नेपालगञ्जको चर्चित हत्या प्रकरण : १३ वर्षपछि योजनाकार पक्राउ, हत्यारा आफ्नै ससुरा !



हाम्रो इकोनोमि

 

 

बुटवल– प्रदेश ५ प्रहरीले नेपालगञ्जमा १३ वर्षअघिको चर्चित हत्या काण्डका अभियुक्त पक्राउ गरेको छ । सुनचाँदी व्यवसायी दीपक हेमकार र अरु चार जनाको हत्या काण्डका मुख्य योजनाकारलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो ।

 

सो हत्या काण्डका मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनी रहेको खुलेको छ ।

 

२०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षीय गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४२ वर्षकी सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौधरीसहित पाँच जनाको घाँटी रेटेर हत्या भएको थियो ।

 

प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मृतक दीपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रूपमा १३ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

 

बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दीपकका ससुरा किशोरलालले आर्थिक कारणबाट  ज्वाइँसहित एकै परिवारका चार जना र एक जना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेको छ ।

 

किशोरलाल सुरुमा अर्कैकोमा सुन चाँदी मिस्त्रीका रूपमा काम गर्थे ।  नरसंहार हत्या काण्डापछि उनी लखनउको प्रियादर्शन कोलोनीमा बसोबास र त्यसको भुइँ तलमा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।

 

दीपक हेमकारसँग उनकी छोरी दीपाको विवाह भएको एक वर्षपछि जघन्य हत्या काण्ड भएको थियो ।

 

श्रीमानसहित पाँच जनाको हत्यापछि उनकी श्रीमती दीपा दुई वर्षपछि ८७ लाखमा दीपकको सबै सम्पत्ति बेचेर  भारततिर बेपत्ता भएकी थिइन् । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भइरहेको बताए ।

 

त्यतिबेला माओवादी जनयुद्ध र सङ्कटकाल लागेको बेला सेनासहित सुरक्षा निकायको बाक्लो उपस्थिति भए पनि व्यस्त नेपालगञ्ज बजारको माथिल्लो तलामा रहेको सुन चाँदी पसलमा तीनजनाको समूह प्रवेश गर्दै ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ति लुटिएको थियो ।

 

त्यसैबेला अपराध अनुसन्धान विभागले कुकुरसहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरू पत्ता लगाउन सकेको थिएन । तत्कालीन अञ्चल प्रहरी  प्रमुख  राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए । लामो समयसम्म घटनाका अपराधी पत्ता नलागेपछि फाइल नै बन्द गरिएको थियो ।

 

लामो समयदेखि बन्द फाइल रहस्यमय चर्चित हत्या काण्डका बारेमा कार्यभार सम्हालेदेखि प्रदेश प्रहरी प्रमुख  डीआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिसन बनाउँदै आएका थिए । यो मिसनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पूरै टिमको साथ लिएका थिए ।

 

अन्ततः बन्द फाइल र सर्वसाधरणमा गुमनाम बनेको १३ वर्षपछि हत्याका मुख्य योजनाकार पत्ता लाग्यो । यो घटनाको रहस्योद्घाटन भएसँगै नेपालगञ्जवासीमा खुशी छाएको छ ।

 

हत्यामा संलग्न दीपककी श्रीमती दीपासहित  अरू संलग्नहरूको खोजी कार्य तीव्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्तिकै कारण एक वर्षअघि छोरी दीपासँग विवाहको नाटक र पूरै परिवारको वंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...