दसैँ मनाउन विदेशबाट घर फर्किनेको घुइँचो,सुरक्षाकर्मीबाटै नाकामा असुली



हाम्रो इकोनोमि

 

दसैँ नजिकिँदै गर्दा कामका लागि भारत गएका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा घर फर्किन थालेका छन् । दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा घुइँचो लाग्न थालेसँगै भारतीय सुरक्षाकर्मीले सताउन सुरु गरेको उनीहरूले गुनासो गरेका छन् ।

 

भारतका विभिन्न सहरमा काम गरिरहेका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दाको एक सातादेखि सीमानाकामा घुइँचो लाग्न थालेको हो । गौरीफन्टा नाकाबाट मात्रै दैनिक सात–आठ सय नेपाली फर्किने गरेको सीमामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्ण बोगटीले बताए । ‘आजभोलि त बिहानैदेखि साँझसम्म लर्को हुन्छ,’ उनले भने ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा रोजगारीको अवसर छैन । जसले गर्दा यहाँका बासिन्दा कामको खोजीमा भारत जाने गर्छन् । उनीहरूको आधिकारिक तथ्यांकसमेत छैन । त्यहाँका विभिन्न सहरमा मजदुरी, चौकीदारीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

 

भारतमा काम गर्ने अधिकांश सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा चाडपर्वमा घर फर्किने गरेका छन् । कतिपय असारमा धान रोपेर भारत जाने र दसैँ–तिहारमा फर्किने गर्छन् भने हिउँदे बाली लगाएर फेरि जाने गर्छन् ।

 

त्रिनगर नाका भएर घर फर्किंदै गरेका बाजुरा कैलासमाडौंका गोकुल बुढा असारमा रोपाइँ सकेर भारत गएका थिए । सिम्लामा स्याउ टिप्ने काम गरेका उनी दसैँका लागि घर फर्किएका हुन् । उनले भने, ‘पाँचजनाको परिवार छ । घरखर्च चलाउन पनि काम गर्नै प-यो । आफ्नो देशमा केही पाइँदैन ।’ हिउँदे बाली लगाएर फेरि भारत जाने उनले बताए ।

 

७० प्रतिशत घरका सदस्य भारतमा
सुदूरपश्चिमका डोटी, अछाम र कञ्चनपुरमा गत वर्ष गरिएको एक नमुना सर्वेक्षणले करिब ७० प्रतिशत घरधुरीबाट कम्तीमा एकजना रोजगारीका लागि भारतमा रहेको पाइएको छ । भारतमा रहेका नेपाली कामदारको क्षेत्रमा काम गर्दै आएको संस्था निड्स नेपालको सर्वेक्षणका क्रममा एकै घरबाट दुई–तीनजनासम्म भारतमा काम गरिरहेको देखिएको छ ।

 

तीमध्ये कतिपय वर्षौँदेखि भारतमै काम गर्दै आएका र कतिपय खेतीपातीको काम नभएको सिजनमा मजदुरी गर्न जाने गरेको देखिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । ‘भारतमा प्रायः नेपालीले गर्ने सीपमूलक नभएर चौकीदारी, घरायसी, मजदुरीलगायत कठिन काम हुन्,’ उनले भने ।

 

डोटीको केआइसिंह गाउँपालिका–६ झिँगाबस्तीका मीनबहादुर कुँवरले आफू डेढ वर्षपछि घर फर्किन लागेको बताए । उनी सात–आठ वर्षदेखि भारतमा काम गर्दै आएका छन् । तेलंगनाको एक विद्यालयमा चौकीदार मीनले भने, ‘यता रोजगार छैन, छोराछोरी पढाउन भारततिर जानै प-यो ।’

 

युवा अवस्थामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत भारतमै काम गरेका थिए । वर्षौँदेखि भारतमा जाने क्रम अझै पनि नघटेको सरोकारवालाहरू बताउँछन् ।

 

त्यहाँबाट नेपाल छिरिसकेपछि पनि नेपाली सुरक्षाकर्मी र भन्सार कर्मचारीले जाँचको नाममा सताउने गरेको उनीहरूले बताए । त्यस्तै बाटोमा खाना खादा विषालु पदार्थ खुवाएर बेहोस भएपछि लुटपाट गर्ने गरेका छन् । निड्स नेपालका अनुसार गत वर्ष गड्डाचौकी नाका भएर आउने ५० जना नेपाली लुटिएका थिए ।

 

दसैँको वेला धेरै कामदार घर फर्किने भएकाले पैसा माग्ने, लुटपाट गर्ने, सताउने गरिँदै आएको छ । उनीहरूले सीमानाकामा सहज र सुरक्षित आवतजावत व्यवस्था गर्न आग्रह गरेका छन् ।

 

सुरक्षाकर्मीबाटै नाकामा असुली
चाडपर्व मनाउन घर फर्किरहेका नेपालीबाट सीमानाकामा भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्ने गरेका छन् । भारतको पुनाबाट फर्किएका कैलाली मसुरियाका विवेक रसाइलीले गौरीफन्टा नाकामा भारतीय भन्सार कर्मचारीले पैसा मागेको बताए । ‘पैसा दिन्नँ भन्दा सामान चेकजाँच गर्ने नाममा सतायो, धकेलधाकेल ग-यो,’ उनले भने ।नयाँपपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...