‘निर्मला पन्तको हत्यारा पत्ता लागेको दिन मेरो छोरो बोल्छ !’
त्रिवि शिक्षण अस्पतालको आईसीसीयुको दुई नम्बर शैय्या । एउटी आमा दूधे बालकझैँ छोरालाई स्याहार गरिरहेकी छन्– झन्डै डेढ महिनादेखि ।
छेउमा खाली र्याक । केही थान रित्ता बोतल । दुई–चार बोतल औषधि ।वरिपरिको चर्को सन्नाटा उनको पीडाका साक्षी बनेका छन् ।
डाइपर फेरेर खुट्टाको नङ काटिदिँदै थिइन् । छेवैको शैय्याका विरामी कुरुवाको हातबाट गिलास खस्यो । पुलुक्क आँखा हेरे, २० वर्षीय अर्जुन भण्डाराले ।
“ऊ ! छोरो ब्युँझियो, एकछिन शान्त रहनुस् है, म उसलाई गीत सुनाइदिन्छु,” त्यसपछि उनले पोल्टाबाट स्यामसुङ मोबाइल निकालिन् । मोबाइलको पिँधमा एअरफोन घुसारिन् र कानमा लगेर जोडिदिइन् ।
खै मोबाइलमा कुन गीत बज्यो? अर्जुनको अनुहार क्रमशः उज्यालिँदै गयो । त्योभन्दा ज्यादा आमाको अनुहारमा हाँसो फिँजियो ।
तर, त्यो खुसी धेरैबेर टिकिरहेन ।
“मेरो छोराको बोली प्रहरीले खाइदिइहाल्यो बाबु ! यी खुट्टा हेर्नुहोस् त, यसरी काटेको छ, ” उनको अनुहारमा अध्याँरो पर्दा लाग्यो ।
त्यसपछि भित्तापट्टि फर्किएर तप्पतप्प आँसु झारिन् । छोरातिर हेरर रुन पनि त भएन । उफ् ! कस्तो आपत् !
० ० ०
भदौ ७ गतेको दिन । आकाशमा कालोबादल मडारिएको थियो । त्योभन्दा डरलाग्दो बादल शिवकलाको जीवनमा मडारिँदै थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरभरी आगो बलेको थियो । सारा सहरबासी आन्दोलित थिए ।
प्रहरीले क्षणमै अश्रुग्याँस हान्थ्यो । ‘टियरग्याँस’को सेल लागेर अर्धमुर्च्छित भएकाहरू पानीपानी भन्दै छटपटाउँथे । एकछिनमै पररर्रपरर्र गोलीको पर्रा छुट्थ्यो । वातावरण त्राहिमाम् थियो ।
उमेरमै लोग्ने बिते । दमको रोगी थिए । गरिबीले थिल्थिल्याएका । शिवकलालाई ‘विधवा’ बनाएर उनी बाटो लागि हाले ।
तामाको मुनाजस्ता तीन छोरा । आफैँ पनि लाउँलाउँ, खाउँखाउँ उमेरकी । सिंगो पारिवारिक बोझ शिवकलाकै काँधमा आइलाग्यो ।
“एकातिर गरिब, अर्कोतिर श्रीमान पनि परलोक, कस्तो हुन्छ होला? आफैँ अनुमान गर्नूस्,” यतिभन्दा बोल्न सक्दिनन् उनी ।
जसोतसो छोराहरू हुर्काइन् । जेठो २१ वर्षमा हिँड्न थाले । दुःखको तुवाँलो फाटेर जीवनमा घामको आगमन हुँदैथियो ।
जेठो योगेन्द्रले बजारको छेवैमा मोबाइल पसल थापेका थिए । त्यसले चुल्हो बाल्छ, टेवा पुगेको थियो भनौँ । यही खुसीमा एकाएक हुन्डरी चल्यो । दुःखी परिवारमा ‘सरकारको आँखा लाग्यो’ ।
“आमा म पसलतिर जान्छु, तपाईं घरबाट कतै ननस्किनस् है,” यति भनेर अर्जुन पसलतिर गइगए ।
आफूलाई घरबाट बाहिर ननिस्कनु भनेकाले छोरो आन्दोलनतिर जाँदैन । प्रहरीको लाठीमुंग्रीमा पर्ला भनेर कसरी सोच्नु ? टायर र टियर ग्यासको मुस्लोले पर्यावरण कुहिरीमण्डल थियो ।
क्षणमै प्रहरीको भीडले आन्दोलनकारीलाई तितरवितर पाथ्र्यो । पलभरमै आन्दोलनकारी भेला हुन्थे र उसैगरी प्रहरीलाई लखेट्थे । टीठलाग्दो दोहोरी चलेको थियो ।
केहीबेरमै हल्ला आयो– प्रहरीसँग भएको अश्रु ग्याँस सकियो । भीड अझै नहटे प्रहरीले फायर खोल्छ ।
नभन्दै झाडीको छेको लागेका प्रहरीले फायर खोलिहाले ।
तर, घरमा आफ्नै सुसेधन्दामा रहेकी शिवकलालाई आफूमाथि विपत्तीको पहाडै खस्ला भनेर हेक्कै भएन ।
“लौ न आन्टी बरबाद भो, अर्जुन दाइलाई खुट्टामा गोली लाग्यो रे !,” पडोसी (छिमेकी)को छोरी चिच्याउँदै आइन् । उनले जे सोचेकी थिइनन्, त्यही विपत्तीले घर घेर् यो ।
“अर्जुनलाई गोली ! खाए अपराधीले मेरो छोरो !,” यति दिमागमा आएको थाहा छ । उनी शीताङ्ग भइहालिन् ।
“छोरोको मुखै देख्न पाउँदिन होला भनेर मेरो मुटु कुँजो भो बाबु,” उनका आँखाबाट पुनः आसु खस्न थाल्छन् ।
० ० ०
दायाँ खुट्टामा गोली लागेका अर्जुनलाई पहिले झुन्ड्याउँदै, त्यसपछि मोटरसाइकलमा राखेर महाकाली अञ्चल अस्पताल पुर्याइयो । अत्यधिक रक्तश्रावका कारण नाडीको घड्कन धिमा भइसकेको थियो । अर्जुनको अवस्था देख्नासाथ चिकित्सक पनि झस्किए र उनलाई तत्कालै काठमाडौँ रेफर गरिहाले ।
“गोली, बारुदको बीचबाट मेरो छोरोलाई आन्दोलनकारीले उद्धार गरेर अस्पताल पुर्याए,” गाउँका छरछिमेक र निर्मला पन्तको न्यायका निमित्त आन्दोलित भएका सबैप्रति कृतज्ञ छिन् उनी ।
अस्पताल त पुर्याइयो तर छोराको मुख हेर्न पाइनन् उनले । गोलीले आफ्नै मुटु छेडेजस्तो, खुट्टा शरीरबाट अलग्गिएजस्तो पीडाबोध भयो ।
झन्डै एकसातापछि त्रिवि शिक्षण अस्पताल परिसरभित्रको मनमोहन कार्डियोलोजीमा छोरासँग भेट भयो उनको ।
“न बोल्छ, न हाँस्छ । न त खान नै सक्छ, होस नै आएको थिएन, कसरी बज्र हाने मलाई बाबु !,” विक्षिप्त भइन् उनी ।
काठमाडौँ ल्याइएको छ । बिस्तारी बोल्ला नि त ! आफैँलाई सम्झाइन् उनले ।
तर नियतिको खेला यतिमात्रै भइदिएको भए उनी सहन्थिन् । फेरि चिकित्सकले भन्न थाले, “खुट्टा निकै नाजुक भइसक्यो । यसलाई राखिरहने हो भने छोरा नै गुमाउनुपर्छ ।”
हेर आपद् । एकातिर छोराको होस् आएको छैन । आमा… शब्द सुन्न कान लालायित छन् ।
चिकित्सक भन्छन्, “खुट्टा काट्नुपर्छ ।”
“छोरा गुमाउनुभन्दा खुट्टा गुमाउनु निको !,” मनले निश्चय गर्नुपूर्व नै चिकित्सकले खुट्टा अलग्याइदिइसकेका थिए ।
उनले सोचेकी थिइन्– खुट्टा काटेपछि छोराको स्वर फर्किएला । उसले आमा भनेर बोलाउला ।
खुट्टा काटेको पनि महिना दिन पूरा भइसकेको छ । अहँ छोराको चालचुल छैन ।
“छोराले कतिबेला आमा भन्ला भनेर पर्खिरहेको बाबु !” भक्कानो आएर पुनः गलामा गाँठो पर्छ उनको ।
जीवनको ‘लौरो’ कोमा थलिएको हेर्न अभिशप्त छिन् उनी ।
“चिकित्सको बोली तत्कालै फुट्न पनि सक्छ भन्नुभएको छ,” आशाको दियो निभ्न दिएकी छैनन् उनले ।
नाकमा लामो पाइप घुसारिएको छ । परिचारिकाले बिहानबेलुका त्यहीँबाट झोल पदार्थ हालिदिन्छन् । त्यतिले अल्झाएको छ सास !
“मुखबाट खान सक्दैन । यही पाइपले त अल्झाएको छ उसको प्राण !,” भावुक हुन्छिन् उनी ।
० ० ०
केही दिनअघि गाइँगाइँ चल्यो– निर्मला पन्तको हत्यारा पत्ता लाग्यो । समाचार रेडियो, टेलिजिनबाट कोशौँ टाढा रहेर छोराको उपचारमा जुटेकी शिवकलालाई खासै भेउ भएन ।
अचम्म छोराले पुलुक्क आँखा उघार्यो । बोलुँलाझैँ गर्यो । आवाज आएतिर आँखाको नानी घुमायो । उनी खुसीले बुरुक्क उफ्रिइन् ।
तर, अपराधी पत्ता लागेको कुरा पानीको फोका बन्यो । ७० दिनबित्दा पनि निर्मला पन्तलाई कसले बलात्कार गर्यो ? उखुबारी कसले रक्तमुच्छेल बन्यायो ? रहस्यको गर्भमै छ ।
कुहिराको काग बनेका छन् कञ्चनपुरबासी । कञ्चनपुर बसेर न्याय पाउने छाँट नदेखेपछि निर्मलका बाबुआमा काठमाडौँ आएका छन् । र, सहरका गल्लीमा भौँतारिँदैछन् ।
“निर्मला पन्तको हत्यारा पत्ता लागेको दिन मेरो छोरो बोल्छ बाबु ! हत्यारा भेटिए भन्ने सुन्नेबित्तिकै उसले आँखा उघार्यो । के थाहा निर्मला पन्तको बलात्कारी कुरेर पो बसेको छ कि !,” भाग्यवादी त हैनन्, तर त्यो संयोगको पर्खाइमा छिन् उनी ।
गोली हान्ने अपराधीको अनुहार हेर्न पाऊँ !
अकिञ्चन आमा हुन्, शिवकला । जसको सम्पत्ति भन्नु त्यही तीन छोरा हुन् । रोगले थलिएका श्रीमान् १६ वर्षअघि नै बाटो लागिहाले । वर्तमान र भविष्य दुवै आँखा अगाडिका छोरा हुन् ।
मुटुको शिरातुल्य माइलो छोरा कोमामा पुग्दा अतिशय पीडाबोध भएको छ उनलाई । “मेरो छोरो प्रहरीलाई ढुंगा हान्न नै गएको भए पनि बरु खोरमा जाकेको भए हुन्थ्यो । म सहन्थेँ । तर ताकीताकी गोली हाने । मेरो कलेजो चुँडियो बाबु !,” आँखाबाट अविरल अश्रुधारा बग्छन् ।
अर्जुनको सपना इन्जिनियर बन्ने थियो । पढाइमा तिलस्मी लगाव थियो । छोरो इन्जिनियर बनेर नाप–नक्सा बिग्रिएको जिन्दगी उकास्ला भन्ने ठूलै आश थियो । ऋणधन गरेर तीन लाखको जुगाड गर्दै भदौ १२ गते कलेज जाने तयारीसमेत गरेकी थिइन् उनले ।
गोलीले खुट्टा क्षतविक्षत बनाएसँगै उनको इन्जिनियर बन्ने सपना पनि कोमामा पुगेको छ ।
“खुट्टा गुमाइहाल्यो । बोली फुटेछ भने पनि कसरी बन्ला र इन्जिनियर ?” खुइया काढ्छिन् उनी ।
छँदाखाँदो छोरो । आड–भरोसा, सपना–सम्पत्ति उही थियो । मृत्युवत् मुद्रामा कोमामा पर्दा कुनचाहिँ आमाको मन रुँदैन र ! ‘तावाको माछा भुंग्रो’मा परेझैँ भएको छ । त्योभन्दा ठूलो पीडा– आँखा उघ्रिएका छन् । कान सुनेझैँ लाग्छ । तर बोली आउँदैन ।
तथापि उनको यत्ति आग्रह छ– “मेरो छोराले त खुट्टा गुमाइहाल्यो । जीवनभर अपाङ्गता उपहार पायो । तर, निर्मलाको परिवारले न्याय नगुमाओस् । अपराधी छिट्टै जेल जाओस् ।”
अहिलेसम्म दशलाख खर्च भइसकेको छ । काठमाडौँ ल्याएपछि उपचार खर्च पनि राज्यले बेहोरेको छ । ‘लागेको उपचार खर्च बेहोर्ने’– सरकारी अधिकारीले वचनसमेत दिएका छन् ।
तर, उनको गुनासो छ– गोली हानेर उपचार गर्ने होइन राज्यले गोली नै नहान्ने परिस्थिति सिर्जना गरोस् । मान्छे मार्दै क्षतिपूर्ति भर्दै हिँड्ने होइन, मान्छे नै नमर्ने अवस्था सिर्जना होस् ।”
उनको आक्रोश यतिमै साम्य हुँदैन । “कञ्चनपुरबासी राज्य माग्न गएका थिएनन् । न सरकारसँग कुर्सी नै मागेका थिए । बलात्कारीलाई समातेर कानुन बमोजिम कारवाही गर भनेर राज्यलाई गुहार माग्न गएका थिए । यत्तिमै गोली हान्नुपर्ने ? कस्तो न्याय हो यो ? हामीले तिरेको करले हामीमाथि नै ज्यादती ?” दर्जन प्रश्न तेस्र्याउँछिन् उनी ।
केही समयअघि मुलुकका गृहमन्त्रीले भनेको कुराले उनलाई आशा जगाएको रहेछ– “अर्जुनलाई बाहिर लगेर भए पनि उपचार गर्नुपर्छ । उनको उपचारमा कुनै कमी नआओस् ।”
“बाहिर लगेर उपचार गर्ने भनेको मनमोहनबाट टिचिङमा सार्ने हो ?,” उनी पुनः प्रश्न गर्छिन् ।
एउटी आमा हुनुको नाताले उनलाई थाहा छ– देश गरिब छ । त्यसमाथि वर्षेनी सयौँ नेतालाई विदेश उपचार गराउँदागराउँदा ढुकुटी ‘टाट पल्टिएको’ छ । आफ्नो छोराको उपचारको बोझ सरकारलाई बोकाउने उनको कुनै चाहना होइन । अन्तिममा भन्छिन्, “मेरो छोराको खुट्टा यही राज्यले खोसेको । आन्दोलन हेर्न गएको निहुँमा यही सरकारले गोली दागेको हो । अतः सम्पूर्ण उपचार खर्च यही सरकारले बेहोर्नुपर्छ ।”