‘निर्मला पन्तको हत्यारा पत्ता लागेको दिन मेरो छोरो बोल्छ !’



 

 

त्रिवि शिक्षण अस्पतालको आईसीसीयुको दुई नम्बर शैय्या । एउटी आमा दूधे बालकझैँ छोरालाई स्याहार गरिरहेकी छन्– झन्डै डेढ महिनादेखि ।

छेउमा खाली र्‍याक । केही थान रित्ता बोतल । दुई–चार बोतल औषधि ।वरिपरिको चर्को सन्नाटा उनको पीडाका साक्षी बनेका छन् ।

डाइपर फेरेर खुट्टाको नङ काटिदिँदै थिइन् । छेवैको शैय्याका विरामी कुरुवाको हातबाट गिलास खस्यो । पुलुक्क आँखा हेरे, २० वर्षीय अर्जुन भण्डाराले ।

“ऊ ! छोरो ब्युँझियो, एकछिन शान्त रहनुस् है, म उसलाई गीत सुनाइदिन्छु,” त्यसपछि उनले पोल्टाबाट स्यामसुङ मोबाइल निकालिन् । मोबाइलको पिँधमा एअरफोन घुसारिन् र कानमा लगेर जोडिदिइन् ।

खै मोबाइलमा कुन गीत बज्यो? अर्जुनको अनुहार क्रमशः उज्यालिँदै गयो । त्योभन्दा ज्यादा आमाको अनुहारमा हाँसो फिँजियो ।

तर, त्यो खुसी धेरैबेर टिकिरहेन ।

“मेरो छोराको बोली प्रहरीले खाइदिइहाल्यो बाबु ! यी खुट्टा हेर्नुहोस् त, यसरी काटेको छ, ” उनको अनुहारमा अध्याँरो पर्दा लाग्यो ।

त्यसपछि भित्तापट्टि फर्किएर तप्पतप्प आँसु झारिन् । छोरातिर हेरर रुन पनि त भएन । उफ् ! कस्तो आपत् !

० ० ०

भदौ ७ गतेको दिन । आकाशमा कालोबादल मडारिएको थियो । त्योभन्दा डरलाग्दो बादल शिवकलाको जीवनमा मडारिँदै थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरभरी आगो बलेको थियो । सारा सहरबासी आन्दोलित थिए ।

प्रहरीले क्षणमै अश्रुग्याँस हान्थ्यो । ‘टियरग्याँस’को सेल लागेर अर्धमुर्च्छित भएकाहरू पानीपानी भन्दै छटपटाउँथे । एकछिनमै पररर्रपरर्र गोलीको पर्रा छुट्थ्यो । वातावरण त्राहिमाम् थियो ।

उमेरमै लोग्ने बिते । दमको रोगी थिए । गरिबीले थिल्थिल्याएका । शिवकलालाई ‘विधवा’ बनाएर उनी बाटो लागि हाले ।

तामाको मुनाजस्ता तीन छोरा । आफैँ पनि लाउँलाउँ, खाउँखाउँ उमेरकी । सिंगो पारिवारिक बोझ शिवकलाकै काँधमा आइलाग्यो ।

“एकातिर गरिब, अर्कोतिर श्रीमान पनि परलोक, कस्तो हुन्छ होला? आफैँ अनुमान गर्नूस्,” यतिभन्दा बोल्न सक्दिनन् उनी ।

जसोतसो छोराहरू हुर्काइन् । जेठो २१ वर्षमा हिँड्न थाले । दुःखको तुवाँलो फाटेर जीवनमा घामको आगमन हुँदैथियो ।

जेठो योगेन्द्रले बजारको छेवैमा मोबाइल पसल थापेका थिए । त्यसले चुल्हो बाल्छ, टेवा पुगेको थियो भनौँ । यही खुसीमा एकाएक हुन्डरी चल्यो । दुःखी परिवारमा ‘सरकारको आँखा लाग्यो’ ।

“आमा म पसलतिर जान्छु, तपाईं घरबाट कतै ननस्किनस् है,” यति भनेर अर्जुन पसलतिर गइगए ।

आफूलाई घरबाट बाहिर ननिस्कनु भनेकाले छोरो आन्दोलनतिर जाँदैन । प्रहरीको लाठीमुंग्रीमा पर्ला भनेर कसरी सोच्नु ? टायर र टियर ग्यासको मुस्लोले पर्यावरण कुहिरीमण्डल थियो ।

क्षणमै प्रहरीको भीडले आन्दोलनकारीलाई तितरवितर पाथ्र्यो । पलभरमै आन्दोलनकारी भेला हुन्थे र उसैगरी प्रहरीलाई लखेट्थे । टीठलाग्दो दोहोरी चलेको थियो ।

केहीबेरमै हल्ला आयो– प्रहरीसँग भएको अश्रु ग्याँस सकियो । भीड अझै नहटे प्रहरीले फायर खोल्छ ।

नभन्दै झाडीको छेको लागेका प्रहरीले फायर खोलिहाले ।

तर, घरमा आफ्नै सुसेधन्दामा रहेकी शिवकलालाई आफूमाथि विपत्तीको पहाडै खस्ला भनेर हेक्कै भएन ।

“लौ न आन्टी बरबाद भो, अर्जुन दाइलाई खुट्टामा गोली लाग्यो रे !,” पडोसी (छिमेकी)को छोरी चिच्याउँदै आइन् । उनले जे सोचेकी थिइनन्, त्यही विपत्तीले घर घेर्‍ यो ।

“अर्जुनलाई गोली ! खाए अपराधीले मेरो छोरो !,” यति दिमागमा आएको थाहा छ । उनी शीताङ्ग भइहालिन् ।

“छोरोको मुखै देख्न पाउँदिन होला भनेर मेरो मुटु कुँजो भो बाबु,” उनका आँखाबाट पुनः आसु खस्न थाल्छन् ।

० ० ०

दायाँ खुट्टामा गोली लागेका अर्जुनलाई पहिले झुन्ड्याउँदै, त्यसपछि मोटरसाइकलमा राखेर महाकाली अञ्चल अस्पताल पुर्‍याइयो । अत्यधिक रक्तश्रावका कारण नाडीको घड्कन धिमा भइसकेको थियो । अर्जुनको अवस्था देख्नासाथ चिकित्सक पनि झस्किए र उनलाई तत्कालै काठमाडौँ रेफर गरिहाले ।

“गोली, बारुदको बीचबाट मेरो छोरोलाई आन्दोलनकारीले उद्धार गरेर अस्पताल पुर्‍याए,” गाउँका छरछिमेक र निर्मला पन्तको न्यायका निमित्त आन्दोलित भएका सबैप्रति कृतज्ञ छिन् उनी ।

अस्पताल त पुर्‍याइयो तर छोराको मुख हेर्न पाइनन् उनले । गोलीले आफ्नै मुटु छेडेजस्तो, खुट्टा शरीरबाट अलग्गिएजस्तो पीडाबोध भयो ।

झन्डै एकसातापछि त्रिवि शिक्षण अस्पताल परिसरभित्रको मनमोहन कार्डियोलोजीमा छोरासँग भेट भयो उनको ।

“न बोल्छ, न हाँस्छ । न त खान नै सक्छ, होस नै आएको थिएन, कसरी बज्र हाने मलाई बाबु !,” विक्षिप्त भइन् उनी ।

काठमाडौँ ल्याइएको छ । बिस्तारी बोल्ला नि त ! आफैँलाई सम्झाइन् उनले ।

तर नियतिको खेला यतिमात्रै भइदिएको भए उनी सहन्थिन् । फेरि चिकित्सकले भन्न थाले, “खुट्टा निकै नाजुक भइसक्यो । यसलाई राखिरहने हो भने छोरा नै गुमाउनुपर्छ ।”

हेर आपद् । एकातिर छोराको होस् आएको छैन । आमा… शब्द सुन्न कान लालायित छन् ।

चिकित्सक भन्छन्, “खुट्टा काट्नुपर्छ ।”

“छोरा गुमाउनुभन्दा खुट्टा गुमाउनु निको !,” मनले निश्चय गर्नुपूर्व नै चिकित्सकले खुट्टा अलग्याइदिइसकेका थिए ।

उनले सोचेकी थिइन्– खुट्टा काटेपछि छोराको स्वर फर्किएला । उसले आमा भनेर बोलाउला ।

खुट्टा काटेको पनि महिना दिन पूरा भइसकेको छ । अहँ छोराको चालचुल छैन ।

“छोराले कतिबेला आमा भन्ला भनेर पर्खिरहेको बाबु !” भक्कानो आएर पुनः गलामा गाँठो पर्छ उनको ।

जीवनको ‘लौरो’ कोमा थलिएको हेर्न अभिशप्त छिन् उनी ।

“चिकित्सको बोली तत्कालै फुट्न पनि सक्छ भन्नुभएको छ,” आशाको दियो निभ्न दिएकी छैनन् उनले ।

नाकमा लामो पाइप घुसारिएको छ । परिचारिकाले बिहानबेलुका त्यहीँबाट झोल पदार्थ हालिदिन्छन् । त्यतिले अल्झाएको छ सास !

“मुखबाट खान सक्दैन । यही पाइपले त अल्झाएको छ उसको प्राण !,” भावुक हुन्छिन् उनी ।

० ० ०

केही दिनअघि गाइँगाइँ चल्यो– निर्मला पन्तको हत्यारा पत्ता लाग्यो । समाचार रेडियो, टेलिजिनबाट कोशौँ टाढा रहेर छोराको उपचारमा जुटेकी शिवकलालाई खासै भेउ भएन ।
अचम्म छोराले पुलुक्क आँखा उघार्‍यो । बोलुँलाझैँ गर्‍यो । आवाज आएतिर आँखाको नानी घुमायो । उनी खुसीले बुरुक्क उफ्रिइन् ।

तर, अपराधी पत्ता लागेको कुरा पानीको फोका बन्यो । ७० दिनबित्दा पनि निर्मला पन्तलाई कसले बलात्कार गर्‍यो ? उखुबारी कसले रक्तमुच्छेल बन्यायो ? रहस्यको गर्भमै छ ।

कुहिराको काग बनेका छन् कञ्चनपुरबासी । कञ्चनपुर बसेर न्याय पाउने छाँट नदेखेपछि निर्मलका बाबुआमा काठमाडौँ आएका छन् । र, सहरका गल्लीमा भौँतारिँदैछन् ।

“निर्मला पन्तको हत्यारा पत्ता लागेको दिन मेरो छोरो बोल्छ बाबु ! हत्यारा भेटिए भन्ने सुन्नेबित्तिकै उसले आँखा उघार्‍यो । के थाहा निर्मला पन्तको बलात्कारी कुरेर पो बसेको छ कि !,” भाग्यवादी त हैनन्, तर त्यो संयोगको पर्खाइमा छिन् उनी ।

गोली हान्ने अपराधीको अनुहार हेर्न पाऊँ !

अकिञ्चन आमा हुन्, शिवकला । जसको सम्पत्ति भन्नु त्यही तीन छोरा हुन् । रोगले थलिएका श्रीमान् १६ वर्षअघि नै बाटो लागिहाले । वर्तमान र भविष्य दुवै आँखा अगाडिका छोरा हुन् ।

मुटुको शिरातुल्य माइलो छोरा कोमामा पुग्दा अतिशय पीडाबोध भएको छ उनलाई । “मेरो छोरो प्रहरीलाई ढुंगा हान्न नै गएको भए पनि बरु खोरमा जाकेको भए हुन्थ्यो । म सहन्थेँ । तर ताकीताकी गोली हाने । मेरो कलेजो चुँडियो बाबु !,” आँखाबाट अविरल अश्रुधारा बग्छन् ।

अर्जुनको सपना इन्जिनियर बन्ने थियो । पढाइमा तिलस्मी लगाव थियो । छोरो इन्जिनियर बनेर नाप–नक्सा बिग्रिएको जिन्दगी उकास्ला भन्ने ठूलै आश थियो । ऋणधन गरेर तीन लाखको जुगाड गर्दै भदौ १२ गते कलेज जाने तयारीसमेत गरेकी थिइन् उनले ।

गोलीले खुट्टा क्षतविक्षत बनाएसँगै उनको इन्जिनियर बन्ने सपना पनि कोमामा पुगेको छ ।

“खुट्टा गुमाइहाल्यो । बोली फुटेछ भने पनि कसरी बन्ला र इन्जिनियर ?” खुइया काढ्छिन् उनी ।

छँदाखाँदो छोरो । आड–भरोसा, सपना–सम्पत्ति उही थियो । मृत्युवत् मुद्रामा कोमामा पर्दा कुनचाहिँ आमाको मन रुँदैन र ! ‘तावाको माछा भुंग्रो’मा परेझैँ भएको छ । त्योभन्दा ठूलो पीडा– आँखा उघ्रिएका छन् । कान सुनेझैँ लाग्छ । तर बोली आउँदैन ।

तथापि उनको यत्ति आग्रह छ– “मेरो छोराले त खुट्टा गुमाइहाल्यो । जीवनभर अपाङ्गता उपहार पायो । तर, निर्मलाको परिवारले न्याय नगुमाओस् । अपराधी छिट्टै जेल जाओस् ।”

अहिलेसम्म दशलाख खर्च भइसकेको छ । काठमाडौँ ल्याएपछि उपचार खर्च पनि राज्यले बेहोरेको छ । ‘लागेको उपचार खर्च बेहोर्ने’– सरकारी अधिकारीले वचनसमेत दिएका छन् ।

तर, उनको गुनासो छ– गोली हानेर उपचार गर्ने होइन राज्यले गोली नै नहान्ने परिस्थिति सिर्जना गरोस् । मान्छे मार्दै क्षतिपूर्ति भर्दै हिँड्ने होइन, मान्छे नै नमर्ने अवस्था सिर्जना होस् ।”

उनको आक्रोश यतिमै साम्य हुँदैन । “कञ्चनपुरबासी राज्य माग्न गएका थिएनन् । न सरकारसँग कुर्सी नै मागेका थिए । बलात्कारीलाई समातेर कानुन बमोजिम कारवाही गर भनेर राज्यलाई गुहार माग्न गएका थिए । यत्तिमै गोली हान्नुपर्ने ? कस्तो न्याय हो यो ? हामीले तिरेको करले हामीमाथि नै ज्यादती ?” दर्जन प्रश्न तेस्र्याउँछिन् उनी ।

केही समयअघि मुलुकका गृहमन्त्रीले भनेको कुराले उनलाई आशा जगाएको रहेछ– “अर्जुनलाई बाहिर लगेर भए पनि उपचार गर्नुपर्छ । उनको उपचारमा कुनै कमी नआओस् ।”
“बाहिर लगेर उपचार गर्ने भनेको मनमोहनबाट टिचिङमा सार्ने हो ?,” उनी पुनः प्रश्न गर्छिन् ।

एउटी आमा हुनुको नाताले उनलाई थाहा छ– देश गरिब छ । त्यसमाथि वर्षेनी सयौँ नेतालाई विदेश उपचार गराउँदागराउँदा ढुकुटी ‘टाट पल्टिएको’ छ । आफ्नो छोराको उपचारको बोझ सरकारलाई बोकाउने उनको कुनै चाहना होइन । अन्तिममा भन्छिन्, “मेरो छोराको खुट्टा यही राज्यले खोसेको । आन्दोलन हेर्न गएको निहुँमा यही सरकारले गोली दागेको हो । अतः सम्पूर्ण उपचार खर्च यही सरकारले बेहोर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्