मन्त्री पद खुस्किन लागेपछि मातृका यादवले बोलाए पत्रकार सम्मेलन
यसअघि दुई पटक मन्त्री हुँदा दुवै चोटी राजिनामा दिएका वर्तमान ओली सरकारका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको यसपालीको मन्त्री पद पनि खुस्किन लागेको छ ।
शुक्रबार प्लास्टिकका सामान उत्पादन प्रविधि सम्बन्धि प्रदर्शनी (प्लास्ट नेपाल एक्सपो) कार्यक्रमको उद्घाटन गर्दै उनले पद खुस्किन सक्ने संकेत गरेका हुन्।
उनले अहिलेको सरकार पाँच वर्षका लागि स्थायी भएको दावी गर्दै सरकार भित्रका खेलाडी जतिखेर पनि परिवर्तन हुन सक्ने बताए । ‘अहिलेको सरकार पाँच बर्षका लागि हो, तर खेलाडीहरु परिवर्तन् हुने क्रममा हामी पनि मर्न सक्छौं र बिरामी पनि पर्न सक्छौं’,उनले भने ।
आफ्नो मन्त्री पद खोसिन लागेको भन्दै भावुक बनेका उनले आफुलाई उद्योगीको पैसा खाएको आरोप लगाएको कुरा झुटो भएको समेत बताए ।
चिनी उद्योगीहरुबाट मन्त्री यादवले १ अर्ब ६९ करोड रुपैयाँ खाएको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएको दुखेसो पोख्दै उनले उद्योगीहरु बेइमान रहेको बताए ।
उद्योगीहरुले कामै नगर्ने र आफुलाई मार्का पर्ने देखिएमा मात्रै मन्त्रालयमा रुनको लागि आउने गरेको मन्त्री यादवको भनाई थियो ।
उनले आजै (शुक्रबार) पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका मन्त्रालय स्रोतले जानकारी दिएको छ । यद्यपि पत्रकार सम्मेलन के को बारेमा गर्ने भन्ने खुलाइएको छैन ।
लामो अन्तराल पछि प्रचण्ड र बैद्य एक ठाउँमा
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य ‘किरण’ले राजनीतिक बिचार नमिलेर फरक –फरक पार्टीको नेतृत्व गरेको निकै लामो समय भईसकेको छ ।
अझ प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा लगेर एकिकरण गरी सकेका छन् । यसरी हेर्दा प्रचण्ड एकिकृत पार्टीको दोश्रो नम्बरका अध्यक्ष हुन् भने बैध्य आफ्नो पार्टीका पहिलो नम्बरका अध्यक्ष हुन । यी दुई अध्यक्ष बिगत लामो समय देखी फरक फरक धारको राजनीति गरिरहेका छन ।
बेला बेलामा पार्टी एकिकरण गर्न प्रचण्डले प्रस्ताव गरे पनि बैद्यले मानिरहेका छैनन् । प्रचण्डले राजनीतिक गुरुका रुपमा स्वीकारेका बैद्यसँग औपचारिक कार्यक्रममा प्राय नदेखिने प्रचन्ड शुक्रबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमा एकै ठाउँ देखिने भयका छन् ।
जनताका गायकको परिचय बनाएका जनवादी गायक जीवन शर्मा संयुक्त सांस्कृतिक साँझ नाम दिईएको कार्यक्रम आज (शुक्रबार) अपरान्ह ४:३० बजेबाट हुने कार्यक्रममा दुई अध्यक्ष बिच भेटघाट हुनेछ ।
उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’लगायत नेपाल सरकारका मन्त्रिहरु पनि सहभागि हुने आयोजकले जनएको छ ।
आयोजकका अनुसार सो संस्कृतिक कार्यक्रममा सामना र रक्तिम सांस्कृतिक परिवारका कलाकारले आफनो प्रस्तुति दिनेछन भने हाँस्य कलाकार सुबोध गौतमको पनि प्रतुति रहने छ ।
तत्कालिन माओबादीले स्थापना गरेको सामना र रक्तिम सांस्कृतिक परिवारले प्रस्तुत गर्ने उक्त कार्यक्रममा प्रचण्ड र किरणको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । उता आयोजक संस्थाले भने नेतृत्वहरुको उपस्थितिमा गरिएको कार्यक्रम अरु केही नभएर हराउँदै गएको जनवादी गित संगितको संवर्धन, बिस्तार र प्रचार प्रसारको लागि मात्र भएको जनाएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रित गरिएकोमा उनको उपस्थितिको टुङ्गो नलागिसकेको आयोजकले जानकारी दिएका छन्।
निर्मलाका निम्ति न्याय: शनिवार माईतीघर मण्डलमा जनभेला
कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन। ‘निर्मलाका निम्ति न्याय’को नाराका साथ असोज २० गते शनिवार काठमाडौंको माईतीघर मण्डलमा जनता भेला हुने भएको छ।
निर्मलाका निम्ति न्याय अभियानले असोज २० गते शनिबार दिउँसो १:०० बजे काठमाडौंको माईतीघर मण्डलमा जनता भेला आयोजना गरि नयाँ बानेश्वरसम्म र्याली गर्नेछ। उक्त भेलामा न्यायप्रेमी मानिसहरुलाई सहभागी हुन पनि अभियानले आव्हान गरेको छ।
अभियानले मण्डलबाट र्याली नयाँ बानेश्वरसम्म जाने जनाएको छ। र्यालीमा लगाउने नाराहरुकालागि पनि केही नियम र नारा सार्वजनिक गरेको छ। उक्त र्यालीमा फाँसी तथा मृत्युगण्डको माग राख्दै नारा नलगाउने तथा निषेधित क्षेत्र तोड्ने र ढुङ्गामुढा गर्न नपाईने स्पष्ट पारेको छ।
‘निर्मलाका निम्ति न्याय’ माग्दै जनताहरु सडक, समाजिक संजालमा लगातार आन्दोलित छन्। सरकारले निर्मला पन्तको बलत्कार पछि भएको हत्यामा कुनै अपराधि पत्ता लगाउने उपलब्धि हासिल गर्न सकेको छैन्।
प्रहरीले सुरुवाती अनुसन्धानमा प्रमाण मेट्ने काम गरेको तर उक्त कार्य गरेका प्रहरीहरु अनुसन्धानको दायरामा नआउनुले पनि जनतामा आक्रोश र सरकारको नियत प्रति शंका बढाउँदै लगेको छ।
गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा पनि माग्ने क्रम बढ्दै गएको स्थितीमा सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन। न्यायकालागि जनता सडकमा आउनु पर्ने र न्यायकालागि सरकार उदासिन हुनाले पनि जनआक्रोश बढ्दै गएको छ।