कठघरामा मातृका यादव: पेट्राेल मधेसकाे धान र रामेछापकाे अालू हाे र भाउ नबढ्न ?



 

सन्की हुनुहुन्छ । रिसको झोकमा के ठीक के बेठीक छुट्याउन सक्नुहुन्न । ०६४ सालमा पहिलोपटक मन्त्री हुँदा आफ्नो निर्देशन अटेर गरेको भन्दै तत्कालीन ललितपुरका एलडिओलाई ट्वाइलेटमै थुन्नुभयो ।

 

सन्की भन्ने जुन आरोप छ, यो ठीक छैन । मैले अहिलेसम्म सन्कीको कुनै औषधि खाएको छैन । जसले मलाई सन्की भन्छन्, तिनीहरू लुटको व्यवस्थाका पक्षपातीहरू हुन् । वास्तवमा म त्यतिवेला माओवादी थिएँ के ! अहिले त माओवादी छैन । सत्ता परिवर्तनका लागि जनतालाई तयार गर्न भनेर माओवादी आएको हो । मन्त्री बनेपछि बेथिति देखेँ ।

 

जनता चिच्याइरहेको र शासक–प्रशासक रमाइरहेको पाएँ । अहिले पनि सबै ठीक भयो भन्ने पक्षमा म छैन । जनताको चाहना, भावना र हाम्रो नारा एकातिर हुन्छ, र व्यवहारहरू अर्कातिर हुन्छन् । त्यसले रिजल्ट निस्कँदैन । त्यतिखेर म आफैँ फिल्डमा गएर अध्ययन गरे । ललितपुर चापागाउँबाट मास्तिर जाने बाटाको कुरा हो । जनता त्राहिमाम छन् ।

 

अहिले पनि त्यहाँ खासै परिवर्तन भएको छैन । जनता धुलो खाइरहेका छन्, पानीका स्रोतहरू सुकिरहेका छन् । नेताहरूले, प्रशासकहरूले पैसा खाएर गलत ढंगले क्रसर चलाउन छुट दिएका थिए । त्यसलाई मैले कन्ट्रोल गर्न खोजेको हो । मातहतका कर्मचारीले अनुशासन नमानेपछि, भ्रष्ट भएपछि के गर्नु ?

 

मैले के बुझेको छु भने एउटा बदमासलाई अलि ठोकेपछि अरू तर्सिन्छन् । अहिले पनि मलाई यो विधि ठीक हो भन्ने लाग्छ । जम्मैलाई जेल हालेर, कारबाही गर्न त सम्भव छैन नि । तर, कारबाहीचाहिँ हुनुपर्छ । गलत मान्छेलाई कारबाही हुन्छ, भ्रष्टाचार कम हुन्छ भनेर जनतालाई आश हुन्छ ।

 

तर, त्यही खराब मान्छे केही दिनमा समाजमा मजाले सानसँग जुँगामा ताउ तलाएर हिँडिरहेको हुन्छ । यस्तै, बेथितिलाई रोक्न मैले त्यो एलडिओलाई थुनेको हो । मान्छेहरू पिटेको भन्छन् । तर, मैले पिटेको होइन । मैले त्यसलाई ‘पर्यावरण बिग्रियो भने कस्तो असर हुन्छ एकछिन ट्वाइलेटमा बसेर हेर्नुस्’ भनेर राखेको हुँ । त्यो पनि खुरुखुरु आएर बसेको हो ।

 

त्यहाँ मैले उसलाई फोनको सुविधा पनि दिएको हो । र, आफैँले पनि स्थानीय मन्त्रालयको सचिवलाई फोन गरेर ‘तपार्इंको एलडिओ थुनामा परेको छ, लैजान आउनुस्’ भनेर बोलाएको छु । यदि म सन्की हुन्थेँ भने सचिवलाई ‘लैजान आउनुस्’ भनेर बोलाउँथेँत ?

 

त्यहाँ थुप्रै सहसचिवहरू पनि हुनुहुन्थ्यो । मैले भनेँ, ‘यसलाई(एलडिओ) ठीक गर्ने कि नगर्ने ?’ उसले ‘किन यस्तो भयो, हजुर बुझिबक्सियोस् न’ भन्छ । ‘बुझिबक्सियोेस् न’ मात्रै भन्छ । उसले केही नभन्ने अनि, मैले कसरी बुझ्ने ? त्यसकारण त्यो घटना मैले कुनै आवेशमा आएर होइन, सचेत ढंगले गरेको हो ।

 

अहिले पनि म त्यस्तै समस्या फेस गरिरहेको छु । तर, अहिले म माओवादी होइन, यो कुरा पनि बुझ्नुहोला । नेकपामा छु । मान्छेहरू मलाई ‘मातृका रिसाउँछ’ भन्छन् । हो, म रिसाउँछु । राम्रो काम गर्दा गर्दै म रिसाएँ भनेर कसैले भनिदियो भने म मान्छु । हामीले त मार्क्सवाद, लेलिनवाद, माओवाद पढेका हौँ नि । त्यो विज्ञान हो ।

 

समाजलाई कसरी परिवर्तन, आफू कसरी परिवर्तन गर्ने र देश र जनताप्रति कसरी समर्पित हुने भन्ने सिकाउँछ त्यसले । मैले त ठूल्ठूला डिग्रीवालालाई पनि देखेको छु, जो मार्क्सवादको विपरीत हिँडेका छन् । उनीहरूले के मार्क्सवाद पढेका होलान् ?

 

समग्रमा ठीक होस् या नहोस्, आफूलाई लागेको कुरा जुनसुकै मूल्य चुकाएर पनि गरिछाड्ने स्वभाव छ । मर्यादा नाघेर आक्षेप लगाउने र अभिव्यक्ति दिनसमेत पछि पर्नुहुन्न । मन्त्री रहेकै वेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लक्षित गर्दै ‘रक्तचन्दन तस्करहरूको जरा बालुवाटारसम्म रहेको’ अभिव्यक्ति दिनुभयो । यही विषयमा प्रधानमन्त्रीसँग विवाद हुँदा राजीनामा दिएर हिँड्नुभयो ।

 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विवाद त्यो विषयमा मात्रै भएको होइन । मैले बोल्दा पनि ‘तस्करहरूको लिंक पियनदेखि राजासम्म छ’ भनेको हो । बालुवाटारमा छ भनेको होइन । खास विवाद अर्को हो । अन्तर्राष्ट्रियस्तरको ‘टाइगर फोरम’ कार्यक्रम थियो । त्यहाँ मैले ‘हिजोसम्म वनरक्षकहरू वन भक्षक थिए । व्यवस्था नै त्यस्तै थियो ।

 

अब हिजोको कुरा छाडेर वनरक्षकहरू वनको रक्षा गर्नमा लागौँ’ भनेको थिएँ । तत्कालको सेनामाथि प्रश्न उठाएको थिएँ । म सैनिक हिरासतमा हुँदा आफ्नै आँखाले देखेको थिएँ र आफैँले पनि मासु खाएको विषय उठाएको थिएँ । बँदेल देख्नै नहुने, मृग देख्नै नहुने भन्ने प्रश्न मैले भाषणमा उठाएको थिएँ ।

 

यो कुरा प्रधानमन्त्रीलाई मन परेन । उहाँले ‘यो तपार्इंको विषय नै होइन, सेनाका बारेमा किन बोल्नुभयो’ भनेर सोध्नुभयो । मैले ‘साधारण जनता त बोल्न पाउँछन्, म त मन्त्री हुँ’ भनेँ । अर्को कुरा, ‘मैले प्रत्यक्ष देखेको कुरा बोलेको हुँ, यस्तो त म बोलिरहन्छु’ भनेँ । उहाँलाई मेरो कुरा मन परेन । अनि, राजीनामा दिएर हिडेँ । मेरो राजीनामा स्वीकृत भयो । तीन महिनापछि फेरि मन्त्री नियुक्त भएँ । त्यतिवेला पनि राजीनामा दिएँ ।

 

मैले त्यतिखेर त्यस्तो बोलेर कसैको मर्यादा उल्लंघन गरेको होइन । सत्य कुरा बोल्नु कसैको मर्यादा उल्लंघन हुन्छ भने त्यो त फेरि पनि भइरहन्छ । मातृका यादव त्यस्तै मान्छे हो । मैले कसैलाई ‘तँ, तिमी’ भनेको होइन । ‘सम्माननीय प्रधानमन्त्रीज्यू’ भनेरै बोलेको हुँ । अरूको मर्यादा नगर्नु भनेको आफ्नो मर्यादा खसाउनु हो भन्ने पनि मैले बुझेको छु । त्यसकारण म कसैको मर्यादामाथि प्रहार गर्ने स्वभावको मान्छे होइन ।

 

शान्तिप्रक्रियामार्फत संसदीय राजनीतिमा आएर तीन÷तीन पटक मन्त्री भइसक्दासमेत तपार्इंमा सशस्त्र युद्धकालीन धङधङी कायमै थियो ।

युद्धका वेला कब्जा गरिएको सिरहाको जग्गा स्थानीय प्रशासनले फिर्ता गरेपछि तपाईं मन्त्री भएकै वेला गाडीमा झन्डा हल्लाउँदै गएर फेरि पार्टीको झन्डा गाड्नुभयो । यो कुरा तपाईंकै पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री प्रचण्डले समेत रुचाएनन् । विवाद बढेपछि राजीनामा दिएर हिँड्नुभयो ।

 

स्थानीय प्रशासनले होइन । त्यतिवेलाको सरकारमा दलालका पक्षधर मान्छेहरू पनि थिए । उनीहरूकै दबाबमा त्यहाँ बसेका गरिब, दलित जनतालाई उठिबास लगाउने काम भयो । महिलाहरूमाथि समेत आक्रमण भयो, कुटपिट भयो । त्यसपछि म गएर फेरि बसाएको हुँ ।

 

त्यसलाई कब्जा गरेको किन भन्नुहुन्छ ? त्यहीँ बसिरहेका जनतालाई उठाइएपछि फेरि बसाएको मात्रै हो । त्यतिखेरको प्रधानमन्त्री तथा हाम्रो अध्यक्ष प्रचण्डले मलाई ‘तपाईं त्यहाँ जानु ठीक थिएन’ भन्नुभयो । उहाँले ‘कारबाही गर्छु’ भन्नुभएको होइन । मैले ‘म जानु ठीक थियो’ भनेँ ।

 

उहाँले मलाई ‘राजीनामा दिनुस्’ भन्नुभएको पनि होइन । जब उहाँलाई म त्यहाँ गएको ठीक लागेको छैन भने म उहाँको मन्त्रिपरिषद्मा बस्नु ठीक हुँदैन भनेर आफैँले राजीनामा दिएको हुँ । प्रधानमन्त्रीले त पछि पनि ‘फिर्ता आउनुस्, मन्त्री बन्नुस्’ भन्नुभएको हो । मैले ‘होइन, म बाहिरै बसेर सहयोग गर्छु’ भनेँ ।

 

दुःखी, गरिब जनताको मुक्तिका लागि कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो, आफैँ पनि ठूलो त्याग र संघर्ष गरेर यहाँसम्म पुग्नुभयो । तर, तपाईंको स्वभाव फौजी कमान्डर र जमिन्दारको जस्तो छ । मन्त्री भएका वेला सँगै हिँड्न नमानेको भन्दै आफ्नै सुरक्षामा खटिएका सेनालाई समेत खेद्नुभयो । उनीहरू बस्ने कोठामा ताल्चा ठोकिदिनुभयो ।

 

तपाईंले नबुझेरै आरोप लगाएजस्तो लाग्यो । मलाई कसैले पनि जमिन्दारको जस्तो स्वभाव छ भनेर भन्दैन । जमिनदारको स्वभाव रवाफ देखाउने हुन्छ । तपाईं मसँग बस्ने कुनै पनि सेना र प्रहरीलाई सोध्नुस्, मेरो कस्तो व्यवहार हुन्छ भनेर । मेरो दाबा छ, कुनै पनि कमान्डर र सिपाहीले मेरो त्यस्तो स्वभाव छ भनेर भन्न सक्दैन । त्यतिखेर भएको के हो भने मैले सँगै लैजान खोजेको हो । मधेसमा आन्दोलन भइरहेको थियो, खतरा थियो ।

 

मैले ‘तपार्इंहरू दुईजना हिँड्नुस्, एकजनाले आफ्नै सुरक्षा गर्न सक्दैन, मेरो सुरक्षा के गर्नुहुन्छ ?’ भनेँ । अहिले पनि स्कटिङ हुन्छ । अगाडि सुरक्षाकर्मीको गाडीले सडक क्लियर मात्रै गरिरहेको हुन्छ । मन्त्रीमाथि आक्रमण भयो भने उनीहरूले रोक्नै सक्दैन । पछाडिबाट सुरक्षा हुन्छ । यो मेरो बुझाइ हो  ।

 

त्यसैले, मैले उनीहरूसँग पनि ‘दुईजना हिँड्नुहोस्’ भनेँ । उनीहरूले आफ्ना माथिल्ला कमान्डरलाई सोधे । त्यहाँबाट ‘हुँदैन’ भन्ने जवाफ आयो । त्यसपछि मैले ‘तपार्इंकै सुरक्षा हुन्न भने मैले किन बेकारमा लान्छु’ भनेर लगिनँ । त्यसमाथि त्यतिवेला मधेसमा पहाडियामाथि आक्रमण हुने स्थिति पनि थियो । त्यसपछि मैले मधेसीया प्रहरीलाई लिएर हिडेँ ।

 

सेनाका मान्छेहरूलाई मैले ‘तपार्इंहरू घर मात्रै किन रुघ्नुहुन्छ ? जानुस्’ भनेँ । मन्त्री क्वाटर ढुकेर मात्रै त के फाइदा छ र ? उनीहरू बस्ने कोठामा पनि ताला लगाइदिएँ । उहाँहरूले मान्नुभएन । उनका कमान्डरहरूले ताला फुटाइदिए । त्यसपछि मैले आफ्नो निवास नै सारिदिएँ ।

 

अब यो कसरी जमिन्दारी स्वभाव भयो ? मसँग बस्ने भाइहरू कसैले पनि भन्दैन कि ‘मातृकाले रवाफ देखाएर काम गरायो’ भनेर । हो, म रिसाउँछु । आफ्नै टिमका साथीहरूसँग पनि रिसाउँछु, तर काम गरेन भने ।

 

तत्कालीन माओवादी र एकताकेन्द्र मसालबीच एकता हुँदा पार्टीले मधेसको मुद्दा छाडेको भन्दै ०६५ सालमा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउनुभयो । तर, पार्टीलाई विस्तार गर्न नसकेपछि प्रचण्डकै छहारीमा फर्कनुभयो ।

 

फेरि कुरा त्यहीँ आउँछ, म त्यो वेलामा माओवादी थिएँ (हाँसो) । त्यो वेलामा जुन एकता भयो, एकता गर्ने एउटा पक्ष माओवादी जनयुद्धको विपक्षको थियो । त्यो वेला उहाँहरूले जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’सम्म भन्नुभयो ।

 

जब कि, अरू पार्टीहरूले त्यतिसम्म भनेका थिएनन् । ती साथीहरू फेरि हामीहरूसँगै भएका हुन् । एकता महाधिवेशनमा जनयुद्धको जुन निर्णय हामीहरूले गर्‍यौँ, उहाँहरू पनि सँगै हुनुहुन्थ्यो । उहाँहरू जनयुद्धविरुद्ध हुनुहुन्थ्यो ।

 

जब जनयुद्ध गर्ने तयारी भयो, लड्नुपर्छ भनेर पार्टी फुटाएर जानुभयो । हुन त जनयुद्धको तीन हात उफ्रेर समर्थन गर्ने अब्बल दर्जाका क्रान्तिकारी साथीहरू पनि डरले भागे । अर्को कुरा त्यो पार्टीले माओवाद नमान्ने । त्यत्रो रगतको खोलो बगाएर ल्याइएको प्रचण्डपथ थियो । त्यो त छाडियो नै, माओवादीको बीचमा पनि अब्लिक राखियो ।

 

पहिला जनयुद्धलाई आलोचना गरेको स्वीकार गर्नुपर्‍यो, अर्को माओवाद मान्नुपर्‍यो । अनि, आत्मआलोचनासहितको एकता हुनुपर्‍यो भन्ने मेरो मान्यता थियो । त्यसमा सुरुमा किरण(मोहन वैद्य)दाइ पनि तयार हुनुहुन्थ्यो । अहिले बन्दुक उठाएर हिँडेका विप्लव पनि तयार थिए ।

 

प्रकाश (नारायणकाजी श्रेष्ठ) कमरेडले एकता गर्नुभयो भने स्वीकार गर्ने, तर नोट अफ डिसेन्ट लेख्ने हाम्रो टिमको सहमति थियो । यस्तो पक्षका मान्छे हामीहरू ३५ मध्ये १७ थियौँ । एक मतले मात्रै प्रचण्ड कमरेडहरू अगाडि हुनुहुन्थ्यो । तर, के–के कुरा भित्र मिलाएपछि चुप लागे ।

 

बैठकमा सहमतिविपरीत किरण दाइ एक शब्द पनि बोल्नुभएन । अनि, विप्लवले उल्टै एकताको वकालत गर्न थाले । उनले ‘दाइ खाइन्छ, पचाइन्छ’ भनेर भने । मैले भनेँ, ‘पचाउने होइन छेरपाटी लाग्छ, भोमिट पनि आउँछ ।’ यो ‘खाइन्छ, पचाइन्छ’ भन्ने पुरानै शब्द हो ।

 

बालाजुमा भएको विस्तारित बैठकमा एकताको कुरा उठ्दा किरण दाइले ‘खाइन्छ, पचाइन्छ’ भन्नुभयो । मैले ‘दाइ तपार्इं भर्खर जेलबाट आउनुभएको छ, म त अलि अगाडि आएँ । तपार्इंलाई थाहा छैन, जनयुद्ध सुरु गर्दा हामीमा जुन तागत थियो जे खाए पनि पचाउने, अहिले त्यो तागत छैन । अब खायो भने पनि पचाउने तागत छैन, छेरपाटी लाग्छ’ भनेँ।

 

किरण दाइको त्यही शब्द ल्याएर विप्लवले प्रयोग गर्नुभएको थियो । बैठकमा मैले ‘उहाँहरूले माने पनि मचाहिँ मान्दिनँ, यसमा विरोध छ’ भनेँ । भोलिपल्ट किरण दाइलाई भेटेर ‘के गर्नुभयो यस्तो ? किन बोल्नुभएन ?’ सोधेँ । उहाँले त ‘मैले पहिला नै हस्ताक्षर गरिसकेको थिएँ, नैतिक रूपले मिलेन’ भन्नुभयो  । उहाँ एकता संयोजन समितिको संयोजक हुनुहुन्थ्यो । पछि अध्यक्ष प्रचण्ड कमरेडलाई पनि भेटेर ‘मचाहिँ बस्दिनँ, मसँग जानेलाई लिएर जान्छु’ भनेर छुट्टिएँ ।

 

पछि माओवादी पार्टी कमजोर अवस्थामा आयो । किरण दाइहरू पनि छुट्टिएर जानुभयो । म त एक्लो केन्द्रीय सदस्य मात्रै गएको थिएँ । तलका केही साथीहरूले साथ दिए । ती साथीहरूमा पनि आँट आएन । हामीले लड्ने नै निर्णय गरेको हो । तर, निर्णय कार्यान्वयनमा साथीहरू कमजोर देखिए ।

 

हैरान परेसान म छँदै थिएँ । पासाङ शेर्पाजीहरूसँग जनजाति–मधेस आन्दोलनमा मेरो कुरा मिल्थ्यो । उहाँले ‘तपाईंहरू मिल्नुपर्छ, नत्र हाम्रा सबै मुद्दाहरू कमजोर हुन्छन्’ भन्नुहुन्थ्यो । ०६४ मा हाम्रो पार्टीले चुनाव बहिष्कार गरेको थियो । तर, प्रचण्ड उठेको सिरहाको क्षेत्रमा हामीले उम्मेदवार खडा गरेका थियौँ । उहाँ सिरहा आएको वेला फोन गरेर भेट्न बोलाउनुभयो ।

 

म त्यतिवेला घर बनाइरहेको थिएँ, ‘अहिले आउँदिनँ, काठमाडौं आएको वेला भेट्छु’ भनेँ । काठमाडौं आएका वेला पासाङजीले नै भेट्टाउनुभयो । पार्टीमै फर्कनुको खास कारण जुन उद्देश्य लिएर म अलग भएँ, त्यो नसकेरै हो । पार्टी पनि बनाउन सकिएन, मुद्दाहरू पनि झनझन कमजोर भए ।

 

त्यसमाथि मधेसमा विखण्डनवादी सोच हाबी हुँदै गयो । विखण्डनको पक्षमा म कहिल्यै लाग्न सक्दिनँ । यी सबै हेर्दाखेरि देशलाई एकताबद्ध बनाउनुपर्छ, मधेसका समस्या हल गर्नुपर्छ भन्ने लाग्यो । अध्यक्ष कमरेडसँग यी सबै कुरा भए ।

 

उहाँले पनि वाम एकताको आह्वान गर्नुभएको थियो । उहाँलाई जति गाली गरे पनि मैले सधैँ ‘नेता भनेको प्रचण्ड नै हो । बिगार्ने पनि उहाँ नै हो, बनाउने पनि उहाँ नै हो’ भन्ने गरेको थिएँ । त्यो कुनै बनावटी थिएन, मलाई लागेको कुरा थियो । पछि पार्टी एकता नै गरियो ।

 

हक्की र दम्भी स्वभाव छ । त्यही स्वभावका कारण सरकारमा मन्त्री हुँदा प्रधानमन्त्रीसँग र नभएको वेला पार्टी नेतृत्वसँग सधैंँ विवाद पर्‍यो । अघिल्लो तीनपटक मन्त्री हुँदा बीचमै राजीनामा दिनुभयो । एकपटक छुट्टै पार्टी पनि बनाउनुभयो । तर, पछिल्लो समय सम्झौता गर्न थाल्नुभएको छ । त्यसैले, अहिलेका प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्षद्वयसँग विवाद भएको सतहमा आएको छैन ।

 

मैले कहिल्यै पनि चुनाव लडेको थिइनँ । यसपालि उम्मेदवार बनेँ । चुनावमा जनताले प्रश्न गरे, ‘तपाईंलाई किन भोट दिने ? तपाईं जितेर मन्त्री भए पनि छोडिहाल्नुहुन्छ ।’ अनि, मैले उहाँहरूलाई ‘म यसपटक राजीनामा दिन्नँ’ भनेर प्रतिबद्धता गरेको छु ।

 

जनतासँग जे बोलेको छु, त्यो पूरा गरिरहनेछु । पार्टीले फर्की भन्यो वा प्रधानमन्त्रीले ‘तिम्रो काम छैन, छाड’ भने भने एक मिनेट बस्न पनि मिल्दैन । त्यस्तो नहुन्जेलसम्म जनतासँग गरेको वाचाअनुसार नै हिँड्छु ।

 

अरू मन्त्रालयका विभागीय काममा समेत हस्तक्षेप गर्नुहुन्छ । कालिमाटीमा तरकारी बजारमा अनुगमन गरेर तपाईंको मन्त्रालयले हस्तक्षेप गरेको भन्दै कृषिमन्त्रीले सार्वजनिक रूपमै आपत्ति जनाउनुभयो ।

 

हामी दुई भाइ(कृषिमन्त्री र आफू)ले एकअर्काको मन्त्रालयमा हस्तक्षेप गर्ने कुरै आउँदैन । मेरो मन्त्रालय त सबैको चेपुवामा परेको मन्त्रालय हो । यो चेपुवाबाट निस्कन त गाह्रो छ भने अर्काको मन्त्रालयमा गएर कहाँ मैले हस्तक्षेप गर्नू ? सबै मन्त्रालयले सहयोग नगरे यो मन्त्रालय अगाडि बढ्नै सक्दैन । सबै मन्त्रीसँग ‘हजुर यो गरिदिनु न’ भन्ने अवस्था छ ।

 

कसैले अलिकति टाउको फर्कायो भने पनि चल्न सक्ने मन्त्रालय छैन यो । गुणस्तर र बजारभाउ हेर्न हाम्रो मन्त्रालयको पनि जिम्मेवारी हो । तपाईंहरूले पनि कृषि मन्त्रालयबाट अनुगमन भएन भनेर लेख्नुभएको छ त ? कहिल्यै लेख्नुहुन्न नि । अनुगमन गरेन आपूर्ति मन्त्रालयले भनेर लेख्नुहुन्छ ।

 

एकातिर अनुगमन भएन भनेर पनि तपाईंहरू लेख्ने । अर्कोतिर अनुगमन गर्‍यो भने अर्काको मन्त्रालयमा हस्तक्षेप गर्‍यो पनि भन्ने । कालिमाटीको तरकारी बजार कृषि मन्त्रालयकै मातहत हो । कृषिमन्त्रीदेखि सचिवहरूसम्मले अनुगमनबाट सहयोग पुगेको छ भनेर भन्नुभएको छ ।

 

मन्त्रालयकै मिलेमतोमा भारतबाट आयात हुने चिनी रोकेर महँगी बढेको आरोप पनि तपार्इंमाथि लाग्ने गर्छ । केही दिनअघि संसद्को सार्वजनिक लेखा समितिको बैठकमा तपार्इंकै पार्टीका नेता लेखराज भट्टले एक अर्ब ६९ करोड चलखेलको भएको आरोप लगाए ।

 

लेखराज भट्टजी त मेरो साह्रै मिल्ने कमरेड हुनुहुन्छ । उहाँसँग पनि त्यस्तो रिपोर्ट गएको छ भने त छानबिन नै गर्नुपर्छ । मैले पनि छानबिनका लागि सभामुखलाई निवेदन दिएको छु । मलाई लाग्छ नेपालको इतिहासमा कुनै मन्त्रीले आफैँले छानबिनको माग गर्दै निवेदन दिएको यो पहिलोपटक होला । मातृकाले खाएको छ भने मन्त्रीको कुर्सीमा बस्नलायक हुँदैन । सार्वजनिक रूपमा प्रमाणविना बोल्दा भ्रष्टाचार कम हुँदैन, भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचारीहरू ‘मन्त्री त खान्छ भने मैले किन नखाने ?’ के सोच्छन् ।

 

अहिले चिनी आयातमा रोक लाग्नुको छुट्टै कारण छ । हामीलाई चाहिने चिनी दुई लाख २५ मेट्रिक टन हो । हाम्रो उत्पादन हुन्छ एक लाख ८० हजार मेट्रिक टन । बाहिरबाट दुई लाख ३६ हजार मेट्रिक टन आइसक्यो । यो जोड्दा चार लाखभन्दा बढी भयो नि । चाहिनेभन्दा बढी भइसक्यो । यसले त झन् हाम्रा उद्योगधन्दा चौपट हुने भए । आफ्नै उत्पादन थोरै महँगो भए पनि किनेर खानुपर्छ ।

 

यो विश्वव्यापी सिद्धान्त हो । उद्योग फस्टाउन दिनुपर्छ । त्यसमा किसान पनि जोडिएको हुन्छ, रोजगार पनि जोडिएको हुन्छ । यही हिसाबले हामीले सल्लाह गरेरै केही दिनको लागि चिनी आयात प्रतिबन्ध गरिदिऔँ भनेका हौँ । तर, त्यो वेला मन्त्रिपरिषद्ले त्यसलाई पास गरेन ।

 

पछि उद्योगीहरूले, माननीयहरूले ‘किसानको उखु लिँदैन, चिनी मिलहरू बन्द हुने भो’ भनेर प्रधानमन्त्रीको निवासमा गएर गुनासो गरे । हामीलाई पनि बोलाउनुभो प्रधानमन्त्रीज्यूले । त्यहाँबाट आदेश आयो– अहिले चिनीचाहिँ रोक्का गरिदिनू । त्यसपछि रोकिएको हो । तर, यो सधैँका लागि होइन ।

 

तपाईं मन्त्री भएको आठ महिनामा नौपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर उपभोक्तको ढाड सेक्ने काम भएको छ । नियन्त्रणका लागि नेतृत्वका हिसाबले तपार्इंको भूमिका फितलो देखियो ।

 

सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य पनि कमै थियो । तर पनि पेट्रोलको भाउ एक सय ४० रुपैयाँ प्रतिलिटर पुर्‍याइएको थियो । डिजेलको भाउ ११०/२० कति पुगेको थियो । त्यति पैसा तिरेर पनि पाइन्छ कि पाइँदैन भनेर हामीले स्टोर गर्न थालेका थियौँ । अहिले पेट्रोल भारतभन्दा नेपालमा ३१ रुपैयाँ सस्तो छ ।

 

हामीलाई अहिले महिनामा एक अर्बको घाटा छ । अन्तर्राष्ट्रिय बजारभाउ बढिरहेको छ । म मन्त्री भएको दिनमा डलरको भाउ १०२ रुपैयाँ जति थियो । अहिले ११७ रुपैयाँ ६० पैसाभन्दामाथि छ । मधेसको धानजस्तो त पेट्रोल होइन नि । रामेछापको आलुजस्तो पनि होइन, आफ्नै उत्पादन हो किन भाउ बढ्यो भन्नका लागि । यो त डलरमा किन्नुपर्छ । तर, पनि भारतभन्दा यहाँ सस्तो छ ।

 

ग्यासमा पनि चार सयको हाराहारीमा प्रतिसिलिन्डर घाटा छ । विगतमा आयल निगम डुब्ने स्थितिमा पनि पुगेको हो नि । पैसा नभएपछि तेल पनि नआएको हो । तर, म आएदेखि तेल सहज आपूर्ति भएको छ । चिनीको अभाव छैन । सबै चिज आपूर्ति भएको छ ।

 

तेल हाम्रो उत्पादन त होइन, त्यसैले, मूल्य बढेको हो । र, बढाउँदाखेरि यो मन्त्रालयले मात्र निर्णय गरेको होइन, सरकारकै सहमतिमा बढाइएको हो । हाम्रोमा १५ दिनमा मूल्य समायोजन हुन्छ । अन्तर्राष्ट्रिय मूल्य आज घटेको छ भने त्यसको कुनै अर्थ छैन । १५ दिनको रेट यदि बढेर आएको छ भने त्यहीअनुसार मूल्य निर्धारण हुन्छ । औसतमा मात्र मूल्य निकालिन्छ ।

 

आपूर्तिमन्त्री भएपछि देशैभरिका डिपो प्रमुखहरू हेरफेर गर्नुभयो । तर, विगतमा हरेक पेट्रोल पम्पहरूबाट अवैध रूपमा उठाइने गरेको १० हजार रुपैयाँ बढाएर अहिले १२ हजार उठाइने गरेको आरोप व्यवसायीहरूको छ ।

 

यो कुरा हामीले पनि सुनेका छौँ । कतिपय पम्पवालाहरूले मन्त्रालयमै आएर पनि पनि गुनासो गरे । मैले उहाँहरूलाई ‘म तपाईंहरूलाई पैसा दिन्छु, कुन डिपो प्रमुखले मागिरहेको छ, दिनुस् । कति वेला पैसा दिनुहुन्छ हामीलाई खबर गरेर सहयोग गर्नुस्,’ भनेर आग्रह गरेँ । तर, कोही तयार भएनन् । अब कसरी पत्याउनु ?

 

जसले यस्तो आरोप लगाउँछ, त्यो साहेबले चाहिँ अलिकति प्रमाणित गरिदिए हुन्थ्यो । यदि उहाँहरू त्यसरी तिरिराख्नुभएको छ भने तपाईंको मार्फत भन्न चाहन्छु– ‘हामीलाई खबर गर्नुस्, हामी तपार्इंहरूलाई सहयोग गर्छौँ ।’ एक दिन हामीले टिम पनि तयार गर्‍यौँ, स्ट्रिङ अप्रेसन गर्न । गृहमन्त्रीसँग छलफल गर्‍यौँ, उहाँले अनुमति पनि दिनुभयो ।

 

तर, जुन व्यक्तिले खबर गर्छु भनेको थियो, त्यही बेपत्ता भयो । यसकारण मलाई के लाग्छ भने अहिलेचाहिँ त्यो चिज छैन, विगतमा भने चलेकै हो । कसैले त्यसरी पैसा उठाएको प्रमाणित हुन्छ भने उसको खैराँत हुँदैन ।

 

सिंहदरबारको छेवैमा सरकारी स्वामित्वकै औषधि उद्योग लिमिटेड छ । जनताको स्वास्थ्यका लागि अत्यावश्यक त्यसको स्तरोन्नति गर्न चासो देखाउनुभएको छैन । तर, स्वास्थ्यमा हानी पु¥याउने जनकपुर चुरोट कारखाना चलाउन भने हतार गरिरहनुभएको छ ।

 

यहाँका कतिपय मिडियाका साथीहरू, कतिपय एनजिओहरू केही चुरोट कारखानाका एजेन्ट छन् । सरकारी उद्योगलाई चौपट गराएर सूर्य टोबाको चलेको छ । त्यो सूर्य टोबाकोले पत्रकारहरूलाई, मिडिया हाउसहरूलाई पैसा दिन्छ भन्ने मैले सुनेको छु ।

 

अर्को चुरोट फ्याक्ट्री बन्नुहुँदैन भनेर समाचार लेखेको लेख्यै छन् । अवस्था यस्तो छ । हाम्रो उद्देश्य औषधिमा आत्मनिर्भर बनाउने छ । फेरि चुरोट फ्याक्ट्री बन्नैपर्छ भन्ने पनि होइन । म कपडा उद्योग चलाउन त्यत्रो मिहिनेत गरिरहेको छु, त्यसका बारेमा समाचार नै आउँदैन । लेखे पनि सानो स्पेसमा आउँछ ।

 

अनि, कपडा उद्योग सञ्चालन गर्न मिटिङ बस्यो, समिति बन्यो भने त्यो चल्नेतिर मिहिनेत गरिरहेको छ भनेर आर्थिक पेजमा समाचार आउँछ । तर, चुरोट फ्याक्ट्री चलाउने कुरा ब्यानर समाचार बन्छ ।

 

मेरो जोड चुरोट फ्याक्ट्री चलाउने भन्ने नै होइन । तर, चुरोट फ्याक्ट्री त छ नि । त्यसको संरचना हेर्नुस्, अर्बौँको लगानी छ । त्यसलाई प्रयोग गर्ने कि नगर्ने ? बरु त्यहाँबाट उत्पादित चुरोट नेपालमा नबेचेर बाहिर पठाउन सकिन्छ नि । मान्छेले रोजगार पनि पाउँछन् ।

 

तर पनि, म सधैँ भनिरहेको छु मेरो प्राथमिकतामा कपडा हो, धागो हो, चिनी मिल हो, कृषि औजार हो, जुट मिल हो । चुरोट फ्याक्ट्री पनि चलाउनुपर्छ । नेपालमा अहिले पनि चुरोट आयात हुन्छ । महँगो रक्सी आयात हुन्छ । त्यसबारे कोही बोल्दैनन् । अब खाने मान्छेले त खान्छन् नि । रोक्न त सकिँदैन । त्यसले मेरो जोड सबै उद्योग चल्नुपर्छ भन्ने हो ।

 

उग्र क्रान्तिकारी नेता हुनुहुन्थ्यो । भारतको चर्को आलोचना गर्नुहुन्थ्यो । पछिल्लोपटक तपाईं पक्राउ पनि भारतमै पर्नुभयो । तर, संसदीय प्रक्रियामा आएपछि छोरालाई भने भारतीय दूतावासकै सहयोगमा भारतमै पढाउनुभयो । अहिले मन्त्री हुँदा सात महिनामा तीनपटक भारत भ्रमणमा गइसक्नुभयो ।

 

मेरा छोराहरू दूतावासको स्कलरसिपमा भारतमा पढेका होइनन् । आफ्नै मिहिनेतमा गएर पढेका हुन् । अहिले त फर्किसकेका छन् । बरु, मेरी छोरी बंगलादेशको स्कलरसिपमा पढेकी हो, उसको चाहिँ कसैले चर्चा गर्दैन ।

 

अहिले एमडी यहीँ गरिरहेकी छे । यस्तो आरोप लगाउने कतिपयका आफ्ना छोराहरू पढाउन नसकेको रिस पनि हुन सक्छ । मेरा छोराछोरीहरूले भने युद्धका वेला १६/१६ वटा स्कुल चेन्ज गराउँदा पनि पढे । उनीहरूको स्कुलमा चाहिँ बाबुको नाम रेकर्ड राखिँदैनथ्यो ।

 

सबभन्दा बढी गाली, अन्तरविरोध गर्नेहरूको त राम्रो अंकमाल भइरहेको छ । म त झन कसैको दलाली नगर्ने, मित्र बन्ने मान्यता राख्ने मान्छे हुँ । इन्डिया र चाइनासँग पौठेजोरी खेल्नुहुँदैन, उनीहरूसँग सुमधर सम्बन्ध राख्नुपर्छ भन्ने मान्छे हुँ । तर, कसैको गोटी बन्नुहुँदैन । एउटाको गोटी बनेर अर्काको विरोध गर्नु पनि भएन । आफ्नो देशको पक्षमा कामहरू गराउनुपर्छ । म मन्त्री, त्यसमा पनि पेट्रोलको आपूर्र्ति मन्त्रालयको । तेल आउँछ भारतबाट ।

 

अनि, जानुपर्ने त हुन्छ । पहिलोपटक जाँदा डब्लुटिओको बैठक थियो, ७० देशका मन्त्रीहरू आमन्त्रित थिए त्यसमा । दोस्रोपटक, इनर्जीसँग सम्बन्धित कार्यक्रम थियो । त्यसभन्दा पहिले प्रधानमन्त्रीजीसँग गएको हुँ । उहाँले लानुभएको हो, मैले लैजानुस् भनेको होइन ।

 

अर्कोचोटि म आफैँ गएको हुँ । एउटा नेपाली नागरिकको हिसाबले पनि कतै भनसुन गरेर केही ल्याउन सकिन्छ र राम्रो हुन्छ कि भनेर गएको हुँ । आफैँले उताका मन्त्रीजीहरूसँग पहल गरेर गएको हुँ । त्यसले फाइदै गरेको छ, सहुलियतहरू हामीले पाएका छौँ ।

 

प्रचडबारे

प्रचण्ड कमरेडलाई जति गाली गरे पनि मैले सधैँ ‘नेता भनेको प्रचण्ड नै हो । बिगार्ने पनि उहाँ नै हो, बनाउने पनि उहाँ नै हो’ भन्ने गरेको थिएँ । त्यो कुनै बनावटी थिएन, मलाई लागेको कुरा थियो । पछि पार्टी एकता नै गरियो ।

 

वैद्य र विप्लवबारे

प्रकाश (नारायणकाजी श्रेष्ठ) कमरेडले एकता गर्नुभयो भने स्वीकार गर्ने, तर नोट अफ डिसेन्ट लेख्ने हाम्रो टिम(किरण, विप्लव र मेरो) सहमति थियो । यस्तो पक्षका मान्छे हामीहरू ३५ मध्ये १७ थियौँ । एक मतले मात्रै प्रचण्ड कमरेडहरू अगाडि हुनुहुन्थ्यो ।

 

तर, बैठकमा सहमतिविपरीत किरण दाइ एक शब्द पनि बोल्नुभएन । अनि, विप्लवले उल्टै एकताको वकालत गर्न थाले । उनले ‘दाइ खाइन्छ, पचाइन्छ’ भनेर भने । मैले भनेँ, ‘पचाउने होइन छेरपाटी लाग्छ, भोमिट पनि आउँछ ।’नयाँपत्रिकाबाट

प्रस्तुति: खगेन्द्र पन्त 

प्रतिक्रिया दिनुहोस
किसानको आन्दोलनमा एमाले बागमती प्रदेश कमिटिको एक्यबद्धता

  नेकपा एमाले बागमती प्रदेश कमिटिले किसानको आन्दोलनमा एक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि

त्रिकोणात्मक टी-२० : नामिबियामाथि नेपालको जित

    त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका

भरतपुरको विकासमा एमालेको साथ हुन्छ : ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र