी रकम तिर्न भनेको हो । विभागका अनुसार विद्युत् उत्पादन शुरु भएदेखि हालसम्म ती जलविद्युत् आयोजनाले रोयल्टी रकम तिरेका छैनन् ।

 

सरकार र शिक्षकबीच तीन बुँदे सहमति
स्वतः स्थायी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिअनुसार संघीय शिक्षा ऐनअन्तर्गत राहत शिक्षकहरुलाई स्थायी गरी व्यवस्थापन गरिने छ । ४ बुँदे माग राख्दै ४० हजार राहत शिक्षकहरुले आफूहरुलाई सरकारी दायरामा नल्याएको भन्दै आन्दोलनमा उत्रेका थिए ।

 

सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरी खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजालसले ट्रक व्यवसायीको सम्पत्ति तत्काल राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको हो ।

 

सरकारले यातायात व्यवसायी समितिको नाममा रहेको सम्पत्ति रोक्का गर्दै राष्ट्रियकरण गर्ने प्रक्रिया थालेको थियो । सोको विरोधमा ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले सर्वोच्च अदातलतमा रिट दायर गरेका थिए ।

 

सीके राउतविरुद्ध राज्य विरुद्धको अपराध मुद्दा 
रौतहट प्रहरीले सीके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई जिल्ला प्रहरीले सोमबार अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको छ ।

 

स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका र विभिन्न भड्किलो वक्तब्य दिँदै हिँडेका राउतविरुद्ध पटकपटक राज्यविरुद्धको अपराधका मुद्दा लगाइए पनि छुट्दै आएका छन् । जिल्ला अदालत गौरमा राज्य विरुद्धको अपराधकै मुद्दाको तारेख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई आईतबार साँझ पक्राउ गरेको थियो ।

 

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता
पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिए ।

 

आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ । “हामीले प्रतियोगिता सञ्चालनका लागि आइसिसीमा पत्र पठाएका थियौँ, आइसिसीले हामीलाई मान्यता दिएको छ”, आइसिसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भने ।

 

विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ ।

 

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

 

राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र