निगमको घाटा १ अर्ब नाघ्यो, साउदीले पठायो २४ मृतकका परिवारलाई राहत
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार बढाएर पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थमा घाटा खेप्नुपरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ दशमलव ४५ रूपैयाँ घाटा भएको छ भने डिजेलमा प्रतिलिटर ४ दशमलव ४३ रूपैयाँ घाटा छ । यस्तै खाना पकाउने एलपी ग्यासमा ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा भएको छ ।
मट्टीतेल र हवाई इन्धनमा केही नाफा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । पेट्रोल, डिजेल र ग्यासमा हुने घाटाले १५ दिनको अवधिमा ६४ करोड ५७ लाख रूपैयाँ बराबरको भार थपिने भट्टराईले जानकारी दिए ।
भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा समेत सीमा नाका रक्सौल भन्दा नेपालमा पेट्रोल र डिजेलमा प्रतिलिटर ३१ दशमलव ७५ रूपैयाँ सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यस्तै डिजेल पनि ३० दशमलव १६ रूपैयाँ सस्तो छ । अहिलेको मौजुदा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय १४ रूपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १ सय १ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १४ सय रूपैयाँ छ निगमले पछिल्लो पटक २ साता अघि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।
गत चैत १९ देखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल आयल निगमले मूल्य समायोजन गरिरहे पनि आयात गर्दा लाग्ने खर्च कटाउँदा निरन्तर घाटामा रहेको जनाएको छ ।
आवागमन रोकेर सडक मर्मत
राजधानी प्रवेश गर्ने मुख्य नाकानागढुंगा–पिपलामोड सडकखण्ड मर्मतका लागि भन्दै रातिको समयमा बन्द गरिएपछि दशैंको मुखमा यात्रुरुहरू मर्कामा परेका छन् ।
मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय अन्तर्गत डिभिजन सडक कार्यालय, काठमाडौं –२ ले मर्मतका लागि रातिको समयमा सवारी आवागमन बन्द गराएको हो ।
कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गर्दै असोज १५ देखि २२ गतेसम्म रातिको समयमा सवारी व्यवस्थापन गर्न आग्रह गरेको थियो । सोही अनुसार सोमबारदेखि यस खण्डमा रातको समयमा सवारी आवागमन बन्द भएको छ ।
नेपालको पहिलो जीत
नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध जीत निकालेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।
युएईले दिएको २६९ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छँदा सात विकेटको क्षतिमा पार ग¥यो । नेपालको जितमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको योगदान गरेका थिए ।
त्यस्तै रसिद खानले नटआउट २७, सन्दीप जोराले ६७, आसिफ शेखले ३५ र रित गौतमले १८ रन जोडे । यसअघि बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाएको थियो ।
दुवै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।
मृतकले पाउनुपर्ने रकम नेपाल पठाइयो
रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।
मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रुपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंका परिवारले पनि राहत रकम पाउने छन् ।
गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनी बापतको साउदी रियाल २० हजार पाउने दूतावासले जनाएको छ । अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता उनको परिवारलाई पठाइएको छ ।
टरिगाउँ विमानस्थलको सफल परीक्षण
दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो ।
परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । मंगलबार बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।
मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ । बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
यसैबीच आयोगले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हबल्दार नुरूल होदा अन्सारीले रु ३० हजार घुस लिएको अभियोगमा मलङ्गवा नगरपालिका–१० स्थित टावरचोकबाट पक्राउ गरेको छ ।
नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौता
नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरे ।
शिक्षक महासङ्घद्वारा आन्दोलन घोषणा
नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकार दिए ।
ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि
युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ ।
कोस्टारिकामा आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । यसैबीच ओली कोस्टारिकाबाट मंगलबार न्यूयोर्कका लागि प्रस्थान गरेका छन् ।
उत्तर कोरियासँग आणविक हतियार
दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् ।
कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनी एकजना सांसदले उठाएको प्रश्नको जवाफ दिँदै थिए । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताए ।
नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई
लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ ।
क्यानडाकी डोना डा. स्ट्रिक्ल्यान्ड अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूले मिलेर लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको हो ।
याश्किनले पुरस्कारको आधा राशी अर्थात् आठ लाख ७० हजार यूरोको आधा रकम पाउने र अन्य दुईजनाले बाँकी आधा बाँड्ने नोबेल पुरस्कार समितिले जनाएको छ ।